site stats
खेल
क्रिकेटर शेख दाजुभाइलाई वीरगञ्ज महानगरको भव्य स्वागत

वीरगञ्ज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आरिफ शेख र आसिफ शेखलाई आज गृहनगरमा वीरगञ्ज महानगरले भव्य स्वागत गरेको छ । 

हालै सम्पन्न आइसिसी विश्वकप लिग–२ मा नेपालका तर्फबाट उत्कृष्ट प्रदर्शन गरी आज गृहनगर फर्किएका शेख दाजुभाइलाई वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले दोसल्ला ओढाएर स्वागत तथा सम्मान गरे । 

S.A.U
Agani Group

महानगरपालिकाकै परिसरमा आयोजित सम्मान कार्यक्रममा नगरप्रमुख सिंहले नेपाललाई विश्वकप क्वालिफायरमा पुर्‍याउन शेख दाजुभाइले विशेष भूमिका निर्वाह गरेकाले उनीहरूलाई यही चैत १७ गते वीरगञ्जमा भव्य समारोह गरेर नागरिक अभिनन्दन पनि गर्ने घोषणा गरे ।

सोही समारोहमा दुवै दाजुभाइ महानगरले एक/एक थान यामहा एफ जेड एफ आई मोटरसाइकल पनि प्रदान गर्ने नगरप्रमुख सिंहले बताए । दुवै खेलाडीले नेपालको नाम अझ उचाइमा पुर्‍याएर वीरगञ्ज महानगरको नाम पनि उँचो बनाएको बताउँदै नगरप्रमुख सिंहले दुवै खेलाडी राष्ट्रकै गहना भएकाले थप हौसला बढाउन महानगरले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

Global bank

महानगरले सम्मान गरेपछि खेलाडीद्वय आसिफ र आरिफले महानगरको यो सम्मानले आफूहरूलाई अझ हौसला थपिदिएको प्रतिक्रिया दिए । “गृहनगरमै यति भव्य सम्मान पाउँदा खुसीले मन गद्गद भएको छ,” आरिफले भने, “आउने दिनमा देशको नाम रोशन गर्न अझ हौसला थपिदिएको छ ।” 

कार्यक्रममा शेखद्वयका बुबा शेख सलामले आफ्ना यी दुवै छोराले देशको नाम उचाइँमा पुर्‍याउँदा आफू पनि गौरवान्वित भएको प्रतिक्रिया दिए । “मेरा यी दुई छोरा अब मेरो मात्रै छोरा रहेनन्, अब यिनीहरू यो देशकै छोरा भएका छन्,” शेख सलामले भने, “छोराहरूलाई महानगरले सम्मान गरी हौसला बढाउने काम गरेको छ, यसका लागि महानगरप्रति आभारी छु ।”

सम्मान कार्यक्रममा वीरगञ्ज महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, वडाध्यक्षहरू बैजुलाल स्वर्णकार, प्रदीप चौरसिया, सुरेश गुप्ता, जगत साह कानुलगायतको सहभागिता थियो । रासस

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  २०:३४
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय