
काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकाले राष्ट्रिय क्रिकेट टिमका सदस्य दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई नगदसहित सम्मान गर्ने घोषणा गरेको छ ।
नेपाललाई विश्वकप छनोटसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै मेयर पदम बोगटीले शनिबार एक कार्यक्रमकाबीच दीपेन्द्र र भीमलाई जनही एक लाख ५१ हजार रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेको नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले बाह्रखरीलाई बताए ।
उनीहरू दुवैजना भीमदत्त नगरपालिकाका स्थायीवासी हुन् ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा बिहीबार युनाइटेड अरब इमिरेट्स (यूएई) माथि डकवर्थ लुइस पद्धतिमा ९ रनले पराजित गर्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको क्लोबल क्वालिफायरमा स्थान पक्का गरेको थियो । नेपालको जितमा भीमले ६७ रनको महत्त्वपूर्ण इनिङ्स खेलेका थिए । यस्तै, बलिङमा दुई विकेट लिएका दीपेन्द्र १० रनमा अविजित रहेका थिए ।

“खेलाडी उपस्थित भएको कार्यक्रममा मेयर पदम बोगटीले दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही एक लाख ५१ हजारसहित सम्मान गर्ने भनेर घोषणा गरेका हुन् । मेयरको घोषणाअनुरूप प्रक्रिया पुर्याएर सम्मान गरिनेछ,” प्रवक्ता खड्काले भने ।