काठमाडौं । देशका केही स्थानमा अहिले वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार झापा, सुनसरीका केही स्थानमा वर्षा हुँदै छ । पछिल्लो तीन घण्टामा सिरहा, सप्तरी, धनुषा, महोत्तरीलगायत स्थानमा पनि वर्षा भएको महाशाखाका मौसमविद् गोविन्दकुमार झाले जानकारी दिए ।
उनका अनुसार आज र भोलि देशका धेरै स्थानमा मौसम बदली हुनेछ । केही स्थानमा आज बिहानैदेखि मौसम ‘डिस्टर्ब’ रहेको उनले बताए ।
“यो प्रिमनसुनको समय हो । यो समयमा अपराह्नमा पानी पर्ने सम्भावना बढी हुन्छ,” उनले बाह्रखरीसित भने, “दिनभर वर्षा हुँदैन । केही बेर पर्ने हुन्छ ।”
काठमाडौंमा आज पनि वर्षाको सम्भावना छ । दिउँसो २/३ बजेपछि वर्षाको सम्भावना रहेको उनले बताए ।

“काठमाडौंमा दिउँसो २/३ बजेपछि मेघगर्जनसहित वर्षाको सम्भावना छ,” उनले भने, “हल्का वर्षा हुन्छ । बेलुका ६/७ बजेसम्म हुनसक्छ ।”
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ ।