
काठमाडौं । हाल देशभर आंशिकदेखि सामान्य बदली छ । वाग्मती प्रदेश, मधेस प्रदेश र कोसी प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका केही स्थान तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका थोरै स्थान तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
“देशको पहाडी भू–भागका केही स्थानहरू तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन/चट्याङ तथा हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ,” महाशाखाबाट आउँदो २४ घण्टाका लागि जारी चेतावनी तथा परामर्शमा उल्लेख छ ।
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ ।