
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले व्यवसायमैत्री कानुन निर्माणका लागि आफू सधैँ तयार रहेको बताएका छन् । उद्योग व्यवसायमैत्री कानुन निर्माणका लागि राजनीतिक दल र सांसदहरूसँग सहजीकरण गर्न पनि आफू लागि पर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
शनिबार ललितपुर उद्योग वाणिज्य संघले आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले मुलुक भित्रै उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने, नेपालमा हुने आयात प्रतिस्थापन गरी निर्यात बढाउन कानुनको अभाव हुन नदिन आफू सचेत रहेको बताए ।
व्यापार गरी नाफा कमाउनु व्यवसायीहरूको धर्म भए पनि सामाजिक उत्तरदायित्व बहन गरी मुलुकको दीगो विकासमा अझै धेरै योगदान पुर्याउन पनि उनाँले व्यवसायीहरूलाई आग्रह गरे ।
“उद्योग व्यवसायको प्रवद्र्धनका लागि नेपालका जनप्रतिनिधिहरुको संस्था संसद हो । त्यो संसदले यहाँ आएर ऐक्यवद्धता जनाउनु पर्दछ । तपाईंहरूको समस्यालाई सुन्नु पर्छ भनेर म यहाँ आएको पनि तपाईंहरूलाई भन्न चाहन्छु,” सभामुख घिमिरेले भने, “मुलुकभित्र नै उत्पादनमा वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने, राष्ट्रिय आयमा वृद्धि गर्ने र नेपालमा हुने आयातलाई प्रतिस्थापन गरी निर्यातलाई वृद्धि गर्नका लागि उद्योगी, व्यवसायीहरुको योगदान महत्वपूर्ण छ । त्यसका लागि कानुनको अभाव रहेको भए वा व्यवसाय मैत्री कानुनहरू बनाउनु पर्दा तपाईंहरूको सुझाव लिन निर्धक्क मलाई भन्न सक्नुहुनेछ ।”

सभामुख घिमिरेले मुलुकको अर्थतन्त्रलाई सही बाटोमा अघि बढाउन सम्बन्धित सबै पक्षले सामूहिक प्रयास गर्नुपर्ने आवश्यक्ता औंल्याए । उनले मुलुकको अर्थतन्त्रलाई खल्बल्याउने खालका कुनै पनि गतिविधि हुन नहुने बताए ।