site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गुमनाम जिन्दगी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

वर्णविन्यासको पहिलो शब्द ‘नाम’ । कुनै पनि ठाउँ, चिज, व्यक्तिको पहिलो पहिचान ‘नाम’ । मान्छेलाई अति प्यारो लाग्ने नाम । यो नाम पनि कहिले सुनाम भएर आउँदो रहेछ, कहिले बदनाम भएर जाँदो रहेछ । कहिलेकाहीँ थाहै नपाई गुमनाम भएर बस्दो रहेछ ।

कसैको नाम सुनाम भए वा चलेको नाम परे उनीसँग आफूलाई लपक्कै गाँस्नुपर्ने, साक्खै देखाउनुपर्ने । ‘मेरो आफ्नै मान्छे’, ‘नजिकको मान्छे’, ‘चिनेको मान्छे’ आदि कहलिएर नजिक हुने वा नजिक देखाउनुपर्ने । ‘हामी यो गर्थ्यौँ, त्यो गर्थ्यौँ’ भनेर समेत पुष्ट्याउनुपर्ने ।

मानवीय स्वभाव हाम्रो । बदनाम भए आफन्त नै किन नहोस् ‘खै थाहा छैन को हो, ए सुनेको चाहिँ हो, तर चिन्दिनँ’ अथवा ‘चिनेको त हो, तर कामै नलाग्ने मान्छे’ आदि भनेर बद्ख्वाइँ गर्नुपर्ने, तर्कनुपर्ने ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

बुझिनसक्नुको विविधायुक्त छ मानवीय स्वभाव । यो नाम महात्म्य पनि थरीथरीका । सबको नाम त एकै हो, तर विभिन्न कालखण्डमा कहिले बढी नै चर्चामा आउने, कहिले हराउने । यो पनि चक्रवात हिसाबले चल्छ कि क्या हो ! ज्वारभाटा जस्तै ।

मैले जिन्दगीलाई सधैँ चलायमान राखेँ । गतिशील राखेँ । सधैँ भागदौडमा हिँडेँ । यसो फुर्सद भो भने कि त मन लागेको पुस्तक पढेँ, कि त मन परेको गीत सुनेँ । कि त मनपर्दो खेल खेलेँ । कि त साथीसंगी वा घरपरिवारसँग बिताएँ । केही न केही गरेरै बसेँ ।

Royal Enfield Island Ad

मान्छेहरू भन्छन्, ‘टाइम पास गर्न गाह्रो भो ।’ मलाई भने टाइम पाउन गाह्रो भो । मोरङको कसेनी बोराबाँधको वीरेन्द्र विद्यालयबाट सुरू गरेको जागिर, अमेरिकन संस्था आरटीआई इन्टरनेसनलमा आएर एक वर्षअघि सकिएको छ । बल्लबल्ल सास फेर्ने मौका पाएको छु । जिन्दगी जिएजस्तो भएको छु । तर, गुमनाम छु । बेनाम छु । यस अर्थमा कि मेरो नामपछि जोडिएर आउने सहायक नाम अथवा भनौँ अर्कोे नाम अब छुटेको छ, ओझेल परेको छ ।

अचम्म छ, कहिले अघिल्लो नामले चिनाउँदो रहेछ मान्छेलाई, कहिले पछिल्लो नामले जित्दो रहेछ मान्छेलाई । समय–परिस्थितिअनुरूप कहिले प्रेमबहादुरले जित्ने त कहिले ‘सुबेदारबा’ले, कहिले हरिबहादुरले जित्ने त कहिले ‘सीडीओसा’ब’ले, कहिले निरादेवीले जित्ने त कहिले ‘अध्यक्ष’ले । म भने दुवै नामको अघिपछि भएर अघि बढिरहेँ । तर, न म अघिको भएँ न पछिको ।

छिनामखु देवीथानमा पढ्दा मेरो घरको नाम ‘उदय’ सँगै अर्को सृजना गर्दाको नाम ‘यूपी’ले म बाँचेथेँ । यूपी लेखेकोले नगेन्द्र राई सरले ‘उत्तर प्रदेश’ भन्नुहुन्थ्यो । अझ पनि गाउँका मेरा साथीसँगी, दाजुभाइ, शिक्षकहरू ‘यूपी’ भनेर बोलाउँछन्, चिन्छन् । भोजपुर पढ्दा भने म बेनामजस्तै थिएँ भन्दा पनि हुन्छ । किनभने, मेरो साँघुरो घेराभन्दा बाहिर म विरलै निस्केँ, त्यहाँ हुँदा । लाग्छ, सुनाम वा कुनाम जे हासिल गर्न पनि मान्छे सामान्य घेराबाट बाहिर निस्कनुपर्दो रहेछ । सायद निस्किनँ त्यहाँ ।

विराटनगर कलेज पढ्दा ‘अन्त नि सर’ थिएँ । पछिपछि ‘उद्वव’ले नै जित्यो । कीर्तिपुरमा पहिलो नामले नै जित्यो । त्यसपछि भने बैंकमा तीन नाम आए– उद्ववजी, राईजी र वरिष्ठ सहायक (ब.स.) माड्साब । सायद तिनैका बीच प्रतिस्पर्धा भो । अमेरिकी पिसकोरमा पहिलो नामले जित्यो, कारण अमेरिकीहरू जो पहिलो नामले बोल्न र बोलाइन मन पराउँछन् वा भनौँ त्यसमा उनको प्राथमिकता, रुचि र सम्मान छ ।

अरुण–३ मा पहिलो र दोस्रो दुवै नामले बाँचेँ सायद । पाख्रीबासमा पनि बैंकमा जस्तै तीन नामले चिनिएँ सायद । कतिले उद्धवजी भने त कतिले राईजी वा राईसर भने, तर कहिल्यै विमति जनाइनँ । तेस्रो नाम समाजशास्त्री सरचाहिँ कसैले भनेनन् । कारण, यो नाम उच्चारण गर्न र अर्थ्याउन सरल थिएन होला तिनलाई ।

त्यसैले यो नाम भन्ने चिज सजिलो पनि हुनुपर्दो रहेछ भन्ने लाग्छ । यूके पढदा र बस्दा बढी ‘रे’ भएँ, कारण मेरो नाम अंग्रेजहरूलाई उच्चारण गर्न गाह्रो । तर पनि विश्वविद्यालयमा भने पहिलो नामले नै चिने बढीले । अप्ठ्यारो गर्दै पनि उच्चारण गर्थे र सोध्थे ‘के मैले सही उच्चारण गरेँ ?’ भन्दै । ती पछि नेपालमा काम गरेका ठाउँहरू प्लान इन्टरनेसनल, त्रिभुवन विश्वविद्यालय, सेभ द चिल्डे«न इन्टरनेसनल, कोलार्प, आरटीआई इन्टरनेसनल सबैमा मेरो पहिलो नाम र तेस्रो नाम पर्यायवाची बनिरहे । दोस्रो नाम ‘राई’ हटेर गयो ।

सानो अलि पिछाडिएको अनि मूलप्रवाहबाट बाहिरको ‘राई’लाई उद्ववले जित्यो सायद त्यति बेला । अन्तर्राष्ट्रिय संस्थाहरूमा काम गर्दा पहिलो नामले जित्यो कतिपय । नेपालका सरकारी कर्मचारीहरूसँग काम गर्दा भने उनीहरू सत्ता र शक्तिधर्मी भएकाले म्यानेजर, डाइरेक्टर, एडभाइजर, टिम लिडर, डाक्टरसाब आदि नामहरूले जिते कतिपय । सेवानिवृत भएको १ वर्ष भयो । अब मेरो नाम कुन छ, कन्फ्युज छु । त्यसैले गुमनाम छु...।

मैले मेरो नाम आइरहोस् वा मेरो नाम सबैले लिऊन्, जानून्, चिनून् भनेर कहिलै काम गरिनँ । न त त्यस्तो प्रयास नै गरेँ । जहिले पनि मेरो कामले अरूलाई कस्तो असर वा प्रभाव पार्ला भन्नेचाहिँ सम्झिरहेँ । सभाकक्षहरूमा बस्दा मभन्दा पछिका व्यक्तिहरूलाई छेलेको छु कि भन्ने ख्याल गरेँ । बाटो काट्दा मेरो हिँडाइले अरूमा असर पर्दै छ कि भनेर बाटो छाडेर हिँडेँ । समारोहहरूमा बोल्दा अरूको समय बढी लिँदै छु कि भन्ने सोचेँ । खाना खाँदा, खाना कम छ जस्तो लागे अरूलाई नपुग्ने पो हो कि भनेर ख्याल गरेँ । बोल्दा, खाँदा, बाटो हिँड्दा सबैमा म जहिले पनि अघि हुनुपर्छ भन्ने कहिलै सोचिनँ ।

सायद त्यसैले पनि म गुमनाम बनेँ कि ! यस अर्थमा आमनेपाली समाज मनोविज्ञानविपरीत हिँडेर पो गुमनाम भएँ कि ! नेपाली मनोविज्ञान न हो, कतिपयले आफ्नो नाम बनाइराख्न कतै आफूलाई चिनाउँदा वा परिचय दिँदा म फलानाको भाइ, ढिस्कानाको बहिनी अथवा डाक्टर फलाना, म प्रोफेसर ढिस्काना वा म भूपू सीडीओ फलाना, म भूपूमन्त्री ढिस्काना, म क्याप्टेन फलाना भन्ने गर्छन् । म त्यसो गर्न वा भन्न नपाएर पो गुमनाम भएँ कि ! समग्रमा भन्नुपर्दा, नामको खोजमा पो यो जागिरे जीवनको अन्त र अवकाशे जीवनको आरम्भमा अलमलिएको छु कि ! खै कसो हो, कसो... लाग्छ ।

DR Uddhav Rai book Koshi Kinarkaa Pailaharoo cnk1679122472.jpg

मलाई जिन्दगीमा धेरैधेरै गर्नु छ,... लाग्छ तर समय पुग्दैन । समय छोटो छ भन्नेचाहिँ लागिरह्यो जहिले पनि । एक किसिमले लोभी भएँ म, समय उपभोग गर्ने अर्थमा । किन पनि त्यसो भएँ होला भने जिन्दगी नश्वर छ, कुनै दिन कुनै बेला यो फुस्स जान्छ भन्ने मलाई ख्याल भइरह्यो र भइरहन्छ । जीवनोपयोगी, युगान्तकारी कामहरू नगरी मरिने हो कि भन्ने भयले पनि हुनसक्छ, समयप्रति आशक्ति भने भइरह्यो र भई नै रहन्छ मलाई । समयको पछि लागिरहेँ, नामको पछि लागिनँ । कामको पछि लागेँ, फलको पछि लागिनँ । त्यसैले नै पनि गुमनाम भएँ कि !

कार्यपत्रहरूमा मैले बढी काम गरे पनि वा मैले नै सबै लेख्ने गरे पनि कहिलेकाहीँ सबभन्दा अघि अरूकै नाम राख्नमा विमति नराखेकोले पनि गुमनाम भएँ कि ! मैले आफैँले गरेका कामहरू, आफैँले कमाएका नामहरू बेच्न नसकेर पो बेनाम भएँ कि ! समग्रमा यो त्यो काम गर्दा मेरो नाम, मेरो हिस्सा कहाँ छ, खोजिनँ कि ! जे होस्, बिसौनीको यो अवधिमा मेरो नाम कहाँ छ भन्ने बल्ल सोच्ने फुर्सद भएको छ मलाई । सुनाम राम्रो, बदनाम नराम्रो । बदनामभन्दा त गुमनाम नै राम्रो होइन र ?

अधिकांश मानिसहरू मेरै जस्तो अवस्था र सोचबाट गुज्रन्छन्–गुज्रन्नन्, थाहा छैन । तर, म भने अलिकति हतोत्साह, अलिकति अन्योल र अलिकति अनिश्चितताले ग्रसित भएको छु कि कसो, र यसबारे लेख्न बसेकोे छु । मलाई अलिकति डर पनि छ, कतै म पनि आम अवकाशीहरूजस्तै हुन्छु कि भनेर । किनभने, जागिरमा हुँदा नाम, दाम, शक्तिका उपासक अनि अभ्यासकहरू जागिरबाट बाहिरिएपछि भुस्याहा लुते कुकुरजस्तै भएर हिँडेको पनि देखेको छु । तिनलाई कसैले नपुछेको देखेको छु । अनि, तिनलाई कालान्तरमा कुलतले गाँजेको पनि सुनेको छु, देखेको छु ।

जिन्दगीभर प्रत्येक दिन कार्यालय समयपछि घुस खाएको पैसा गन्न लत बसेकाहरू अवकाशपछि गन्न नपाएर बौलाएका, डिप्रेसनमा गएका र तिनलाई उपचारस्वरूप स–साना रुपियाँका बिटो बनाएर गन्न दिने उपचारका विधि अपनाइएका कथाहरू पनि सुनेको छु । जुनीभर गरेका कुकर्मलाई चारधाम तीर्थयात्रा गर्दा पनि पखाल्न नसकेर कुबेलामै जीवन बिसाउनेहरू पनि देखेको छु । मलाई लाग्छ, काम र रोजगारीको उपयुक्त योजना आवश्यक भएजस्तै मानिसको अवकाश र अवकाशपछिका योजना र तिनको उत्पादनशील जीवनको उपयोगका बारे बहस सुरु गर्न र योजनाहरू बनाउन ढिला गर्नु हुँदैन ।

यो निकै महत्त्वपूर्ण विषय हो छलफलको, योजनाको अनि दीर्घकालीन सोचको । किनभने, जीवनरूपी चपाती (रोटी) लाई तीन भागमा बाँड्ने हो भने तीनमध्येका दुई अंश सकिए पनि अन्तिम तर महत्त्वपूर्ण अंश त बाँकी नै छ त । यसरी गुमनाम जिन्दगीका बारेमा सोच्दा, लेख्दा यस्ता विवेचना अनि सोचमा समेत पुगेको छु म । जे होस्, नवीनताअघिको शून्यतामा अल्झेको यो क्षणमा नाम, सुनाम, बदनाम, बेनाम, दुर्नाम, गुमनाम आदिका बारेमा सानो छलफल गरेर आत्मरञ्जन लिएको छु ।

यति बेला म मैले जानेका, पढेका, सुनेका र नजिकबाट चिनेका केही व्यक्तित्वहरूलाई पनि सम्झँदै छु । स्टान्फोर्ड विश्वविद्यालयका प्रोफेसर इमिरटस जेम्स मार्चलाई सम्झन्छु, जसले ८३ वर्षको हुँदा पनि पुस्तक प्रकाशन गरे । सिलिया बर्लेलाई सम्झन्छु, एकल छिन् अनि मध्य ७० को उमेरमा पनि क्रियाशील छिन् । दुवै खुट्टा जोडिने ठाउँको हर फेरेको छ, तर पनि मध्यम उचाइका अफ्रिकी र युरोपेली पहाडहरू चढी हिँड्छिन् । यूकेको चेस्टरमा बसेर विधुवा विधुरहरूको नेतृत्व गर्छिन् ।

डन विलियम्सलाई सम्झन्छु, जो आफ्नो झन्डै ८ दशकको उमेरमा जीवनको अन्तिम वर्षसम्म पनि कन्सर्ट गर्दै थिए भने कलोनेल साण्डर्स आफ्नो ६० को दशकमा संसार ढाक्ने चेन फास्टफुड रेष्टुराँ ‘केएफसी’ भरखर सुरू गर्दै थिए । नेपालकै कुरा गरौँ न ! राष्ट्रकवि माधव घिमिरे आफ्नो शतांशकको अन्तिम दशकको मध्यतिर पनि ‘पलेटी’मा कन्सर्ट गर्दै थिए । आफ्नै मृत्युबोधको गीत ‘त्यसरी होस् मरण...’ अरूलाई नभनी सृजना गर्दै थिए । हुतराम वैद्य आफ्नो शताब्दीको दशकमा पनि वाग्मती सभ्यता संरक्षणको वकालत गर्दै थिए । संस्कृतिविद् सत्यमोहन जोशी हाल १०२ वर्षमा पनि सांस्कृतिक सम्पदा संरक्षणका कुरा गर्दै छन् । डीबी काकाको कुरा गरौँ, अहिले ८७ वर्षमा लट्ठी नटेकी हिँडछन् । भेट्नेबित्तिकै उत्साह, उमंग र रोमान्सका कुरा गर्छन् । एक्लै छन्, किताबहरू पढ्छन्, बहस गर्छन् । सुदूरसपनाहरूका कुरा गर्छन् ।

हाम्रै गाउँको कुरा गर्ने हो भने हाम्रा हर्कपाल बाजे ९६ वर्षमा पनि अलैँची र सुन्तला रोप्दै थिए । छोरा–नातिलाई अलैँचीका उत्पादन बढाउने काइदाहरू सिकाउँदै थिए । यसरी एकातिर हेर्यो, प्रेरक नामहरू पनि छन्, दृष्टान्त पनि छन् । अक्सर यी आदरणीय व्यक्तित्वहरूलाई सम्झन्छु, उनका कुराहरूले ऊर्जा मिल्छ, प्रेरणा दिन्छ र जीवनमा एउटा गुञ्जन थप्छ । अर्कातिर जीवनका दुईतिहाइको अन्तले कहिलेकाहीँ मलाई कसरी अघि बढ्ने भनेर सोचमग्न पनि बनाउँछ, नढाँटी भन्नुपर्दा ।

गुमनाम नै भए पनि दुइटा कुराचाहिँ संयोगवश हुन पुगेका रहेछन् मेरो जिन्दगीमा । पहिलो कुरा, म ‘त्रिभुवन’ भन्ने नामसँग सुरुदेखि अन्तसम्म समीप भएर बसेछु । सानो बालक छँदा भोजपुर छिनामखुको त्रिभुवन धर्मोदय विद्यालयको कक्षा १ बाट सुरु भएको मेरो शैक्षिक जीवन बेलायतको म्यान्चेस्टर विश्वविद्यालय, नेदरलेण्डसको इन्स्टिच्युट अफ सोसल स्टडिज, अमेरिकाको कर्नेल विश्वविद्यालय हुँदै त्रिभुवन विश्वविद्यालयको उच्चतम उपाधिसम्म पुगेर टुंगिएछ । अर्थात्, त्रिभुवनदेखि त्रिभुवनसम्म । जे भए पनि त्रिभुवन, महेन्द्र, वीरेन्द्र नेपालका राज–इतिहासहरू– क्रमशः प्रजातन्त्रका प्रवर्तक तथा अभिभावक, कूटनैतिक सर्जक, अनि चिन्तक ।

दोस्रो कुरा, मोरङको एक कुनाको वीरेन्द्र निम्न माध्यमिक विद्यालयमा बालबालिकाको शैक्षिक अवस्था सुधार गर्न भनी जागिर सुरु गरेको म युवा विभिन्न किसिमका संस्थाहरूमा काम गर्दै अन्तमा बालबालिकाहरूको शैक्षिक गुणस्तरमा सुधार ल्याउन आरटीआई इन्टरनेसनलको तर्पmबाट अमेरिकी सहयोग नियोगको एक परियोजनाको वरिष्ठ सल्लाहकार भएर सेवानिवृत्त भएको छु । बीचबीचमा कहिले उत्पादन वृद्धि गर्न त कहिले भूमिको उचित व्यवस्थापन गर्न, कहिले द्वन्द्व व्यवस्थापन गर्न त कहिले खाद्य सुरक्षा बढाउन काम गरे पनि धेरैजसो मेरा कामका क्षेत्रहरू ‘बालबालिकाका समग्र विकास नै देशको दीर्घकालीन विकासको मेरुदण्ड हो’ भन्ने वरिपरि घुमेछन् । त्यस अर्थमा म आफूलाई भाग्यशाली सम्झन्छु ।

नाममा बिते कि गुमनाममा बिते दुईतिहाइ जिन्दगी, तर योचाहिँ निश्चित हो कि नैतिकवान्चाहिँ भएर बिते । देशको कुनै ऐतिहासिक कालखण्डमा नैतिक र अनैतिकहरूको छानबिन भए अघिल्लो समूहमा निःसंकोच छानिने भएर बिते । नैतिकताको प्रश्नमा शिर नझुक्ने भएर बिते । जुनसुकै ठाउँ गएर काम गरे पनि सुधारका लागि, परिवर्तन र सबलीकरणका लागि बिते । केन्द्र र मोफसलको तानातानमा मोफसलको सशक्तीकरणका पंक्तिमा उभिएर बिते । बहिष्करणमा परेका समुदायको पक्षमा बिते । विकास र अविकासको बहसमा, अविकासको पक्षमा, तिनको अन्वेषण तथा पैरवीमा बिते ।

लाग्छ, जिन्दगीको दुईतिहाइ त गुमनाम होइन साँच्चै छानबिन गर्ने हो भने त सुनाममा पो बितेछ कि क्या हो ! नामैनामले पो बितेछ त ! बाँचेको अरू एक भाग त यिनैमा सृजित सुन्दर फूलका थुँगाहरूलाई भोगाइका मालाहरूमा उन्न बाँकी नै रहेछन् त ! हजारौँ बिरुवाहरू रोप्न नै बाँकी रहेछन् त ! सयौँ फूलहरूलाई फुलाउनै पर्ने पो रहेछ त ! सजिलै जो कोहीले नपाउने अनन्त अनुभव र सिकाइले समुदाय, टोल र गाउँलाई सिँगार्नु नै बाँकी रहेछ त ! एउटा उत्तम सुरुवात गर्नु नै रहेछ त..., लागेको छ । कहिलेकाहीँ केले हो कुन्नि दृष्टिभ्रम पो हुँदो रहेछ त ! जीवनको उत्तराद्र्धको मोज लिनै पो बाँकी रहेछ त, हेरौँ ! 

(बुकहिलबाट डा. राईको भर्खरै प्रकाशित पुस्तक ‘कोशी किनारका पाइलाहरू’को अंश)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १०:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro