site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रामसहाय शिक्षकदेखि उपराष्ट्रपतिसम्म– उपेन्द्रको साथले पछि फर्किनुपरेन !

काठमाडौं । ५२ वर्षीय रामसहायप्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएका छन् ।  उनी उपराष्ट्रपतिको चौथोे कार्यकालका लागि निर्वाचित भएका हुन् । 

नयाँ उपराष्ट्रपति चयनका लागि भएको मतदानमा उनले ३० हजार ३२८ मतभार प्राप्त गरे ।  एमालेकी उपाध्यक्ष अष्ट्रलक्ष्मी शाक्य र जनमत पार्टीका ममता झा पनि प्रतिष्पर्धामा थिए । 

जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलको नेतासमेत रहेका यादवलाई  सत्ता गठबन्धनमा रहेका दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीको साथ रहेको थियो । 

यस्तो छ रामसहायको विगत 
नवनिर्वाचित उपराष्ट्रपति यादव २०२७ सालमा (साविक) बाराको कर्चोवा गाविसमा जन्मिएका हुन् । 

उनले भारतको सितामढी कलेजबाट विज्ञान विषयमा स्नातक (बी.एस.सी)  र ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जबाट शिक्षा संकायमा स्नातकसम्मको अध्ययन गरेका छन् ।

यादवले शिक्षण पेशासँगै मधेसमा राजनीतिक चेत फैलाएको उनी सम्वद्ध पार्टीका नेताहरु बताउँछन् ।

२०४७ सालमा नेपाल सद्भावना पार्टीमा आवद्ध भएर राजनीतिक यात्रा आरम्भ गरेका यादव २०४८ मा शिक्षण पेशामा संलग्न भए ।

उनले १६ वर्ष अर्थात् २०६४ सालसम्म शिक्षण पेशमा संलग्न रहे । यादवले बाराको  कलैयामास्थित श्री पन्ना देवी कन्या माद्यामिक विद्यालयमा विज्ञान र गणित बिषयको शिक्षकको भूमिका निर्वाह गरेका थिए । 

राजनीतिकै दौरान काठमाडौंको भद्रकालीमा २०४७ को संविधान जलाउने क्रममा गजेन्द्र नारायण सिंह, हृदेयश त्रिपाठी, रामेश्वर रायसँगै रामसहाय यादव पनि पक्राउ परेका थिए । मधेस आन्दोलनका दौरान पटक–पटक जेल परेका थिए ।

उपेन्द्रसँगको साइनो 
गजेन्द्रनारायण सिंहको निधनपछि नेपाल सदभावना पार्टी विभाजनको संघारमा पुग्यो । 

२०५९ मा राजविराजमा भएको सद्भावनाको पाँचौं महाधिवेशनमा उनी पार्टी विभाजनको विरोधमा आमरण अनसनमा बसे । 

त्यतिबेला बद्री मण्डल अध्यक्ष बन्न चाहेका थिए । यादव आनन्ददेवीको नेतृत्वमा पार्टी एकता हुनुपर्ने पक्षमा थिए । 

आनन्ददेवीको नेतृत्वमा नेपाल सद्भावना पार्टी (आनन्ददेवी) गठन भएपछि उनले अनसन तोडेका थिए । 

उक्त महाधिवेशनपछि भूमिगत रहेका उपेन्द्र यादव र रामसहायको भेट भयो । 

सोही भेटबाट मधेशको अधिकार र पहिचानको लागि लड्ने एउटा बैकल्पिक राजनीतिक शक्ति निर्माणको विषयमा छलफल सुरुवात भएको थियो । 

जनयुद्धकालमा उपेन्द्र यादव दिल्लीमा पक्राउ परे । पछि उनी भारतमा भूमिगत भएर नेपालमा संगठन बिस्तारमा प्रयासरत रहे । 

नेपालमा रामसहाय लगायतले भूमिगत रुपमा मधेशी जनअधिकार फोरमको संगठन विस्तारमा साथ दिए ।  २०६० फागुन ७ गते रामसहायले बारामा ९ सदस्यीय जिल्ला कमिटी गठन गरे । उनी बाराका संस्थापक जिल्ला अध्यक्ष बने । 

२०६० मा नै भएको पटना बैठकबाट उनी केन्द्रीय सदस्य चयन भए । साथै उपेन्द्रको विश्वासपात्र बन्दै अघि बढे । 

२०६२–६३ को जनआन्दोलनमा सक्रियतापूर्वक सहभागी भए ।  उनी काठमाडौंबाट गिरफ्तारसमेत भए ।  जनआन्दोलन सफल भए पनि फोरम मधेश आन्दोलनको तयारीमा थियो । 

सरकारले २०६३ माघ १ गते अन्तरिम संविधानमा जारी गर्यो । संविधानमा असन्तुष्टि जनाउँदै उसले माघ २ गते संविधान जलाउने निर्णय गर्यो । मधेशी नेताहरुले संविधान जलाए । 

त्यसक्रममा अरु नेताहरुसँगै रामसहाय पक्राउ परेका  थिए ।  जनदबाबपछि छुटेका उनी गौर घटनापछि पार्टीको रौतहट इन्चार्ज पनि बनेका थिए । 

महासचिवको भूमिका 

यादवले पटक–पटक पार्टी महासचिव बन्ने अवसर पाएका छन् ।  उनी २०६५ सालमा पार्टी (मधेशी जनअधिकार फोरम)को महासचिव चुनिए । 

२०७२ सालमा मधेशी जनअधिकार फोरम र अशोक राई नेतृत्वको संघीय समाजवादीसँग पार्टी एकता भयो । 

पार्टी एकतापश्चात्को बनेको संघीय समाजवादी फोरम, नेपालको महासचिव बने ।  त्यस्तै २०७५ सालमा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी एकीकरण भएर समाजवादी पार्टी बन्यो । उनी समाजवादी पार्टीको पनि महासचिव बने । 

२०७६ मा समाजवादी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भयो ।  एकीकरणपछि बनेको जनता समाजवादी पार्टी, नेपालको उनी केन्द्रीय कार्यकारिणी समिति सदस्य बने । 

संसद् यात्रा 

यादव २०६४ सालको पहिलो संविधानसभाको सदस्य हुन् ।  उनी मधेशी जनअधिकार फोरमबाट समानुपातिक सांसद चुनिएका थिए । यादव २०७४ मा दोस्रो पटक संसद छिरे । 

०७४ को निर्वाचनमा बारा क्षेत्र नम्बर २ मा संघीय समाजवादी फोरम, नेपालबाट निर्वाचित भएका थिए । यादवले शेरबहादुर देउवा नेतृत्वको सरकारमा नौ महिने मन्त्री बन्ने अवसर पनि पाएका छन् । 

०६४ मा संविधानसभा सदस्य रहेका यादवलाई तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र झलनाथ खनालले मन्त्री बन्ने प्रस्ताव गरेका थिए ।  

उनले संविधान नबनेसम्म मन्त्री नबन्ने प्रण गरेकाले पद अस्वीकार गरेका थिए ।  उनी देउवा नेतृत्वको सरकारमा २०७८ असोज २२ गते वन तथा वातावरणमन्त्री नियुक्त भएका थिए । 

०७९ असारमा पार्टीको भागबण्डा मिलाउँदा उनलाई जसपाले सरकारबाट फिर्ता बोलाएको थियो ।  मंसिर ४ गते भएको निर्वाचनमा उनी बारा क्षेत्र २ बाट पुनः निर्वाचित भए । 

यादव मधेशी जनअधिकार फोरमदेखी जसपा आइपुग्दा अध्यक्ष अध्यक्ष उपेन्द्र यादवको विश्वास पात्र नै बनिहेका छन् । 

पार्टी अध्यक्ष यादवले चुनाव हार्दा पार्टीको केन्द्रीय कार्यकारिणी सदस्य समेत रहेका रामसहायले संसदीय दलको नेता बन्ने अवसर पनि पाए । 

नेता अशोक राईलाई रोक्दै उनी गएको पुस १३ गते संसदीय दलको नेता चुनिएका थिए । 

रामसहाय उपराष्ट्रपति पदमा निर्वाचित भएसँगै बारा क्षेत्र नम्बर २ मा सांसद पद रिक्त हुनेछ । उपेन्द्र सोही पदमा उपनिर्वाचन लडेर संसद छिर्ने दाउमा छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro