site stats
साहित्य
बाटो
S.A.U
Agani Group
Global bank

कुनै दिन भयंकर पिएको बेला   
आधा होस गुमाएर 
आधा होस सम्हालेर 
ढुलमुल ढुलमुल 
पश्चात्तापको बाटो 
तिम्रो दैलोसामु आइपुग्ने मन छ 
र, तिमीलाई छिमेकीले छ्याङ्गै सुन्ने गरी 
केही बताउने मन छ–

तिमी ठूलो पत्थर हौ
धन्न मेरो शिर ठोक्किएन र बच्यो मेरो शिर 
म तिमीलाई टोपी बनाउन चाहन्थेँ
तिमी पत्थरैपत्थर रहेछौ 
धन्न ठेस लागेर लडिनँ र बच्यो मेरो छाती 
म तिमीलाई मुटु बनाउन चाहन्थेँ 
साँच्चै भन्ने हो भने 
तिमी मूर्ति बन्न पनि लायक रहेनछौ
म तिमीलाई ईश्वर बनाउन चाहन्थेँ 
म तिमीलाई तीन चुल्होको 
सुवासिनी बनाउन चाहन्थेँ

यत्ति भनिराखेर 
ढुलमुल ढुलमुल 
सन्तुष्टिको बाटो 
आफ्नै घरतिर फर्कने मन छ 
र, भोलिदेखि फेरि खोज्ने मन छ 
माया भएको मान्छे 
प्रेम बुझेको मान्छे 
र, हिँड्न मन छ फेरि यौटा
नयाँ बाटो !

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  ०९:०३
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय