site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसबाट सरकारमा नेतृत्व गर्ने यी हुन् सम्भावित नेता 

काठमाडौं । तत्कालीन सातदलीय गठबन्धनमा रहेका मध्ये तीन पार्टी सरकारबाट बाहिरिए । अहिले सरकारमा नेकपा (माओवादी केन्द्र) र जनमत पार्टी मात्र छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्वासको मत लिने तयारीमा छन् ।

एमाले र राप्रपा मात्र होइन, नागरिकताका कारण पार्टी सभापति रवि लामिछानेले गृह मन्त्रालय गुमाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि सरकार छाडेको थियो । तर, रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । तत्कालीन गठबन्धनमा रहे पनि जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टी सरकारमा गएनन् ।

अहिले प्रधानमन्त्री प्रचण्ड एक्लैले १६ मन्त्रालय सम्हालिरहेका छन् । बाँकी पाँच मन्त्रालयमा मात्र विभागीय मन्त्री छन् ।

कांग्रेसलाई कति मन्त्रालय ? 
यही फागुन २५ गतेभन्दा अगाडि मन्त्रिपरिषद् विस्तार हुने सम्भावना नरहेको सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा बताउँछिन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पनि फागुन २५ पछि नै लिने शर्माको भनाइ छ । फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदै छ ।

एमाले नेतृत्वको तत्कालीन गठबन्धन भत्किएर अहिले नयाँ समझदारी भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्रसहित गठबन्धन बनेको छ ।

सबैभन्दा ठूलो दल भएकाले मन्त्रिपरिषद् विस्तार गरिँदा कांग्रेसले बढी मन्त्रालयमा दाबी गर्ने तयारी गरेको छ । एमालेले यसअघि आठ मन्त्रालय लिएको थियो । त्यति बेला सात दलको गठबन्धन थियो । अहिले आठदलीय गठबन्धन छ । कांग्रेसले दाबी गरेजति मन्त्रालय नपाउन सक्छ । किनभने, उपप्रधानसहित थप मन्त्रालय माग गर्ने जनमत पार्टीको तयारी छ । जनमतबाट एकजना मात्र मन्त्री छन् ।

यस्तै, सम्मानजनक शक्ति बाँडफाँट नभएको भन्दै सरकारमा नगएको जसपा समेत उपराष्ट्रपति आफ्नो नेतालाई बनाउने र प्रभावशाली मन्त्रालयसहित सरकारमा जाने तयारीमा छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति र अरू दलहरूले पनि सकेसम्म बढी मन्त्रालय चाहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकार आउने गरी संवाद भइरहेको सत्तारूढ दलका नेताहरू बताउँछन् । रास्वपासहित गठबन्धनमा नौ दल आबद्ध भए मन्त्रालय बाँडफाँटमा थप सकस हुनेछ । कांग्रेसले पाउने मन्त्रालयको संख्या घट्ने अवस्था आउनेछ ।

“ठूलो दल हौँ । आठभन्दा बढी मन्त्रालय पाउनुपर्छ भन्ने हाम्रो माग हो,” कांग्रेसका एक नेताले बाह्रखरीसित भने, “पार्टीभित्र पनि संस्थापन र इतर गुट मिलाउनुपर्छ । त्यसकारण आठभन्दा कम मन्त्रालय पाए हामीभित्रै सकस पर्नेछ ।”

कांग्रेसले पहिलो वरीयताको उपप्रधानसहित, अर्थ, गृह, परराष्ट्रलगायत ‘प्रभावशाली’ मन्त्रालयमा दाबी गर्ने तयारी गरेको छ ।

कसको नेतृत्व ?
आठ दलबीच भएको भनिएको समझदारीअनुसार प्रचण्डले दुई वर्ष सरकारको नेतृत्व गर्नेछन् । प्रचण्ड नेतृत्वको सरकारमा जान कांग्रेस सांसदहरूको दौडधुप बाक्लो छ ।

डा. शेखर कोइराला, उपसभापति पूर्णबहादुर खड्का, नेताहरू विमलेन्द्र निधि, शशांक कोइरालामध्ये एकको नेतृत्वमा कांग्रेस सरकारमा जाने सोही पार्टीका कतिपय नेता बताउँछन् । प्रवक्ता डा. प्रकाशशरण महत पनि सरकारमा सहभागी हुने कांग्रेसभित्र चर्चा छ ।

संस्थापनइतर समूहका नेता डा. शेखरको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुनुपर्ने कतिपय नेताको धारणा छ । नेतृत्व पाए शेखर सरकारमा जाने उनीनिकट एक सांसदले बताए ।

पार्टीले औपचारिक निर्णय गरे त्यसलाई स्वीकार गर्नुपर्ने दायित्व शेखरको भएको ती नेता बताउँछन् । “उहाँको नेतृत्वमा सरकारमा जाँदा उपयुक्त हुन्छ । तर, यसका लागि पार्टीले आधिकारिक निर्णय गर्नुपर्‍यो नि ! पार्टीले निर्णय गर्छ र नेतृत्व गर्नुपर्छ भन्यो भने निर्णय नमान्ने कुरा हुँदैन,” ती नेताले बाह्रखरीसित भने, “उहाँको प्राथमिकता अहिले सरकार होइन । संगठन निर्माण र सुदृढीकरण नै हो । उहाँलाई सरकारमा जाने र मन्त्रालय सम्हाल्ने हतारो छैन । तर पनि पार्टीले निर्णय गर्छ भने त्यसलाई निर्वाह गर्नु उहाँको दायित्व हुन्छ ।”

समानुपातिक तर्फबाट सांसद बनेका नेता निधि पनि अवसरको पर्खाइमा छन् । नेतृत्व पाए सरकारमा जाने नभए कसैको ‘अन्डर’मा सरकारमा नजाने निधिले निकटहरूसँग बताउने गरेका छन् ।

“उहाँको स्पष्ट कुरा छ कि अरूको अन्डरमा सरकारमा जानु हुन्न । आफैँ नेतृत्व पाए मात्र सरकारमा जाने हो,” उनीनिकट नेताले भने, “यो पार्टी सभापतिको निर्णयमा भर पर्ने कुरा हो । माग्न त जानुभएको छैन, पार्टीले निर्णय गर्छ भने जानुहुन्छ ।”

निकटहरूको भनाइलाई आधार मान्दा शेखर र निधि दुवै सरकारमा जान तयार छन् । कोइराला र निधि मात्र होइन, उपसभापति खड्का पनि नेतृत्व लिएर सरकारमा सहभागी हुन इच्छुक छन् । यद्यपि, आफूले त्यस्तो दाबी नगरेको उनले बताएका छन् ।

“पुस १० गते भत्काइएको गठबन्धनलाई पुनःस्थापित गर्ने त्यही दिन राति गरेको संकल्पलाई लगभग पूरा गरिएको छ । अब मेरो दाबी कुनै कुरामा छैन,” उनले ट्विटरमा लेखेका छन्, “मेरो नाम अरूसँग जोडेर सरकारमा जाने दाबी गरेको भनेर कृपया मिडियामा र सामाजिक सञ्जालमा बहसको विषय बनाएर मलाई अन्याय नगरिदिनुहोस्, सबैमा अनुरोध ।”

तर, निकटहरूसँग उनले आफू सरकारमा नजाने कतै नबोलेको बताउने गरेका छन् । नेतृत्व लिएर सरकारमा जान तयार रहेको उनले बताएको एक निकट नेताले जानकारी दिए ।

“उहाँले मैले सरकारमा जान्नँ भनेर त्यहाँ लेखेको छ र ? राष्ट्रपतिको चुनाव हुँदै छ, सरकारमा जाने भन्दै फोटो हालेर समाचार लेखेपछि, योगदानको नै अवमूल्यन हुने गरी समाचार आउन थालेपछि त्यसको खण्डन गरेको हो भनेर भन्नुभयो,” निकट नेताले भने, “महत्त्वपूर्ण मन्त्रालय र पार्टीको नेतृत्व गर्ने कुरा अवसर नै हो । त्यस्तो अवसर आयो भने गुमाउने कुरा हुँदैन ।”

पूर्वमहामन्त्री डा. शशांक पनि सरकारमा जाने बताइरहेका छन् । उपप्रधानसहित नेतृत्व पाए जुनसुकै मन्त्रालय लिएर राजीखुसी सरकारमा सहभागी हुन तयार रहेको उनले सभापति शेरबहादुर देउवालाई बताइसकेका छन् ।

“उपप्रधानमन्त्री र नेतृत्व समान्य विषय होइन । नेतृत्वबिना सरकारमा जाने विषय डा. साबका लागि स्वीकार्य  हुँदैन,” उनीनिकट एक नेताले भने, “नेतृत्वसहित उपप्रधानमन्त्री पाए अरू जुन मन्त्रालय भए पनि हुन्छ । तर, राम्रै मन्त्रालय दिए पनि नेतृत्व भएन भने उहाँ जानु हुन्न ।”

अर्का आकांक्षी प्रवक्ता डा. महत आफूभन्दा सिनियर गए बिनानेतृत्व अन्यथा आफैँ नेतृत्व गरेर सरकारमा जाने तयारीमा जुटेका छन् । उनको ध्येय अर्थमन्त्री बनेर सरकारमा जाने छ ।

पार्टी संसदीय दलका प्रमुख सचेतक रमेश लेखक अहिले पार्टीभित्र त्यसबारेमा छलफल नभएको बताउँछन् । राष्ट्रपति निर्वाचन, आचारसंहिता तथा उपराष्ट्रपति निर्वाचनका कारण पनि अहिले पार्टीभित्र सरकारको विषय मुख्य नभएको उनको भनाइ छ ।

“कांग्रेस सरकारमा जान्छ, तर कसको नेतृत्वमा कति मन्त्रालय लिएर सरकारमा जान्छ भन्ने निर्णय त परकै कुरा, पार्टीभित्र छलफल पनि सुरुभएको छैन,” उनले भने, “अहिले गठबन्धन र पार्टीको ध्यान राष्ट्रपति निर्वाचनमा छ । उपराष्ट्रपति निर्वाचन पनि सम्मुख छ । अहिले आचारसंहिता पनि लागेको छ । त्यसकारण तत्काल सरकारको विषय अघि बढ्दैन ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १७:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro