site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
समाज एकातिर सिनेमा अर्कैतिर

काठमाडौं । ‘चलचित्र समाजको ऐना’ हो । यो कुनै नयाँ कोट (भनाइ) होइन । अधिकांश चलचित्रकर्मीले भन्दै आएको कुरा हो । यसको अर्थ समाज जस्तो हुन्छ, चलचित्र पनि त्यस्तै हुन्छन् ।

त्यसो भए नेपाली चलचित्र नेपाली समाजका ऐना हुन् ? होइन । यसो भन्न जिब्रो लकपकाउनु पर्दैन । कारण जगजाहेर छ । अधिकांश चलचित्रले नेपाली समाजको प्रतिनिधित्व गर्न सकिरहेका छैनन् । अर्थात्, समाज एउटा धारमा बगिरहेको छ, चलचित्र अर्कै धारबाट अगाडि बढिरहेका छन् ।

चलचित्र साहित्यको एउटा विधा हो । जसरी कथा, कविता, नाटक, उपन्यास, निबन्ध, गीतसंगीत साहित्यका विधा हुन्, त्यस्तै चलचित्र पनि साहित्यको एउटा विधा हो । चलचित्र नेपाली साहित्यको अझ विशिष्ट विधा हो । भलै, यसलाई कतिले स्वीकार्छन् । कतिले स्वीकार्दैनन् । कसैले चलचित्रलाई साहित्यको सशक्त विधा स्वीकार्दैन भने त्यो उसको संकीर्णताको सोच हो । चलचित्र यसकारण साहित्यको विशिष्ट विधा हो, लेखन साहित्य हुन्छ । नाटकको अंशका रूपमा संवाद हुन्छ, त्यो अभिनयसँग जोडिएर आउँछ । गीतसंगीत हुन्छ । दृश्य हुन्छ । साहित्यका विभिन्न विधा एउटै माध्यममा हुने भएकाले चलचित्रलाई साहित्यको विशिष्ट माध्यम मान्न हिचकिचाउनु पर्दैन ।

Dabur Nepal
NIC Asia

साहित्य समाजको दर्पण हो । चलचित्रले पनि समाजको रूप भन्न सक्नुपर्छ । समकालीन समाजमा जे भइरहेको छ, त्यो चलचित्रमा कुनै न कुनै रूपमा आउनुपर्छ । समकालीन समाजमा के भइरहेको छ भन्ने त्यो समयका चलचित्रमा छर्लंग देखिनुपर्छ । त्यसो भए नेपाली चलचित्रमा समकालीन समाजको तस्बिर देखिन्छ ? देखिँदैन । यो भन्न पनि सोचिरहनु पर्दैन ।

नेपाली समाजका अहिलेका जल्दाबल्दा विषय के हुन् ? राजनीतिक अस्थिरता र दाउपेचले सिर्जना गरेको नकारात्मक अवस्था, आर्थिक मन्दी र त्यसले पुर्‍याइरहको असर, युवामा देखिएको फ्रस्टेसन र त्यसले आत्महत्यासम्म पुर्‍याइरहेको अवस्था नेपाली समाजका चासो र सरोकारका विषय हुन् । बलात्कार र त्यसले परिवार तथा पीडितमा हुने मानसिक असर, सेलिब्रिटीसँग जोडिएका यौनशोषणका आरोप र त्यसपछिको पीडित र पीडकको जिन्दगीमा देखिएको अवस्था, वैदेशिक रोजगारी र त्यसका नकारात्मक पाटा, मोबाइलको उच्च प्रयोगले बालबालिकामा परिरहेको असरलगायत विषयले अहिले धेरैको ध्यान खिचिरहेको छ । यी विषय नेपाली सिनेमाले उठाएका छन् ? फेरि उही कुरा दोहोरिन्छ । यी विषयमा नेपाली सिनेमा खासै बनेका छैनन् । एकाधलाई अपवादका रूपमा लिन सकिन्छ ।

विदेशीसहित नेपाली सिनेमा मेकरले बारम्बार फलाक्ने एउटा लाइन छ, ‘नेपाल सिनेमाको स्टोरीका लागि भर्जिन ल्यान्ड हो । सुटिङका हिसाबले खुला स्टुडियो हो ।’

तर, यहीँका कथा किनाराकृत भइरहेका छन् । आफ्नै समाजका कथा छोडेर नेपाली चलचित्र विदेशी सिनेमाबाट कतै प्रभावित भइरहेका छन् कतै कपी नै । यसको पछिल्लो उदाहरणका रूपमा ‘फूलबारी’लाई लिन सकिन्छ । बलिउड सिनेमा ‘बागवान’को आइडियामा यो चलचित्र बनेको छ ।

विश्वलाई चकित पार्ने ‘दरबार हत्याकाण्ड’मा सिनेमा बनेको खोइ ? विषय बग्रेल्ती बिस्कुन लागिरहेका छन् । तर, मेकर भन्छन्– हामीले राम्रो कथा/स्क्रिप्ट पाएनौँ ।

एउटा प्रश्न– कथा/स्क्रिप्ट पाइएन कि त्यसका लागि पर्याप्त पैसा तिर्न सकिएन ? सिनेमा लेखक नेपाली मेकर कथामा लगानी गर्दैनन् भन्छन् । मेकरचाहिँ सिनेमाका कुशल लेखक छैनन् भन्छन् । 

नेपालमा अक्सर मेकरले ‘कम्प्लिट’ स्क्रिप्ट आएपछि, त्यो पनि चित्त बुझे मात्र पैसा दिन्छन् । लेखकलाई सुरुमा केही बजेट दिएर कुनै विषयमा रिसर्च गरेर सिनेमा लेख्न लगाउने चलन कमै छ । त्यसैले सबै काम छोडेर वर्षौँ लगाएर उनीहरूले सिनेमा लेख्न सक्दैनन् । कसैले सबै काम छोडेर वर्षौँ लगाएर राम्रो सिनेमा लेख्ला, तर उसको सिनेमा कुनै मेकरले किनेन भने के हुन्छ ? विषय, प्रोडक्सन भ्यालु, लोकेसन, लगानी, सम्भावित बजार, सम्भावित आलोचनात्मक पक्ष, लक्षित समूह, रिटर्न्सलगायत कारण देखाएर मेकरले सिनेमा बनाएनन् भने लेखकको मिहिनेतको के अर्थ ? त्यसैले लेखकले यो रिस्क लिन नचाहेको अहिलेको नेपाली चलचित्र क्षेत्रको यथार्थ हो । फलतः बन्द कोठाभित्र बसेर केही दिनमा लेखिने ‘लिसिङ पिसिङ’ कथा र स्क्रिप्टमा नेपालमा चलचित्र बनिरहेका छन् ।

न रिसर्च छ न लेख्दै गरेको विषयमा लेखकको गहिरो अध्ययन । त्यसमा पनि एक्लो व्यक्तिको दिमागले लेख्ने सिनेमाको कथा कसरी अब्बल होस् ! यसमा पनि लेखेको कथामा न ‘स्क्रिप्ट डक्टर’को योगदान आवश्यक ठानिन्छ न डाइलगका शिल्पीको सुझावको खाँचो । त्यसैले नेपाली सिनेमा सधैँ कमजोर हुने गरेका छन् ।

एकातिर उठान गर्नुपर्ने विषय नेपाली चलचित्र उद्योगले नजरअन्दाज गरिरहेको छ, अर्कोतिर उठान गरिएका विषय पनि फितलो तरिकाले प्रस्तुत भइरहेका छन् ।

समाजमा अहिले पनि कथित उच्च जातिको थिचोमिचो छँदै छ । दलित पीडित नै छन् । तर, सिनेमाले कथित उच्च जातिकै पक्षपोषण गर्छ । राजधानी होइन, दूरदराजका पिछडिएको क्षेत्र र वर्गलाई ‘आरक्षण’ चाहिँदैन भनेर सिनेमाले वकालत गर्छ । समस्या एकल महिलाको विवाहको छ, सिनेमाले एकल पुरुषको विवाहको वकालत गर्छ भने ‘आइडिया’मा समस्या भएन र ? विषय र आवश्यकता एकातिर छ, नेपाली चलचित्र अर्कैतिर दौडिरहेको छ ।

मेकरले विषयलाई किनाराकृत गरिरहेका छन्, दर्शकले नेपाली सिनेमालाई । जबसम्म समाजको प्रतिविम्ब सिनेमामा देखिँदैन, तबसम्म दर्शकले ती चलचित्रमा अपनत्व महसुस गर्दैनन् । जबसम्म दर्शकले चलचित्रमा अपनत्व महसुस गर्न सक्दैनन्, तबसम्म चलचित्र चल्दैनन् । अहिले नेपाली चलचित्र उद्योगमा भइरहेको यही होइन र ?

बर्सेनि सयको हाराहारीमा नेपाली सिनेमा रिलिज हुन्छन् । दर्शकको सधैँ खडेरी । तर, तिनै हलका तिनै पर्दामा दर्शक हिन्दी र अंग्रेजी सिनेमा हेर्न लालायित भएर बसिरहेका हुन्छन् । त्यसो भए समाजका आफ्नै कथा चलचित्रमा देखाउने कि अरू कसैका ?

लामो समय नेपाली चलचित्र उद्योग बलिउड ‘फर्मुला’बाट ‘गाइडेड’ भयो । विस्तारै त्यसबाट अलग्गिन थालेको उद्योगले अब पनि आफ्नै मुहार देखाउन नसके तंग्रिन नपाउँदै यो थला पर्नेछ । यो सम्भावनाबाट आफू बच्ने र नेपाली सिनेमा उद्योगलाई बचाउने हो भने निःसन्देह यहाँकै कथा भन्नुपर्छ । आफैँले देखे/भोगेका कथा पर्दामा देखाउनुपर्छ । समाजलाई नजरअन्दाज गरेर अगाडि बढ्ने प्रयास गरे असफल भइन्छ । चलचित्रमा समकालीन समाजभन्दा एक कदम अगाडि बढेर कल्पनाशीलतामा खेल्न अवश्य सकिन्छ । तर, समाज केही होइन भनेर बेवास्ता नै गर्न सकिन्न । कसैले गर्छ भने त्यो दुष्प्रयास मात्र हो । त्यसको परिणाम त नेपाली सिनेमाले भोगिरहेकै छन् ।

नदीको बहाव जतातिर छ, त्यतैतिर माझीले डुंगा खियाउँछ । त्यसैले उसको डुंगा पारि पुग्छ । खोला जतातिर बगिरहेको छ, त्यतैतिर खोला तर्ने व्यक्तिले पाइला चाले मात्र ऊ पारि पुग्छ । हैन भने खोलाको बाढीसँगै ऊ पनि मिसिन्छ । खोला तर्ने कि नतर्ने मेकरकै हातमा छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  ०६:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro