नेपालको लोकतान्त्रिक राजनीति दोस्रो चरणमा प्रवेश गरेको छ । संविधान सभाले २०७२ सालमा बनाएको संविधानअन्तर्गत संसद्को दोस्रो निर्वाचन सम्पन्न भयो । स्थानीय तहमा यसअघि नै चुनाव सकिएको हो । लड्दै, उठ्दै यसबीच पहिलो संसद्ले पाँच वर्षे अवधि पूरा गर्न सक्यो ।
यो राजनीतिक उपलब्धि हो । नयाँ संविधान, अस्थिरता र अनिश्चयबीच भएको राजनीतिक उपलब्धि उत्साहवर्धक छ । यसका लागि राजनीतिका सञ्चालकहरु बधाइका पात्र हुन् । विवेकशील नेपाली समाजको सहयोग र खबरदारी यो प्राप्तिमा उज्यालो पथ प्रदर्शक बन्यो ।
अनपेक्षित उहापोहको कल्पना नगरी भन्दा आजको सात दिनमा राष्ट्रप्रमुख चयन गरिने छ । राष्ट्रपतिको तेस्रो निर्वाचन हुनेछ । त्यस्तै १५ दिनभित्र उपराष्ट्रपतिको पनि चयन सम्पन्न गरिने छ । यसपछि व्यावहारिक राजनीति अर्को संरचना बनाउनेतिर लाग्ने देखिन्छ ।
दुई महिनामै गठबन्धन राजनीतिको आकार फेरिएको छ । प्रधानमन्त्री बन्न नेपाली कांग्रेसको साथ छोडेर नेपाल कम्युनिस्ट पार्टी -माओवादी केन्द्र_का अध्यक्ष पुष्पकमल दाहालले सबैलाई आश्चर्यमा पारे । सर्वसम्मत वा सबैको सहभागिताको नारा दिएर पुनः प्रधानमन्त्री दाहालले राष्ट्रपति छनोटमा निर्णायक कोल्टो फेरे ।
नेपाल कम्युनिस्ट पार्टी -एमाले_सँग …असम्भव’ लाग्ने गठजोड क्षणभरमै बनाएजस्तो देखियो । दाहाल एमालेको समर्थनमा प्रधानमन्त्री बने । कांग्रेससँग छुटाउन पाएको रमाइलोमा हौसिएर एमालेले दाहाललाई ढोक्सा थाप्यो, समर्थन दिनपुग्यो । तर, अब कांग्रेसको सहयोग, समर्थनमा दाहाललाई तग्नु छ । प्रदेश सरकारहरुमा पनि गठबन्धन फेरबदलको प्रभाव देखिने नै छ । तिनमा अर्को गठबन्धन स्वाभाविक हो ।
राजनीतिको यस तरलताले अन्ततः निश्चित गति पाउने अपेक्षा अन्यथा होइन । समाजमा धेरै प्रकारका अभाव र असन्तुष्टि छन् । राजनीतिसँग व्यापक गुनासो पनि छ । तर, राजनीति केही उपलब्धिसँगै केही गति समाउने प्रयत्नमा चाहिँ रहेको बुझिन्छ ।
यो निर्वाचन वर्ष रह्यो । राष्ट्रपतिदेखि सबै तह र पदको निर्वाचन सम्पन्न भएसँगै अब अर्को आवधिक निर्वाचनको प्रतीक्षा हुनेछ । निर्वाचन वर्ष थप तरल वा अस्थिर लाग्ने नै भयो । तर, राजनीति भनियोस् कि सरकार, प्रतिपक्ष वा राज्य संयन्त्र र नेपाली समाज अथवा सत्ता त्यसले नयाँ अनुभव सँगालेको छ र सँगाल्नेछ । देश, समाज र व्यक्तिको चिन्तनशील सोचले नयाँ अनुभूति पक्कै गर्नेछ ।
सबै राजनीतिक दलले स्थिरता र समृद्धिको सपना बोकेको सुनिन्छ । केही भएकै छ तर धेरै बाँकी छ । हाम्रो अपेक्षा र आवश्यकताको भारी पनि ठूलै छ । सन्तोष मान्ने ढुक्कको अवस्था भने छैन / हुँदैन । निर्वाचन अवधिको तरलतापछि राजनीतिले नयाँ गति र सम्भावना देखाउने दायित्व सरकारमा छ । प्रतिपक्ष पनि जिम्मेवार छ ।
देखलरुपमा राष्ट्रपति छनोटको सबालले सरकारी गठजोड पनि फेरिएको छ । अरु कारण पनि छन् । जे होस् तर राम्रो भएको छ । सरसर्ती हेर्दा राष्ट्रपति -राष्ट्र प्रमुख_ नेपाली कांग्रेस समर्थित, प्रधानमन्त्री -सरकार प्रमुख_ नेकपा -माओवादी केन्द्र_बाट र सभामुख -संसद् प्रमुख_ नेकपा -एमाले_ समर्थित सम्मिलनमा अबको सत्ता संरचना बन्ने भयो । उपराष्ट्रपति जसपातर्फको उम्मेदवारलाई बनाइने चर्चा सुनिएको छ ।
पदीय दायित्वमा यस प्रकार भएको सहभागिताले सन्तुलन ल्याउने अपेक्षा त छ नै । भन्ने गरिएको सहमति, सहकार्य र एकताको व्यfवहारिक सूत्र पनि यो संरचना हुनसक्छ ।
प्रधानमन्त्री दाहालले ठीक निर्णय गरे । उनलाई अस्थिर वा अवसरवादी भन्ने आरोप छ । जसलाई सर पर्छ उसलाई दाहालको यही अवसरवाद स्वादिलो लाग्छ । जसलाई असर अप्ठेरो पर्छ उसलाई आन्द्रै बटारिने तीतो लाग्छ । स्वाद लिनै दाहाले अवसरवादी आरोप खेपेका हुन् । स्वाद र बेस्वादको अर्को उदाहरण यतिबेला कांग्रेस समर्थक र एमाले समर्थक हुनसक्छन् ।
यसपटक प्रधानमन्त्री दाहालको निर्णय ठीक लाग्नुमा धेरै कारण छन् । त्यसो त कांग्रेससँगको चुनावी गठबन्धन तोडेर एमालेको समर्थनमा प्रधानमन्त्री बन्ने दाहालको निर्णय पनि धेरै आलोचित भएको थिएन । कारण नेपाली कांग्रेसले दाहाललाई धोका दिएको वा प्रधानमन्त्री नदिएको धेरैको बुझाइ भयो ।
निर्वाचन परिणामले दिएको संरचनाले सही गति लिने लक्षण देखिएको छ । त्यसो त संसद्को पहिलो र दोस्रो दललाई पन्छाएर तेस्रो ठूलो दलको नेतृत्वमा सरकार बनाइनुलाई नहुनुपर्नेआश्चर्यमा लिइएको छ । तेस्रो भए पनि समर्थन प्राप्त चाहिँ त हो ।
सम्भावित अबको गठजोडले व्यावहारिक राजनीतिमा स्वाभाविक गति मिल्ने देखिन्छ । नेपाली कांग्रेसले प्रस्ताव गरेको राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेल समसामयिक नेपाली राजनीतिका शीर्ष व्यक्तित्वमध्ये हुन् । आठ दलीय समर्थनमा वरिष्ठ व्यक्तित्व पौडेल राष्ट्रपति हुने निश्चित छ ।
राष्ट्रप्रमुखमा वरिष्ठ राजनीतिक व्यक्तिको उपस्थितिले लोकतन्त्र वा अहिलेको संविधानले सही संरक्षण पाउनेछ । अबको पाँच वर्ष संविधानको मर्यादा र व्यवस्थाको स्थिरतासँगै उन्नतिले गति लिने अपेक्षा स्वाभाविक छ । यो अवधिमा गणतान्त्रिक संविधानले दस वर्ष पूरा गर्नेछ । लोकतान्त्रिक प्रणालीले थप दस वर्षको अनुभव सँगाल्नेछ ।
प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा कांग्रेस प्रस्तावित उम्मेदवारलाई समर्थन दिएर सही निर्णय लिएका छन् । अवसरको प्रयोगमात्रै होइन, जोखिम पनि उठाएका छन् र नयाँ सम्भावना पनि देखाएका छन् । राष्ट्रपति उम्मेदवार पौडेलको समर्थनमा बनेको आठदलीय गठजोडमा संविधान संरक्षण गर्ने विषयमा एकमत छ । यसअघिको गठजोडको जस्तो विपरीत मति छैन । आठ दलीय एकता छ ।
नेपाली कांग्रेसले अब बन्ने गठबन्धनलाई बचाउनुपर्छ । बीचमा कुनै पनि अस्थिरताको आरोप झेल्न हुँदैन । अबको गठबन्धनसँग कांग्रेसको पनि भविष्य जोडिएको छ । दाहाल नेतृत्वको सरकार बनाउन समर्थन दिएको एमाले सरकारबाट बाहिरिएको छ । तब, कांग्रेसलाई सरकार टिकाउनु पनि छ र राजनीतिलाई सुस्थिर गति समेत दिनु छ ।
राजनीतिको पदचाप र छाप गतिशील स्थिरतातिर लग्न आवश्यक छ । त्यो खाँचो यो गठबन्धनले पूरा गर्ने भरोसा गर्नुसिबाय अरु उपाय छैन ।
अन्त्यमा, यसपटक आफ्नै बुझाइमा प्रधानमन्त्री दाहाललाई खुबै सुहाएको लबेदा सुरुवालको अभिव्यक्ति भाषा लेख्ने मन थियो । तर राष्ट्रपति निर्वाचनको गहन विषय र परिवेश आयो । कुनै बेला लेखेर प्रधानमन्त्री दाहाललाई “माओवादी र कम्युनिष्ट” फुर्को सुहाएको छैन भन्नैपर्ने छ ।
अध्यक्ष दाहालको नेतृत्वमा अर्को वा कांग्रेसको विकल्पमा लोकतान्त्रिक शक्ति र दल बनोस्, बनाइयोस् भन्नैपर्ने छ । नेपालको खाँचो यही हो । नेपाली राजनीतिको पदचाप प्रधानमन्त्री दाहालले पक्कै सुन्नेछन् ।