
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को बुधबार सम्पन्न 'विवादित बैठक'ले महत्त्वपूर्ण निर्णय गरेको छ ।
एन्फा मुख्यलायमा सम्पन्न बैठकमा २१ मध्ये २० सदस्य उपस्थित थिए । त्यसमध्ये उपाध्यक्षत्रय दीर्घबहादुर केसी (कुमार), विराटजंग शाही र दीपक खतिवडा तथा सदस्यहरू भोजराज शाही, रमेश व्यञ्जनकार, रूपेश केसी, रविन चन्द, भरत बुद थापा, महेन्द्र क्षेत्री, पेमा लामा गरी १० सदस्यले बैठक बहिस्कार गरेका थिए ।
अर्का सदस्य टीका लामाले पनि बैठक अवैधानिक भएको भन्दै बहिस्कार गरेर हिँडेका थिए । उनीहरूले अध्यक्ष पंकज नेम्वाङले तानाशाह ढंगबाट बैठक सञ्चालन गरेको आरोप लगाएका छन् ।
तीन उपाध्यक्षसहित १२ सदस्यले फागुन १२ गते महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीलाई बर्खास्त गर्नुपर्ने एजेन्डा थप्न हस्ताक्षर गरेर अध्यक्षले पत्र बुझाएका थिए । अध्यक्षलाई बुझाएको पत्रमा संघको विधान, २०७७ संस्करणको धारा ३९ (३) बमोजिम एजेन्डा थप्न माग गरिएको उनीहरूको दाबी थियो ।
तर, फागुन १५ गते एन्फा महासचिव किरण राईले उपाध्यक्ष विराटजंग शाही र दीपक खतिवडालगायत १२ सदस्यलाई पठाएको पत्रमा विधानको धारा ३९ को उपधारा ३ अनुरूप बैठकमा एजेन्डा राख्न नमिल्ने बताएका थिए ।
आजको बैठकमा १० सदस्यले सुरुमै महासचिव र कोषाध्यक्षलाई हटाउनुपर्ने भन्दै विरोध गरेपछि बैठक बस्न ढिला भएको थियो । बिहान ८ बजेका लागि बोलाइएको बैठक साढे १० बजेमात्र सुरु भएको थियो । सुरु भएपछि पनि बैठकलमा तनाव सिर्जना भएको थियो ।
उपाध्यक्ष खतिवडालगायतले बैठक बस्न नमिल्ने भन्दै टेबल ठोकेपछि अर्का सदस्य पुरुषोत्तम थापाले टेबल नै पल्टाइदिएका थिए । त्यस्तै, उपाध्यक्ष दीर्घबहादुर केसी (कुमार) र दावा लामाबीच पनि धकेलाधकेल भएको थियो । त्यसपछि स्थगित भएर पुनः सुरु भएको बैठक १० सदस्यले बहिस्कार गरेका थिए भने टीका लामाले पनि बैठक अवैधानिक भन्दै पत्र बुझाएर हिँडेका थिए । त्यस्तै, उपस्थितिमा हस्ताक्षर गरेका भरत बुद थापाले पनि आफ्नो हस्ताक्षर किर्ते भएको आरोप लगाएका छन् ।
तथापि बाँकी सदस्यले पनि महत्त्वपूर्ण निर्णय गरेका छन् ।
अखिल नेपाल फुटबल संघको आज मिति २०७९ फाल्गुण १७ गते बसेको कार्यसमितिको बैठकबाट निम्न निर्णयहरू भएको छन् :
१) आगामी २०७९ चैत ६ देखि १७ गतेसम्म नेपाल, भुटान, लाओससम्मिलित अन्तर्राष्ट्रिय प्रतियोगितालाई “प्रधानमन्त्री थ्रिनेसन कप’’ नामकरण गरी प्रतियोगिता समितीको जिम्मेवारीमा दशरण रंगशालामा सञ्चालन गर्ने । यस प्रतियोगिताको लागि टिकट दर साधारण प्यापिटतर्फ रु. ५०० र भीआईपीतर्फ रु. १,००० तोक्ने निर्णय गरियो । डिजिटल अधिकार र मार्केटिङको लागि महिला ओलम्पिक छनोट खेल सगै एकमुष्ठमा रु ३० लाख र ५० लाख न्यूनतम मूल्य निर्धारण गरी टेन्डर आह्वान गर्ने निर्णय गरियो ।
२) पेरिस ओलम्पिक २०२४ महिला छनोट एसिया क्वालिफायर राउन्ड १ को समूह सीको खेल मिति २०७९ चैत २० देखि २८ गतेसम्म नेपाल, भियतनाम, अफगानिस्तानको सहभागितामा दशरण रंगशालामा प्रतियोगिता समितिको जिम्मेवारीमा सञ्चालन गर्ने निर्णय गरियो । प्रतियोगिताको लागि टिकट दर साधारण प्यापिटतर्फ रु. ३०० र भीआईपीतर्फ रु. १,००० निर्धारण गरियो । साथै दुवै प्रतियोगिताको टिकटिङ संघ आफैँले गर्ने निर्णय गरियो ।
३) 'ए' डिभिजन लिग तथा महिला राष्ट्रिय लिग सञ्चालनका लागि विभिन्न एजेन्सीहरूसँग विस्तृत प्रस्ताव माग गर्ने र प्राप्त प्रस्तावहरू अध्ययन गरी उत्कृष्ट प्रस्तावलाई संघको आपत्कालीन समितिबाट निर्णय गरी कार्यान्वयन गर्ने निर्णय गरियो ।
४) 'बी' डिभिजन लिग मिति २०७९ चैत २९ गते बाट सञ्चालन गर्न नया मिति निर्धारण गरियो । साथै 'सी' डिभिजन लिग जेठ १६ गतेबाट सञ्चालन हुने गरी सम्बन्धित क्लबहरूसँग बैठक बसी थप निर्णय गर्ने ।
५) जिल्ला लिग २०२३ वैशाख महिनाबाट सञ्चालन गर्ने निर्णय गरियो । यसका लागि सबै जिल्लाको सहभागितामा एक कार्यशाला गोष्ठी आयोजना गर्ने निर्णय गरियो ।
६) कोभिड महामारीलगायत विविध कारणवश स्थगन हुन पुगेको राष्ट्रिय महिला लिग २०७८ लाई अर्को आधारमा पहिलो, दोस्रो, तेस्रो स्थान निर्धारण गरी क्रमश: सात लाख, पाँच लाख र तीन लाख पुरस्कारस्वरूप प्रदान गर्ने निर्णय गरियो । महिला लिग २०८० को सन्दर्भमा प्रस्ताव नम्बर ३ को निर्णय अनुरूप हुने निर्णय गरियो ।
७) ०८० वैशाखदेखि सुरु हुने गरी यू–१४ र यू–१७ फुटबल प्रतियोगिता छात्र तथा छात्रा दुवै उमेर समूहमा जिल्ला प्रदेश र केन्द्रमा आयोजना गर्ने सो को लागि आवश्यक खाका प्रतियोगता समितिले तय गर्ने निर्णय गरियो ।
८) पदपूर्ति समितिले सिफारिस गरे अनुसार वित्तीय निर्देशकमा सञ्जय गिरी, खरिद प्रमुख कृष्ण श्रेष्ठ, इन्जिनियरमा नवीन राजभण्डारी र लेखा सहायकमा रवि खड्का र राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा इटालियन नागरिक भेन रेन्जो अल्बर्टो एनेस नियुक्ति गर्ने निर्णय गरियो ।
९) महिला र फुटसलको फ्रेन्चाइज प्रतियोगिताका लागि सार्वजनिक सूचना जारी गर्ने र प्राप्त प्रस्तावमध्ये उत्कृष्ट र बढी रकम कबोल गर्ने प्रस्ताव स्वीकृत गरी फ्रेन्चाइज प्रतियोगिता आयोजना गर्ने विभिन्न निजी कम्पनिहरूलाई आह्वान गर्ने निर्णय गरियो ।
१०) महिला एकेडेमी सञ्चालनका लागि रौतहट एकेडेमीको कानुनी समस्या समाधान गरी चाँडो भन्दा चाँडो महिला यू–१४ उमेर समूहको एकेडेमी सञ्चालन गर्ने निर्णय गरियो ।
११) सातै प्रदेश संघको अधिवेशन वैशाख मसान्तसम्म सम्पन्न गर्ने निर्णय गरियो ।
१२) फुटसल समितिले यस वर्षको उपयुक्त समय हेरेर फुटसल लिग सञ्चालन गर्ने निर्णय गरियो ।
१३ ) एनएसईएमसँग संघका अध्यक्षज्यूको नेतृत्वमा गठित समितिले गरेको सम्झौतालाई अनुमोदन गरियो । यसको लागि सम्झौता अनुरूपको समय उपलब्ध गराउने निर्णय गरियो ।
१४) शेर्पा आउटडोर प्रालि (केटीएम सिटी) सँगको सम्झौताको अवधि समाप्त हुन लागेकाले तत्काल नियमानुसार अर्को तीन वर्षका लागि सूचना प्रकाशित गरी नयाँ टेन्डर आह्वान गर्ने निर्णय गरियो ।
१५) विश्वको विभिन्न देशमा बसोबास गर्ने नेपालीहरू र फुटबल माया गर्ने व्यक्तित्वहरूलाई समेटी सम्बन्धित देशमा संघको समन्वय समिति गठन गर्ने निर्णय गरियो । शिव खड्काको नेतृत्वको जापान समन्वय समितलाई पूर्णता दिनेगरी अनुमोदन गर्ने निर्णय गरियो ।
१६) एन्फाको विधान २०७७ धारा ४६ मा व्यवस्था भएबमोजिमका स्थायी समिति संयोजकहरू तपशिल बमोजिम तोक्ने
(क) प्रतियोगिता समिति– वीरबहादुर खड्का, ख) प्राविधिक समिति– पुरुषोतम थापा, ग) कानुन समिति– अनिल मल्ल, घ) युवा फुटबल समिति– विकास नारायण श्रेष्ठ, ङ) फुटसल समिति– टीका लामा, च) खेलाडीस्तर समिति– महेन्द्र क्षेत्री, छ) रेफ्री समिति– बुद्धि गुरुङ, ज) महिला फुटबल समिति– सरिला श्रेष्ठ मलेकु, झ) सुरक्षा समिति– मणीराज विष्ट, ञ) स्वास्थ्य समिति– भरत बुढ थापा, ट) सूचना तथा सञ्चार समिति– सहसंयोजक शुरेस शाह, ठ) सदस्य सस्था समन्वय समिति– दावा लामा, ड) बिच सकर समिति– भोज राज शाही ढ) राष्ट्रिय टिम तयारी समिति– मनिश जोशी बाँकी समिति र समितिका सदस्यहरू अध्यक्षज्यूले मनोनीत गर्ने ।
(१७) धारा ४५ बमोजिम आपत्कालिन् समिति तपशिल बमोजिम गठन गर्ने निर्णय गरियो ।
अध्यक्ष– पकज नेम्बाङ
सदस्य– वीर ब. खड्का, दावा लामा, विकासनारायण श्रेष्ठ, पुरुषोतम थापा
१८) सीईओ नियुक्तिका लागी सूचना प्रकाशन गर्ने । सघको सहायक महासचिवमा दामोदर भट्टराई, वसन्त अर्याल र अरुणमान जोशी र सह कोषाध्यक्षमा पूर्णमान चित्रकार लाई नियुक्ति गर्ने निर्णय गरियो ।
१९) ग्रासरुट हेडमा पकज शाहि, युथ हेडमा नवीन महर्जन र नवीन न्यौपाने, हेड अफ कोच एजुकेसनमा सन्जित सिंह र महिला हेडमा राजुकाजी शाक्यलाई नियुक्ति गर्ने निर्णय गरियो ।
२०) विभिन्न देशहरूका फुटबल संघहरूसँग नेपालको फुटबल विकासका लागि द्विपक्षीय सम्झौताहरू गर्ने ।।