site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राप्रपा रणनीति : माओवादी नेतृत्वको सरकारलाई छाड्ने, एमालेप्रति बफादार !

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा ४३ दिन बसेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मन्त्रीहरू सरकारबाट बाहिरिएका छन् । शनिबार साँझ राप्रपाका अध्यक्षसमेत रहेका उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहित चारैजना मन्त्रीहरूले राजीनामा दिएका थिए । राप्रपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

केन्द्र सरकार छाडेपनि प्रदेश सरकारमा भने राप्रपाले फरक नीति लिएको देखिन्छ । शनिबार पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र सांसदरूको संयुक्त बैठकले संघ र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

वर्तमान सत्ता सहकार्यमा आकस्मिक परिवर्तन भएर मुलुक पुनः 'सत्ता केन्द्रित अस्थिरतातर्फ' धकेलिएको जनाउँदै राप्रपाले सरकारबाट बाहिरिने निर्णय लिएको थियो । राप्रपाले प्रदेशमा पनि समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

अहिलेसम्म राप्रपा केन्द्रसहित वाग्मती प्रदेश सरकारबाट बाहिरिएको छ । तर, प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेश सरकारबाट राप्रपा बाहिरिसकेको छैन । रोचक त के छ भने राप्रपाले सरकार नछाडेका प्रदेशहरूमा एमाले नेतृत्वको सरकार छ । माओवादी नेतृत्वमा रहेको केन्द्र र वाग्मती सरकारबाट ऊ बाहिरिसकेको छ ।

गण्डकी

आइतबार बिहानसम्म राजीनामा दिने र सरकारबाट बाहिरिने निर्णय गरेको राप्रपाले गण्डकी प्रदेश सरकारबाट राजीनामा दिएको छैन । गण्डकीमा राप्रपाबाट दुई सांसद छन् । गण्डकीमा राप्रपाबाट प्रदेश अध्यक्षसमेत रहेका पञ्चराम गुरुङ सामाजिक विकास तथा स्वास्थ्यमन्त्री छन ।

शनिबार सांसद तथा कास्की जिल्ला पदाधिकारीको बैठकपछि उनले आइतबार राजीनामा दिने बताएका थिए । तर, अहिले उनी उक्त निर्णयबाट पछि हटेका छन् । प्रदेशका सबै जिल्लाका अध्यक्षहरूको लिखित राय लिने र बहुमत निर्णयबाट प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गराउने मनसाय उनको छ ।

“राजीनामाबारे हामी छलफलमै छौँ । माथिको निर्देशानुसार हामीले आत्मसात गर्दै अगाडि बढ्नुपर्ने हुन्छ । केन्द्रीय कमिटीको निर्णय त राजीनामा दिने भन्ने नै हो । प्रदेश १ मा पनि राजीनामा दिनुभएको छैन । छलफलमा हामी सबै साथीहरू पनि जुटिसक्नुभएको छैन । ११ वटै जिल्लाका साथीहरूलाई शनिबार नै जानकारी गराएका हौँ । तर, गहिरिएर छलफल गर्नुपर्ने भएकाले अलिकति समय लाग्न सक्छ,” उनले भने ।

तर, प्रदेश राजधानी अवस्थित कास्कीले भने तत्कालै मन्त्रीबाट राजीनामा दिनुपर्ने सुझाव शनिबार नै गुरुङलाई दिइसकेको छ । “केन्द्रको निर्णयअनुसार नै शनिबार मन्त्रीबाट राजीनामा दिनुपर्छ भनेर हामीहरूले सुझाव दिएका हौँ,” राप्रपा कास्कीका प्रवक्ता अरूण गिरीले भने ।

लुम्बिनी

लुम्बिनीमा चार सांसद रहेको राप्रपाबाट जानकीप्रसाद यादव उद्योगमन्त्री छन् । उनले पनि केन्द्रको निर्देशनबमोजिम हालसम्म राजीनामा दिएका छैनन् । पार्टीको प्रदेश समितिबाट आफूले कुनै जानकारी नपाएकाले राजीनामा नदिएको उनको भनाइ छ । 

“हामीले पार्टीको आदेश पालना गर्ने हो । प्रदेश समितिले मलाई केही निर्देशन दिइसकेको छैन । निर्देशन दियो भने सरकारबाट राजीनामा बुझाउँछु, नभए सरकारमै बस्ने हो,” उनले बाह्रखरीसँग भने, “केन्द्रीय अध्यक्ष र प्रदेश अध्यक्षले छलफल गरेर जे निर्णय गर्नुहुन्छ र मलाई निर्देशन दिनुहुन्छ मैले त्यो मान्नुपर्छ ।”

प्रदेश १

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पटकपटक झापा निर्वाचन क्षेत्र नम्बर–३ बाट एमालेकै सहयोगमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । एमालेसँगको राजनीतिक ‘लिगेसी’का कारण पनि राप्रपा तत्काल प्रदेश १ सरकारबाट बाहिरिन हिच्किचाएको विश्लेषण गरिएको छ । प्रदेश १ लाई पार्टीले ‘विशिष्ट क्षेत्र’को रूपमा व्याख्या गर्दै तत्कालै सरकारबाट नबाहिरिने तयारी भएको राप्रपा प्रदेश १ का अध्यक्ष राम थापा बताउँछन् । 

“प्रदेश १ लाई हामीले विशिष्ट क्षेत्रको रूपमा व्याख्या गर्ने गरेका छौँ । बदलिएको परिस्थितिअनुरूप अब कसरी अघि बढ्ने भनेर प्रदेश समितिको समेत बैठक गरेर निर्णय गर्ने हाम्रो तयारी छ,” अध्यक्ष थापाले भने । 

प्रदेश १ मा राप्रपाका ६ सांसद छन् । यहाँ एमालेको सरकार छ । एमालेबाट हिक्मत कार्की मुख्यमन्त्री छन् । प्रदेश १ एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि गृह प्रदेश भएकाले पनि 'विशिष्ट प्रदेश'को रूपमा हेरिएको हो । राप्रपाबाट मन्त्री बनेका भक्तिप्रसाद सिटौला पनि प्रदेशलाई अलि विशेष रूपमा हेरिएकाले राजनीतिक स्थिरताका लागि तत्काल राजीनामा नदिएको बताउँछन् । 

एमालेप्रति बफादार भएकै हो ? 
राप्रपा प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी सरकारमा मन्त्रालयसहित सहभागी भएको थियो । कर्णाली सरकारलाई भने समर्थन दिएको थियो । ऊ माओवादीले नेतृत्व गरेको केन्द्र सरकार र वाग्मती सरकारबाहेक एमालेले नेतृत्व गरेका बाँकी सरकारबाट बाहिरिसकेको छैन ।

राष्ट्रपति निर्वाचनका लागि बनेको नयाँ आठ दलीय गठबन्धनमा पनि राप्रपा छैन । अब नयाँ समीकरणको सरकार बन्ने चर्चा भइरहँदा राप्रपाले एमालेले नेतृत्व गरेको प्रदेश सरकार भने छाडेको छैन ।

'केन्द्रको निर्णय किन प्रदेशले नमानेको ?' भन्ने बाह्रखरीको प्रश्नमा पार्टी प्रवक्ता मोहन श्रेष्ठ पार्टीको निर्णय सबैले मान्नुपर्ने बताउँछन् । 

पार्टी उपाध्यक्ष तथा सांसद वुद्धिमान तामाङ भने उपयुक्त समय आएपछि प्रदेश सरकार पनि छाडिने बताउँछन् । पार्टीको प्रदेश कमिटीले निर्णय गर्ने भन्दै उनीले एमालेलाई सहयोग गरेर जाने पार्टीको आधिकारिक नीति नभएको बताए ।

“एक–दुई दिनमा सबै मिलेपछि हामी सरकार छाड्छौँ । केही स्थिरताका लागि हामीले यसो गरेका हौँ,” उनले भने, “पार्टीले निर्णय गरिसकेको छ । प्रदेश समिति पनि छलफलमा छ । एमालेलाई सहयोग गरेर सहज बनाइदिने नीति पार्टीको होइन । नीति त बैठकमा आउनपर्छ अनि पो पास हुन्छ त । पार्टीले सरकार छाड्ने र समर्थन फिर्ता लिने निर्णय गरेको छ । समय अलि परिपक्व बनेपछि प्रदेश सरकार छाड्छौँ ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  २०:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro