site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पुस १० को प्रचण्ड–ओली सहमति भंग भएको हो ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने अडान कायम राखेको छ ।

माओवादीको रटानले पुस १० गतेको सहमति यथावत छ कि छैन भन्ने संशय पैदा गरेको छ । माओवादी अध्यक्ष पुष्प्पकमल दाहाल 'प्रचण्ड'लाई प्रधानमन्त्री बनाउने सहमति गर्दा नेकपा (एमाले)ले राष्ट्रपति पाउने सहमति भएको दाबी एमाले नेताहरूले गर्दै आएका छन् ।

स्वयं माओवादीका नेताहरू पनि राष्ट्रपतिमा मौखिक सहमति भएको स्वीकार गर्छन् । तर, पुस २६ गते नेपाली कांग्रेसले विश्वासको मत दिएपछि परिस्थिति फेरिएको भन्दै प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

गएको माघ ३ गते नै प्रधानमन्त्रीले कांग्रेससहितको बैठकमा राष्ट्रपति, उपराष्ट्रपति पदमा सर्वसहमति गरेर जाने प्रस्ताव राखेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले भने पुस १० गते नै सहमति भएकाले आफूले उठाएको उमेदवारमा सहमति गनुपर्ने र त्यही नै सर्वसहमति हुने भन्दै जवाफ फर्काएका थिए । 

यो बिचमा राष्ट्रपतिको उमेदवारको चर्चामा विभिन्न व्यक्तिहरूको नाम आयो । तर, सहमति हुन सकेको छैन । राष्ट्रपतिको निर्वाचनका लागि चार दिन बाँकी छ । माओवादीले राष्ट्रिय सहमतिको अडान राखेपछि ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई अघि सार्न खोजेको नेताहरू बताउँछन् । तर, नेताहरू विश्वस्त भने देखिँदैनन् । 

Global Ime bank

माओवादीले स्थायी कमिटी बैठकबाट नै राष्ट्रिय सहमति गर्ने निर्णय गरेको थियो । सोमबार बसेको पदाधिकारी बैठकले राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको छ । सहमतिका लागि पहल गर्ने निर्णय गरेको पार्टी प्रवक्ता तथा उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।

“राष्ट्रिय सहमति अन्तिम समयसम्म पनि खोज्नेछौँ । हाम्रो स्वार्थ पूरा हुने गरी सहमति कायम गर्छौं भनेका छौँ । हाम्रो स्वार्थ भनेको गणतन्त्रको रक्षा हो । त्यो स्वार्थमा राष्ट्रिय सहमतिको खोजी गर्ने भन्ने हाम्रो निर्णय हो,” बैठकपछि उनले भनेका थिए । 

पार्टीले राष्ट्रिय सहमति खोज्ने निर्णय गरेसँगै पुस १० को सहमतिबाट पछि हटिएको भन्ने बुझ्न पनि सकिने माओवादीका एक नेता बताउँन् ।

“एमालेलाई राष्ट्रपति दिने मौखिक सहमति भएको थियो । राष्ट्रियता, प्राप्त उपलब्धिलाई जोगाउनका लागि राष्ट्रिय सहमति खोज्ने निर्णय गरेसँगै त्यो सहमतिबाट पछि हटिएको भनेर बुझ्दा नि हुन्छ । तर, एमालेले ल्याएको उमेदवार स्वीकार्दैनौँ पनि भनेका छैनौँ,” उनी भन्छन्, “सहमति कायम छ पनि, छैन पनि ।” 

माओवादी नेता पेशल खतिवडा राष्ट्रपतिका लागि पहिलेको सहमतिबाट पछि हटेको भन्दा पनि राष्ट्रिय व्यक्तित्वको खोजौँ भन्ने पक्षमा आफूहरू रहेको बताउँछन् । 

“पहिलेको राष्ट्रपतिबाट हामीले देखिसकेपछि राष्ट्रले पत्याउने व्यक्ति खोजौँ भन्ने कुरा आएको हो । एमालेबाट आएको नामलाई अस्वीकार गर्छौं भनेका छैनौँ,” उनी भन्छन् । 

एमाले उपाध्यक्ष युवराज ज्ञवाली पुस १० को सहमति कायम नै रहेको बताउँछन् । एमालेको सहमतिविना माओवादीले भनेजस्तो सहमति नहुने भएकाले सहमतिको गृहकार्य भइरहेको उनको भनाइ । 

“एमालेले प्रस्ताव गरेको व्यक्तिलाई राष्ट्रपतिमा समर्थन गर्ने भन्ने सहमति त सरकार बन्दाकै सहमति हो । त्यही सहमतिको आधारमा नै सरकार बन्यो । सहमति नभएको भए त यस किसिमको सरकार नबन्न पनि त सक्थ्यो । बिचमा आएर कांग्रेसले सरकारलाई विश्वासको मत दिँदा आशंका गर्दै जाने स्थिति देखियो,” ज्ञवालीले बाह्रखरीसँग भने, “तर, पुस १० गतेको सहमतिअनुसार सरकार त त्यही छ । उहाँहरूले राष्ट्रिय सहमति भन्नुभएको छ । एमालेको सहमति बिना राष्ट्रिय सहमति भन्ने उहाँहरूको नीति लागु हुँदैन । एमाले, कांग्रेसलाई सहमति गराएर कोही व्यक्ति अघि सार्न सकिन्छ कि भन्ने उहाँहरूको प्रयत्न होला ।”

गठबन्धन जुनसुकै हालतमा पनि जोगाएर जानुपर्ने ज्ञवालीको भनाइ छ । जनताका समस्यातर्फ ध्यान दिने बेलामा सरकार बनाउने र ढाल्ने खेलमा अल्झिन नहुने ज्ञवाली बताउँछन् । 

“यो गठबन्धन तोड्नुहुँदैन । जुनसुकै हालतमा पनि बचाएर लग्नुपर्छ । अन्तरविरोध बढ्दा समर्थन फिर्ता लिने भन्ने स्थिति पनि बन्न सक्छ । फेरि अर्को सरकार बनाउने ढाल्ने खेलमा लाग्नुहुँदैन । देश र जनताको समस्या हल गर्नतिर लाग्नुपर्छ,” उनले बाह्रखरीसँग भने । 

एमालेका एक पदाधिकारी प्रतिनिधि सभाको सुरुवाती बैठकमा नै ओलीले संसद् विघटन उचित भनेर दिएको अभिव्यक्तिले नै पहिलेको सहमतिमा अडिग नरहन माओवादीलाई सहजता थपिदिएको आंशका गर्छन् । उनी एमाले र कांग्रेसले स्वीकार गर्ने व्यक्ति खोजेर समदूरीमा जाने प्रचण्डको योजना सम्भव देख्दैनन् । 

“पार्टी अध्यक्ष केपी ओलीजीले संसद्मा संसद् विघटन गर्न जाहेज र उचित थियो भन्ने खालको अभिव्यक्ति दिएपछि प्रधानमन्त्रीसहित अरू पार्टी र नेताहरू बिच्किएको जस्तो देखिन्छ । त्यो टर्निङ प्वाइन्ट हो कि जस्तो देखिन्छ,” उनी भन्छन्,“एमाले र माओवादीले समर्थन गर्न सक्ने व्यक्ति खोज्न सकिन्छ । एमाले र कांग्रेसलाई सहमति गरेर जाने व्यक्ति खोज्न सम्भव छैन । कांग्रेस र एमालेको दूरी विपरीत छ । यही गठबन्धन जोगाउने गरी राष्ट्रपति बन्ने पात्र खोज्नुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC