
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस राष्ट्रपति आफ्नो दलबाटै हुनुपर्ने भन्दै रणनैतिक तयारीमा जुटेको छ ।
पुस १० गते वर्तमान सरकार बन्दा बनेको नयाँ सत्ता समीकरण भत्काएर भए पनि कांग्रेस राष्ट्रपति आफैसँग राख्न चाहन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले पनि राष्ट्रपतिमा राष्ट्रिय सहमति भनिरहँदा कांग्रेसको महत्वकांक्षा अझ बढेको छ । त्यसकारण राष्ट्रपतिका लागि कांग्रेसको दौडधुप जारी छ ।
कांग्रेसमा राष्ट्रपतिका उमेदवारको रूपमा यसअघिसम्म रामचन्द्र पौडेलेको सक्रियता बढी थियो । तर, पछिल्लो समय पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको सक्रियता बढेको छ ।
उनी प्रधानमन्त्री निवास बालुवाटारदेखि सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीसम्म नियमित आऊजाऊमा रहेको उनी निकट नेताहरुको दाबी छ ।
सिटौलाका समर्थकहरूले पनि गणतन्त्र ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको र शान्ति प्रकृया अघि बढाउनमा पनि महत्वपूर्ण योगदान गरेको हुनाले उनलाई नै राष्ट्रपतिको उमेदवार बनाउन सभापति देउवालाई दबाब दिइरहेका छन् भने प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि लबिइङमा छन् ।
उनको यो दौडधुपले सभापति देउवा सकारात्मक रहेको स्रोत बताउँछ ।
देउवाले अहिले नै बचन नदिएको भए पनि एक बैठकमा सिटौलाको नाम अघि सारिदिएपछि सिटौलाको सक्रियता बढेको हो ।
कांग्रेसबाट उनका नाममा निर्णय गराउन भने कठिन रहेको देउवा निकटकै नेताहरूको बुझाई छ ।
“गणतन्त्र ल्याउने भूमिका र शान्ति प्रक्रियालाई अघि बढाउने भूमिका सिटौलाजीको महत्वपूर्ण छ । योगदान छ । तर, पार्टीबाट निर्णय गराउन सहज छैन,” देउवा निकट एक नेताले बाह्रखरीसँग भने, “प्रचण्डले नै मेरो पार्टीका सबै भोट ल्याउनका लागि सिटौला उमेदवार सहज हुन्छ भनिदिए मात्र पार्टीबाट निर्णय गराउन संभव हुन्छ ।”
ती नेताका अनुसार अहिलेलाई भने रामचन्द्र पौडेलनै उमेदवार हुन् । कांग्रेस माओवादीको सहयोगमा राष्ट्रपति पदमा आफ्नो उमेदवार जिताउन चाहन्छ ।
१० पुसमा महत्वकांक्षाका कारण माओवादीले अर्को गठबन्धन बनाएपछि पनि कांग्रेस माओवादी सहकार्य चलिरहेको छ ।
कांग्रेसले माओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत मात्र दिएको छैन प्रदेश संरचनामा माओवादीले पाएको सभामुख उपसभामुख पदमा उमेदवार उठाएन ।
यस्तै राष्ट्रिय सभा उपाध्यक्षमासमेत माओवादी उमेदवार जिताउन कांग्रेसले उमेदवारीनै दिएन । यता, एमालेले वा अर्को दलले उमेदवार उठाएको ठाउँमा कांग्रेसले आफ्नो उमेदवार उठायो ।
राष्ट्रिय सभा उपाध्यक्ष उमेदवारको विषयमा निर्णय गर्न बसेको पार्टीको बैठक पश्चात् कांग्रेसका एक पदाधिकारीले राष्ट्रपति निर्वाचनमा खेल्न सकिने र माओवादीको विश्वासमा आफ्नो उमेदवार जिताउन सकिने महत्वकांक्षाले आफूहरु ‘राष्ट्रपतिमा जुवा खेलिरहेको’ बताएका थिए ।
कांग्रेसले राष्ट्रपति निर्वाचनको विषयमा आफूलाई सहयोग गर्न माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई आइतबार राति आधिकारीक प्रस्ताव गरिसेको छ ।
पार्टी सभापति देउवासहित नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र नेता कृष्ण सिटौला गएर कांग्रेसलाई सहयोग गर्न आधिकारिक रुपमा अनुरोध गरिएको भेटमा सहभागी एक नेता बताउँछन् ।
उक्त भेटमा पूरानै गठबन्धन ब्युँताउनेदेखि सहकार्यका अन्य विषयमा पनि छलफल भएको थियो ।
बाक्लियो दौडधुप
आधिकारिकरूपमा माओवादीसँग सहकार्यको अनुरोध गरेर आएसँगै कांग्रेसबाट राष्ट्रपतिको उमेदवार को भन्ने चासो अझ बढेको हो ।
सभापति देउवा अहिले कसलाई उमेदवार बनाउने संकटमा परेका छन् ।
देउवाले पौडेल वा सिटौलामध्ये को भनेर नभने पनि सहमतिकै आधारमा पार्टीले निर्णय लिनुपर्ने धारणा राखेको उनी निकट नेताले बताए ।
सिटौला निकट एक नेता देउवाले पौडेल र सिटौला दुवैलाई ‘अघि बढ’ भनिसकेको बताउँछन् ।
समूहका नेताहरूले पटक पटक सिटौलालाई राष्ट्रपति बन्नुपर्छ भनेर अनुरोध गर्दा सिटौलाले यस विषयमा देउवालाई जानकारी गराइसकेको प्रतिकृया दिएको ती नेताले बाह्रखरीसँग सुनाए ।
“हामीले तपाईं अब उमेदवार बन्नुपर्यो राष्ट्रपति बनेर काम गर्नुपर्छ । तपाईंले दुईपटक चुनाव पनि हारेपछि टिमको राजनीति र आफ्नै राजनीति जोगाउन पनि राष्ट्रपति बन्नुपर्छ भनेर समूहगत मात्र हैन मैले पनि पटक पटक भनेको छु,” ती नेताले भने, “कृष्ण दाईले सभापतिज्यूलाई मैले आफैँ भनिसकेँ म उमेदवार बन्छु भनेर कुरा राखिसकेँ भन्नुभएको छ । एक दुई राउण्ड कुरा राखेको हो । शेरबहादुर देउवाले निर्णय गर्नुपर्छ भन्नुभयो ।”
सिटौला आफैँ राष्ट्रपति बन्ने उद्देश्य सहित प्रधानमन्त्रीमा दाहाललाई विश्वासको मत दिने स्थितिमा देउवालाई पु¥याएको ती नेताको दाबी छ ।
“कृष्ण दाईको जोडबलमा पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णयमा पुगेको हो,” ती नेताले थपे, “गठबन्धन टुटे पनि विश्वासको मत दिएर दोस्रो चरणमा खेल्न सकिने विश्वास उहाँले देउवालाई पैदा गराउनुभएको हो । कृष्ण दाई नलागेको भए राजनीतिक खेल यो अवस्थामा आउन सम्भव थिएन । त्यो अवसर उहाँले कोर्नुभएको हो ।”
सभापति देउवाले सिटौलालाई के जवाफ दिइरहेका छन् भन्ने बाह्रखरीको प्रतिप्रश्नमा उनी देउवा अझै अलमलमा रहेको बताउँछन् ।
पार्टी संसदीय दलको नेता बनाउन देउवाको प्रस्तावक पौडेल बसेको र पुरानो सम्बन्धका कारण पौडेललाई ‘हुँदैन’ भन्ने अवस्था नरहेको र सिटौलालाई पनि बाइपास गर्ने अवस्थामा देउवा नभएको ती नेताको दाबी छ ।
“हामीले सभापतिज्यूलाई भेटेर पनि कि तपाईं बन्नु नभए कृष्ण दाईलाई बनाउनुपर्छ भनेका छौं,” ती नेताले थपे, “शेरबहादुर दाई ठाडै म बन्दिन पौडेल वा सिटौला मध्ये एक बन्छन् भन्नुभयो ।”
कांग्रेसको पदाधिकारीसमूहमा सिटौलाका पक्षधरभन्दा विरोधी समूह बढी भएका कारण निर्णय गराउन अप्ठेरो अवस्था आउन सक्ने उनको आकलन छ ।
राष्ट्रपति निर्वाचन फागुन २५ मा हुँदैछ । यसअघि फागुन १३ गते उमेदवारी दर्ता गर्नुपर्ने हुन्छ ।
यसका लागि जित्ने वातावरण बनाउन र आफू उमेदवार बन्न पौडेल सिटौला दुवै संघर्षरत छन् । जसरी पौडेलले प्रधानमन्त्री दाहालदेखि, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा(एस) अध्यक्ष माधव नेपाललगायतसँग संवाद गरिरहेका छन् त्यसरीनै सिटौलाले पनि राजनीतिक संवाद अघि बढाइरहेका छन् ।
“सिटौला बालुवाटार र धुम्बाराही धाइरहेका छन् । १३औं महाधिवेशनमै रामचन्द्रले होइन मैले हो तपाईंलाई सभापति बनाएको भन्दै देउवालाई दबाब दिइरहेका छन्,” कांग्रेसका एक नेता भन्छन् ।
सिटौला निकट केन्द्रीय सदस्य तथा वाग्मती प्रदेश पार्टी प्रमुख सचेतक कुन्दनराज काफ्ले वर्तमान राजनीतिक व्यवस्थाको नायक सिटौला भएको भन्दै सिटौलाको विकल्प सिटौला मात्र हुन सक्ने तर्क गर्छन् ।
“राजा फ्याक्ने, बन्दैन भनेको संविधान मस्यौदाकार समिति संयोजक भएर संविधान जारी गराउने शक्ति हो कृष्ण सिटौला । उहाँले द्वन्द्वलाई शान्तिमा रुपान्तरण गरेर अहिलेको राजनीतिक व्यवस्थाको कल्पनालाई साकार पार्नुभयो,” काफ्लेले भने, “हो अब आफैँले लेखेको संविधान कार्यान्वनयका बाँकी काम गर्ने पूरा गर्ने जिम्मेवारी उहाँले पूरा गर्नुछ ।”
प्रदेश १ कांग्रेस सभापति तथा संसदीय दलका नेता उद्धव थापा पनि राष्ट्रपति उमेदवार बन्ने सिटौलाले इच्छा मात्र राखेको होइन प्रयास पनि गरिरहेको बताउँछन् ।
“उहाँले इच्छा मात्र राख्नुभएको छैन प्रयास पनि गरिरहनुभएको छ । अन्तिम निर्णय त पार्टीले गर्ने हो । सबै सभापतिको हातमा छ,” उनले बाह्रखरीसँग भने ।