काठमाडौं । जागृत रायमाझी पार्टीको अभियानका क्रममा मकवानपुरको थाहा नगरपालिकामा थिए । सांस्कृतिक कार्यक्रमहरू भइरहन्थे । उनलाई गीत–संगीतमा खुब दिलचस्पी थियो । गीत लेख्थे, संगीत भर्थे । गाउँथे । त्यसलाई प्रस्तुत गरिन्थ्यो । नागरिकलाई पार्टीप्रति आकर्षित गर्ने यो एउटा पुरानै तौरतरिका पनि हो ।
त्यही समय उनको दिमागमा एउटा मेलोडी आयो, आफैँलाई लोभ्याउने । डेमो रेकर्ड गराए, नबिर्सियोस् भनेर । गीत पनि लेखे । राजनीतिक व्यक्तित्व, गीत पनि त्यस्तै ‘हार्डकोर’ हुने नै भयो । पछि उनलाई लाग्यो– यो मेलोडीमा यो शब्द सुहाउँदैन । मेलोडी सुहाउँदो शब्द नभए मेलोडीलाई नै अन्याय हुन्छ ।
र, थन्कियो मेलोडी । त्यो पनि करिब २० वर्ष ।
समय परिवर्तन भयो । समयसँगै जिम्मेवारीमा बदलाव आयो । जिम्मेवारी वहन गर्दै जाने क्रममा उनी विद्यार्थी नेता भए । गीत–संगीतप्रति मोह त थियो, तर यतापट्टि सक्रिय हुन सकेनन् । सिर्जनाको दुनियाँबाट अलग नभए पनि उनी यसबीचमा सुन्ने र हेर्नेमै सीमित भए ।
पछिल्लो समय नयाँ अभियानमा जोडिए । अभियान थियो, लाइन लागेर विदेश जाने युवापुस्तालाई रोक्ने । “२० देखि ४५ वर्षभित्रको युवापुस्ता मात्रै नेपालबाहिर ८० लाख रहेछ,” जागृत भन्छन्, “गाउँतिर जाने हो भने हरेक घरमा युवा छैनन्, बूढा भएका बुवाआमा मात्रै छन् । सहरका युवा युरोप, अमेरिकामा छन् । गाउँबाट सहर आइपुगेका युवा पनि यहाँ उकुसमुकुसमा छन् । धेरै त खाडीमै छन् ।”
जागृतले निधो गरे– यसबारे गीत बनाउनुपर्छ । चिसो सुरु भइसकेको कात्तिक महिनामा नेपाली समाजको चिसो कथा गीतमा उन्न बसे ।
नेपाली विदेश कसरी जान्छन् ?
भारत जाने ३०/४० लाख रेलको बाटो भएर जान्छन्, खाडी र युरोप–अमेरिका जहाज चढेर । जागृतको दिमागमा आयो, ‘छुकछुक छुकछुक...।’ अर्थात्, रेल चलेको प्रतीकात्मक ध्वनि । त्यही बसाइमा उनले लेखे यो स्थायी–
छुकछुक छुकछुक छुकछुक..., रेलैको बाटो गुडेर
भुरभुर भुरभुर भुरभुर..., आकाशैमा उडेर
जाँदै छन् युवा विदेशमा देशै रित्तो पारेर
अनि अन्तरा ?
एकसरो गीतका शब्द केही दिनमा तयार भए । तर, त्यसमै चित्ते बुझाएनन् उनले । शब्द परिमार्जन गर्दै गए । राजनीतिदेखि केही पर आफ्नो सिर्जनालाई अलग्गै बनाउनुपर्छ भन्ने थियो । प्रयास गरे । साथीहरूलाई देखाए । सुझाव मागे । ग्राह्य लागेको सुझाव मनन् गर्दै परिमार्जनको कलम चलाए ।
आफ्नो सिर्जना प्रायः धेरैलाई त्यति धेरै मन पर्दैन । अपवाद जागृत थिएनन् । यद्यपि, उनलाई मेलोडी पहिल्यै चित्त बुझिसकेको थियो । शब्द त रेकर्ड गराउँदाको दिनसम्म चलाइरहेका थिए । “तर, फर्स्ट एरेन्ज गरेर डेमो रेकर्ड गर्दा राम्रै पो हुन्छ कि क्या हो भन्नेसम्मचाहिँ लागेको थियो,” जागृत भन्छन्, “डमी भ्वाइस रेकर्ड गरेर केही साथीलाई सुनाउँदा गज्जब छ भनेपछि राम्रै काम भएछ कि भन्ने लागेको थियो ।”
त्यसपछि सुरु भयो, गायकको खोजी । उनलाई साथीले सुझाए, सुरज पण्डितको नाम । जागृतले खोजे सुरजका गीत । कस्तो संयोग, सुरजका लोकप्रिय गीत रेलसँगै पो सम्बन्धित रहेछन् । तर, विडम्बना ! उनका हिट गीत पनि जागृतले सुनेका रहेनछन् ।
“उहाँका गीत त्यति धेरै हिट रहेछन् । तर, मैले सुनेको रहेनछु । पछि म आफैँलाई पनि अचम्म लाग्यो । कसरी यति धेरै लोकप्रिय गीत मैले कसरी सुन्न छुटाएँ भनेर,” उनी भन्छन्, “मलाई उहाँको स्वर मन पर्यो । बोलाएँ । सरल र मिहिनेती हुनुहुँदो रहेछ । मैले उहाँलाई गीत सुनाएँ । उहाँले मन पराउनुभयो । मैले नै गाउनुपर्छ कि क्या हो भन्नुभयो ।”
त्यसपछि सुरज
सुरज पण्डितलाई गएको साउनमा उनको साथीले एक दिन बोलाए, आफ्नो कार्यालय । भनिएको थियो, ‘तिमीले गाउने प्यार्टनको गीत छ । मन परे गाउन सक्छौ ।
गीत त सुरजले सुने, तर रेन्ज केही ‘लो’ थियो । उनको स्वर सुहाउँछ ‘हाई रेन्ज’मा । त्यसैले भने– मैले गाउने हो भने स्केल बढाउनुपर्छ । अन्यथा, राम्रो सुनिँदैन ।
“मेरो स्वर हाई नोटमा जाने भएकाले मैले स्केल बढाउन भनेँ । मैले भनेअनुसार स्केल तयार भएपछि मेरै प्यार्टनको गीत भएकाले गाएँ,” सुरज भन्छन्, “गीत राम्रो छ । सिनेमा बनाउन सकिने कथा गीतमा अटाएको छ । फिल्मको स्टोरी छोटो गीतले भन्न सकेको छ, यो गीतको सवल पक्ष हो ।”
सुरज हम्मेसी अरूका गीत गाउँदैनन् । एक दशकको सांगीतिक करिअरमा औसतमा वर्षका दुइटा गीत गाउँदै आएका छन् । संख्या थोरै नै किन नहोस्, क्वालिटी म्युजिक गरौँ भन्ने उनको जिन्दगीको सूत्र हो । आजसम्म उनी यो सूत्रबाट विचलति भएका छैनन् । त्यसैले छोड्नै नसक्ने गीत आए फरक कुरा, होइन भने अरूका गीत गाउँदैनन् । उनीसँग थुप्रै आफ्ना सिर्जना ‘पाइपलाइन’मा छन् ।
अडियो तयार भयो । गीत बजारमा पठाउन अब चाहियो भिडियो । को होला उपयुक्त पात्र ? अर्थात्, निर्देशक ? कलेज पढ्दादेखिकै साथी आए जागृतको दिमागमा, केदार श्रेष्ठ । उनले सल्लाह मागे, फिचर फिल्म निर्देशक विकास ढकालसँग । संयोग पनि कस्तो !
कस्तो ?
“विकासले पनि केदारकै नाम सुझाउनुभयो,” जागृत भन्छन्, “त्यसपछि मैले उहाँलाई फोन गरेँ । तर, उहाँले सुरुमा आनाकानी गरेजस्तो गर्नुभयो । सायद उहाँले लाल झन्डावाला गीत होला भन्ने सोच्नुभयो ।”
तर, जब केदारले दोहोर्याइतेहेर्याइ गीत सुने, उनलाई पनि गीतको थिम मन पर्यो । केही दिनपछि उनले जागृतलाई वचन दिए, ‘म भिडियो गर्छु, तर समय लाग्छ ।’ भलै, केही आर्डकोर शब्द गीतमा अझै छन् । तर पनि पुरानै चिनजान भएकाले उनले आग्रहलाई नकार्न सकेनन् ।
पालो केदारको
केदारलाई जागृतको फोन आयो । गीतको भिडियो बनाइदिन भने । तर, केदारलाई उही जागृतले भनेझैँ ‘लालझन्डा’वाला गीत त होला भन्ने भयो । सकेसम्म तर्किन पाए हुन्थ्यो भन्ने लाग्यो । तर, सिधै नाइँ पनि कसरी भन्नु ? नभनुँ, कम्युनिस्ट साहित्यलाई ‘नारा’ भनेर टिप्पणी गर्ने केदारलाई त्यस्तै गीतमा कसरी काम गर्नु भन्ने लागिरहेको थियो ।
‘एकपटक गीत सुनौँ’ आग्रह आयो । जब गीत सुने, केदारको दिमागमा बनेको कल्पनाको घर तोडियो । सोचेभन्दा फरक रहेछ गीत । हार्डकोर पोल्टिक्स नै त गीत रहेनछ । तर, छनक अवश्य थियो ।
भिडियो केदारले बनाउने भए । तर, उनले जागृतलाई भने, “शब्दअनुसारको कथा बनाउन समय लाग्छ । आम रूपमा बनिरहेका जस्तो हो भने त म बनाउँदिनँ । केही फरक तरिकाले कथा भन्ने हो भने ठिक छ । गर्न सक्छु/सक्तिनँ त म अहिले नै भन्न सक्तिनँ । तर, बनाउन सके गीत राम्रो छ । म कन्सेप्ट बनाउने प्रयास गर्छु ।”
केही दिन केदार कन्सेप्टका लागि घोरिए । जागृतले फलो गरिरहेका थिए । सकिनँ भन्नु पनि कसरी ? तर, दिमागमा नयाँ कन्सेप्ट आइरहेको थिएन । त्यसैले म्यासेजमा प्रयास गरिरहेको छु भन्थे । तर, फोन उठाउँदैन थिए ।
छुकछुक छुकछुक... भन्ने शब्दले केदारलाई ‘नोस्टाल्जिक’ बनायो । उनी आफैँ पनि बच्चामा ‘रेल गाडी छुकछुकछुक...’ भन्दै खेल्थे । त्यसैले उनको दिमागमा सबैभन्दा पहिला आयो, बालबालिकाको विम्ब । पहिलो विम्ब नै प्रभावकारी भयो भने बाँकी कथा बलियो हुन्छ भन्ने उनलाई लाग्यो ।
“नेपालको शिक्षा प्रणाली पनि दक्ष जनशक्ति उत्पादन गर्ने खालको छैन । नेपालका विश्वविद्यालयहरूले शिक्षित बेरोजगार उत्पादन गरिरहेका छन् । युवापुस्ता विदेशिइरहेको छ । बच्चाले उनीहरूबाटै सिक्ने हो,” केदार भन्छन्, “प्लस टु गरेपछि विदेश जाने भन्ने छ । सहरका युवा प्लस टु गरेर १८/१९ वर्षको उमेरमा पढ्न भन्दै अमेरिका, अष्ट्रेलिया गइरहेका छन् । गाउँका युवा एसईई सकेर वा नागरिकता बनाएर करिब त्यही उमेरमा खाडी गइरहेका छन् ।”
अभियानका लागि हिँडेका दुई हातहरू ठोक्काउँदै गरेको दृश्यबाट भिडियो सुरु हुन्छ । त्यसपछि अभियानका लागि तयार पार्दै गरेका गिटार, झोला देखिन्छ । अनि, क्रमशः युवा घरबाट निस्कन्छन् । बालबालिका (विद्यार्थीको पोसाकमा) ‘रेल गाडी छुकछुक छुकछुक...’ खेलिरहेको देखिन्छ । त्यसपछि पासपोर्टको ढोका उघ्रिन्छ । र, खाली खुट्टा बालबालिका उक्त ढोकाबाट अर्कोतर्फ लाग्छन् । यो युवापुस्ताले देश छोडेको सशक्त विम्ब हो । ढोका बन्द हुँदा नेपालतिर खाली चप्पल मात्र हुन्छन् । युवाजति विदेशिएपछि देश खाली छ भन्ने अर्को विम्ब हो यो ।
कोही रेलको बाटो त केही जहाजको बाटो विदेशिन्छन् । खेतबारीमा हलो/कोदालो गर्ने बूढापाका मात्र देखिन्छन् ।
जसको चुल्हो बल्दैन, अनिदोले रात ढल्दैन । बूढा भएका बाको शरीरमा रगत सुकिसक्यो । तर, छोराछोरी विदेशमा छन् । केदारले भिडियोमा यही देखाएका छन् ।
बूढा भएका बा कोठामा विदेश गएर उतै बितेको छोराको माला लगाएको फोटो हेरिरहेका छन् । उसले जीवित हुँदा पठाएका चिठी कोठामा सजाएर राखेका छन् । उनी तिनै चिठी र तस्बिर हेरेर मृत छोराको न्यास्रो मेटाइरहेका छन् ।
झोलाभरि सपना बोकेर युवा विदेशिइरहेका छन् । “रुखमा झुन्ड्याइएका झोलामा युवाको परिवारको सपना छ । उसको आफ्नै सपना त्यो झोलाभरि छ । त्यही झोलामा देखिने फूल युवाका रंगीन रहरहरूको अर्को विम्ब हो,” केदार भन्छन्, “गीतको शब्दले ‘झोलामा रहर मनमा कहर, देशै छोड्नेको लाग्यो नि लहर...’ भन्छ । त्यसलाई हामीले भिडियोमा देखाउने प्रयास गरेका छौँ ।”
त्यसपछि भिडियोमा केदार देखाउँछन्– अनुहारमा सेतो पोतेर जनतामाथि शासन गरिरहेको एक सामन्त, जसले गाउँमा शोषण गरिरहेको छ । उसको हैकमको अन्त्यका लागि जनता विद्रोह गरिरहेका छन् । अन्ततः त्यो सामन्तलाई जनता ढलाउँछन् ।
त्यसपछि गीतका शब्दले भन्छन्–
नजाऊ विदेश, फर्क स्वदेश, बनाउन स्वाधीन स्वतन्त्र देश...
भिडियोमा अभियान सफल भएको देखिन्छ । सफलताको कारण एकता देखिन्छ । अनि, केदार देखाउँछन्, विदेशिएका युवा गाउँ फर्किएको । स्थानीयको अनुहारमा हराएको मुस्कान फर्किएको । युवाले आफ्नै गाउँमा उद्यम सुरु गरेको ।
अन्त्यतिर केदार देखाउँछन्, नाडीमा बाँधिएका विभिन्न रङका रिबन । “विभिन्न रङका रिबनको अर्थ समाजमा विभिन्न अभियान चलिरहेका छन् । र, आवश्यक छ भन्ने हो । मान्छेअनुसारको सोच हुन्छ भन्ने मान्यताले मैले विभिन्न रङका रिबन प्रयोग गरेको हुँ,” केदार स्पष्ट पार्छन् ।
फेरि जागृत र सुरज
“केदारजीले आर्टिस्टिक हिसाबले राम्रो भिडियो बनाउनुभएको छ । विम्ब र प्रतीकको प्रयोग गरिएको छ । भिडियो बुझ्न केही कठिन पनि हुनसक्छ धेरैलाई, तर गीतले जे भन्न खोजेको छ, त्यो केदारजीले यति कलात्मक तरिकाले बनाइदिनुभयो, मैले सोचेको भन्दा पनि राम्रो,” जागृत केदारप्रति अनुग्रहित सुनिए, “एउटा सिनेमाको कथा उहाँले ६ मिनेटमा भन्नुभएको छ । यस्तो भिडियो सायद कमै मात्रै बानाइन्छ ।”
गीतको भिडियो अक्सर सजिलै बुझिने खालको बनाउने चलन छ । यो भिडियो सजिलै सायदै बुझिएला । यो सुरजले पनि गरेको अनुभव हो । तर, उनी ढुक्क छन्– ढिलै किन नहोस्, राम्रो कामको सही मूल्यांकन हुन्छ ।