
यमराजले एउटा आकर्षक सुनौलो मृत्युको प्रमाणपत्र मेरो हातमा थमाइदिँदै भने, “ल लिनुस् यो प्रमाणपत्र । तपार्इं चौहत्तर वर्ष पुगेपछि म लिन आउनेछु ।”
यति भनेर उनी बेपत्ता भए । मैले मनमनै सोचेँ– ठिकै छ त, अझै धेरै लामो आयु बाँकी रहेछ । मन हर्षले खुसी पनि भयो । त्यो आकर्षक प्रमाणपत्रलाई सुरक्षित रूपमा सन्दुकभित्र थन्क्याएर राखेँ ।
दिनहरू खुसीमै बितेर गए । बाँच्ने एउटा निश्चित आयु थाहा भएपछि खुसी लाग्नु स्वाभाविक नै थियो ।
जिन्दगी घोडाको रेसजस्तै दौडिरह्यो । संघ–संस्थाका सेमिनार, गोष्ठी, प्रवचनका कार्यक्रमहरूमा भ्याइ नभ्याइ थियो । मान–सम्मानका प्रमाणपत्र र पदकहरूको चाङ लाग्दै गयो ।
बैठककोठा सम्मानपत्र र पदकहरूले सजिसजाउ भए । सभा–समारोह, सम्मेलन, घर–व्यवहार र व्यापार–बिजनेसको व्यस्ततामै समयले नेटो काटेको पनि पत्तो भएन ।
एक दिन बैठककोठामा आराम गर्दै थिएँ । भित्ताभरि झुन्डिएका मान–सम्मानका प्रमाणपत्रहरूले मलाई एकोहोरो हेरिरहेका थिए । गर्वले मेरो छाती ठूलो भयो । मन पुलकित हुँदै खुसीको सञ्चार बढ्दै थियो ।
अचानक मलाई यमराजले दिएको त्यो मृत्युको प्रमाणपत्रको याद आयो । सन्दुक खोलेर हेरेँ ।
सुनौला अक्षरहरू मलाई हेर्दै मुस्कुराइरहेका थिए । उमेरको हिसाब गर्न थालेँ । चौहत्तर वर्ष पुग्न मात्रै एक महिना बाँकी रहेछ !
(हेटौँडा)