सामान्यतः इतिहास पुरातात्विक उत्खननबाट प्राप्त सामग्री, लिपि र भाषा अनि यात्रा वृत्तान्तहरूमा उल्लेखित प्रसंगहरूबाट निर्क्योल गर्ने गरिन्छ ।
बुद्ध कालभन्दा अगाडिको सिन्धुघाटी सभ्यता (३५००-४५०० वर्षअघि)मा समेत (बौध्द?) चैत्यहरू रहेको भौगर्भिक उत्खननमा पाइएको छ ।
यस्ता सामग्रीमा गौतम बुद्धभन्दा अघिका २६ बुद्धको उल्लेख भएको पाइन्छ । बुद्ध (५६४ ई.पू.) को बोध ज्ञान प्राप्तिपछि त्यतिबेलाका राजाहरू विम्विसार, प्रसेनजित, अजातशत्रुआदि राजाहरूमा सत्य (बुद्ध) धर्ममा ठूलो विश्वास उत्पन्न भएकोले राज्य धर्म शुध्द बनाएको पाइन्छ ।
त्यसैगरी चक्रवर्ती मौर्य सम्राट अशोक (२७३ - २३२ ईपू)ले पूर्वमा बङ्गालदेखि पश्चिममा अफगानिस्तान तरेर इरानसम्म र उत्तरमा हिन्दकुशदेखि दक्षिणमा मैसुरसम्म आफ्नो बौध्द राज्य फैलाएका थिए । सम्राट अशोकको धम्म (ब्राह्मी ?) लिपिमा पाली भाषामा लेखिएको ३५ शिलास्तम्भ भेटिएको छ ।
यी शीलालेखहरूमा ७ बौद्ध ग्रन्थहरूको उल्लेख पाइन्छ । बौद्ध धर्म प्रचार हेतु सम्राट अशोककी छोरी चारूमती नेपाल आएकी थिइन् भने छोरा महिन्द्रा र अर्की छोरी संगमित्रा श्रीलंका गएका थिए ।
चारूमती, चावहिल र पशुपतिनाथ
चारूमती बुद्ध धर्म प्रचारका लागी नेपाल आउँदा देवपत्तन (देउपाटन, पशुपति क्षेत्र) राज्यका राजकुमार दिक्पाललाई मन पराई, बिहे गरी यतै बसेको मानिन्छ ।
यिनले नै देवपत्तनसँगै चारूमती विहार र चा:वहिल चैत्य स्थापना गरेर बुद्ध धर्म प्रचार केन्द्र स्थापना गरे । यति नै बेला सम्राट अशोकले पनि छोरी भेट्न (वा सँगै ?) नेपाल आएको र पाटनमा दिपकंर बुद्धको स्मृतिमा चारवटा 'थूर' (चैत्य) बनाएको इतिहासमा वर्णन गरिएको छ । उत्खननमा धम्म (ब्राह्मी?) लिपीमा चारूमती लेखिएको इट्टा पाइएको छ ।
पशुपतिनाथ मन्दिर सोमदेव राजवंशका राजा पशुप्रेच्छेले ईपू तेस्रो शताब्दीमा गरेको मानिन्छ । यतिबेला बुद्ध धर्म व्यापकरूपमा मानिने भएकोले त्यतिबेला अरू मन्दिरजस्तै पशुपति पनि बौद्ध मन्दिर हुनुपर्छ ।
पछि लिच्छवि राजा प्रचण्डदेव ( ४०० सन्) ले देवालयको स्वरूप दिएको पाइन्छ । पछि सुपुष्पदेवले देवालयलाई ५ तल्ले मन्दिर बनाए ।
सम्भवत: भूकम्पले ध्वस्त बनाएको पशुपति यसपछि शिवदेव (१०९९ - ११२६ ईस्वी)ले हालको २ तल्ले स्वरूपमा पूनर्निर्माण गराए । त्यसमा पछि अनन्त मल्लले सुनको जलप गरिएको तामाको छाना र सुनको गजुर हालेका थिए ।
पशुपति ज्योतिर्लिङ्ग नभई पाँचमुखी (चार दिशामा चारवटा र पाँचौ मास्तिर फर्किएको) बुद्धका झैँ लामो कान भएका मुखाकृतिहरू हुन् ।
पशुपतिका एकथरी पूजारीहरूमा दक्षिण भारतबाट ल्याइएका (नियुक्त गरिएका) भट्ट अनि अर्काथरीमा यतैतिरका स्थानीय राजभण्डारीहरू छन् ।
संभवत: यी स्थानीय राजभण्डारीहरू पूराना ईपू तेस्रो शताब्दीका राजा पशुप्रेच्छे कालदेखिका राजाको भण्डार हेर्ने राजभण्डारी (पुजारी ?)हरू हुन् ।
पशुपतिमा शिव लिङ्ग (?) लाई आजको दिनसम्म पनि बौद्ध विधिद्वारा पनि पूजा गर्ने परम्परा छ । सायद, यो पशुपतिनाथ बुद्धका महायानी, बज्रयानी र तन्त्रका अनुयायीहरूले स्थापना गर्दै लगेका लौकिक, अलौकिक, भैरव, तारा आदिका काल्पनिक चित्र, मूर्तिसँगै जन्माइएका शैव, वैष्णव आदि मठ, परम्परा र सम्प्रदायहरूमध्ये शैव (शिव)को रूपमा पूजा गरिए ।
बुद्धनीलकण्ठ
बुद्धनीलकण्ठ मूर्ति सातौं शताब्दीमा राजा विष्णु गुप्तको पालामा बनाएको मानिन्छ र मल्लकालमा फेरि पत्ता लागेको भनिन्छ ।
बुद्ध मूर्तिसँग दुरुस्तै मिल्ने बुद्धनीलकण्ठको बनावटमात्र नभई नाममा मात्र बुद्ध रहेको होइन मूर्तिको निधारमा समेत बुद्धको मूर्ति रहेकोले पनि यो बुद्ध कालबाट नीलकण्ठ (शिव) शैव वा नारायण (वैष्णव) धर्ममा संक्रमण भएको स्पष्टै देखिन्छ ।
प्रताप मल्लका पालामा सपनामा बुद्धनीलकण्ठमा राजा आएमा मृत्यु हुन्छ भन्ने देखेपछि यसैको प्रतिच्छाया (replica) बालाजुमा बनाएर यद्यपि पूजा गरिन्छ । यसको मन्दिर परिसरमा बुद्धको चैत्यसमेत रहेको र बौद्धहरूसमेतले बुद्धनीलकण्ठको निर्धक्क पूजाआजा अहिलेसम्म गरेकै छ ।
मुक्तिनाथ
बाह्रौ शताब्दीमा पहिलो तिब्बती गुरु रिम्पोचे यहाँ आएर ध्यान गरेका थिए । रिम्पोचेले जन्ममृत्यु परको ज्ञान यहीँ पाएको भनिन्छ । त्यसैले मुक्तिनाथलाई बौद्धमार्गीहरू बुद्ध र हिन्दुमार्गीहरू विष्णुको रूपमा पूजा गर्छन् । यहाँ हिन्दु पुजारी सँगसँगै बौद्ध पुजारी (मगरहरू) पनि रहेका छन् ।
मुक्तिनाथसँग जोडिएर केही कथाहरू हिन्दुहरूले बनाएका छन् । राजा जालन्धरसँग महादेवको भीषण युद्ध भइरहँदा महादेवको रूप धारण गरी पार्वतीलाई वशमा पार्न खोज्दा पार्वतीले जालन्धरको रूप धरेर उनकी पत्नी वृन्दाको सतीत्व हरण गरेको थाहा पाएर वृन्दाले विष्णुलाई शालिग्राम बनोस् भनेर सरापेको र आत्महत्या गरेपछि खरानीबाट तुल्सी उत्पन्न भएको कथा छ । त्यसैले तुल्सी लिएर मुक्तिनाथ जानुपर्छ भन्ने धारणा छ ।
त्यसैगरी सतीदेवीको मुख खसेको शक्ति पीठ भएकोले मुक्तिनाथ भएको भन्ने पनि किंवदन्ती छ । यी दुवै कथा वास्तविक भने लाग्दैनन् । तर, आज पर्यन्त मुक्तिनाथ बौद्ध अनि हिन्दुहरू दुवैको मन्दिर रहेको छ । र यहाँ बौद्ध धर्मालम्वी तथा हिन्दुहरू दुवै मेला भर्न आउँछन् ।
हिन्दु के हो ? कहिलेबाट 'हिन्दु' सुरू भयो ?
एघारौं शताब्दीमा भारत आएका अलबुरूनीले लेखेका यात्रा संस्मरणलाई सन् १८८२-८३ मा एडवार्ड सचोले अङ्ग्रेजीमा अनुवाद गरेर "अलबुरूनीको भारत" नाममा प्रकाशित गरेका थिए । बीए शान्तारामले यसैको हिन्दीमा अनुवाद गरेका छन् ।
यसभन्दा अगाडि 'हिन्दु' शब्द कुनै पनि शिलालेख वा ग्रन्थ वा यात्रा वृत्तान्तमा लेखिएको पाइन्न । सातौं शताब्दीमा भारत आएका ह्यान सङ्गले चन्द्रमालाई 'इन्दु' शब्द प्रयोग गरेका थिए ।
अलबुरूनीले पनि 'हिन्दु' शब्द भौगोलिक क्षेत्रको रूपमा प्रयोग गरेको पाइन्छ । यद्यपि फारसी शब्दकोषमा 'हिन्दु' को अर्थ चोर, उचक्काको अर्थमा प्रयोग गरिएको छ ।
पाली, पाली प्राकृत र संस्कृत भाषा
बुद्ध कालमा पाली भाषा प्रचलनमा थियो । त्यसैले पहिलो संघायनपछि बुद्ध वचन समेटेर 'त्रिपिटक' लेख्ने समयमा पाली भाषा र धम्म (ब्राह्मी) लिपि प्रयोग गरियो ।
तथापि, त्यतिबेला 'ब्राह्म' शब्द प्रचलनमा थिएन । र धम्म लिपिमा आठ व्यञ्जनमात्र प्रयोग हुन्थे । त्यसैले सम्राट अशोकको अभिलेखमा गौतम, सिद्धार्थ, ब्राह्मण आदि संस्कृत शब्दहरू पाइन्न । कृष्ण शब्द एघारौं शताब्दीअगाडि उल्लेख भएको पाइएको छैन ।
पाली, पाली प्राकृत हुँदै संस्कृत भाषा र देवनागरी लिपीको विकास दसौं एघारौं शताब्दीतिर मात्र भएको पाइन्छ ।
त्यसैले हिन्दु धर्ममा पाइने काव्य, महाकाव्य, श्रुति, स्मृति, पूरान र वेद पनि संस्कृत भाषा र देवनागरी लिपिमा लेखिएकोले दसौं शताब्दी पहिलेको मानिदैन ।
बुद्ध धर्मका महायान, बज्रयान, तन्त्र आदिका देवदेवीलाई 'हिन्दु' बनाउनेमात्र होइन बुद्धलाई नै विष्णुको नवौं अवतार बनाउने कुटिल काम पनि 'हिन्दु'हरूले गरेकै हुन् । तथापि, पूराणहरूमा नास्तिक बुद्ध, जैन र चार्वाकलाई तथानाम गाली गलौज गरेकै छन् ।
'महाभारत' र 'रामायण' इतिहास हुन् ?
बौद्धहरूमा ४४७ जातक कथा पाइन्छ । अजन्ता गुफा (२०० - २५० ईपू) मा यी जातक कथाहरू सचित्र कोरिएका छन् । घट जातकमा वासुदेवको कथा छ ।
यही कथालाई लम्ब्याएर ८८०० श्लोकको "जय" बनाइयो । यही 'जय' २४००० श्लोकको 'भारत' हुँदै ९६,००० श्लोकको "महाभारत" बनाइयो । अहिले महाभारतमा १ लाखभन्दा धेरै श्लोक छन् ।
यसैगरी दशरथ जातकमा राम र सीता भाइबहिनी छन् । राम, लक्ष्मण र सीता १२ वर्षको लागि बनवास जाने तर लक्ष्मण र सीता ९ वर्ष मै र राम १२ वर्षमा देश फर्कने कथा छ ।
यसै कथालाई लम्याएर जैनहरूले पाचौं छैठौं शताब्दीमा 'जैन रामायण' लेखे । त्यही रामायणमा थपथाप गरेर वाल्मिकीले अहिलेको वाल्मीकि रामायण 'महाकाव्य' बनाए । समाजमा भने 'महाभारत' र 'रामायण' काव्य/महाकाव्य नभई इतिहास हो भन्ने भ्रम छ ।
उपसंहार
इतिहासलाई खोतलेर पुरातात्विक उत्खनन्, भाषा, लिपि आदिलाई केलाएर हेर्दा बुद्ध धर्म पो हिन्दु धर्मको उत्पत्ति विन्दु भएको देखिन्छ ।
बौद्धहरूको नालन्दा, विक्रमशील, तक्षशीलाजस्ता २७ महाविहारहरूलाई ध्वस्त बनाएर 'हिन्दु' धर्मको उदय भएको देखिन्छ ।
मनुस्मृति जस्तो ग्रन्थहरूको लेखनपछि जाति र वर्ण व्यवस्था आएको देखिन्छ । यसपछि शुद्र र महिलाहरूको पठनपाठन रोकेर बहुसङ्ख्यक जनसंख्यालाई अँध्यारोमा राखेको देखिन्छ ।