site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
ओल्ला घरको 'नरे'

फुर्सद नभएर होइन ननिकालेर लेखिँदैन लेख । धेरै पो भएछ नलेखेको ! आज फेरि एउटा अनुभव जनित लेख लेख्छु भनेर कस्सिएको छु ।

‘पल्ला घरका नरे ओल्ला घर सरे, के मिलेन मिलेन पल्लै घर फिरे’ ! नरे याने 'नन् रेसिडेन्ट'! विषयले त्यसै वरिपरि फन्को मार्ने छ । सामाजिक संजालमा मैले तीन विम्ब प्रयोग गर्छु - नरे, गैराँबस्या नेपाली र ‘पोइल’ गएकी छोरी । यी तीनै विम्ब कसैलाई व्यंग्य कस्नभन्दा पनि आफैँलाई ब्युंझाइराख्न प्रयोग गर्छु । अर्को छ, पत्थरको घोडा - त्यो चाहिँ हामी 'नरे' हरूको साझा संगठन हो अरे !

पछिल्लो समय एक सर्वाधिक चर्चित 'नरे' मूल घर सरे र चकचकी, जग्जगी गरे । देश खाएर खलीखाक भएका अन्य भालेसँग भिड्न गए, ठीक बेठीक जे गरे  जगजाहेर छ । भिडन्तपछि भने प्वाँख, भुत्ला झारेर निस्के । उनको यो भिडन्तले मजस्ता लाखौं गैराँबस्या नेपालीको भने ओँठ तालु सुकाइदियो ।

KFC Island Ad
NIC Asia

पत्याउनुस् नपत्याउनुस् - पछिल्लो समय त्यसै घटनाले यताहुँदी हामी 'नरे ' हरू घन्टौं जुममा झुम्मिन बाध्य भएका छौँ । हाम्रो चिन्ता देशमा हामीले के दिन सकौँला भन्नेमा हैन देशमा भएको मेरो पैत्रिक सम्पत्ति के हुन्छ ? एउटै लाम्टो चुसेको दाजुभाइ वा दिदीबहिनीले त कुम्ल्याइदिँदैनन् कतै? भन्ने छ ।

अथवा हिजो नेपाल सरकारले नै लगानी गर्न आओ भनेर बोलाएकाले लगिएका लगानीको के हुन्छ ? भन्ने अन्योल छ ।

Royal Enfield Island Ad

यी सबैका बीच यताको नागरिकता त्यागेपछि पहिले भएको सम्पत्तिमा हकदाबी गर्न मिल्ला नमिल्ला भन्ने अन्योल पनि उत्तिकै छ । समग्रमा, फिरेका ती नरेले यतै अल्झेका नरेका घाउ कोतरिदिएका छन् । अलि अघि सामाजिक सञ्जालमा लेखेको पनि थिएँ - सबैले पुरानै नागरिकताले काम चलाउँछन् मैले पनि त्यही गरेँ तर मैमाथि मात्र किन लाञ्छना र मुद्दा?  यसरी कुण्ठा पोखे उनले !

यहीँनेरबाट गम्भीर कुरो सुरु गर्छु म । यो एक लेखकको नितान्त निजी धारणा हो - नमान्न पाइन्छ, आलोचना स्वीकार्य छ । सभ्य समाज बनाउने, भनाउने रहर हुनेहरूले छुद्र गाली नगरिदिए पुग्छ । 

नजरिया वा दृष्टिकोण भनिन्छ क्यारे एकले अर्कोलाई हेर्ने र धारणा बनाउने कर्मलाई । पचासको अन्तिम वा साठीका सुरुका वर्षहरुमा नेपाली टेलिभिजनका हास्य शृंखलाका एक उल्लेख्य र अभिन्न पात्र थिए नरेहरू । ती जिब्रो फड्कारेर बोल्थे । अलि उमेर खस्केका हुन्थे र जवान नेपाली छोरी बिहे गर्न नेपाल पुगेका हुन्थे । मानौं कुखुरा चोर्न गाउँ पसेका स्याल हुन् ती । त्यसको दुई दशकपछि पनि त्यो विम्बमा कुनै ठोस परिवर्तन भएको छैन ।

अझै पनि विदेशमा बस्ने नेपाली भनेका औलादौला सम्पत्ति भएका, आफ्नो निजी स्वार्थका लागि विदेश गएका र स्वार्थकै लागि नेपाल फिरेका बुझिन्छ जस्तो लाग्छ। कतै अमर्त्य सेन लेख्छन्- विवाहजस्तो कर्म र परिवारजस्तो संस्थामा पनि अर्थतन्त्र जोडिन्छ ।

त्यसैले निःस्वार्थ कुनै व्यक्ति वा संस्था छ भनेर भनियो भने त्यो अन्यथा होला। अरू त अरू, यो लेख लेख्न मेरो स्वार्थ छ, पढ्न हजुरको ।

 

यो समाज न हिजो निःस्वार्थ थियो, न आज छ, न भोलि रहनेछ। तर, माथि उल्लेख गरेजस्तै सबै नरे कपाल खुइलिएपछि बुढ्यौलीले गाँजेपछि वा अंग्रेजीमा दुइचार 'टक' गर्न जानेपछि तरुनी छान्न नेपाल गएका होइनन्।

 

अलिअघि कतै लेखेको थिएँ - १९९० पछिको भूमण्डलीकरणले विश्व चलायमान भयो, उदारीकरणले  भौतिक, सामाजिक र संस्कृतिक सिमाना भत्किए। सन् ९० कै दशकमा विद्यार्थी जीवनमा भोकको आगो निभाउन बेलारुसको इस्कोन मन्दिरमा हरेराम हरेकृष्ण गर्न जान्थ्यौँ हामी।

 

टुपी पालेका रुसी देख्दा आश्चर्य लाग्थ्यो। त्यसपछि सूचना प्रविधिको प्राचुर्यले आश्चर्यका सिमाना पनि भत्किए। हामीभन्दा सिनियरहरूले उतिखेरै त्यो भत्किएको सिमानाभित्र आफ्ना 'स्पेस'  बनाए र त्यतै बसे । तीमध्ये कै हुन् उपेन्द्र महतो ।

उपेन्द्र महतो कुखुरो टिप्न गाउँ छिरेको स्यालजस्तो छिरेनन् नेपाल।  तर, अहिले देखिएको उनले कुँदेको एनआरएनए नामक पत्थरको घोडाको सुडौल शरीरले केहि उपति गरेन । त्यो 'नरे'वाला गलत विम्ब हटाउने प्रयास, प्रयत्न वा प्रस्तावसमेत गरेन ।

 

पत्थरको घोडा यस अर्थमा कि त्यो हेर्नमा सुन्दर देखिन्छ - चौरस्तामा उभ्याउन लायक तर त्यो चढ्न मिलेपनि स्थिर हुन्छ, कहीं लैजाँदैन त्यसले ।

 

त्यसमाथि, एकथरीले घिच्रो, अर्कोले काठी र थप अर्कोले पुच्छर समातेर बसेका छन् अचेल त । त्यो दृश्य अझ कुरुप छ । ती आफैँ आआफ्ना जुँगा लडाएर बसेका छन् । तिनको विम्ब ‘कुखुराचोर’को भन्दा पृथक हुन्छ नै किन ? 
 

अरु देशको कुरो थाहा भएन क्यानाडा बसेको पनि १३ वर्ष पूरा भएर १४ लाग्छ यो भदौ । देखियो, भोगियो, आखिर भोग्ने नै लेख्ने त हो। एनआरएन नामक संस्थाका अभियन्ता अनवरत पानी मथिरहेछन् नौनीको आशमा। एउटा ठूलो व्यावसायिक तप्का त्यो अभियानको घेरोमा नै छैन ।

 

एकबाजी 'तपाईं हरू आउनुहुन्न, खाली बाहिर बाहिर उभिएर गाली गर्नुहुन्छ' भने एक अभियन्ता आत्मीय अनुजले। सप्रेम जवाफ फर्काएँ - केही आधारभूत भिन्नता छन् मेरा र मजस्ता थुप्रै साथीको । त्यसैले हाम्रो कुरो मिल्दैन ।  हुन पनि हो, स्वार्थ त छ । माथि  कतै भनियो- निःस्वार्थ छु भन्नु नै उपल्लो स्तरको ढोंग हो।

 

स्वार्थ के हो भने हामीले, कसैले नेतृत्व गरिदिएमा, जानेका सीप, ज्ञान र अनुभव नेपाली व्यवसायीलाई बाँड्ने र आफूपनि सिक्ने।  

 

विगत एक दशक त्यही भनियो, कोसिस गरियो व्यक्तिगत तवरलेसमेत । 'पत्थरको घोडा'लाई कोर्रा पनि हानियो, इकीढिकी भएन।

 

उता भएका साथीहरूको मलाई हेर्ने दृष्टिकोण त उही कुखुराचोरकै छ झैँ  लाग्छ । दस वर्षअघि युनिभर्सिटी अफ क्यालगेरी र पुल्चोक क्याम्पस मिलेर एउटा संयुक्त कोर्स चलाउन सकिन्छ कि भनेर पहल गरियो ।

 

यता प्राध्यापक तयार थिए उता खै कसले पानी खन्याइदियो मुढो नै सल्केन।  एक मित्रले, अहिले उनी निर्णायक तहमा छन्  स्पष्ट सोधेका थिए- तिमीलाई के फाइदा छ? मलाई के फाइदा छ? मैले त भनेको थिएँ- तिम्रा फाइदा मलाई थाहा भएन मलाई भने सालको एकपल्ट आफ्ना विद्यार्थी लिएर पाटनको वास्तुकला पढाउन आफ्नो माइती फिर्ने सौभाग्य मिल्नेछ ।

 

र, नेपाली विद्यार्थीलाई एक सेमेस्टरको क्यानेडियन उच्च शिक्षाको मौका मिल्नेछ। सायद इञ्जिनियरिङ्ग अध्ययन संस्थानलाई पहिले अन्य विशिष्ट कुखुराचोरहरूले मनग्य अत्याइसकेका थिए, कुरै अड्कियो । अब त त्यो सम्भावनाको दैलोमै आग्लो लागिसक्यो कमसेकम मेरो तर्फबाट ।  

 

मैले प्राध्यापन छोडेको नै एक दशक बित्यो। तर, क्यानाडामा र अमेरिकामा मात्रै सयौं प्राध्यापक, प्राज्ञहरू छन् नेपाली मूलका जो सहर्ष त्यस्ता सेवा गर्न तयार छन् तर त्यसको लागि ' नरे ' को विम्ब परिवर्तन हुनु जरुरी छ ।

अर्को पक्ष पनि छ । त्यसरी बनाइएको एनआरएन नामक विम्बात्मक पात्रको ! त्यो हो आर्थिक सम्पन्नता । त्यो प्रतीकात्मक पात्र बुद्धिहीन त थियो नै उखुम धनी थियो र बेफ्वाँकमा  डलर उडाउँथ्यो । वास्तवमा भन्ने हो भने सयकडा असी नेपाली मूलका क्यानाडेली बेफ्वाँकमा डलर उडाउन सक्ने गरी धनी र बुद्धिहीन छैनन् ।

 

‘प्यान्डेमिक’मा झारिएको मोर्टगेजको ब्याज दरका कारण घर जग्गामा आएको मूल्य गिरावट र त्यसले बढाइदिएको क्रयशक्तिका कारण खुब खरिद विक्री भो त्यसछेक घरबारी । बाढी आयो र त्यो भेल छोपेर केही घरजग्गा व्यवसायीले केही कमाए होलान् तर त्यस्तालाई विम्बात्मकरूपमा देखाइएका उखुम अर्बपति भन्नु मिलोइन ।

 

र, समग्रमा सदृश चित्रपटमा देखिएका 'पत्थरको घोडा'का रइस सइसहरू क्यानाडामा भएका बहुसंख्यक श्रमजीवी, पेसाजीवी नेपाली मूलका प्रतिनिधि नै होइनन् । काठमाडौंका तारे होटेलमा लाप्पा खेल्न जाने न ती श्रमजीवी वा पेशाजीवीलाई फुर्सद छ न चासो । न त कुनै अभिभारा ।

एकसे एक व्यवसायी छन् । तिनलाई नेपाललाई दिन मन छ नेपालबाट लिनु छैन । कहिले फलानो गाउँको मन्दिरलाई भनेर गाँस कटाएर दिएका छन् । कहिले फलानो स्कुलको छानो छाउने भनेर मुट्ठी खोलेकै छन् । ती चर्चामा आउन्नन् । किनभने चर्चामा आउने खर्च भने छैन उनीहरूसँग ।

त्यसैले विगत दुईतीन दशकदेखि बनेको विम्ब र पछिल्लो समय पत्थरका घोडा र त्यसका रइस सइसले बनाइदिएको आधारमा बनेको नरे वा गैराँबस्ने नेपालीको कुरूप र विद्रूप चित्र बनेको छ। मलाई लाग्छ- त्यो चित्र फेरिनु पर्छ । 

यसको अर्को पाटो पनि छ । यता बस्ने, देश देशावर देखेका हामी ‘पोइला’ हिँडेका छोरीहरूलाई के लाग्छ भने घरतिर सबै फ्याकुमात्र बाँकी रहे, सिठुवामात्र बाँची रहे । त्यो 'सिन्ड्रोम' चर्को छ यता । दुई पेग सोमरस नचढुन्जुल नेपालको स्तुतिगान हुन्छ । त्यसपछि नेपाली राजनीतिको विवेचना ।
 

र निष्कर्ष निस्किन्छ- नेपाल खत्तम भयो, केही हुँदैन नेपालमा, नेतै खतम छन्, कर्मचारी भ्रष्टाचारी , वकिल फटाहा, न्यायाधीश घुस्याहा । मानौ जति बाँकी छन् चोरै चोर छन् ।

 

यो चाहिँ आफूलाई अलि पढालिखा भनाउन चाहने, सुकिलामुकिला, यिनको भाषामा भन्दा 'कठालो मैलो नहुने' काम गर्ने पेसाजीवीबीच बेसी छ। अलिअघि पूर्व शिक्षामन्त्री शिशिर खनालको अन्तर्वार्ता हेर्दैथिएँ । उनले भने - अहो एकथरी यस्ता पनि रहेछन् समाजमा- उनीहरूलाई लाग्छ, नेपाली शिक्षाको समस्याको बारेमा उनी जति जानिफकार कोही छैन ।

उनीसँग अचुक उपाय छ - ब्रह्मास्त्र वा रामवाण जे भने पनि हुने । उनको कुरो सुन्यो- कुरो पोगटोजस्तो छ । धरातलीय यथार्थबाट पर, धुलोमा काम गरेको भए पो उपायमा माटोको बासना आउनु ? शिशिरजीको अन्तर्वार्ता तुरेँ  र हाम्रा नरे सोच गमे ।

सहस्र अभाव, अव्यवस्था, पद्धतिहीनताबेगर समेत नेपालको सास जोगाइदिने नेता, कर्मचारी, वकिल, न्यायाधीश भने निकम्मा ? हामी धुलीमाटीमाथि बेखबर हिँडेकाहरू चाहिँ नेपालका समस्या र समाधानबारे सबै जान्ने ? शिशिर भाइले यो पनि भने - अहो, उहाँहरूका कुरा सुनेको के थिएँ म उभिएको जमिन खन्न थाले कि जस्तो महसुस भयो। ती त्यस्ता विज्ञ नेपालभित्र पनि छन् र नेपालबाहिर पनि बग्रेल्ती छन् । 


हो, नेपालमा स्थानीय तहमा समस्या छ । एक मित्र सुनाउँदै थिए- केही जग्गासम्बन्धी काम थियो। बकाइदा एनआरएन कार्ड बोकेर गएँ मालपोत ।

त्यही कार्डले काम फत्ते गराउने उद्देश्यका साथ गएको मलाई सरकारी कर्मचारीले नै सुझाए - यो झंझटमा नफस्नुस् । पुरानो नागरिकता छैन? छ भने त्यहीबाट काम भइहाल्छ ।

किन यो माथि सचिवको तोक लगाउने झमेलामा पर्नुहुन्छ ? मलाइ थाहा छ मैले गैरकानुनी र अनैतिक काम गरेर आएँ। त्यसले खोपिरह्यो । अहिले रविकाण्ड पछि त अब अत्याससमेत लागेको छ ।


हुन पनि हो पद्धति नबनाइदिने, हाकिमको तोक लगाउने ‘पावर एक्सर्साइज’मा रुमल्लिएको छ नेपाली प्रशासन संयन्त्र । त्यसमा सायद राजनीतिक नेतृत्वले पुठ दिएको छ । यता ठीक उल्टो छ ।

साँच्चै नै स्थायी सरकारको रूपमा कर्म (फङ्क्सन) गर्छ । सानो उदाहरण - सन् २०१४ देखि १८ सम्म म क्यानाडाको प्रान्तीय राजधानी सहरको  विकास योजना महाशाखामा नगर  नियोजकको रूपमा कार्यरत थिएँ।  कुनै दिन मेरो कार्यकक्षमा त्यस सहरका काउन्सिलर आए कुनै नगरवासीको काम लिएर ।

कार्यालय समयबाहिर मेरा अत्यन्त घनिष्ठ मित्र थिए तिनी । राजनीतिक नेता जहाँका पनि उही हुन् - लौ न फलानाको फाइल तिमीले रोकेका छौ रे फ़ुकाइदेऊ भने । मैले दुई कुरा सम्झाएर पठाएँ ।

१- हाम्रो आचार संहिता र कार्य निर्देशिकाले तपाईँलाई सिधै मलाइ भेट गर्न नै दिँदैन। मभन्दा माथि ३ तहका हाकिमहरू छन्।  कृपया, अबका दिनमा त्यही निर्देशिका मुताबिक चलौँ । मेरा हाकिमका च्यानलबाट आउनु ।

२- महोदय, हामी तपाईँ राजनीतिकर्मीहरूले लेखिदिने नियम पालना गराइदिने संयन्त्र हौँ। सेवा हजुरले जसलाई गर्ने हो हामीले पनि उसैलाई गर्ने हो । तसर्थ, नियमका किताबमा जनतालाई समस्या दिने प्रावधान छन् भने त्यो हटाउने दायित्व यहाँहरूको हो ।

तर, विद्यमान कानुनले निजले त्यस प्रकारको विकास अनुमति पाउँदैन । मैले किताबबाहिरबाट दिन मिलेन, दिन सक्दिन । ती सरक्क उठेर गए । लगत्तैजसो फुटबल मैदानमा भेट भयो ।

खुसीसाथ भने - मैले मेयरसँग कुरो गरेँ । त्यो प्रावधानउपर संशोधन प्रस्ताव ल्याउने निधो भएको छ । यहाँ मैले यसो गरेँ भनेर फुर्ती लगाएको होइन ।

यस्तो गर्न मिल्छ, मिल्दैन भने मिल्ने नियम, कानुन, निर्देशिका बनाउनुपर्छ भन्नमात्र खोजेको हुँ । अहिले  प्रविधिको कारणले देश देशावरका असल अभ्यासहरू सिको गर्न सक्ने ल्याकत छ नेपालको ।

 सन् २००६-२००७ मा नेदरल्यान्ड्स पढ्दाताकाका सरकारी इन्जिनियर साथीहरू सम्झिन्छु - देशका लागि अब्बल थिए तिनीहरू । नेपाली निजामती सेवा पठित छ, देश देखेको छ, खारिएको छ।  नेपाली निजामती सेवामा विदेशी उच्च शिक्षा नलिएका कमै होलान् ।

तर, उनीहरूको अधिकतम उपयोग गर्नु त कता हो कता अनेक बात लगाएर थन्क्याइएको छ।  हामीजस्ता छाडेर हिँडेका नरेहरूसमेत सबैलाई 'करप्ट ' देख्छौं। कुन मुलुकमा छैनन् भ्रष्ट ? क्यानाडामा पनि छन्। भर्खर टोरोन्टोको मेयरले राजीनामा दिए विवाहेतर सम्बन्धका कारण ।

त्यो भ्रष्ट आचरण होइन र ? अलिअघि मेरो एक मित्रसँग भनाभन नै भयो - २०७२ को भैंचालोपछि आफलताफल भएको नेपाललाई कसले जुरुक्कै उठायो? त्यहाँ भएका राजनीतिक, प्रशाशनिक नेतृत्वले उठाए।  तिमी र म त सुकी चाराना चन्दा दिएर, केही हुँदैन नेपालमा भनेर, कानमा रुवा कोचेर बसेकै थियौँ त ? चुप लागे तिनी। मलाई  लाग्छ, हामीले नेपालको बारे ठूला कुरा गर्नु बेकार छ।  
 

कतै हास्यजस्तो, कतै व्यंग्यजस्तो यो लेख टुंग्याउन खोजेँ अब मैले । कानुनका कुरा, नियमका कुरा, धुर्त्याइँका, फट्याइँका कुरा हरेक समाजमा छन् । हरेक व्यक्तिमा छ ।

यो मानवसुलभ चरित्र हो । तर, १९९० ले ल्याएको बसाइँ सराइको लहरलाई आत्मसात गर्नुको विकल्प छैन । मान्छे असन्तोकी छ । यता हुँदा उता ठीक, उता हुँदा यता ठीक भन्छ। चलायमान हुनेले प्रगति पनि गर्छ ।

तसर्थ, त्यसरी अवसरको खोजीमा यताउता गरेकाले कहिले गुन्द्रुक लगे, कहिले ग्याजेट । समाजलाई फाइदा नै भएको छ। समस्या नेपाली समाजमा कहाँ नेरमात्र भयो भने एकबाजी कसैले हलुङ्गो गरी बनाइदिएको नरेको विम्ब वा  नेपाली राज्यको विम्ब गह्रुङ्गो गरी मन मुटुमा बस्यो।

त्यो यथार्थ हो कि होइन भनेर पल्ला घर सरेका नरेहरू पनि खोजी पसेनन, माइतीघरका दिदीबहिनी, दाजुभाइले पनि सोचेनन् । स्थिति त यस्तो बन्यो कि अब एकले अर्कोलाई शंकाको दृष्टिले हेर्ने भए । जब कि सहकार्य गरेर नेपाललाई फाइदा दिलाउन सकिने प्रशस्त ठाउँ छन् ।  

त्यसका लागि यताकाले उताका सबैलाई भ्रष्ट मात्र देख्ने र उताकाले यताका सबैलाई  ‘कुखुरा चोर स्याल’मात्र ठान्ने दृष्टिकोण बदल्नु जरुरी छ।

नत्र त ऊ बेलाको मह जोडीको राष्ट्रिय गाउँखाने कथा प्रतियोगितामा सोधिएको एक गाउँखाने कथा - 'ओल्ला घरका नरे पल्ला घर सरे, पल्ला घरको भरेङबाट डङ्ग्रङ्ग लडे' बाहेक केही हात नलाग्ने भो ।  पत्थरको घोडा चाबुक मारेपछि हिँडी पो हाल्छ कि भनेर आशाको दियो पनि बाल्नै परेको छ, विकल्प नै रहेन। 

(क्यानाडा) 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  ०९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro