
काठमाडौं । विवेकशील साझा पार्टीको प्रथम महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्षमा समीक्षा बास्कोटा र महासचिवमा रञ्जु दर्शना सर्वसम्मत रूपमा चयन भएका छन् । उपाध्यक्षमा प्रकाशचन्द्र परियार र मिलन पाण्डे चयन भएका छन् ।
अब पार्टीले केन्द्रीय समितिलाई पूर्णता दिँदै छ । तर, मूल जिम्मेवारी (अध्यक्ष र महासचिव)मा महिलालाई सर्वसम्मत रूपमा चयन गरेपछि विवेकशील साझाले नयाँ सन्देश दिएको छ । उसले पदाधिकारीलाई समावेशी बनाउन खोजेको देखिन्छ ।
“मूलधारको राजनीतिक दलमा सक्षम महिलालाई अध्यक्ष र महासचिव तथा दुई पुरुष उपाध्यक्षमा पनि फरक समूहलाई जिम्मेवारी दिएपछि हामीले अरू दललाई पनि राजनीतिक सन्देश दिन खोजेका हौँ,” उपाध्यक्ष परियार भन्छन्, “वैकल्पिक राजनीति शब्दमा मात्र होइन व्यवहारमा पनि देखिने हुनुपर्छ । जनताले अनुभूति गर्न पाउने हुनुपर्छ । त्यसलाई हामीले अनुसरण र व्यवहारमा लागु गरेका हौँ ।”
भड्किएको राजनीतिक एजेन्डा
वैकल्पिक राजनीतिको वकालत गरेर २०७४ सालमा स्थापना भएको भएको पार्टी हो, विवेकशील साझा । त्यसअघि 'विवेकशील अभियान'का नाममा सक्रिय रहेको समूहले ०७४ सालको स्थानीय चुनावमा दल दर्ता गरेको थियो । ०७४ मा रञ्जु दर्शनालाई काठमाडौं महानगरपालिकाको मेयर उमेदवार बनाएपछि विवेकशीलको देशव्यापी चर्चा भएको थियो । यस्तै साझा पार्टीका तर्फबाट किशोर थापा महानगरपालिकाको मेयरका उमेदवार थिए । निर्वाचनमा दर्शना र थापा दुवैले सम्मानजनक मत ल्याएपछि दुई पार्टीबीच एकीकरणको प्रक्रिया सुरु भएको थियो ।
११ साउन ०७४ मा उज्जवल थापाले नेतृत्व गरेको विवेकशील र रवीन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टीबीच एकता भएर विवेकशील साझा पार्टी बन्यो । मिश्र पत्रकारिताबाट छोडेर राजनीतिमा होमिएका थिए । थापा वैकल्पिक राजनीतिक दलको जग बसाउन खोजिरहेका थिए । दुवैप्रति युवाको आकर्षण थियो । जनतामा उत्साह र आशा थियो ।
तर, उनीहरूले पार्टी एकतालाई निरन्तरता दिन सकेनन् । २७ पुस २०७५ मा पार्टी विभाजन भयो ।
अलग भएको झण्डै दुई वर्षपछि दुई पार्टी फेरि एक भए । उज्जवल थापाको निधनपछि २४ मंसिर २०७७ मा पार्टी पुनः एकीकृत भयो । आन्तरिक असन्तुष्टिकाबीच पार्टीको संयोजकमा मिश्र र सहसंयोजकमा मिलन पाण्डे चयन भए । अर्कोतिर मुमाराम खनाल, तत्कालीन प्रवक्ता सूर्यराज आचार्यलगायतले पार्टी छाडे ।
मिश्र र पाण्डेले आफूहरूलाई वैकल्पिक दलका रूपमा व्याख्या गरिरहे, तर पार्टीमा आकर्षण बढेन । उत्साह थपिएन । बरु उज्ज्वल थापाले बसाएको जगविपरीत संयोजक मिश्रले आफूलाई पुरातनधारमा उभ्याएपछि पार्टी विभाजनको ढिलमा पुग्यो । मिश्रले आफू र पार्टीलाई राजसंस्थाको पक्षमा उभ्याए । संघीयता विरोधी कित्तामा पुगे । हिन्दुराज्यको पक्षमा वकालत गर्न थाले ।
‘विचारभन्दा माथि देश’का नाममा मिश्रले आफूलाई संविधान र वर्तमान व्यवस्थाविरुद्धको मोर्चामा उभ्याएपछि पार्टी संकटमा पर्यो ।
मिश्रको कदमका कारण गएको स्थानीय चुनावमा विवेकशील साझा नमज्जाले पछारिएको एक नेताको टिप्पणी छ । पाँच वर्षमा आफूसँग भएका नेता कार्यकर्ता अरू पार्टीतिर लागे । संयोजक मिश्र आफैँले राप्रपाबाट चुनाव लडे । मिश्रले वैकल्पिक राजनीतिप्रतिको जनविश्वास नै उडाइदिएको आरोप खेपिरहेका छन् । तर, पनि उनी आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् ।
चिराचिरा संगठन, के छ जोड्ने रणनीति?
मिश्रले पार्टी छोडेर गएपछि विवेकशील साझाले प्रदेश र प्रतिनिधि सभा निर्वाचन लड्यो । थोरै उमेदवार उठाएको दलले कतै सफलता हासिल गर्न सकेन । उसो त राप्रपामा गएका मिश्रले पनि चुनाव जित्न सकेनन् ।
विवकेशील साझाले चुनावमा नराम्रो पराजय बेहोरिँदा ६ महिना पनि नपुगेको राष्ट्रिय स्वतन्त्र पार्टीले भने अप्रत्याशित सफलता हासिल गर्यो । उसले प्रतिनिधि सभामा २० सिट जित्यो । संसद्को चौँथो ठूलो शक्ति बन्यो । अर्थात्, जनताले अस्तित्वमा रहेका दलहरूको विकल्प खोजिरहेको सन्देश दियो ।
“अहिले जनमतले विकल्प खोजेको स्पष्ट सन्देश दिएको छ । विकल्पको सुरुवातकर्ता हामी थियौँ,” विवेकशील साझाका उपाध्यक्ष परियार भन्छन्, “हामीले ०७४ मा पाएको विश्वास र जनमतको घात गर्यौँ । हामीले आत्मालोचना र माफी मागेर पुनः उठ्नुको विकल्प छैन । हामीले नयाँ नेतृत्व छानेर त्यही सन्देश दिने प्रयास गरेका छौँ । हामी पुनः जुटेर जनतामा विश्वास दिलाउनुको विकल्प छैन ।”
पार्टी महासचिव रञ्जु दर्शना मिश्रको पुरातनवादी सोच र एजेन्डाका कारण पार्टी कमजोर बनेको बताउँछिन् ।
विवेकशील साझाले विगतको गल्ती र कमजोरीबाट पाठ सिक्नुपर्ने उनको तर्क छ । अब संगठन निर्माण र पार्टीको दस्ताबेजमा काम गर्न आवश्यक रहेको उनले बताइन् ।
“हामीलाई 'विचारभन्दा माथि देश'ले कमजोर बनायो । अब पुनः हाम्रो पुरानो शैलीलाई अघि बढाउनुछ र जनताको साथमा पुनः जुरुक्क उठ्नु छ । हाम्रो राजनीतिक दस्ताबेज बुझाउनु छ । संगठन बनाउँदै तल्लो तहमा जानु छ,” उनले बाह्रखरीसँग भनिन् ।
विवेकशील साझाका तल्ला तहसम्म बनेका संगठन भत्किएका छन् । सबै जिल्लामा संगठन बनिसकेका छैनन् । भएका नेता कर्यकर्ताहरू पनि अन्य पार्टीमा गइसकेका छन् । ०७४ मा पार्टीबाटै वाग्मती प्रदेश सभा सदस्य बनेका विराजभक्त श्रेष्ठ रास्वपाबाट प्रतिनिधि सभा सदस्य बनेका छन् । उनीसहित धेरै नेता कार्यकर्ताहरू अहिले विवेकशील साझामा छैनन् । जसले पार्टीको संगठनमा क्षति पुगेको छ ।
महासचिव दर्शना आफ्नो भूमिका चिराचिरा परेको र बिलाइसकेको संगठनलाई पुनः अस्तित्वमा ल्याउनेमा रहने बताइन् ।
“धेरै समय टुटफुटमा पार्टी बितेको छ । अनि पार्टीका संगठनहरू चिराचिरा परेका छन् । यसलाई जोड्ने जिम्मेवारी र संगठनलाई चुस्त बनाउने जिम्मेवारी छ,” दर्शना भन्छिन्, “हाम्रो पहिलेदेखिको अभियानलाई पनि अब सशक्त बनाउनु छ र फुटेर हैन जुटेर अघि बढ्नुपर्छ भन्ने सबैले बुझ्न जरुरी छ । यतिमात्र कहाँ हो र पार्टीबाट निराश भएका र नयाँ साथीहरूलाई पनि जोड्नु छ । अनि वैकल्पिक राजनीतिलाई पुनः ट्रयाकमा हिँडाउनु छ ।”
अध्यक्ष बास्कोटा भन्छिन्– माफी मागेर अघि बढ्नुको विकल्प छैन
गत वैशाख ३० को स्थानीय तह निर्वाचनमा पार्टी नराम्ररी पराजित भएको भन्दै मिश्रले संयोजकबाट राजीनामा दिएपछि पार्टीको नेतृत्व समीक्षा बास्कोटाले गरिन् । उनै बास्कोटालाई महाधिवेशनले पाँच वर्ष पार्टीको नेतृत्व गर्ने मौका दिएको छ ।
अध्यक्ष बास्कोटा अब आफूहरूलाई पार्टीको गुमेको साखलाई उठाउने चुनौती रहेको बताउँछिन् । वैचारिक द्वन्द्व तथा गुटफुटको खेलले पाँच वर्षको महत्त्वपूर्ण समय गुमाएकाले अब सच्चिनुको विकल्प नभएको उनको तर्क छ । पाँच वर्षको समयले आफूहरूलाई राजनीतिक ज्ञान र प्रशस्त अनुभव दिएको र अब मूलधारको बलियो राजनीतिक दल बन्ने आधार महाधिवेशनले दिएको उनले बताइन् ।
“मत क्रान्तिको रूपमा दुई लाख १२ हजार बढी मत हिजो ०७४ मा हामीले पाएका थियौँ । त्यो मत दिनेहरूको मन हामीले दुखाएका छौँ । हामीले त्यसमा माफी माग्नुपर्छ, किनभने हामी त्यो मतले मातिएका थियौँ र मात्तिएर हामीले त्यसलाई सम्हाल्न सकेनौँ,” उनले भनिन्, “अब हामी खाका बनाएर जनताको काम गर्छौं । नागरिकको मन र घरमा आउँछौँ र संगठन विस्तार र प्रशिक्षण कार्यक्रम लिएर आउँछौँ । मरिसकेको आशालाई यो महाधिवेशनले पुनः जगाएको छ । यसलाई हामी निराशामा बदल्न दिदैनौँ । बलियो राजनीतिक मूलधार बनाएर अघि बढाउँछौँ ।”