
सुमन सौरभ
सधैँजसो उज्यालो नहुँदै पूजाको थाली बोकेर वृद्धा घरबाहिर निस्किइन् र लथरो ज्यान घिसार्दै सुस्तसुस्त गन्तव्यतिर लागिन् ।
पर चौबाटोमा जीर्ण धिपधिपे लालटिन देब्रे हातले उचालेर उभिएको थियो, फुस्केटगिरीमा बदनाम बूढो । ऊ कहिले त दिउँसै त्यसैगरी देखिन्थ्यो, त्यही ठाउँमा ।
बूढो उसलाई देखेर चिच्यायो, “ओइ गोज्यांग्री ! यो अँध्यारोमा किन निस्किएकी ? घर फर्की ! आज तेरो पूजा स्वीकार्ने कोही छैन । तेरो परमेश्वरको मृत्यु भइसक्यो ।”
“के भन्छ फुस्केट, परमेश्वर पनि मर्छ ?”
“साँच्चिकै भनेको, तेरो परमेश्वरको अघि नै हत्या भइसक्यो । ती हत्याराहरूले हत्या गरेको चक्कु लुकाइरहेका होलान् । कतै अँध्यारोमा हातको रगत पुछ्दै होलान् । लासलाई कता गाड्ने सोच्दै होलान् । गाड्ने कि पोल्नेमा गलफती पनि गर्दै होलान् ।”
“छिः नतर्सा न बहुला !” वृद्धाले आफ्नो पूजाथाली देखाउँदै भनिन्, “अब यो आफैँले कातेको बत्ती कसको लागि जलाउनु ?
यो माटोको पालाको आफ्नै घरमा बनाएको जाँड र यो हाँसको अन्डा कसलाई चढाउनु ?
यो झिसमिसेमा कसले यौवन भर्छ अब र तन्नेरी सूर्य उदाउँछ ? अन्योलग्रस्त यो जिन्दगीमा बाँकी आयु कसरी छिचोल्नु ?
कुन सुरम्य दिनको पर्खाइमा पलपल कटाउनु ?
हृदयको गुफाबाट निस्किने आर्तनाद कहाँ बिसाउनु ?
कुटुकुटु खाइरहने मनलाई कसले थुम्थुम्याउँछ ?
उकुसमुकुसबाट कसले छुटकारा दिलाउँछ ?”
“आफ्नै ईश्वरलाई महान् ठान्ने हत्याराहरू तेरा लागि यति धेरै किन सोच्थे ? हत्या गरे, लास घिसार्दै लिएर उः त्यो अँध्यारोमा बिलाए, खुद मेरै आँखाले देखेको ।”
वृद्धाले पूजाको थाली भुईँमा बिसाइन्, दुई पाइलाअघि बढेर फुस्केट बूढोको दाहिने हात समातिन्, “ईश्वर नभए त मेरो दुःख कसैले सुन्दैन, मलाई अरू कसैको भरोसा लाग्दैन ।”
वृद्धा ओथारो बसेसरी हाँसको अन्डामाथि बसिन् र याचना गरिन्, “आइज बहुला, मलाई सहयोग गर् ! हिजो अरूले जन्माएको परमेश्वर आज मर्यो त के भयो ? अब म फेरि आफ्नो ईश्वर आफैँ जन्माउँछु !”