site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कथामा विद्रोही चेत भएका मनु दाइ
Tiktok banner adTiktok banner ad

कथाकार मनु ब्राजाकीसँग मेरो निकट र सौहार्द सम्बन्ध रह्यो । विभिन्न कार्यक्रमहरूको सिलसिलामा मनु दाइ जनकपुर आइरहनुहुन्थ्यो । यता आउँदा उहाँसँगको संगत अविष्मरणीय बन्थ्यो ।

एकताका जनकपुरमा पद्मानन्द ट्रष्ट स्थापना भएको थियो । त्यो संस्थाले सामाजिक साहित्यिक क्षेत्रमा काम गर्दथ्यो । त्यसको कार्यसमितिमा म पनि थिएँ । एकपटकको बैठकमा कुराकानीकै क्रममा कथाकार मनु ब्राजाकीको सम्बन्धमा पनि चर्चा भयो ।

मैले भनेँ, ‘मनु दाइको सशक्त लेखनीको हामीले सम्मान गर्नुपर्छ । उहाँलाई हामीले सम्झिनुपर्छ ।’ र, मनु दाइलाई महोत्तरी, औरहीबाट जनकपुर बोलाइयो । तर, उहाँको आफ्नै कथा अनि आफ्नै लय थियो । उहाँ अचम्मको व्यक्ति, मुडमा रहनुभएका बखत अनेक गजलका सेरहरू वाचन गर्नुहुन्थ्यो ।

उहाँ पूर्णतः लहडी मानिस हुनुहुन्थ्यो । औहड स्वभावको ! केही बानीका कारण कथाकार ब्राजाकीलाई बेग्लै रूपमा हेर्ने गरिए पनि मलाई लाग्छ, उहाँ एक किसिमको सन्त हुनुहुन्थ्यो । आफ्नै किसिमको, अपरीग्रहित सन्त । त्यागी । उहाँलाई धेरै चाहिएको छैन । त्यो स्वभावको हुनुहुन्थ्यो उहाँ ।

जे होस्, मनु ब्राजाकीको ‘तिम्री स्वास्नी र म’ कथाकृति मैथिलीमा अनुवाद भएर ‘तोहर कनियाँ आ हम’का रूपमा आएको छ । यो एउटा राम्रो काम भएको छ । तर, अचम्म के भने जसका बारेमा मनु दाइले कथा लेख्नुभयो, तिनैले मनु दाइलाई चिन्दैनन् । यो दर्दनाक अवस्था हो । कस्तो विडम्बना, उहाँकै गाउँका मानिसले उहाँको लेखनीलाई चिनेनन् ।

उहाँको पिउने स्वभावको कुरा छोडौँ, तर पिएर लेखे पनि नपिएर लेखे पनि उहाँले सधैँ भुईंमान्छेको कथा लेख्नुभयो । सर्वसाधारणको कथा लेख्नुभयो ।

अनुवादका यस्ता कामहरू भइरहनुपर्छ भन्ने मलाई लाग्छ । हाम्रो मुलुकमा थुप्रै जाति र भाषाभाषी बोल्ने मानिस हुनुहुन्छ । तर, ती अनेकानेक भाषाभाषीका साहित्यहरू जति बलियो, जति बाक्लो रूपमा बाहिर आउनुपर्ने हो, त्यो आउन सकिरहेको छैन । परिणामतः हरेक भाषाको साहित्य हरेक पाठकको पहुँचमा पुग्न सकेको छैन ।

यस्तो काम प्रज्ञा–प्रतिष्ठानले गर्नुपर्ने हो । तर, त्यसप्रति कसैको अपनत्व नै छैन । यो हाम्रो पनि हो भन्ने वातावरण त्यहाँ बस्नेले दिनै सकेको देखिँदैन । त्यसैले जे जसरी होस्, हरेक जातजातिको लिखित साहित्य र लोकसाहित्यलाई नेपाली भाषामा ल्याउन सक्नुपर्छ । हरेक नेपाली साहित्यलाई नेपालीय भाषामा अनुवाद गरेर हरेकको हातहातमा पुर्याउन सक्नुपर्छ ।

अब मैथिली भाषामा आएको यस किताबले मनु ब्राजाकीलाई मिथिला क्षेत्रमा चिनाउने काम गर्छ । किनभने, ब्राजाकीले हाम्रै कथा लेखेका हुन् भन्ने स्थानीय मानिसले पनि थाहा पाउँछन् । यो जरुरी छ ।

त्यस्तै श्रेष्ठ नेपालीय साहित्यका कृतिहरूलाई नेपाली भाषामा ल्याउन सक्नुपर्छ । नेपालीय नेपालकै साहित्य हो । र, त्यसलाई फेरि हामीले अंग्रेजीको माध्यमबाट विश्वसाहित्य बजारमा लैजान सक्नुपर्छ ।

मेरो विचारमा साहित्यको अनुवाद दोहोरो हुुनुपर्छ । नेपाली भाषाका साहित्य अन्य नेपालीय भाषामा र अन्य भाषाका नेपाली भाषामा अनुवाद हुनैपर्छ । मैथिली वा भोजपुरी वा अन्य भाषामा पनि महत्त्वपूर्ण साहित्यिक कृतिहरू छन् । तिनलाई पनि नेपाली भाषामा अनुवाद गरेर हरेक पाठकको हातहातमा पुर्याउन सक्नु आजको आवश्यकता भएको छ ।

जहाँसम्म मनु दाइसँगको सम्बन्धको कुरो छ, उहाँसँग एकदमै निकटको र मिठो सम्बन्ध थियो मेरो । साहचर्य गजबको थियो हामीबीच । मनु दाइ, जगदीश घिमिरे, म, नवराज पशु, लीलासिंह कर्माको जोडी जनकपुरमा गजबको थियो ।

त्यसबखत नेपाली साहित्यका लागि अत्यन्तै अनुर्वर र बन्जर भूमि थियो जनकपुरको । हामी आफैँ पनि कुरा गर्थ्यौँ, कसरी नेपाली साहित्यको सम्वद्र्धन र उन्नयन गर्ने विषयमा ।

त्यसका लागि हामीले तत्कालीन अञ्चलाधीशसँग भेटेर यस विषयमा चर्चा गरेका थियौँ । त्यसै बेला जनकपुर साहित्य परिषद्को स्थापना भएको थियो । यो संस्था अञ्चलाधीशको पहलमै स्थापना भएको थियो । मलाई अध्यक्ष बनाइयो, कारण म अलि युवावयको थिएँ ।

परिषद्मा हामी जो जति थियौँ, सबै एउटै परिवारका सदस्य थियौँ । संस्थामा कहिलेकाहीँ कुनैकुनै विषयमा हामीबीच विचारको माझामाझ हुन्थ्यो । कहिलेकाहीँ मनु ब्राजाकी, जगदीशजी उग्र वामपन्थको कुुरा गर्नुहुन्थ्यो । कहिले बन्दुकका कुरा पनि उठाउनुहुन्थ्यो । तर, म अत्यन्तै अहिंसावादी मानिस भएकोले त्यसतर्फ खासै ध्यान दिने गर्थिनँ ।

तर, एउटा विषयमा हामी सबैको एउटै मन थियो । एउटै विचार थियो । त्यो हा,े नेपाली साहित्यको सम्वद्र्धन गर्नुपर्छ भन्ने । साहित्यले राष्ट्रलाई जोड्छ भन्ने विषयमा कसैबीच मतान्तर थिएन । त्यसैले पनि हामी योजनाबद्ध किसिमबाट केही गर्नुपर्छ भनेरै लागेका थियौँ ।

मनु दाइको स्वभाव भने एकदम चञ्चल थियो । उहाँ एकठाउँमा लामो समय बस्नै नसक्ने । उठी हाल्ने । केही बेरका लागि बाहिर हिँडिहाल्ने । तर, उहाँ एउटा कुरामा विशेष जोड दिनुहुन्थ्यो, त्यो के भने यहाँ शोषण भइरहेको छ, गरिबमाथि । दलितहरूमाथि । मालिक धेरै भए भन्ने उहाँको धारणा थियो । यतातिर उहाँ चर्को बहस गरिरहनुहुन्थ्यो ।

र, उहाँका कथाहरूमा तिनै गरिब, दलित, सिमान्तकृतका कथाव्यथा समेटिएका हुन्थे । आफू सम्पन्न परिवारको भएर पनि उहाँले सधैँ गरिबको कथा लेख्नुभयो । विपन्न वर्गको, समाजका विकृति–विसंगतिको कथा लेख्नुभयो ।

जमिनदार परिवारका मनु दाइ, तर हमेसा गरिब र दलित परिवार, सर्वहारा वर्गप्रति उहाँको करुणाभाव थियो । उच्च समभाव थियो । ती गरिब परिवारले जस्तो भोगिरहेका थिए, त्यस्तै भोगाइ उहाँको पनि थियो ।

यो साधारण कुरो होइन । एउटा सामन्तको रगत भएको व्यक्ति सर्वहाराको पंक्तिमा कसरी उभिरहेको छ ! त्यो पनि सबलाई छोडेर । कति ठूलो विद्रोह होला मनु दाइमा ।

त्यस्तो समृद्धिमा पालिएको एउटा व्यक्तिमा आफ्नै वर्गप्रति कसरी विद्रोह जन्मियो होला ? त्यो नक्कली पनि होइन । किनभने, मनु दाइ एक इमानदार लेखक हुनुहुन्थ्यो । इमानदार मान्छे पनि हुनुहुन्थ्यो । र, उहाँले जे अनुभूति गर्नुभयो समाजमा, त्यही नै कथामा लेख्नुभयो ।

उहाँको लेखनप्रक्रिया पनि अचम्मको थियो, कुनै पृष्ठभूमि नभए पनि लेख्न सक्नुहुन्थ्यो । केही तयार नभए पनि लेख्नुहुन्थ्यो । दिमागमा कतै पाकेको हुन्थ्यो वा हुन्थेन, तर लेख्नुहुन्थ्यो । तुरुन्तै लेख्नुहुन्थ्यो । जतिखेर पनि उठेर लेख्नुहुन्थ्यो । बस्, उहाँलाई मुड आउनुपर्थ्यो ।

मनु दाइको लेखनीमा गजलले पनि महत्त्वपूर्ण अर्थ राख्छ । उहाँको गजलको किताबै पनि छापिएको छ । तर, गजलका क्षेत्रमा उहाँको चर्चा एकदम कम हुने गरेको मैले पाएको छु ।

एउटा घटना मेरो सम्झनामा छ । उहाँले एउटा भट्टीमा पसेपछि साहुनीसँगको वार्तालापलाई गजलमा उन्नुभएको थियो । त्यो क्षमता थियो उहाँमा । अद्भुत क्षमता ।

(कथाकार डा. विमलसँग गरिएको कुराकानीमा आधारित ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  ०८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro