site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घामका पाइलाहरू
Tiktok banner adTiktok banner ad

निद्रा बिउँझियो । ठीक यसै बेला हिजो बिहान पनि रेलको तीखो सुसेलीले उसको निद्रा बिउँझाएको थियो । धर्मशाला, रेल–स्टेशनभन्दा टाढा भए पनि रेलको लीकभन्दा टाढा छैन । दक्षिणबाट आउने रेल गुमटीनिरको आउटर सिग्नलनजीक पुग्नासाथ यसै गरी नित्य, नबिराई कर्णभेदी चीत्कार गर्दछ ।

यस बखत बिहानको ठीक साढे चार बजेको हुन्छ । लाग्दछ, द्वारिकाले रेलको चालकसित मिलेमतो गरेर यो नियम कायम गरिदिएका छन् । अनि त रेल कराउनासाथ द्वारिका यति झस्केर उठ्छन् र हस्याङफस्याङ गर्न थाल्छन्, मानौँ यसै ट्रेनबाट उनलाई यात्रा गर्नुपरेको होस् ।

एकपल्ट निद्रा बिउँझिएपछि निदाउन बडो कठिन हुन्छ । आँखा लोलाइरहे तापनि कान चङ्ख रहन्छ र मन नाना थरीका अतीतका कुराहरू उग्र्याइरहन्छ ।

द्वारिकाको दिनचर्या उसलाई कण्ठाग्र छ । बिहानदेखि राति ननिदाउन्जेलसम्मको उनको नित्य कार्यक्रममा कुनै तलबितल पर्दैन । सिरानको झ्यालमाथि ठडिएको मैनबत्ती सल्काएर द्वारिका योगासनहरू गर्न थाल्दछन्— शीर्षासन, प्राणायाम, सर्वाङ्गासन... कुन्नि के के हो । योगासनको महत्त्वबारे धेरैपटक द्वारिकाले उसलाई सम्झाउने चेष्टा गरेका छन् ।

योगासनले नाडीतन्त्रलाई सबल तुल्याउँछ र मानिस दीर्घजीवी हुन्छ । एक–दुई सजिला आसनको प्रदर्शन गरेर सिकाउने चेष्टा पनि द्वारिकाले गरेका थिए, तर उसलाई छिटै उच्चाट लागेर आयो र दीर्घजीवनको त्यस हत्यौडीतर्फ ऊ कहिल्यै आकर्षित हुन सकेन ।

अर्को कोठाका सबै गतिविधि ध्वनितरङ्गहरूबाट थाहा भैरहन्छ । स्टोभ सल्काएर द्वारिका गाउन थाले, “ललित लवंग लतापरिशीलन... जय जगदीश हरे ! जय जगदीश हरे ।”

द्वारिकाको उमेर पाको भैसके तापनि स्वर सुरिलो छ । भैरवीमिश्रित लयमा प्रातः गाइने अर्चना गीतको स्वर–प्रभाव स्टोभको घर्घरमा बडो मीठो सुनिन्छ । आफ्नो गायनसित स्टोभ–तालमेल अनौठो किसिमले द्वारिकाले मिलाएका छन् । बाफिलो चियाको एक गिलास लिएर द्वारिका उसको कोठामा आउँछन् र गाउँदै कपाल मुसारेर उठाउँछन्, “जय जगदीश हरे ।”

द्वारिकाको स्निग्ध व्यक्तित्व, उनीबाट पाउने पितृस्नेह र यस शहरको रसबसले उसलाई कहिल्यै न्यास्रिन दिएन । उसले आफूलाई स्नेह र वात्सल्यबाट परित्यक्त भएर टुहुरिएको कहिल्यै अनुभव गर्न पाएन । बाजेको अभावको पूर्ति त कहाँबाट हुन्थ्यो, तर द्वारिका आफ्नो गहिरो स्नेह दिएर र उसलाई कुनै न कुनै काममा व्यस्त तुल्याइराखेर गैसकेका स्वजनको सम्झनाले ल्याउने पीडाका क्षणहरूलाई सकेसम्म उसबाट टाढै पन्छाइराख्थे ।

यो बस्ती शहर र गाउँको दोसाँधमा झुन्डिरहेको बस्ती हो । यसमा गाउँ छाड्ने छटपटी र शहर ओढ्ने तीव्र आकाङ्क्षा छ, जसबाट यहाँ न गाउँ बिलाएको थाहा पाइन्छ, न शहर उदाएको भान हुन्छ । गाउँ र शहर दुवैको यहाँ छ्यासमिस भएकोले गाउँबाट आउनेले यसलाई शहर र शहरबाट आउनेले यसलाई गाउँ भन्दछन् ।

रेलवे स्टेशन यस शहरको प्राण हो जहाँ विभिन्न दिशामा रेलहरू दौड्दछन् । संसारका अरू भू–भागसित सम्बन्ध स्थापित गर्ने एकमात्र साधन पनि यही हो । जबजब रेल आउँछ यस शहरको तन्द्रा भङ्ग हुन्छ । मानिस टाठाबाठा हुन्छन् । बाँकी समय नगरवासीहरू गम्छा ओछ्याएर पल्टिरहन्छन् र धुलौटै सडकमा उखुका असंख्य गाडाहरूको लाम इन्चइन्च अघिअघि सारिरहेको हुन्छ ।

द्वारिका न्वाएर आइसके । अब ऊ तन्मय भएर एक घण्टासम्म गीताको पाठ गरिरहन्छ । यसबीच उसले पनि नुहाइधुवाइ गरेर स्टेशन जान तयार भैसक्नुपर्छ । दक्षिणबाट आउने रेल नौ बजे यहाँ आइपुग्छ । द्वारिकाको नाममा आएका पत्रपत्रिका, चिट्ठीपत्र सबै लिएर आउनु छ । कुनै दिन बिहान उठ्न अबेला भयो भने अर्को कोठाबाट द्वारिकाको गम्भीर स्वर आउँछ,
“पवन ! जीउ त ठीक छ ?”

शहरको दक्षिणपट्टि रहेको मिलमा आठ बजेको घण्ट ठोक्यो । शहरभरिको लागि रेलको आवागमनबाहेक समय जान्ने साधन यही हो । कति बजेर कति मिनेट गयो त्यो थाहा पाउन त स्टेशन अथवा पोस्ट अफिसमा धाउनुपर्छ । पोस्ट अफिस शहरको उत्तर भेगमा धर्मशालानजीकै छ । साँझ–बिहान हातमा लोटा लिएर जंगल जाने मानिस पोस्ट अफिसमा पसेर आ–आफ्नो नामको चिट्टी–चपेटा मागेर लैजान्छन् ।

रेलवे गुमटीदेखि हाईस्कूलसम्मको सडकलाई यहाँको मुख्य सडक भन्न सकिन्छ । सडक के हो ? पीठोको रेखी हालेको जस्तो बुर्बुराउँदो धूलोको डगर, जहाँ बर्षायाममा हिँड्दा हिलोको गमबुट लाएजस्तो हुन्छ । यस सडकमा अङ्ग्र्रेजीको ‘टी’ बनाउँदै एउटा सडक बजारतिर तेर्सिएको छ ।

बजार पनि के भन्ने यसलाई, एउटा लेनदेन गर्ने मण्डी मात्र हो । केही कपडा पसल, दुई–चार मिठाईका पसल र तीन–चार एक पानामा चारखुट्टे पसल छन्, जहाँ पान खाएर मानिस घरका भित्ताभित्तामा थुक्दै हिँड्छन् । सडकको वारिपारि हरिहर र लछुमन हलुवाईको पसल छ जसलाई ठूलठूला प्वाल भएका जालले छोपिराखेको हुन्छ ।

काठका थालमा राशका राश चिनीका ग्रामीण मिष्ठान्नहरू कृष्णको मुकुटजस्तो ठड्याएर राखेको हुन्छ । दिनभरि हरिहर ठूलो कराहीमा काठको मुङ्ग्र्रो हालेर खुवा घोटिरहन्छ । लछुमन खद्दरको धरो ओछ्याएर बतासाको फोका पारिरहन्छ ।

द्वारिका यहाँको स्कूलका शिक्षक छन् साथै एक साप्ताहिक पत्रको स्थानीय संवाददाताको काम पनि गर्दछन् र हप्ता पाँच दिनमा आसपासका घटनाहरूको समाचार पठाइरहन्छन् । वारदातहरूका संवादको लागि द्वारिका कहिलेकाहीँ थाना गएर थानेदारसित पनि भेट्छन् । थानेदारले द्वारिकाको इज्जत गरेकोले शहरका मानिसको लागि पनि उनी आदरणीय छन् ।

द्वारिकासित भेट्नेबाहेक अरू समय थानेदार सिपाहीहरूसित तेल मालिस गराइरहन्छ र बाँकी समय पक्राउ भएर आएका मानिसलाई कुटेर काट्छ । यति क्रूर थानेदार आसपासका तीन–चार जिल्लामा छैन भन्दछन् । थानेदारको रवाफिलो मइन लगाएर ठाडो पारेको जुँगातिर कोही हेर्ने साहससम्म गर्दैनन् ।

सबैको लागि थाना आतङ्कको केन्द्र हुन गएको छ । तर, वर्षभरिमा एक दिन थानेदारको आतङ्कपूर्ण व्यक्तित्वमा परिवर्तन आउँछ । फागुको दिन प्रत्येक दहिलोमा गएर ऊ हाँसीहाँसी सबैसित अंकमाल गर्छ, रङ अबीर खेल्छ ।

त्यति मात्र होइन, त्यस दिन थानाका सिपाहीहरू अपराधकर्मीतिर नलागेर प्रत्येक घरबाट थोत्रा जुत्ताहरू बटुल्छन् र ती जुत्ताको माला लाएर थानेदार हात्तीमाथि शहर परिक्रमा गर्छ । त्यस दिन थानेदारमा भएको परिवर्तन र उसको कृत्यबारे महीनौँसम्म शहरमा चर्चा भैरहन्छ । फागुको भोलिपल्ट थानेदार पुनः पूर्वरूपमा फर्किन्छ–उही क्रूर र डरलाग्दो व्यक्तित्व ।

ऊ नुहाउन हिँड्यो । हातमा तोरीको तेलको एउटा सानो शीशी र काँधमा रातो गम्छा थियो । यस सानो शहरका स्नानार्थीहरूको यही रूप हुन्थ्यो । शहरभन्दा केही पश्चिममा एउटा नदी छ । धेरै टाढा छैन । दिउँसोको त भन्न सकिन्न, तर राति कसैले त्यहाँ रोयो भने शहरमा टड्कारै सुन्न सकिन्छ ।

यता के भनाइ छ कुन्नि, नत्र भने उहिले प्रत्येक बासिन्दाले मध्यरातमा नदी किनारमा एउटी आइमाईले अलापविलाप गरेकी सुन्थे । पवनले पनि केटाकेटी अवस्थामा आकलझुकल सुनेको थियो । थानासितै टाँसिएको एउटा पोखरी छ । नदी र पोखरी दुवैको यहाँ ठूलो महत्त्व छ ।

यस शहरको लागि नदी धमनी हो भने पोखरीलाई मुटु भन्न सकिन्छ । तराईको असह्य गर्मीबाट केही बेरको लागि त्राण पाउन मानिसहरू ट्याम–कुट्याम यही बाटुलो पोखरीको शीतल पानीमा डुबुल्की मार्छन् ।

पोखरीनिर पुग्नासाथ उसलाई हाँसो उठेर आयो । धेरैअघि, केटाकेटी अवस्थाको यो घटना उसले फेरि सम्झ्यो । यही पोखरीमा नुहाउँदानुहाउँदै उसलाई सहसा युवाबोध हुन गएको थियो ।

अरूहरू कुन किसिमबाट बाल्यावस्था त्यागेर युवावस्थाको सँघारमा आइपुग्छन्, त्यस बखत तिनमा कुन किसिमको शारीरिक र मानसिक परिवर्तन हुन्छ, उसलाई थाहा छैन । तर, उसलाई त एकै दिन एउटै वाक्यले हुत्याएर सहसा तन्नेरी तुल्याइदिएको थियो । त्यही दिनदेखि ऊ मानसिक स्तरमा युवा भएको थियो ।

यस शहरका अरू ठिटाहरूजस्तै यो पोखरी उसलाई ज्यादै प्रिय थियो । बस्ने डेरानजीकै पोखरी भएकोले उसलाई अझ अरूभन्दा बढी सुविधा थियो, नुहाउने र खेल्ने । पोखरी के थियो, केटाकेटीको लागि एक झोलुङ्गोजस्तो थियो, जहाँ भुराहरू हातखुट्टा चाल्दाचाल्दै हुर्किन्थे ।

पोखरीको पानीमा असहाय भएर हातखुट्टा बजार्दाबजार्दै पवन माछाजस्तै पौडी खेल्न पोख्त भैसकेको थियो । शुरूमा त पौडी सिक्न बडो गाह्रो भयो । बाजेसित ऊ सधैँ बिहान नुहाउन आउँथ्यो । पवनको कम्मरमा धोती बाँधेर बाजे बीचपोखरीमा हुत्याइदिनुहुन्थ्यो । पवन असहाय भएर हातखुट्टा पछाथ्र्यो, पानी घुट्क्याउँथ्यो अनि ज्यादै अतालिएपछि बाजे उसलाई किनारमा तानेर स्याबासी दिनुहुन्थ्यो,
“त्यसै पौडी सिकिन्छ, जैरे ?”

पोखरी–किनारमा एउटा पीपलको रूख थियो । त्यस दिन सधैँजस्तो ऊ रूखमुनि पुग्यो र आफूले लाएको कट्टु, गन्जी फुकालेर किनारमा राख्यो अनि पीपलको टुप्पोमाथि पुगेर नाङ्गो–निर्वस्त्र पोखरीमा झ्वाम्म हामफाल्यो । यो उसको सधैँको दिनचर्या थियो, नित्यकर्म, सधैँ गरिआएको काम ।

पवनले पौडी खेल्न सिकेदेखि घाटबाट पोखरीमा पसेर कहिल्यै नुहाएन । ऊ मात्र किन, शहरका सबैजसो ठिटाहरू त्यसै गर्थे । पीपल र पोखरीको ज्यामितिक दूरीलाई टुप्पाबाट हामफालेर एक डायगनल बनाउँदै जोर्थे ।

ठिटाहरूका लागि माथिबाट हामफालेर पोखरीको पानीमा गोली छेडेजस्तो छिर्नु आफ्नो पौरुषको घोषणा गर्नुजस्तै थियो । पानीमा झ्वाम्म आवाज हुँदा किनारका मानिसको ध्यान आकर्षित हुन्थ्यो र मनमनै प्रशंसा गर्दै ती बर्बराउँथे,
“मर्छन् सालेहरू कुनै दिन मुटु फुटेर ।”

यसरी हामफालेको देखेर सबभन्दा असह्य हुन्थ्यो पार्वती दिदीलाई । झन्सारो पवनले हामफालेको देख्दा त उनको मुटु भयले ढुकढुक हुन्थ्यो, 
“तँलाई मर्नै छ भने अन्त कहीँ गएर मर... मेरो अगाडि किन तँ सधैँ यो उपद्रो गर्छस् ? कुनै दिन गोहीले घिच्याएर लैजान्छ यसलाई पातालपुरीमा ।”

हुन पनि उसको र पार्वतीको नुहाउने समय साथसाथै मिल्न जान्थ्यो । गाली सुनेर ऊ हाँस्थ्यो र अझ जिस्किन खोज्थ्यो,
“पार्वती दिदी, म गोहीलाई मारेर पातालको माटो ल्याइदिऊँ तपाईंको लागि ?”

ऊ पानीभित्र डुबुल्की मार्थ्यो र पोखरीको गर्भबाट एक मुठी हिले माटो ल्याएर उनीतिर फ्याँक्थ्यो । आफ्नो लुगा जोगाउँदै पार्वती झन् तर्सिएर धारेहात लाउँथिन् । सधैँजस्तै त्यस दिन पनि उसले पोखरीको पेटबाट झिकेर एक मुठी माटो उनीतिर हुर्यायो । तर त्यस दिन पार्वतीलाई रीस उठेन, बेग्लै प्रतिक्रिया भयो । उनी विस्तारै हाँसिन् र पवनलाई डाकिन्, “ए बाबू, अलि नजीक आइज, तँलाई एउटा कुरा भन्नु छ ।”

पवन करायो, “अस्तिजस्तै आँखामा साबुनको फीँज दल्नलाई डाक्या होला ।”

“सत्ते, केही गर्दिनँ, एउटा कुरा तेरो कानमा भन्छु मात्रै ।”

पवन शङ्कित भएर बिस्तारै घाटको खुड्किलो उक्लिएर उनको नजीक पुग्यो । पार्वतीको अनुहारमा कुटुनी हाँसो खेलिरहेको थियो । उसको जीउतिर औँल्याउँदै भनिन्, 
“यत्रो लट्ठु भइसकिस् तँ, अझै नाङ्गोे नुहाइरहेको छस्... कहिले एकान्तमा आफ्नो जीउतिर हेरेको छस् ? जा हेर् तेरो जीउभरि कहाँकहाँ रेखी फुटिसके ।”

पार्वतीका आँखा उसको सारा जीउ छाम्दै तल ओर्लेर एउटा केन्द्रबिन्दुमा टक्क अडे । पार्वतीका शब्दले पवनको सारा शरीरमा एक्कासि बिजुलीको झट्का लागेजस्तो भयो । तिनका आँखा शरीरका जुनजुन भागमा परे ती पक्षाघात लागेर शून्य र जडजस्ता भए ।

भीषण लज्जा र आत्मग्लानिको प्रचण्ड लप्काले सिङ्गैै शरीर हुरहुरी बलेजस्तै लाग्यो । चेतना शून्यजस्तै भएर ऊ पानीमा हामफाल्यो । उसको रोमरोमबाट लज्जा र शरमको संवेग उर्लिन थाल्यो । दिगम्बर पवन पोखरीको पानीको आवरण ओढेर अरूको दृष्टि–पथबाट आफ्नो नग्न शरीरलाई लुकाउन असहाय भएर पौडी खेलिरहेको थियो ।

पार्वतीको एक वाक्यले आज ऊ उमेरको दसगजा फड्केर एक्कासि युवावस्थाको सीमाभित्र प्रविष्ट हुन पुगेको थियो लज्जा र ग्लानिको छटपटीमा । यही थियो पवनको युवाबोध ।

पवनका लुगाहरू किनारमा थिए । पार्वती नगई ऊ कसरी लुगा फेर्न निस्कने छ ? उसले बिस्तारै घाटमा हेर्यो । तीस–पैंतीस वर्षकी प्रौढा पार्वती कालो पेटीकोटको इँजार छातीमाथि बाँधेर गोरा नाङ्गा र पुष्ट पाखुरा उचाली–उचाली साबुनले मुख धोइरहेकी थिइन् ।

आज पवनलाई उसकी आमाको उमेरकी विधवा पार्वतीतिर नियालेर हेर्दा एक किसिमको सुख लाग्यो, रमाइलो बुझियो । रमाइलोको प्रतिक्रियाबाट उसमा आएको अपराध भावनाले गर्दा ऊ लुकीलुकी पार्वतीतिर हेरिरहेको थियो । पार्वतीले मुखभरि साबुन पोतरेकोले उसलाई सुटुक्क हेर्ने सुविधा पनि थियो ।

उसले एकपटक फेरि दोहरी जीउकी पार्वतीको पुष्ट आङनिर हेर्यो । आङमा ब्रेसरीका, दुवै फित्ताको डाम प्रस्ट देखिएको थियो । उसले कति पटक पछाडिबाट उनको ब्रेसरीको खिप लाइदिएको छ । तर, आज एकाएक महिलाप्रतिको उसको निर्लिप्त भावनामा आएको परिवर्तन देखेर ऊ स्वयं चकित थियो ।

नुहाइधुवाइ गरेर हिँड्ने बेला पार्वतीले उसको लुगा हुर्याउँदै भनिन्,
“जा जैरे, उता गएर फेर ।”

(उपन्यासकार ध.च. गोतामेको ‘घामका पाइलाहरू’ बाट ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  ०६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro