1676076206.jpg)
सन्दिग्ध शताब्दी
(निबन्धसंग्रह : श्रीबाबु कार्की)
साहित्यिकवृत्तमा क्रियाशील स्रष्टा हुन्, श्रीबाबु कार्की । विशेषतः कविताका क्षेत्रमा उनको सक्रियता निरन्तर छ । केही समयअघि उनको निबन्धहरूको सँगालो प्रकाशित भएको छ, ‘सन्दिग्ध शताब्दी’ ।
कार्कीको निबन्धकृतिको भूमिकामा निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ लेख्छन्, “‘सन्दिग्ध शताब्दी’ नेपाली आत्मपरक निबन्धमा एउटा संख्या मात्र थप्ने निबन्धसंग्रह होइन । निबन्धको शक्ति छ । पढ्दै जाँदा आफैँसँग कताकता बत्तिएजस्तो लाग्छ । कताकता हराएजस्तो पनि बनाउँछ । धित मार्ने वाक्यहरू सिला खोजेजस्तै खोज्नु पर्दैन । मंसिरमा बाला लागेका धानजस्तै छन् भरिभराउ ।”
कृतिको आवरण अन्तिम पृष्ठमा प्रा. डा. लक्ष्मणप्रसाद गौतम लेख्छन्, “... यी निबन्ध पढ्दा धेरै ठाउँमा निबन्धकारसँग कुराकानी गरेजस्तै लाग्छ र अधिकांश निबन्धमा उनी आफू छताछुल्ल भएर पोखिएका छन् । समाज, संस्कृति, प्रकृत्ति, मान्छे र उसका चरित्र तथा युगीन यथार्थ उनका निबन्धका विषय हुन् । निबन्धहरूमा अन्तर्विधात्मक बनेर आएका कवितात्मक अंशको प्रयोग र शैलीले यी निबन्धलाई थप आस्वाद्य र पठनीय बनाएका छन् ।...।”
१४ निबन्धहरू समेटिएको यस कृतिभित्रको ‘रिस’मा कार्की लेख्छन्, “हालसम्म आधुनिक औषधि विज्ञानले पनि रिसको कुनै औषधि पत्ता लगाउन सकेको छैन । यदि औषधि थियो भने, एकडोज त मै पनि सिनित्तै पार्थेँ हुँला । त्यति मात्रैले नपुगे बुस्टर डोज पनि भ्याइदिन्थेँ ।’ (पृष्ठ—६५)
कृतिको प्रकाशकीयमा लेखिएको छ, “प्रस्तुत कृतिमा निबन्धकारितामा समाजको अमूर्त दर्शन छ, अमूर्त आग्रह छ, अमूर्त आदर्श छ र जिजीविषाको कलात्मक लय छ ।...।”
साझा प्रकाशनद्वारा प्रकाशित ९६+४ पृष्ठको निबन्धकृतिको मूल्य २३५– रुपैयाँ राखिएको छ ।
०००
देशको चित्र
(लघुकथासंग्रह : रामकुमार पण्डित क्षेत्री)
लघुकथासँगै कविता, कथा, बालकविता र समीक्षामा कलम चलाउँदै आएका रामकुमार पण्डित क्षेत्रीको पछिल्लो लघुकथाकृति हो, ‘देशको चित्र’ । उनका यसअघि विभिन्न पाँच कृति प्रकाशित छन् ।
साहित्यिक पत्रपत्रिका तथा स्मारिका सम्पादनको समेत अनुभव बटुलेका क्षेत्री यस कृतिका बारेमा आफ्नो भनाइ राख्छन्, “...लेखकले लेखेको भावलाई पाठकैपिच्छे फरक अनुभूतिमा मन पराइँदो रहेछ । एउटै रचना कसैलाई अति प्रिय लाग्दो रहेछ त कसैलाई फिटिक्कै छुँदैन रहेछ । तसर्थ, यस कुरालाई मनन गरेर सबैको भावलाई उच्च सम्मान गर्दछु ।...।”
कृतिको भूमिकामा प्र्रा. डा. लक्ष्मणप्रसाद गौतम लेख्छन्, “यस संग्रहका धेरै लघुकथा सामाजिक यथार्थका सेरोफेरोमा नै लेखिएका छन् र ती समाज, समय, राजनीति, अर्थव्यवस्था, मान्छेका मनोवृत्ति आदिमा केन्द्रित छन् र तिनलाई प्रस्तुत गर्ने ढाँचा वा शैलीमा भने लघुकथासर्जक रामकुमारले लोककथात्मक र प्रतीकात्मक शैली बढी अवलम्बन गरेको देखिन्छ ।...।”
यस संग्रहमा क्षेत्रीका विभिन्न विषयका ७२ लघुकथा समावेश छन् । ‘बजेटको बेहाल’ कथामा उनी लेख्छन्, “केही समयपछि जंगल प्रमुख सिंहले गर्जिएर बोल्यो– हामीसँगको अरबौँ बजेट कार्यान्वयन हुन सकेको छैन । अब यो जंगलमा नाचगान, रमाइलो गर्नका लागि ठूलो हल बनाउनु पर्ला ।”
लघुकथा समाज, वाग्मती प्रदेश समितिका लागि सुनीता पण्डित क्षेत्रीले प्रकाशनमा ल्याएको ११६+४ पृष्ठको पुस्तकको मूल्य २५०– रुपैयाँ राखिएको छ ।
०००
उमिहोतारु
(नियात्रासंग्रह : कृष्ण बजगाईं)
पछिल्लो समय नियात्रा लेखनमा निरन्तर लागि रहेका छन्, कृष्ण बजगाईं । त्यसो त उनी हाइकु लेख्छन्, लघुकथा लेख्छन्, बालकथा पनि लेख्छन् । उनका एक दर्जनमध्ये नयाँ कृति हो, ‘उमिहोतारु’ । यसअघि नै बजगाईंका तीन नियात्राकृति प्रकाशित भइसकेका छन् ।
पुस्तकभित्र आत्मकथनमा बजगाईं लेख्छन्, “सन् २०१८ देखि विभिन्न समयमा अमेरिका, बेलायत र जापानमा गरिएका यात्रा अनुभूतिहरू यस नियात्रासंग्रहमा समावेश छन् । सामाजिक दूरी कायम राख्दै कोरोना महामारीको त्रासमय अवस्थामा भएका यात्राका केही फरक अनुभूतिहरू पनि यसमा संगृहीत छन् ।”
अन्तिम पृष्ठमा लेखिएको छ, “जापानी शब्द ‘उमिहोतारु’को नेपाली अर्थ हुन्छ– समुद्री जूनकिरी । तीन दशक लामो नेपाली नियात्रा लेखनबाट अनुभव प्राप्त कृष्ण बजगाईंको यो चौथो नियात्रापरक कृति समुद्री जूनकिरीझैँ नेपाली साहित्यको विशाल आयतनभित्र चम्किरहने विश्वास गरिएको छ ।”
कृतिभित्र २१ नियात्रा छन् । ‘लन्डनमा शरणार्थी फ्रायड’मा उनी लेख्छन्, “उनै फ्रायडको लन्डनमा अवस्थित निवासमा पुग्ने तीव्र इच्छालाई फरवरी महिनाको कठोर जाडोले परास्त गर्न सकेन । बेलायतको तिक्खर जाडोमा अफिस र घरबाहेक अन्यत्र जान र बरालिन खासै जाँगर चल्दैन । लन्डनको तापक्रम माइनसमा पुग्दा अधिकांश मानिसका यस्ता इच्छाहरू जम्न थाल्छन् ।...।”
भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित १९०+४ पृष्ठको यस कृतिको मूल्य ३००– रुपैयाँ राखिएको छ ।