
काठमाडौं । डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीका संस्थापक अध्यक्ष रुद्रराज पाण्डेले नेपालको ऐन र कानुन सुधार नभएसम्म देशको विकास नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘उद्यमीका संघर्ष र नेपालमा विदेशी लगानीका अवरोध’ सम्बन्धी अन्तक्रिया कार्यक्रममा नेपामा लगानी गर्ने वातावरण नरहेको बताएका हुन् ।
सानो काम गर्दा अनेकौँ झन्झट बेहोर्नुपर्ने भएकाले त्यसलाई सरकारले सुधार गर्नुपर्ने उनको भनाइ छ । अमेरिकाको उदाहरण दिँदै पाण्डेले भने, “सर्वसाधारणले बुझ्ने गरी ऐन नियम हुनुपर्छ । नेपालमा त्यो छैन । झेलिएका कानुन र ऐनले गर्दा नेपालमा वैदेशिक लगानी भित्रिन कठिन छ । यदि लगानी आए पनि यहाँको सिस्टमको कारणले गर्दा भाग्छन् । सिस्टम बदलिनुपर्छ ।”
लगानी भित्र्याउन बाधा गर्ने ऐन तथा नियमतर्फ कसैको पनि ध्यन नगएको भन्दै उनले त्यसलाई नसुधारेसम्म नेपालको विकास हुन नसक्ने बताए । विकसित देशमा कम्पनी दर्तादेखि खारेजसम्मको प्रक्रिया सहज हुने तर नेपालमा कुनै पनि प्रक्रिया सहज नभएको उनले बताए । त्यसमा पनि कर तिर्न जाँदा सरकारी कर्मचारीले झुल्याउने र घुमाउने प्रवृत्तिको नै विकास भएको उनको भनाइ छ ।
नयाँ उद्यमीहरूलाई उद्यम गर्ने वातावरण नेपालमा नभएको पनि उनले बताए । यसको विषयमा कसैले पनि ध्यान नदिएको उनको गुनासो छ ।
“नेपालबाट योग्य र क्षमतावान युवाहरू विदेशिएका छन् । हामी उनीहरूलाई यही देशमा काम दिन्छौँ । लगानी गछौँ, भन्दा पनि ऐन र कानुनले दिएको छैन,” उनले भने, “अमेरिकामा जति पनि ठूला कम्पनी छन्, त्यहाँका प्रमुख अन्य देशका छन् । अमेरिकाको रणनीति नै सक्षम जनशक्तिलाई एकृकीत गरेर संसारकै शक्तिशाली देश बनाउने हो । नेपालमा योग्य मानिसको कदर हुँदैन । काम गर्ने वातावरण पनि छैन । त्यसैले पनि जान्ने बुझ्ने मानिस नेपालमा बस्दैनन् ।”
नेपालमा मूल्य अभिवृद्धि कर (भ्याट)को प्रक्रिया झन्झटिलो भएको पनि उनले बताए ।