site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

नयाँ निर्माणका नाममा काठमाडौं उपत्यकाका जनताले केही दशकदेखि भोगिरहेकै समस्या अब मोफसलमा पनि जताततै देखिन थालेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका - ६ बासिन्दा पनि सडक निर्माणमा ठेकेदारको लापरबाहीका कारण लामो समयदेखि पीडित भएछन् । 

घोराही–तुलसीपुर चार लेनको सडक निर्माण गर्दा जनस्वास्थ्यमा पर्ने दुष्प्रभावको बेवास्ता गरिँदा त्यस भेगका बासिन्दा धुलोबाट आक्रान्त बनेका हुन् । त्यसो त सडकमा आवतजावत गर्ने यात्रुहरूले धुलोका कारण उत्तिकै सास्ती भोग्नुपर्छ । 

सडकबाट उडेको धुलोका कारण जनस्वास्थ्यमा निकै गम्भीर असर पर्छ । विशेषगरी केटाकेटी, बूढापाका र श्वासप्रश्वासका बिरामीहरूको त धुलोले ज्यानै लिन सक्छ । स्वस्थ व्यक्तिमा पनि धुलोले गर्दा फोक्सोमा सङ्क्रमण हुने, लगातार खोकी लाग्ने हुनसक्छ । 

जनताको सुविधाको बेवास्ता गरे पनि यति गम्भीर स्वास्थ्य समस्यामा सरकारले खासै ध्यान दिएको भने देखिँदैन । नत्र, सडक अलपत्र पारेर वर्षौं जनस्वास्थ्यमा खेलबाड गर्ने ठेकेदारलाई कारबाही गर्नुको साटो म्याद थप्दै पुरस्कृत पक्कै गर्ने थिएन । 

घोराही–तुलसीपुर चारलेनको सडकको काम २०७५ साल माघमा ३० महिनामा सक्नेगरी सुरु भएको थियो । भारतीय कम्पनीले लिएको ठेक्कमा अहिलेसम्म चारपटक म्याद थपिएको छ भने सात जना ‘पेटी ठेकेदार’ बदलिइसकेका छन् । 

सार्वजनिक निर्माण विशेषगरी सडक निर्माणमा हुने यस प्रकारको हेलचेक्य्राइँ सरकारी कर्मचारीकै मिलेमतोविना सम्भव देखिँदैन । यद्यपि, ठेक्का लिएर अलपत्र छाड्ने ठेकेदारको पहुँच भने राजनीतिक नेतृत्वसम्मै रहेको स्पष्टै छ ।

अझ यस सरकारमा त ठेक्का लिएर अफपत्र पार्नेमध्येका एकजना ठेकेदार नै विकास निर्माणको तालुकवाला सहरी विकास मन्त्रालयमा मन्त्री नियुक्त गरिएका छन् । अर्का त्यस्तै ठेकेदार त झन् प्रधानमन्त्रीका ‘घरबेटी’का रूपमा चर्चित छन् । यस्तै र यिनै कारणले पनि जनस्वास्थ्यमै असर पर्दा पनि सरकारले बेवास्ता गरेको हुनुपर्छ ।

ठेक्कामा दिएको काम समयमा नहुँदा राज्यलाई प्रत्यक्ष आर्थिक नोक्सानी हुन्छ । त्यस्तो क्षति इमानदार व्यक्तिहरू सरकारमा पुगेका दिन ठेकेदारबाट असुलउपर गर्न पनि सकिएला । तर, त्यसका कारण गुमेको व्यक्तिको अवसरको क्षतिपूर्ति भने कहिल्यै हुदैन ।

जनस्वास्थ्यमा पर्ने असर भने यी सबै क्षतिभन्दा गम्भीर हुन्छ । धुलोकै कारण ज्यान जाने वा सधैँका लागि अशक्त भएर बाँच्नुपर्ने अवस्था हुनसक्छ । यसैले यो गम्भीर जनस्वास्थ्यको मामिला हो र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको चिन्ताको विषय बन्नुपर्थ्यो ।

विकास निर्माणका काम जनस्वास्थ्यमा प्रहार नगरी गर्नै नसकिने भने पक्कै होइन । सडक निर्माण वा सुधारमा तत्काल बनाउन सक्ने खण्डमात्र भत्काउने र भवन निर्माणमा धुलो नियन्त्रण गर्ने मात्रै अभ्यास गरे पनि हजारौं जनालाई बिरामी हुनबाट जोगाउन सकिन्छ ।

ठूला ठेकेदार पोस्ने अहिलेको सार्वजनिक खरिद नीति र अभ्यासमा त पुरवलोकन जरुरी छ नै निर्माणका क्रममा जनस्वास्थ्यमा असर न्यूनतम गराउन पनि विशेष ध्यान दिनुपर्ने देखिन्छ । के नयाँ भौतिक पूर्वाधार तथा यातायात मन्त्री र सहरी विकासमन्त्रीले नीतिगत सुधारका लागि अग्रसरता देखाउलान् रु अब त अति भइसक्यो ।  ठूला ठेकेदार पोस्न जनताको स्वास्थ्यसँग पनि खेलबाड गरिरहनु पापमात्र होइन अपराध पनि हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १२:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro