site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गुड्डी 
Tiktok banner adTiktok banner ad

“आमा, यो जुठो रसबरी म खान्नँ ।” गुड्डीको कुरा सुनेपछि सुधा (आमा) को कन्सिरी तातेर आयो ।

“ठिक छ, तिमी खाँदिनौ भने म के गरूँ ? अब अरू रसबरी त छैन ।”

त्यसै बेला श्यामजी (बुबा) आएर भन्न थाले, “चारवटा रसबरी थियो बाँकी ! के भयो ?”

“अब के, सोनुका लागि मैले ल्याएकी थिएँ, सबै खायो होला ।” सुधाको चर्को आवाज सुन्नेबित्तिक्कै श्यामजी चुप लागे । गुड्डी पनि डराउँदै आफ्नो कोठामा गएर किताब निकालेर बसिन् । तर, उसलाई पढ्ने मन अतिकति थिएन ।

यी हुन् आठ वर्षकी गुड्डी र चार वर्षका भाइ सोनु, श्याम मिश्र र सुधाका छोराछोरी । जुन बेला गुड्डीको जन्म भएको थियो, त्यसबखत परिवारका सबै सदस्यहरू निराश भएका थिए ।

गुड्डीकी हजुरआमा बेलाबेलामा भन्ने गर्थिन्, ‘सोनुको छैटी धेरै धुमधामका साथ मनाइएको थियो ।’

हजुरआमा औधी खुसी भएर भन्थिन्, ‘सोनुको जन्मले वर्षौँको सपना पूरा भएको थियो । घरको चिराग आयो । गुड्डीको जन्म भएको बेला म धेरै रोएकी थिएँ । श्यामले मलाई धेरै सम्झाएका थिए, छोराछोरीमा केही पनि फरक हुँदैन भनेर । ठिक छ, मलाई जमाना नदेखाऊ । छोरीले मेरो देखभाल किन गर्दैनन्, किनकि तिमीले नै मलाई पालपोस गरिरहेका छौ । जबकि, छोरीले दाइजो लिएर आमाबुबाको घर खाली गरेर ससुराली गइसकेकी हुन्छे ।’

हजुरआमाका यस्ता कुरा सुनेर श्यामजी चुप लागे । त्यहाँ बसेका सबै आफन्तले हजुरआमाका कुरालाई समर्थन गरे ।

हजुरआमा र हजुरबुबा दिनभर सोनुलाई काखमा लिएर देखाउँदै हिँड्थे । गुड्डीलाई पनि इच्छा हुन्थ्यो, भाइसँग खेल्ने । तर, हजुरआमाको डरले गर्दा खेल्न पाउँदिनथिन् ।

बेलाबखत भाइको हात समातेको समयमा हजुरआमा चिच्याउँथिन्, ‘गुड्डी, बाबुदेखि टाढै बस । बाबुको हात भाँचिन्छ ।’

त्यतिखेर गुड्डीलाई एकदमै रिस उठ्थ्यो र इच्छा हुन्थ्यो, हजुरआमाकै हात भाँचिदिऊँ ।

जतिखेर सोनु हिँड्डुल गर्न थाल्यो, त्यसै बेला उसको जन्मदिनमा हजुरबुबाले साइकल उपहार दिनुभयो । सोनु दिनभर साइकल चलाउँथ्यो ।

गुड्डीको पनि इच्छा हुन्थ्यो, साइकल चलाउने । तर, साइकल छुनासाथ हजुरआमा र आमाको तितो बोली उसले सुन्नुपर्दथ्यो ।

उनीहरू भन्दथे, “तिमी साइकलमा नबस है, नत्र साइकल भाँचिन्छ ।” यो भनाइले यस्तो लाग्थ्यो, मानौँ गुड्डी हात्तीजस्तै बलियो छिन् !

एक दिन खाली देखेर गुड्डी साइकलमा बसिन् । त्यसै बेला आमा आएर उसको हात समातेर साइकलबाट ओरालिदिइन् । गुड्डीलाई त्यो बेला पनि रिस उठ्यो र भन्न मन लाग्यो– यो साइकललाई भाँचेर फ्याँकिदिऊँ, न रहन्छ बाँस न बज्छ बाँसुरी !

तर, फेरि गुड्डी सोच्थिन्– साइकल भाँचिएपछि बाबु धेरै रुन्छ ।

किनकि, बाबु दिनभरि साइकलमा नै बस्ने गर्दथ्यो । ऊ खेलौनाहरूमध्येमा साइकल नै बढी मन पराउँथ्यो ।

गुड्डी जब स्कुल जान थालिन्, घरको रिस आफ्ना साथीहरूमाथि पोख्थिन् । जबकि, घरमा उनी चुपचाप आफ्नो कोठामा पढ्ने गर्थिन् र सोनु आफ्नो खेलौना खेलिरहेको हुन्थ्यो ।

गुड्डी सात/आठ वर्षकी भएपछि आमाले घरको काम गराउन थालिन् । गुड्डी पनि आमाको माया पाउन उनले भनेका हरेक कुरा मान्न थालिन् । उनलाई लाग्दथ्यो– आमाको कुरा नमाने आमा मदेखि झनै रिसाउनुहुन्छ होला ।

आमाको रिस भरिएको अनुहार देखेपछि उनी काम्थिन् । भाइका लागि प्रत्येक दिन फलफूल, जुस घरमा ल्याउने गरिन्थ्यो । उसले खाएर बाँकी रहेको जुस मात्रै गुड्डीले खान पाउँथिन् ।

एक दिन स्कुलमा मिसले भनिन्, ‘कसैको जुठो पनि खानु हुँदैन । खायो भने बिरामी हुइन्छ ।

गुड्डीलाई लाग्यो– मिसले ठिक भन्दै छिन् ।

एक दिन भाइको जुठो खिर खाँदा उसको रुघाखोकी गुड्डीलाई सरेको थियो । त्यसैले गुड्डीले निश्चय गरिन्– आजदेखि म कसैको जुठो खाँदिनँ ।

यही कारण थियो, गुड्डीले भाइको जुठो रसबरी खान मन नगरेकी । आमा जति रिसाए पनि उसले खान मान्दै मानिन ।

गुड्डी ठूली हुन थालिन् । त्यसउप्रान्त उनले आफ्नी आमा र हजुरआमाका कुरा पनि बुझ्न थालिन् । कहिलेकाहीँ त बुबा पनि आमाको व्यवहार देखेर भन्थे, ‘गुड्डी तिम्री सौताको छोरी हो ?’

सुधा रिसाउँथिन्, ‘छोरीलाई टाउकोमा नचढाउनुस्’ भन्दै । श्यामजी हाँसेर चुप लाग्नुबाहेक अरू केही गर्थेनन् ।

केही वर्षपछि गुड्डीले एसएलसी परीक्षा प्रथम श्रेणीमा पास गरिन् । उनका बुबा श्यामजी धेरै खुसी भए । अखबारमा गुड्डीको नाम र फोटो देखेर सुधासँग भने, “छोरा र छोरीमा केही फरक छैन सुधा । छोरीले हाम्रो खानदानको नाम रोशन गरेकी छन् ।”

गुड्डीको नाम क्याम्पसमा लेखाउने बेला सुधाले जिद्दी गर्न थालिन्, ‘गुड्डीलाई बढी पढाउनु हुँदैन । भोलि विवाह गर्ने बेलामा धेरै दाइजो दिनुपर्ने हुन्छ ।’

तर, श्यामजीले गुड्डीको अनुहार हेरेर भने, “उच्च शिक्षा पढेपछि आफ्नो खुट्टामा उभिएर आफैँ निर्भर हुन्छिन् गुड्डी ।”

सुधा आफ्नो जिद्दीमा अडिग रहिन् । गुड्डीले भोक हड्ताल सुरु गरिन् । अन्ततः गुड्डी क्याम्पसमा नाम लेखाउन सफल भइन् ।

यसैबीच, सुधाले आफ्नी दिदीको नातागोतामा गुड्डीको बिहे तय गरिन् । श्यामजीको इच्छा भने अहिले नै छोरीको बिहे गर्ने थिएन । तर, उनले सुधाको कुरा काट्न सकेनन् । किनकि, बिहे हुने केटो बैंकमा क्यासिएर थियो ।

गुड्डीले धेरै विरोध गरिन् । तर, सुधाको अगाडि उनको केही जोर चलेन । उनको बिहे भयो ।

गुड्डीका दुलाहा समीर र उनको परिवारका सदस्यहरू समझदार थिए । त्यसैले पनि गुड्डीको पढाइलाई तिनले रोकेनन् । गुड्डीको पढाइ सुचारु भयो ।

यसैबीच, गुड्डी गर्भवती भइन् । यो खबर सुधाले थाहा पाइन् । र, उनी छोरीलाई भेट्न आइन् । भेटघाटकै क्रममा एकान्तमा गुड्डीलाई सम्झाउन थालिन्, “तिमी अल्ट्रासाउन्ड गराऊ ।”

गुड्डीले सोधिन्, “किन आमा ?”

“थाहा हुन्छ, छोरा छ कि छोरी भन्ने । छोरी भए...” सुधाले भन्दै गइन्, “हाम्रो समयमा यस्तो सुविधा थिएन । नत्र भने मैले तिमीलाई जन्म दिने थिइनँ !”

आफैँलाई जन्म दिने आमाको यस्तो कठोर शब्द सुनेर गुड्डीका आँखा रसाएर आए । गुड्डीलाई लाग्यो– यिनी मेरी आमा हुन् कि राक्षस ?

गुड्डीको कुरा सुनेर सुधा निकै दुःखी भइन् । केही बोल्न सकिनन् । तर, उनको मन र दिमाग भने घुम्न थाल्यो ।

दुई दिनपछि गुड्डी श्रीमान्–श्रीमती दुवै भएर रूपाको घरमा खाना खान गए । राति अबेर फर्किए । घर आएको केही समयपछि नै गुड्डीको स्वास्थ्य बिग्रियो । पेट दुख्ने र उल्टी हुन थाल्यो ।

चिकित्सकसँग सम्पर्क गर्दा उनले अस्पतालमा भर्ना हुने सल्लाह दिए । आननफानन गुड्डी अस्पतालमा भर्ना भइन् । उपचार थालिएपछि उनको बान्ता हुन रोकियो । फुड पोइजनिङ भएको हुनाले पेटमा रहेको बच्चामा कुनै असर नपर्ने बताउँदै डाक्टरले अल्ट्रासाउन्ड गराउने सल्लाह दिए ।

डाक्टरले भनेको कुरा उनका पतिले गुड्डीलाई सुनाए । उनी अल्ट्रासाउन्ड गर्न राजी भइन् । यो खबर सुनेर सुधाका आँखा खुसीले रसाए । तर, गुड्डीको कुरा सम्झनासाथ उनको मन खल्लो भयो । गुड्डीले केही भनिनन् भने छोरा छ कि छोरी, कसरी थाहा पाउने !

अल्ट्रासाउन्ड गर्ने दिन सुधाले गुड्डीलाई लिएर गएको कोठाबाट एक नर्स निस्किएको देखिन । सुधाको मन तीव्र गतिमा चल्न थाल्यो । उनले नर्सलाई बोलाएर जानकारी लिने प्रयास गरिन् ।

नर्सले डाक्टर १२ बजे आउने र त्यसपछि बिरामीको अल्ट्रासाउन्डका हुने जानकारी गराइन् । सुधाले सोधिन्, “तपार्इं पेसेन्टकै साथमा हो ?”

नर्सले स्वीकृतिमा टाउको हल्लाइन् । सुधाले फेरि थपिन्, “अल्ट्रासाउन्ड गर्दा छोरा छ कि छोरी भन्न सक्नुुहुन्छ ?” तर, नर्सले यतिखेर नाइँ भन्दै टाउको हल्लाइन् ।

गुड्डीकी आमाले पासा फ्याँकिन । भनिन्, “थाहा दिए इनाम दिन्छु !”

तराई क्षेत्रमा छोरा पाउने मोहका बारे नर्सलाई राम्ररी थाहा थियो । उनी मुस्कुराएर अगाडि बढिन् । गुड्डीकी सासू पनि अस्पताल आइपुगिन् ।

भेटघाटमा गुड्डीकी आमाले सबै कुरा बेबीविस्तार लगाइन् । कुरो सुनेर सासूका अनुहारमा चिन्ताको धर्सा देखियो ।

निश्चित समयमा अल्ट्रासाउन्ड सकियो । डाक्टरले गुड्डी र उनका पतिलाई बच्चा ठिक रहेको बताए । गुड्डीलाई बान्ताले कुनै असर नगरे पनि खानपानमा भने विशेष ध्यान दिन सल्लाह दिए ।

डाक्टरको कोठाबाट नर्स बाहिर निस्किइन् । सुधाको नजर नर्सतिरै थियो । नर्स पनि मौका खोज्दै थिइन् । तर, उनको साथमा अर्की महिला देखेर अलमलमा परिन् ।

सुधाले भनिन्, “उहाँ मेरी छोरी गुड्डीकी सासू । जे भन्ने हो उहाँका अगाडि नै भन्न सकिन्छ ।”

नर्स ढुक्क भइन् । र, घरमा लक्ष्मीको आगमन हुने जानकारी दिइन् । अनि, सुधाका अघिल्तिर हात बढाइन् । सुधाले पनि नर्सको हत्केलामा हजार हजारका पाँच नोट राखिदिइन् ।

नर्सलाई खुसीको सीमा थिएन । तर, सँगै खबर सुनेर दुःखी थिए, गुड्डीका आमा र सासू । यस विषयमा गुड्डीलाई केही नभन्ने निष्कर्षमा पुगे, दुवै सम्धिनीहरू ।

फुड पोइजनिङ भएर अस्पताल भर्ना भएकी गुड्डीलाई साँझ डिस्चार्ज गरियो । उनी घर फर्किन् । र, बाँकी डेढ महिनाको समय मिलिक्कै बित्यो ।

गुड्डीलाई प्रसूति बेथा लागेर अस्पतालमा भर्ना भएको समय दुवै सम्धिनीहरू आइपुगेका थिए । तर, दुवै दुःखी थिए । दुवैको अनुहारमा कान्ति थिएन । नातिनीका रूपमा लक्ष्मीको आगमनलाई स्वागत गर्न दुवै तयार थिएनन् ।

अस्पतालमा पहिलेकी तिनै नर्स फेला परिन् । दुवै आमाहरू एकसाथ देखेर नर्स मुस्कुराइन् । तर, जवाफमा न त सुधाको अनुहारमा मुस्कान थियो न त गुड्डीको सासूकै ।

कुरा गम्भीर देखेर नर्स अगाडि बढिन् । गुड्डीका पति बाहिर निस्किएका बखत दुवै सम्धिनीहरूले नर्सलाई साथमा लिएर एउटा योजना बनाए ।

प्रारम्भमा नर्स त्यस योजनाका लागि तयार भइनन् । यो निकै जोखिमपूर्ण काम भएको उनले स्पष्ट भनिन् । यदि, समातिए आफ्नो जागिर मात्रै गुम्ने नभएर जेल पनि जानुपर्ने उनको भनाइ थियो ।

गुड्डीका आमा र सासूले नर्सलाई धनको लोभ देखाए । यसबारे कसैलाई केही थाहा नहुने आश्वासन दिए ।

अस्पताल आएको दोस्रो दिन नर्मल डेलिभरी नहुँदा साँझपख गुड्डीको शल्यक्रिया गरिने तय भएको थियो । गुड्डीकी आमा र सासूलाई भने छोरी बुहारीभन्दा पनि उनकै बेडछेउमा रहेकी गर्भवती महिलाको प्रसूतिप्रति चिन्ता थियो । किनभने, नर्सले उनको छोरा हुने बताएकी थिइन् ।

गुड्डीलाई राति नै अपरेसन थिएटरमा लगियो । केही बेरपछि नै छेउकै बेडमा रहेकी महिलालाई लगियो । अपरेसन थिएटरमा ती दुवै लामो समय रहे ।

बाहिर गुड्डीका श्रीमान्, सासू, ससुरा, आमा, बुबा सबै उत्सुकताका साथ पर्खिरहेका थिए, सुखद समाचार आउने प्रतीक्षामा ।

अनायास मध्यरातमा एक्कासि कोलाहल मच्चियो । स्टाफहरू अपरेसन थिएटरतर्फ दौडिरहेका थिए । केही समयपछि अस्पतालमा प्रहरी पनि आइपुग्यो ।

भर्खरै जन्मिएको बच्चा फेर्ने क्रममा तिनै नर्स रंगेहात पक्राउ परेकी थिइन् । उनले गुड्डीकी छोरी र अर्की महिलाको छोरा साटासाट गरेको सीसी क्यामेराले कैद गरेको थियो । र, त्यो देखेरै कर्मचारीहरू थिएटरतिर दौडिएका थिए ।

प्रहरीले नर्सलाई हतकडी लगाएर लग्दै थिए । दुवै सम्धिनीहरूले उनलाई नदेखेझैँ गरे । तर, केही पाइला अगाडि जानासाथ नर्स रोकिइन् । र, फर्किएर गुड्डीकी आमा र सासूलाई देखाउँदै चर्को स्वरमा भनिन्, “इन्स्पेक्टर साहब, मैले यी दुवैले भनेको हुँदा बच्चा साटासाट गरेको थिएँ । किनभने, यिनीहरूलाई नातिनी होइन नाति चाहियो रे !”

अर्को दिन समाचारको हेडलाइन बनेको थियो– नातिका लागि नातिनी साटासाट गर्दा नर्ससँगै आमा र सासू पक्राउ ।
 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  ०७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro