
पोर्ट ओ प्रिन्स । हाइटीका राष्ट्रपति जोभेनल मोइसको हत्यामा प्रमुख भूमिका खेलेको आरोप लागेका चारजनालाई अमेरिकासमक्ष हस्तान्तरण गरिएको छ । उनीहरूविरुद्ध अब अमेरिकामा मुद्दा चलाइनेछ ।
सन् २०२१ को ७ जुलाईमा हाइटीको राजधानीस्थित आफ्नै निवासमा राष्ट्रपति मोइसको गोली हानेर हत्या गरिएको थियो ।
प्रहरीले हत्यामा विशेषगरी विदेशी मर्सिनरीको संलग्नता रहेको एउटा हिट टोलीको हात रहेको जनाएको थियो । आंशकितमध्ये तीनजना अमेरिकी–हाइटिसियन र अर्को एकजना कोलम्बियाली भएको बताइएको छ । उनीहरूलाई आज बेलुका नै मायामीस्थित एउटा संघीय अदालतमा पेस गरिने बताइएको छ ।
अनुन्धानकर्ता र न्यायाधीशहरूलाई लगातार ज्यानको धम्की आउन थालेपछि हाइटीमा राष्ट्रपति मोइसको हत्याकाण्डमाथि भइरहेको छानबिन रोकिएको छ ।
तर, मोइसेको हत्या गर्ने योजना फ्लोरिडामा हाइटिसियन–अमेरिकीहरूले बनाएको बुझिएपछि अनुसन्धान र कानुनी प्रक्रियाको दायरा अमेरिकामा केन्द्रित भएको हो । अहिलेसम्म हाइटीले अमेरिकामा बुझाएका आशंकित आक्रमणकारीको संख्या सात पुगेको छ ।
बीबीसीबाट ।