
विराटनगर । होटल तथा मदिरा व्यवसायीहरूलाई करको दायरामा आउन विराटनगर महानगरपालिकाले आग्रह गरेको छ ।
सोमबार आयोजित छलफलमा धेरै होटल र मदिरा व्यवसाय दर्ता नभएको पाइएको महानगरका मेयर नागेश कोइरालाले बताए । करको दायरा बढाउने अभियानमा महानगर रहेको भन्दै उनले धेरै होटल, रेस्टुरेन्ट र मदिरा पसलहरू महानगरमा दर्ता नगरी संचालनमा रहेको पाइएको जानकारी गराए ।
प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले महानगर क्षेत्रभित्र सञ्चालित सबै व्यवसायलाई करको दायरामा ल्याउने गरी काम भइरहेको बताउँदै भने, “सबैलाई करको दायरामा ल्याउन महानगरले घरदैलो अभियान संचालन गरिरहेको छ । यसमा सबैले सहयोग गर्न जरुरी छ ।”
व्यवसायीले भने होटल र रेस्टुरेन्ट अगाडि नै मापसे चेकजाँच गरिँदा पसलको सटर लगाउनुपर्ने अवस्था आएको गुनासो गरे । होटल व्यवसायी खिलकुमार सुवेदीले कोरोनाका कारण सुस्ताएको व्यवसाय आर्थिक मन्दीले असर गरेको सुनाए ।
"ग्राहक नआउँदा होटलका टेबल र रुमहरू खाली छन्,” उनले थपे, “यस्तो अवस्थामा हामीले कसरी कर तिर्नु ?,” उनले किराना पसलहरूले पनि मदिरा बिक्री गरिरहेको बताए ।
मदिरा व्यवसायी संघ मोरङका पूर्वअध्यक्ष अंशु बञ्जराले महानगरको नीतिका कारण धेरै व्यवसायी करको दायरमा आउन नसकेको बताए । होटल तथा पेय पदार्थ व्यवसायी संघ मोरङका अध्यक्ष सुरज श्रेष्ठले निश्चित समयसम्म जरिवाना छुट दिएर करको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।
सबैलाई करको दायरामा ल्याउन महानगरले आगामी फागुन मसान्तसम्म दर्ता र नवीकरणका लागि शतप्रतिशत जरिवाना छुट गरेको राजस्व महाशाखा प्रमुख गौतमले बताए ।