site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रपति उमेदवारमा कांग्रेसबाट को ? गोप्य मतदानमा माओवादी भोट लिने दाउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रपति पदको निर्वाचनमा मैदान खाली नछाड्ने तयारीमा रहेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबाट आकांक्षीहरू सतहमा देखिएका छन् । कांग्रेसबाट नेता रामचन्द्र पौडेल राष्ट्रपति बन्न मरिहत्ते गरेर लागेका छन् । नेता कृष्णप्रसाद सिटौला पनि राष्ट्रपति बन्ने दौडमा छन् । नेताहरू गोपालमान श्रेष्ठले पनि राष्ट्रपति बन्ने चाहना राखेका छन् । अर्का नेता मानबहादुर विश्वकर्मा पनि आकांक्षी हुन् ।

निर्वाचन आयोगले हालसम्म राष्ट्रपति चुनावको मिति घोषणा गरेको छैन । आयोग उच्च स्रोतका अनुसार आउँदो फागुन २६ गते निर्वाचन गर्ने गरी छलफल र तयारी गरिएको छ । कांग्रेसले राष्ट्रपति निर्वाचनको मिति चाँडै  घोषणा गर्नुपर्ने माग गरेको छ ।

सांसद् समेत रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले फागुन २८ अगावै निर्वाचन सम्पन्न हुने गरी मिति घोषणा गर्नुपर्ने बताएका छन् । “दायाँबायाँ नसोची, नहेरी !,” खड्काले आइतबार ट्विट गरेका छन्, “निर्वाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संशयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाको लागि श्रेयस्कर हुनेछ । यसतर्फ बेलैमा ध्यान जाओस् ।”

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपति बन्ने पौडेल, माओवादीको भर 

कांग्रेसबाट राष्ट्रपति बन्न लागिपरेका नेता हुन्, रामचन्द्र पौडेल । तनहुँबाट निर्वाचन जितेर आएका पौडेललाई राष्ट्रपति बनाउन सभापति शेरबहादुर देउवा नै लागिपरेको बताइन्छ । पौडेलले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताइरहेका छन् । उनले गएको मंगलबारको प्रतिनिधिसभा बैठकमा रोस्टममै उभिएर शान्ति प्रक्रियाको बाँकी कामलाई फत्ते गर्न, देशको अर्थव्यवस्था माथि उठाउन राष्ट्रिय सहमति आवश्यक रहेको बताएका थिए ।

Global Ime bank

“मैले सहिमतिको कुुरा गर्दै आएँ । अहिलेको कुरा होइन, मैले सहमितको कुरा गर्दा आफ्नो स्वार्थका लागि खोजेको भन्ने अर्थ लाग्ला । तर, म पहिलादेखि नै यसको पक्षमा हुँ,” उनले भने, “तीन कारणले राष्ट्रिय सहमति आवश्यक छ ।  कमसल आर्थिक अवस्था, दोस्रो, भूराजनीतिक दबाब र शान्ति प्रक्रियालाई पूर्णता दिन । शान्ति प्रक्रिया अझै पूर्ण भएको छैन । १२ वर्षे द्वन्द्धले घाउ परेको छ । चोट लागेको छ । यसलाई पूरा गर्नु हाम्रो कर्तव्य हो । देशमा सुशासनभन्दा कुशासन छ । त्यसकारण राष्ट्रिय सहमति आवश्यक छ ।”

पौडेलले थपे, “यो संविधान फ्याँक्न अनेक प्रयत्न भएको छ । यो व्यवस्था बचाउन र संविधान बचाउन कांग्रेस र कम्युनिस्ट एक ठाउँमा किन नहुने ? अराजकता र अस्थिरता बचाउने कि नबचाउने ? अति दलबन्दी र पूर्वाग्रहबाट लोकतन्त्र जकडिएको अवस्थामा छ । भित्री र बाहिर सत्ताको खेलबाट लोकतन्त्र खतरामा छ । हामी देश बनाउन एक ठाउँमा जुटौँ । आकाशबाट निराशाको बादल हटाउन एक बनौँ ।”

कांग्रेसले राष्ट्रपतिमा भाग पाइन्छ भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको बुझ्न कठिन छैन । सभामुख र उपसभामुख पदमा समेत कतै खेल्न सकिन्छ कि भनेर कांग्रेसले प्रयत्न नगरेको होइन । तर, सफल हुन सकेन ।

योबीचमा नेता पौडेल प्रधानमन्त्री प्रचण्डसहित जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी)लगायत दलका नेतासँग निरन्तर सम्पर्कमा छन् । राष्ट्रिय सहमति भन्दै उनी निरन्तर माओवादीसँग नजिक बन्ने प्रयासमा छन् ।

“राष्ट्रपति कांग्रेसले नलिने हो भने यी सारा मिहिनेत गर्न किन आवश्यक भयो र ? सभामुख अरूकै बनेका छन्, राष्ट्रपति पनि अरूकै बनिहाल्छन्,” पौडेलले आफूनिकट नेताहरूसँग भनेका छन् ।

पुस १० गते सरकार बनाउने विषयमा कांग्रेसले दुर्घटना निम्त्याएको पौडेलले आफूहरूसँग बताउने गरेको उनीनिकट एक नेताको भनाइ छ । प्रधानमन्त्री प्रचण्ड पनि नेकपा (एमाले) र त्यसका अध्यक्ष केपी शर्मा ओलीसँग ‘कम्फर्ट’ नभएकाले पुनः पुरानै गठबन्धन बन्ने सम्भावना बढ्दै गएको पौडेलले सुनाउने गरेको ती नेता बताउँछन् ।

“दुर्घटनाले पुरानो गठबन्धन भत्कियो । यसमा म आफैँ सन्तुष्ट छैन, त्यसकारण पुरानै गठबन्धन बिउँत्याउने भनेर प्रचण्डजी लाग्नुभएको कुरा उहाँले हामीलाई सुनाउनुभएको छ,” ती नेताले बाह्रखरीसित भने, “त्यसकारण भए राष्ट्रिय सहमति, नभए पनि माओवादीसहितको सहयोगमा आफू राष्ट्रपति बन्ने उहाँको विश्वास छ र त्यसैमा लाग्नुभएको छ ।”

नेकपा (माओवादी केन्द्र)का नेता पनि कांग्रेससँग नयाँ समीकरण बनाउने विषयमा सकारात्मक छन् । माओवादीका एक पदाधिकारीले राष्ट्रिय सहमति नबने नयाँ समीकरण बन्न सक्ने विषयलाई नकारेनन् । उनले कांग्रेससँग समीकरण बन्ने विषय असहज नभएको बताए ।

“राष्ट्रिय सहमति भनिरहेका छौँ । त्यसका लागि सबै दलसँग छलफल भइरहेकोे छ । सहमति जुटेन भने जतै पनि हाम्रो भोट जान्छ,” ती नेताले भने ।

माओवादीका अर्का एक नेता एमालेलाई राष्ट्रपति पद दिने लिखित सहमति नभएको बताउँछन् । माओवादीले के निर्णय गर्छ, त्यसका लागि निर्वाचनको मिति घोषणापश्चात्को खेल हेर्नुपर्ने उनी बताउँछन् ।

सिटौलालाई ‘दाहाल’को आउला सद्भाव ? गोपालमानको आफ्नै दाउ 

नयाँ समीकरण नबने के पौडेलले सांसद पद त्यागेर चुनाव लड्छन् त भन्ने प्रश्न छ । कांग्रेस एक नेता राष्ट्रपतिमा अहिले कांग्रेसले जुवा खेल्नु बाहेक अर्को उपाय नभएको प्रतिकृया दिन्छन् । 

त्यसो त देउवाको रोजाइमा पौडेल मात्र होइन पार्टीका अर्का नेता कृष्णप्रसाद सिटौला पनि छन् । आफ्नै भाडाको निवास धुम्वाराहीमा केही दिनअघि बसेको पदाधिकारी बैठकमा उनले सिटौलाको नाम लिएको बैठकमा सहभागी एक नेताले बताए ।

सिटौलाको विषयमा माओवादी केन्द्र पनि सकारात्मक हुने बुझाइ देउवाको छ । 

माओवादीलाई शान्ति प्रकृया र मूलधारको राजनीतिमा ल्याउन सिटौलाले गृहमन्त्री हुँदा खेलेको भूमिकामा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल पनि सकारात्मक छन् । यसको लाभ उठाउने मुडमा देउवा छन् । 

राष्ट्रपतिको दौडमा रहेको अर्को नाम हो गोपालमान श्रेष्ठ । श्रेष्ठ अहिले पार्टी केन्द्रीय सदस्य छन् । उनले मंसिर ४ मा भएको निर्वाचनमा आदिवासी जनजातितर्फबाट पहिलो नम्बर समानुपातिकमा बसेका थिए । उनले सांसद बन्ने मौका नै पाएनन् । उनी अहिले राष्ट्रपतिमा आफूलाई उमेदवार बनाउनुपर्ने पक्षमा छन् ।

“कांग्रेसबाट पहिलो राष्ट्रपति मधेसबाट बन्यो । एमालेले महिला राष्ट्रपति बनायो । यसपटक आदिवासी जनजातितर्फबाट सिनियर मान्छे राष्ट्रपतिमा ल्याउनुपर्छ भन्ने जनताको स्प्रीट छ,” उनले बाह्रखरीसँग भने, “मेरो योग्यता सबै कारणले पुग्छ । केही व्यक्तिबाहेक पार्टीभित्र मान्छे नभएजस्तो त गर्न मिल्दैन नि । मुलुकले आवश्यक ठान्छ र पार्टीले निर्णय गर्छ भने म जिम्मेवारी पूरा गर्छु ।”
  
एमालेलाई नदिने कांग्रेस नीति : यस्तो छ अंकगणित 
यतिबेला कांग्रेस एमालेसँग भिड्ने र माओवादीसँग सहकार्यको नीतिमा छ । केन्द्रमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसले प्रदेशमा पनि माओवादीको सरकार भएको ठाउँमा विश्वासको मत दियो । 

प्रदेशमा एमालेले उठाएको सभामुख उपसभामुखमा चुनाव लडेको कांग्रेसले माओवादीले उमेदवार उठाएको ठाउँमा मैदान खाली गरिदियो । 

सभामुख र उपसभामुख उमेदवार छान्न बसेको बैठकमा नेता रामचन्द्र पौडेलले राष्ट्रपति चुनावका लागि परिस्थिति बिग्रने अवस्था आउँछ भने उमेदवार छान्ने विषयमा पुनर्विचार गर्नुपर्ने धारणा राख्ने गरेका थिए । 

“खेल त राष्ट्रपतिमै खेल्ने हो । प्रदेशले पनि गोप्य मतदान गर्ने भएका कारणले माओवादीले हामीले लगाएको गुन तिर्छ भन्ने लागेको छ,” कांग्रेसका अर्का एक नेताले विश्वास देखाए, “हामीले अहिले माओवादीलाई पूर्ण सहयोग गरेका छौं । प्रदेशमा पनि माओवादीले उमेदवार उठाएको ठाउँमा हामीले मैदान खाली गरेको हौं । एमालेसँग हामी लड्यौं नै । बाँकी त केही दिन पर्खनु पर्ला ।”

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा कांग्रेसले प्रस्ताव गरेको व्यक्तिनै राष्ट्रपति बनेर शीतलनिवास जाने दाबी गर्छन् ।

शर्माको अभिव्यक्तिलाई सहयोग गर्दै पार्टीका एक पदाधिकारी एमालेलाई राष्ट्रपति नदिने र कांग्रेसले जित्ने अवस्था नरहे बाहिरबाट ल्याएर तेस्रो व्यक्ति तर, लोकतान्त्रिक चरित्र भएको व्यक्तिलाई राष्ट्रपति बनाउने दाबी गर्छन् । 

“एमालेको राष्ट्रपति बन्न कांग्रेसले दिँदैन । सके कांग्रेसको बन्छ नसके बाहिरबाट कोही डेमोक्रेटिक मान्छेलाई कांग्रेसले प्रस्ताव गर्छ र राष्ट्रपति बनाउँछ,” एक पदाधिकारीले बाह्रखरीसँग भने, “शेरबहादुर दाईको जोड रामचन्द्र दाइलाई बनाउने छ । नभए स्वतन्त्र व्यक्ति कांग्रेसले प्रस्ताव गर्छ र राष्ट्रपति बनाउँछ ।”

राष्ट्रपति निर्वाचनका लागि कुल ५२ हजार ७८६ मतभार छ । २६ हजार ३९४ मतभार जो उमेदवारले ल्याउँछ उ विजयी हुन्छ । माओवादीसँग मिलेर तथा अन्य दलहरूलाई विश्वासमा लिएर कांग्रेसले यो मतभार पूरा गर्ने अप्ठ्यारो खेल खेलिरहेको छ । 

हाल सत्ता गठबन्धनमा ७ दल छन् । कांग्रेससहित नेकपा (एकीकृत समाजवादी), लोसपा, जनमोर्चा, नेमकिपा गठबन्धनमा छैनन् । 

अंकगणित हिसाव गर्दा एमालेसँग १५ हजार ३१२ मतभार छ । माओवादीसँग ७ हजार ७२८, राष्ट्रिय स्वतन्त्र पार्टीसँग १ हजार ५०१, राप्रपासँग २ हजार ४५०, जसपासँग २ हजार २४१, जनमत पार्टीसँग १ हजार २४२, नागरिक उन्मुक्ति पार्टीसँग ८९२ मत छ । स्वतन्त्र ७४८ मतभार छ । 

यता विपक्षमा रहेको कांग्रेससँग १६ हजार २२१ मत छ । नेकपा(एकीकृत समाजवादी) सँग २ हजार ७०१, लोसपा ९७१, जनमोर्चा २०६, नेमकिपा २२३, समाजवादी पार्टी ४८, हाम्रो नेपाली पार्टीसँग ९६ मतभार रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  ११:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC