
काठमाडौं । डा. सदानन्द कडेलद्वारा लिखित नियात्राकृति ‘मृतसागरमा तैरिँदा’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा नियात्राकार घनश्याम राजकर्णिकारलगायत स्रष्टाले कृति सार्वजनिक गरेका हुन् ।
राजकर्णिकारले डा. कडेलको यस कृतिमा समावेश नियात्राले पाठकलाई सँगसँगै हिँडाउने बताए ।
पुस्तकमाथि पाठकीय मन्तव्य राख्दै नियात्राकार जय छाङछाले नियात्राले इतिहास लेख्ने काम गर्ने उल्लेख गर्दै कडेलका नियात्राहरू रोचक र जानकारीमूलक रहेको बताए ।
अर्का नियात्राकार प्रतीक ढकालले अक्षर लेख्नेहरू सधैँ बाँच्ने चर्चा गर्दै कृति रुचिकर रहेको बताए ।
कार्यक्रममा नियात्राकार डा. कडेल, पवन आलोक, श्रीओम श्रेष्ठ रोदन, शंकर भारतीलगायत व्यक्तिले बोलेका थिए । स्रष्टा समाजद्वारा प्रकाशित यस कृतिमा २१ नियात्रा समावेश छ ।