
काठमाडौं । नेपाल मुक्तक प्रतिष्ठानले दुई स्रष्टालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको कार्यसमिति बैठकले नेपाली मुक्तक साहित्यमा योगदान दिने दुई सर्जकलाई पुरस्कृत गर्न लागिएको जनाएको छ ।
प्रतिष्ठानले लामो समयदेखि मुक्तक साहित्यमा योगदान पुर्याएका अग्रज साहित्यकार तथा चलचित्र सर्जक यादव खरेललाई ‘भीमदर्शन मुक्तक पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । उक्त पुरस्कारकासाथ ५१ हजार नगद राशिसमेत प्रदान गरिने जनाइएको छ ।
त्यस्तै मुक्तककार रुद्र ज्ञवालीलाई ‘कृष्ण–रत्न–चेतन मुक्तक पुरस्कार’ प्रदान गरिने भएको छ । उक्त पुरस्कारकासाथ ३१ हजार नगद राशि प्रदान गरिने प्रतिष्ठानका महासचिव यादव भट्टराईले जानकारी गराएका छन् ।
साहित्यकार यादव खरेलको २०३० सालमा नै ‘यादव खरेलका मुक्तकहरू’ कृतिका रूपमा प्रकाशित छ । यसकासाथै उनका विभिन्न विधाको गरी आठ कृति प्रकाशित छन् ।
मुक्तककार रुद्र ज्ञवालीको पनि दुई मुक्तककृति प्रकाशित छन् ।
नेपाली आधुनिक मुक्तक लेखनलाई शुरुवात गर्ने सर्जक भीमदर्शन रोकाको सम्मानमा ‘भीमदर्शन मुक्तक पुरस्कार’ र अग्रज मुक्तककारहरू कृष्णप्रसाद पराजुली, रत्नशमसेर थापा र चेतन कार्कीको सम्झना र सम्मानमा ‘कृष्ण–रत्न–चेतन मुक्तक पुरस्कार’ दुवै प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले स्थापना गरेका हुन् ।
दुवै पुरस्कार यही माघ १८ गते प्रतिष्ठानको दसौँ वार्षिकोत्सव तथा मुक्तक दिवसका अवसरमा समर्पण गरिने भट्टराईले जनाएका छन् ।