
काठमाडौं । इंग्लिस क्लब एभर्टनले मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको छ ।
शनिबार वेस्ट ह्यामसँग पराजित भएपछि एभर्टनले सोमबार लाम्पार्डलाई मुख्य प्रशिक्षकको जिम्मेवारीबाट मुक्त गरेको जनाएको हो । वेस्ट ह्यामसँगको उक्त हार एभर्टनले प्रिमियर लिगको पछिल्लो १२ खेलमा बेहोरेको नवौँ हार थियो ।
एभर्टन लिग तालिकाको पुछारबाट दोस्रो स्थानमा छ । एभर्टन पुछारमा रहेको साउथ ह्याम्पटनभन्दा गोलको आधारमा मात्र अघि छ । एभर्टनले २० खेल खेल्दा १५ अंकमात्र जोडेको छ । यस सिजन एभर्टनले हालसम्म तीन खेलमा मात्र जित निकालेको छ ।
इंग्ल्यान्डका पूर्वमिडफिल्डर ४४ वर्षीय लाम्पार्ड सन् २०२२ को जनवरीमा एभर्टनको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।
लाम्पार्डको प्रशिक्षणमा एभर्टनले उक्त सिजन तालिकाको १६ औँ स्थानमा रहँदै लिग टुंग्याएको थियो ।