site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारत र पाकिस्तानसित कस्ता र कति ड्रोन छन् ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । भारत–पाकिस्तानबीच तनावका बेला दुवै पक्षले एकार्कामाथि आक्रमण गर्न ड्रोन प्रयोग गरेको देखिएको छ । दक्षिण एसियाका यी दुवै देश आणविक शक्ति सम्पन्न छन् ।

भारतसित ड्रोन
भारतसँग धेरै प्रकारका ड्रोन छन् । बालाकोट ‘सर्जिकल स्ट्राइक’पछि इजरायलसँग धेरै ड्रोन सम्झौता गरिएको छ ।

भारतसँग स्काई–स्ट्राइकर ड्रोन छ । यो भारत र इजरायलको संयुक्त उद्यमअन्तर्गत बेंगलुरुमा निर्माण गरिएको हो ।

“भारतसँग धेरै प्रकारका ड्रोनहरू छन्,” नयाँ दिल्लीस्थित सेन्टर फर एयर पावर स्टडिजका वरिष्ठ फेलो एवं अवकाशप्राप्त ग्रुप क्याप्टेन डा. दिनेशकुमार पाण्डे भन्छन्, “परिस्थितिको संवेदनशीलता हेरेर सेनाले कुन ड्रोन प्रयोग गर्छ भन्ने कुरामा भर पर्छ ।”

उनी भन्छन्, “हाल भारतले धेरै देशमा ड्रोन निर्यात गरिरहेको छ । अमेरिका, इजरायल र अरू धेरै देशले भारतबाट ड्रोन किनिरहेका छन् ।”

भारतले सन् २०२१ मा लगभग १०० स्काई–स्ट्राइकर ड्रोन किनेको थियो । यसको ‘रेन्ज’ लगभग १०० किलोमिटर छ । यी ड्रोनले १० किलोग्रामसम्मका पेलोड (हतियार) बोक्न सक्छन् ।

यसमा आवाज कम हुन्छ । त्यसैले यी कम उचाइमा पनि प्रभावकारी मानिन्छन् ।

यसलाई बनाउने कम्पनीको दाबी छ, “यी शान्त, नदेखिने छन् र अचानक आक्रमण गर्छन् ।”

यस्तै, हारोप ड्रोनको रेन्ज धेरै उच्च छ । इजरायल निर्मित यो ड्रोनको विशेषता भनेको एक हजार किलोमिटरसम्म यात्रा गर्न सक्छ र लगभग नौ घण्टा हावामा उड्न सक्छ ।

पाकिस्तानले भारतले आफूविरुद्ध हारोप प्रयोग गरेको दाबी गरेको छ ।

आधिकारिक जानकारी अनुसार, हारोप एक एन्टी–राडार प्रविधि हो । यसका क्यामेराले ठूला सैन्य मेसिनरी पहिचान गर्न सक्छन् । यसमा सटीक सर्जिकल स्ट्राइक गर्ने क्षमता पनि छ ।

यसले २३ किलोग्रामसम्मको ‘वारहेड’ वा बम बोक्न सक्छ । यसलाई समुद्रमा युद्धपोतबाट पनि प्रयोग गर्न सकिन्छ ।

यसबाहेक भारतसँग तीन हजार किलोमिटरसम्मको रेन्ज भएको हेरोन मार्क–२ पनि छ । यो सन् २०२३ मा किनिएको थियो । २४ घण्टा हावामा रहन सक्ने यसको क्षमता छ ।

यसभित्र राडार आईआर क्यामेरा जडान गरिएको छ । यी ड्रोनले लेजर मार्किङमार्फत लक्ष्यको सही स्थान पनि प्रदान गर्छन् । यसलाई डेटालिंकमार्फत जमिनबाट नियन्त्रण गर्न सकिन्छ ।

पाकिस्तानसित ड्रोन
भारतीय सेनाका अनुसार, पाकिस्तानले बिहीबार (मे ८) राति जम्मू, पठानकोट र उधमपुरस्थित सैन्य अड्डामा आक्रमण गरेको थियो, जसलाई निष्क्रिय पारिएको थियो । अर्कोतर्फ, पाकिस्तानका रक्षामन्त्रीले उक्त आक्रमणको खण्डन गरेका छन् ।

भारतले बिहीबार पाकिस्तानले टर्कीमा निर्मित ड्रोन प्रयोग गरेको जनाएको छ । पाकिस्तानसँग स्वार्म ड्रोन छन् ।

अवकाशप्राप्त ग्रुप क्याप्टेन पाण्डे स्वार्म ड्रोनका बारेमा भन्छन्, “यो समूहमा अघि बढ्छ, यसलाई नष्ट गर्न सजिलो छैन, यसमध्ये धेरै बाँच्छन् पनि ।”

उनले भने, “यसलाई सानो समूहमा छोडिन्छ, तर हावामा उडेपछि एकसाथ हुन्छन् । यसले कुनै लक्ष्यलाई निसाना बनाउन सक्छ र त्यसको रक्षा पनि गर्न सक्छ ।”

पाकिस्तानसँग शाहपार–२ ड्रोन पनि छन् । २३ हजार फिटसम्म उडान गर्ने यसको क्षमता छ ।

अरब न्युजका अनुसार, पाकिस्तानले सन् २०२४ नोभेम्बरमा शाहपार–३ को पनि परीक्षण गरेको थियो । यो ड्रोन लगभग ३५ हजार फिटको उचाइमा पुग्न सक्छ । यसले ५०० किलोग्रामसम्मको पेलोड बोक्न सक्ने दाबी गरिएको छ ।

अवकाशप्राप्त ग्रुप क्याप्टेन पाण्डे भन्छन्, “पाकिस्तानसँग आफ्नै बुरेक ड्रोन मात्र छ, बाँकी सबै विदेशबाट खरिद गरिएको हो ।”

यसबाहेक पाकिस्तानसँग टर्कीमा निर्मित अकिन्सी ड्रोन पनि छ । यसले हावाबाट हावामा र हावाबाट जमिनमा आक्रमण गर्न सक्छ । यो आधुनिक प्रविधि र राडारले सुसज्जित छ ।

अकिन्सीबारे अवकाशप्राप्त ग्रुप क्याप्टेन पाण्डे भन्छन्, “यो एकदमै उन्नत प्रकारको ड्रोन हो, तर यसको संख्या थाहा छैन । किनभने, धेरैजसो अहिलेसम्म बनेका छैनन् । त्यसैले यो एउटा छ वा दुई/तीन भन्न सकिँदैन ।”

पाकिस्तानले भारतविरुद्ध कुन ड्रोन प्रयोग गरिरहेको छ भन्ने पुष्टि भएको छैन ।

दुवै देशका ड्रोनको शक्ति
भारतसँग मध्यम उचाइको २०० एमएएलई र ९८० मिनि यूएभी छन् । पाकिस्तानसँग ६० एमएएलई, ६० नौसेना, ७० वायुसेना र १०० सेनाका यूएभी छन् । यद्यपि, यसको कुनै आधिकारिक पुष्टि भएको छैन ।

भारतसँग हार्पी, हारोप, एमक्यू ९ रिपर र रुस्तम–२ छन् ।

हार्पी इजरायल निर्मित ड्रोन हो । यो नौ घण्टा उड्न सक्छ । यसको रेन्ज ५०० किलोमिटरसम्म छ । हार्पीले ३२ किलोग्रामसम्मको पेलोड लैजान सक्छ । यसको मूल्य लगभग ४० लाख अमेरिकी डलर छ ।

हारोप पनि इजरायल निर्मित हो । यो नौ घण्टासम्म उड्न सक्छ । यसको रेन्ज लगभग एक हजार किलोमिटर छ । यसले २३ किलोग्रामसम्मको पेलोड बोक्न सक्छ ।

यस्तै, एमक्यू ९ रिपर अमेरिका निर्मित हो । यसले १७ सय किलोग्रामसम्मको पेलोड बोक्न सक्छ । यसलाई अमेरिकाले इराक, सिरिया र अफगानिस्तानमा प्रयोग गरेको छ ।

यो हावामा २७ घण्टासम्म रहन सक्छ । यसको रेन्ज  एक हजार ८५० किलोमिटरसम्म छ । यो तीन करोड २० लाख डलर मूल्यको हो ।

रुस्तम–२ लाई भारतको डीआरडीओले बनाएको हो । यसको रेन्ज २०० किलोमिटरसम्म छ । यसले ३५० किलोग्रामको पेलोड बोक्न सक्छ । यसको मूल्य ५० देखि ६० लाख डलरसम्म पर्छ । यो हाल परीक्षण चरणमा छ ।

पाकिस्तानसँग टर्कीमा बनेको ब्यारकतार अकिन्सी छ । यसको लम्बाइ १२.२ मिटर छ । यसले एक हजार ५०० किलोग्रामसम्मको पेलोड बोक्न सक्छ । र, ४० हजार फिटको उचाइसम्म पुग्न सक्छ ।

यस्तै, ब्यारकतार टीबी–२ छ । यो पनि टर्की निर्मित हो । यो १८ हजार फिटको उचाइमा २७ घण्टासम्म रहन सक्छ । यसले १५० किलोग्रामसम्मको पेलोड बोक्न सक्छ ।

यसबाहेक पाकिस्तानसित चीनमा निर्मित सीएच–४ पनि छ । यो तीन पाँच हजार किलोमिटरसम्म जान सक्छ । यसले ३४५ किलोग्रामसम्मको पेलोड बोक्न सक्छ । बीबीसी हिन्दीबाट ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro