बहत्तर सालको नाकाबन्दी धेरै पुरानो नभए पनि अहिले त्यसलाई हामीमध्ये धेरैले आफ्नो सम्झनाबाट मेटाइसकेका छन् । त्यस वर्षको असोज ३ गते नेपालको संविधान घोषणा भएपछि भारतले असन्तुष्टि जनाउँदै गरेको अघोषित नाकाबन्दीले करिब ५ महिना नेपाली जनताको दिनचर्या कष्टकर बनायो । त्यसपछि भारतलाई हेर्ने नेपाली दृष्टिकोण निकै फरक भएको छ ।
अहिले पनि त्यो क्षण सम्झिँदा नमीठो लाग्छ । कसरी बाँच्न सकियो होलाजस्तो लाग्छ । रातभर लाइनमा बसेर पनि ग्यास नपाइनु, पेट्रोल खोज्न चारतिर भौँतारिनु, दैनिक उपभोगका सामान नपाएर कालोबजारमा खरिद गर्न बाध्य हुनु अनि ज्यानको जोखिम उठाएर छतमा यात्रा गर्नपर्नुजस्ता कारण त्यो नाकाबन्दी चर्कै परेको थियो । व्यापारव्यवसाय धमाधम बन्द भएका थिए । फलस्वरुप, कैयौं व्यक्तिको त रोजीरोटी नै खोसिएको थियो ।
नाकाबन्दीबाट दुःख पाइए पनि त्यसले नेपालीलाई धेरै कुरा सिकायो। हाम्रो परनिर्भरता, खोक्रो रास्ट्रवादलगायत धेरै कुरा त्यसअघि धेरै नेपालीले बुझेका थिएनन् । त्यस नाकाबन्दीलाई हामीले एउटा अवसरको रूपमा लिन सक्थ्यौँ तर लिएनौ । त्यसताका दुईवटा सरकार थिए । सुरुमा सुशील कोइरालाको सरकारबाट खासै केही हुनसकेको थिएन । त्यस सरकारले नाकाबन्दी शब्दको उच्चारण पनि राम्ररी गर्न भ्याएन । संविधान जारी भएको केही दिनभित्रै केपी ओलीको नेतृत्वमा नयाँ सरकार गठन भयो । त्यस सरकारबाट धेरै अपेक्षा थियो तर त्यो अपेक्षामै सीमित भयो । धेरै आशा गरिएको सो सरकारले आलोचना पनि भोग्यो ।
त्यो सरकारले धेरै वाचा गरेको थियो । देशमा विद्युतीय गाडी ल्याउने, हावाबाट बिजुली निकाल्ने, पानीको पाइपलाइनसमेत राम्रोसँग नपुगेको देशमा पाइपलाइनबाट ग्यास बाँड्नेसमेत भनियो। धेरै जनताले यसलाई असम्भवै ठानेका थिए। विभिन्न सपना देखाइएको थियो। साच्चै भन्नुपर्दा जनताको भावनासँग खेलबाडै गरिएको थियो । नाकाबन्दी आज खुल्ला, भोलि खुल्ला भन्दाभन्दै पाँच महिना चल्यो । जनताले त्यस बेला चीनसगँ नयाँ व्यापार सम्बन्ध सुरु गर्नुपर्छ भनी पटकपटक भनिरहेका थिए। एक समय लागेको पनि थियो चीनसँग नयाँ नाका खुल्नेछन् र भारतसँगको एकाधिकार तोडिनेछ । ती नाकासम्बन्धी अध्ययन गरिएकोजस्तो देखाइएको पनि थियो, तर केही भएन। न भारतसगँ वार्ता हुन सक्यो न त चीनसँगै सार्थक कुरा भयो । न त नेपालले अन्तर्राष्ट्रिय स्तरमा नेपालले कुरा उठाउन सक्यो । एकपटक चीन सरकारले दिएको अनुदानको तेलबाहेक अरू उल्लेख्य फाइदा लिएको देखिँदैन ।
तत्कालीन परराष्ट्र मन्त्री कमल थापा कहिले भारत र कहिले चीन धाइरहेका हुन्थे । प्रत्येकपल्ट उनी नाकाबन्दी चाँडो खुल्ने आश्वासन दिन्थे। त्यही समय भएको उनको एकपटकको चीन भ्रमणलाई निकै गम्भीरतासाथ हेरिएको थियो । त्यो भ्रमण उनले नेपालको लागि धेरै फाइदामूलक भएको भनेका थिए । त्यसमा धेरै सन्धि सम्झौता भएको भनिएको थियो तर त्यसको केही फाइदा देखिएन । थापाले त्यो वर्षको अन्त्यमा चीनबाट अनुदानको तेल ठूलो मात्रामा आउने भनेका थिए ।
तर जब फागुनमा नाकाबन्दी खुल्यो त्यो पूर्णरूपमा सेलायो । कसैले पनि त्यस बारे बोलेको सुनिएन । सामाजिक संजालबाट थापालाई मैले धेरै पटक यो प्रश्न सोधेको थिएँ तर उनले एकपटक पनि उत्तर दिएनन् । के तेल साँच्चै आएको थियो ? आएको हो भने कहाँ गयो त त्यो तेल ? जनतालाई किन बताइनएन ? हैन भने उनले किन त्यसो भने ? जनतालाई फकाउन ?
त्यसैगरी तत्कालीन प्रधानमन्त्री केपी ओलीले पनि चीन भ्रमण गरेका थिए । अरू भ्रमणभन्दा त्यो भ्रमण निकै सफल भनिएको थियो । तर त्यो भ्रमणको पनि अहिलेसम्म कुनै फाइदा देखियेको छैन। बरु उल्टै चीनसँग हाम्रो दूरी बढ्दै छ। यसले हाम्रै देशलाई घाटा हुन्छ ।
नाकाबन्दीमा भएका सबै कुरा हामीले बिर्सिसकेका छौ। त्यतिबेलाका वाचा अहिले कसैलाई याद छैन न नेतालाई न जनतालाई । भोलि कसैले देखेको छैन । त्यसैले फेरि अर्को नाकाबन्दी नहोला भनेर ढुक्क हुन मिल्दैन । यसैफे हामी आत्मनिर्भर हुन सिक्नुपर्छ । नाकाबन्दीमा जे वाचा गरिएको थियो त्यो पूरा गर्नुपर्छ। नत्र देश सधैँ यस्तै हावा तालमै चलिरहने छ ।
TWITTER: RawalKritik