site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
उत्सुकता
Sarbottam CementSarbottam Cement

वातावरण निकै शान्त र मधुमय थियो ।

एउटा पेन्सिल, इरेजर र सानो कापी किनेर छोराको खुल्दुलीमा बुजो लाइदियो हर्षलालले । छोरा भने साँच्चै स्कुल जान पाइने महान् उत्सुकताले देदीप्यमान थियो । बाबाको इजलासमा बिनासंंकोच आफ्नो आकांक्षा परिपूर्ति हुने कुराले अन्तरात्मादेखि नै आशा उमारेको थियो । बाबालाई भने छोराको दिन बिराएर आउने प्रस्तावले मनमा अन्तद्र्वन्द्व चलेको थियो ।

स्कुल जाने कुराले छोरा अनुद्विग्न थियो । त्यही कुराले बाबाआमा उद्विग्न । छोराको मन उत्कण्ठाले भरिएको थियो । आमाबाको मन बेचैनीले ।

Prabhu Bank
Agni Group
NIC Asia

शैक्षिकसत्रको अन्त्य हुन लागेको बेला भर्ना नगर्ने आमाबाबुको मनसायमाथि तारन्तार धावा बोलिरहेको थियो, छोराचाहिँ । छोराको दैनिकी नै भएको थियो, स्कुल जानलाई कस्सिएको ।

अनुनय रातभरि सुत्नै सकेन । आधा रातसम्म ननिदाएरै रह्यो । आमाबा निद्रालोकमा लीन थिए ।

Global Ime bank

बिहान उठेदेखिन् उसको मन काबुमा थिएन । मन उथलपुथल थियो । आमाबाले स्कुल पछि जाने भने पनि उसले आजैदेखि स्कुल जाने आफ्नो पुरानै मान्यतालाई यथावत् राख्यो ।

अदम्य उत्सुकताका साथ अनुनय स्कुल जान हतारियो । आफूसरहका सबैजना स्कुले झोला बोकेर लुखुरलुखुर स्कुल गएको देखेपछि आफू पनि भर्ना नभएरै स्कुल जान कस्सियो ।

बाआमासँगको घुर्क्याइमा सफल भएपछि उसले स्कुल जाने भिसा पायो ।

छिमेकी दिदीसँग ऊ स्कुल गयो ।

दश बजेको घण्टी बज्यो ।

लाइन लाग्न विद्यार्थीहरू तँछाड—मछाड गरे । अनुनय आफूजस्तै फुच्चाफुच्चीहरूको लाइनमा मिसियो ।

“कभर अप !” प्रार्थनाभन्दा पूर्व सामान्य अभ्यासको सुरुआत भयो ।

“कभर अप !” एकजना मास्टर जुँगाको ताउ मिलाउँदै चिच्याउँदा अनुनय झन्डै तर्सेर भाग्यो । सबैले दुवै हात सिधा अगाडि पारेर रहरलाग्दो बनाएको देखेर आफूले पनि त्यसै गर्न खोज्यो ।

तर, एउटा हात तल र अर्को माथि भयो । उसको नमिलेको हात कसैले हेरेन ।

“डाउन !”

छेउमै आएको मास्टरले फेरि उसको कानको जरा उखेलेर लग्यो कि जस्तै गरी चिच्यायो । ऊ एक्कासि झसंग हुँदा कसो पछाडिको साथीलाई उछिट्टिएर धकेलेन ।

डाउन शब्दका साथ सि धा हातहरू एकैचोटि गिरिप्प तल झर्दा उसले पनि हतारोमा हात तल झारेर यताउति हेर्यो ।

स्कुलको प्रांगणमा भएको यो अनौठो खेल अनुनयको जीवनको अत्यासलाग्दो र डरलाग्दो खेल थियो । उसको अधिकांश समय अलमलमै बित्यो । उसले सकभर सिको गर्न खोज्यो । जति कोसिस गरे पनि मरिगए मिलाउन सकेन ।

विस्तारै उसको उत्साह खलबलियो । झर्को मानीकन बाँकी समय समाप्तिको व्यग्र आशामा आँखाहरू मास्टरको मुखतिर घुमायो ।

वातावरण अझै जाडोमय थियो । चिसो मौसममा घामको न्यानोपना बिर्सी नसक्नुको थियो । मास्टरको कर्कश ध्वनि बुझ्न नसकेर अलमलमै उभिरहेको  अनुनयलाई साथीहरूको लैलैमा ताल मिलाउन खोज्दा सपनामा ऐँठन भएझैँ भयो ।

आफूजस्तै साना नानीहरूको स्कुले झोला बोक्ने र स्कुल पढ्ने रहर अब भने पछुतो र विरक्तमा अनुवाद हुन थाल्यो । अनुनयको दायाँबायाँ र अघिपछिका सबैले आफूमाथि ध्याकेन्द्रित गरेको कुरा उसलाई हेक्का हुन थाल्यो । हुन पनि अरू लाइन लाग्न सिकेका सबै उसलाई हेरेर मुखामुख गर्थे ।

साथीहरूको लाइन रहरलाग्दो लागे पनि जुँगामुठे मास्टरको कर्कश बोलीसँग पहिलो साक्षात्कार गरेको उसलाई मनोवैज्ञानिक रूपमा दबाब परेको थियो । स्कुलको प्रथम अनुभवमै मास्टरको बोलीमा भुईँचालोको आभास पायो ।

अनि, उसले बिहानको त्यो शारदीय प्रार्थना लाइनलाई आलोचनात्मक सर्मथन गर्न बाध्य भयो ।

राष्ट्रियगान सुरु भयो—

‘सयौँ थुंगा फूलका हामी...
मेची महाकाली...’

सबैजना लयमा लय मिलाउँदै थिए ।

अनुनय अरूले राष्ट्रियगान गाउँदा एकचोटि झन्डै नाच्न थाल्यो । नाच्ने बेला मिसले ननाच्ने संकेत गरेपछि ऊ एक छिन चुप लाग्यो ।

अरूले गाएका राष्ट्रियगान उसलाई रमाइलो लाग्यो । आफूलाई सम्हाल्न नसकेपश्चात् उसले पनि निकै गाउन जानेजस्तो गरी गायो— 
‘सय सय ठूगा...
लाला लाला लि लु...’

गाउँदा गाउँदै बीचैमा ऊ रोकियो । वरिपरिको वातावरणलाई अचम्म मानेर हेर्यो । दुईजनाले आफूलाई हेरेर हाँसेको उसले थाहा पायो । आफू हास्यपात्र भइरहेको उसलाई विस्तारै बोध हुन थाल्यो ।

हुन त ऊ राष्ट्रियगानमा आफूले पनि सुरमा सुर मिलाउँदा अत्यन्तै संवेदनशील स्वरयन्त्रमा नियन्त्रित भएर नै गाएको हुँ जस्तो गर्दै थियो ।

प्रार्थनालयको न्यायालयले उसको अञ्जानमा घटित भुल गायकीपनमा कुनै दण्ड–सजायको वकालत गरेन । राष्ट्रियगानको चौतर्फी हर्षध्वनिबीच उसको अबोधयुक्त लाला...लुलु गीत पनि बिनासुरताल समाप्त भयो ।

जीवनमा पहिलोपटक यो शारदीय प्रार्थनाको लाइनमा लामबद्ध हुँदा उसलाई अलिकति लज्जाभाव, अलिकति दरिद्रताभास र अलिकति एक्लोभासको नपत्याउँदो अनुभव भयो ।

“गोडा फाट् !”

जुँगामुठे मास्टरको कानको जाली च्यातिने कर्कश ध्वनिले परिवेश नै गुञ्जायमान भयो ।

सधैँ स्कुल जाने भन्ने अनुनयको त्यो प्रतीक्षाको दिन पनि आज समाप्त भयो ।

वातावरण सहज भए पनि मास्टरको कर्कश बोली उसलाई प्राणघातकजस्तै लाग्यो । सबै मास्टरहरू यस्तै त्रासदीयुक्त स्वरका प्रतिविम्ब नै हुन् कि भन्ने कुरो उसको बालसुलभ हृदयमा बेस्मारी हुँडलियो ।

अगाडि हेर्यो । पछाडि हेर्यो । दायाँ हेर्यो । बायाँ हेर्यो । सबैले खट्टा फट्ट्याको र हात पछाडि बाँधिएको झैँ देख्यो । अनि, आफूले पनि त्यस्तै गर्ने भरपुर कोसिस गर्यो ।

सबैको ड्रेस एकैनासको देख्दा उसलाई आफूलाई आउट ड्रेसमा हाँसको बीचमा बकुल्लो अनुभव गर्यो । यद्यपि, आफूजस्तै अरू आठ—दशजना पनि अर्कै लुगामा देख्दा भने उसको मनको एक कुनामा सन्तोष महसुस भयो ।

“सतर्क !”

यो आवाजले अनुनय साँच्चै तर्सेर झसंग हुँदा पछाडिका साथीसँग टाउको ठोक्कियो । दुईजनै भुईँमा लडे । कसैले देख्यो कि झैँ गरी दुवै एकसाथ हठात् उठेर अरूले जस्तै सर्तक अवस्थामै उभिए ।

अनुनयले जतिसुकै स्वाभाविक अभिनय गर्न खाजे पनि उसको मुहारविन्दुको यान्त्रिकता छताछुल्ल पोखिएको थियो । रहरलाग्दो पाठशालाको पहिलो कार्यक्रममै उसले आफूलाई संसारकै सबैभन्दा क्षीणहीन र निरीह प्राणी पायो ।

उसको आत्मविश्वासमाथि जुँगामुठे मास्टरको कर्कश बोली तगारो भयो । अघिसम्म स्कुल भनेपछि हुरुक्क हुने त्यो उत्साहको इन्द्रेणी यतिखेर गायब भइसकेको थियो । त्यो चञ्चलता, त्यो रौनक, त्यो खुल्दुलीपना यतिखेर त्यही मास्टरको कर्कश बोलीमा गोडा फाट् र सतर्कले खै कहाँ खेद्यो कहाँ !

अनुनयलाई आजको यो प्रार्थनालाइन एउटा डरलाग्दो जात्राजस्तै भयो । आफू स्कुल हतार आउनुको आत्मग्लानिमय खिचडी मनभित्र पाकिरह्यो । हठात् ऊ अतीतको गर्तमा लीन भयो ।

अनुनय हिउँमा खुब खेल्दै थियो । आफूजस्तै अरू बच्चाहरूसँग लहसिएर हिउँमा आनन्दानुभूतिको रसपान लियो । हिउँ खेलुञ्जेल उसलाई चिसोको कुनै प्रवाह भएन ।

हिउँलाई मूर्तिको स्वरूप दिइएको खुब मन पर्यो उसलाई । त्यसको सिको गर्दै आफैँ पनि बनाउने कोसस गर्यो । तर, हँुदै नभएपछि जस्तो भएको छ त्यस्तैमा मन मनाउन राजी भयो । पछि हात ठिहिर्याएर उधुमले रोयो । घरमा आमासँग रुँदै रहेको बेला एउटा जुँगामुठे मान्छे आफ्नो बुबासँग घरमा रक्सी खाँदै गरेको देख्यो ।

“बाबुलाई साह्रै चिसो भयो कि क्या हो ?,” त्यो जुँगामुठे बोल्यो ।

“दिनभरि हिउँमा नखेल्, चिसोले नराम्रोसँग पिराउँछ भन्दा मान्दै मानेन, अहिले ठिहिरयायो भनेर रुन्छ,” बाबाचाहिँले रक्सीको एक चुस्की लिँदै छोरातर्फ फर्केर अनाकर्षक अभिव्यक्ति ओकल्यो !

“यो त ज्ञानी मान्छे हो नि, यसलाई बेलैमा स्कुल पठाउनुपर्छ है,” जँुगामुठे घिच्रो तन्काउँदै बोल्यो । रक्सीसँग मासुको सितन मुखमा हाल्यो । फेरि बोल्यो, “ओइ कान्छा, अब स्कुल गएर पढ्नुपर्छ है । म तिमीलाई पढाएर ठूलो मान्छे बनाउँछु ।”

“छोरोलाई आउँदो शैक्षिकसत्रबाट स्कुल भर्ना गर्छु । स्कुले डेरेस किन्दिन्छु । स्कुले झोला किन्दिन्छु । कलम, कापी, किताब सबै चाइने चिज किन्दिन्छु । गाउँको सबैभन्दा विद्वान् बनाउँछु,” बाबुले जुँगामुठेलाई रक्सी थपिदिँदै बोल्यो ।

“भो, भो, धेरै भो,” जुँगाको ताउ मुसार्दै जुँगामुठे बोल्यो । एक छिन केही सोचेझैँ गरेर भन्यो, “दुनियाँका छोराछोरी पढाएर के–के बनाइयो भनेदेखुन्, यो तपाईंको छोरालाई मान्छे बनाउने जिम्मा मेरो भो । म पढाउँछु यसलाई कखरा...।”

अनुनय यतिखेर स्वाभाविक अवस्थामा आइपुगेको थियो । बुबा र जुँगामुठेको कुराले भित्रभित्रै कुतूहल छाएको थियो । अघिको उसको रुवाइ कता हरायो कता । दुवैजनालाई पालैपालो हेर्यो । 

अनुनयले तल्लो घरको विराटलाई सानो चिटिक्क परेको स्कुले झोलामा चिरिच्याँट्ट परेर हातमा टिफिन बक्स लिएर आफ्नै दिदीको अघिअघि लुखुरलुखुर स्कुल गएको हेर्दा आफू पनि स्कुल जाने मिठो सपना बुन्यो । बाबा र जुँगामुठेको लोभलाग्दो गफ सुनेर ऊ प्रफुल्लित भइरहेको थियो ।

“आमा, म पनि स्कुल जाने । झोलामा किताब, कलम राख्ने,” केही बिर्सेजस्तो गरी केही सम्झेझैँ गरी उसले फेरि भन्यो, “म नि टिफिन लगेर स्कुल जाने ।”

अनुनय ठ्याक्कै पाँच वर्ष भएको थियो । सामान्यतया कखरा त कहिलेकाहीँ घरमै सिकेको थियो । लेख्न भने अलि सकिरहेको थिएन ।

“तेरो गुरु मास्टर उहाँ नै हो, तँलाई पढाउने,” बाबाचाहिँले अनुनयलाई जुँगामुठेतिर औँल्याउँदै बोल्यो । मास्टरले जुँगैजुँगाले घेरिएको थुतुनो अनुनयतिर सोझ्याउँदै हेर्यो ।

अनुनय अलिक तर्सियो । मास्टरहरू यस्तै डरलाग्ने हुन्छन् कि भनेर ऊ झसंग भयो र उसलाई आजैदेखि मनको बाघले खाइहाल्यो ।

“बाबु, याँ आइज,” मास्टर बोल्यो । जाऊँ कि नजाऊँको दोधारमा अनुनयले आमाको मुखतिर पुलुक्क हेर्यो । हेर्दा त डरलाग्दो छ, झन् छेउमै भए त के गर्दाे हो ? यस्तै सोच्यो उसले ।

“आइज, म तँलाई चकलेट दिन्छु,” मास्टरले गोजी छामछाम छुमछुम गर्न खोज्यो । गोजी छाम्दा पनि हात लागिरहेको थिएन । तर पनि भित्री खोजीबाट एउटा चकलेट झिक्यो ।

अनुनय चकलेटको आसले मनको बाघलाई वास्ता नगरी मास्टरकहाँ गयो । मास्टरले काखैमा बसाल्यो । चकलेट खाँदै गर्दा मास्टरको जुँगाले अनुनयको गालामा च्वास्स घोच्यो ।

“ऐया..!”

अनुनय झसंग भयो । याद गर्दा ऊ स्कुलको प्रांगणमा आतंकित भएर लाइनमा हराइरहेको थियो ।

जुँगामुठे मास्टरको आतंकमय ध्वनि तरंगबाहेक उसलाई स्कुल रमाइलै भएको थियो । यद्यपि, मास्टरको कर्कश बोलीमा पनि आशातीत करुणामय नजर र दयालु मुस्कान पायो उसले ।

सबै पालैपालो आ–आफ्ना कक्षाकोठामा गए । अनुनयले पनि आफूजस्तै साना साथीहरूको बीचमा विराटलाई खोज्यो । विराट अनुनयभन्दा दुई–चारजना अगाडि थियो । अनुनय विराटकै पछिल्लो लाइनमा थियो । ऊ साथीहरूकै पछिपछि उत्सुकताको लहरमा लहरिँदै अज्ञात कक्षाकोठातिर हान्नियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  १०:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC