
विराटनगर । मुख्यमन्त्री बन्ने अकांक्षासहित प्रदेश–१ को कांग्रेस संसदीय दलमा नेता बन्न दौडधुप सुरु भएको छ । नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित तीन र समानुपातिकका एक सांसदले संसदीय दलको नेता बन्न ‘लविङ’ तीव्र पारेका छन् । यो दौडमा कांग्रेसको संस्थापन पक्षधर तीन (एक देउवा र दुई सिटौला पक्ष) र कोइराला पक्षका एक सांसद देखिएका छन् । प्रदेश–१ मा कांग्रेसले प्रत्यक्षमा १७ र समानुपातिक १२ गरी २९ जना सांसद प्राप्त गरेको छ । दलको नेता बन्न १५ मत आवश्यक पर्छ ।
समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने सांसदको अन्तिम टुंगो लागेसँगै सांसदले पार्टीबाट आफ्नो पक्षमा जनमत बनाउन सक्रियता बढाएका हुन् । सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की डा. शेखर कोइराला ‘प्यानल’बाट दलको नेताको दाबेदार छन् । एक कार्यकाल दलको प्रमुख सचेतकको भूमिका निर्वाह गरेका उनी सदनमा राम्रो उपस्थिति बनाउन सफल सांसद हुन् । मोरङ निर्वाचन क्षेत्र नम्बर ६ प्रदेशसभा निर्वाचन क्षेत्र २ बाट दोस्रो कार्यकालका लागि निर्वाचित कार्की कांग्रेस विपक्षमा हुँदा सदनमा खरो उत्रिएका थिए ।
भन्छन्, “प्रदेशको संस्थापक सांसद हुनुको नाता, प्रमुख सचेतकको सफल नेतृत्व लिएको र सरकार संचालनको अनुभवसमेत पाइसकेकोले अब मेरो दाबी दलको नेता हो । सरकारको नेतृत्व गर्न मुख्यमन्त्रीको जिम्मेवारीसमेत संहाल्न अब म सक्षम छु ।” संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने भएकाले नेतृत्वमा पुग्ने भएकाले सांसदहरू लविङ गर्न संघीय राजधानी काठमाडौं पुगेका छन् ।
तत्कालीन संविधानसभा सदस्य तथा मोरङ ५ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित अमृत अर्यालले आफूलाई भावी मुख्यमन्त्रीको रुपमा प्रस्तुत गर्दै चुनावी प्रचार गरेका थिए । संस्थापन पक्षका अर्याल पार्टीको मोरङ सभापतिको सफल भूमिका निर्वाह गरेको र अब प्रदेशलाई स्थापित गराउनसमेत आफ्नो भूमिका अपरिहार्य भएको दाबी गर्छन् । “यसअघि संसदीय सांसदमा खेलेको भूमिका, जिल्लामा गरेको नेतृत्व र संघीयता कार्यान्वयनमा प्रदेशलाई थप सवल बनाउन संसदीय दलमा मेरो दाबी हो,” अर्यालले भने, “गठबन्धनबाट प्रदेश–१ मा कांग्रेसले नेतृत्व गर्नुपर्दा मुख्यमन्त्रीकै रुपमा अब मैले काम गर्ने हो ।” संस्थापनका अर्याल पहिले प्रतिनिधिसभामा आफू निर्वाचित संघीय निर्वाचन क्षेत्रबाट यो पटक प्रदेशमा निर्वाचित बनेका हुन । २०७४ मा उनी प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका शिवकुमार मण्डलसँग पराजित भएका थिए ।
विराटनगर महानगरपालिकाको पूर्वमेयर तथा कांग्रेस केन्द्रीय सदस्य भीम पराजुली मोरङ ४ को प्रदेशसभा निर्वाचन क्षेत्र २ बाट निर्वाचत भएसँगै दलको नेता बन्ने दौडमा छन् । सिटौला पक्षका पराजुली आफू दलको नेता बनेर सरकार गठन गर्नु परे राप्रपा पनि सरकारमा सहभागी हुने दाबी गर्दै भन्छन्, “अहिल्यै कुन–कुन दल मिलेर प्रदेश सरकार गठन हुन्ने भन्ने तय छैन । तर म दलको नेता हुँदा राप्रपासहित साना दलकोसमेत समर्थन लिएर सरकार गठन गर्न सक्छु ।”
समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेस प्रदेश–१ का सभापति उद्धव थापा दलको नेता र मुख्यमन्त्रीका दाबेदार मानिएका छन् । सिटौला पक्षका थापा आफू दलको नेता बने सरकारको नेतृत्वसमेत गर्नसक्ने दाबी गर्छन् । प्रदेशसभामा संख्यात्मक हिसाबले बलियो उपस्थिति र संस्थापनको समेत सहयोग हुने अपेक्षमा रहेका थापा भन्छन्, “सफल रुपमा पार्टी संगठन संचालन गरेको लामो अनुभव अब प्रदेश सरकार संचालनमा प्रयोग गरी प्रदेशलाई दह्रो बनाउन मेरो भूमिका हुनेछ ।”
कुन नेताको समर्थन कसलाई ?
संस्थापनका सांसद अर्याल निर्वाचित हुनासाथ विराटनगरस्थित कोइराला निवास पुगेर नेता डा. शेखर कोइरालासँग भेटघाट गरी बधाई थापेका थिए । त्यसबेला अर्यालले कोइरालाको हातबाट टीका लगाउँदै गरेको फोटो निकै भाइरल बनेको थियो । यो परिदृश्यले समेत अर्याललाई कोइरालाले अघि बढाउन खोजेको संकेत मिलेको एकथरी कांग्रेसजनको अड्कल भए पनि गिरिजाप्रसाद कोइरालाको समयदेखि नै कोइराला निकट नजिक रहेका कार्की प्रवल दाबेदार मानिएका छन् । कसलाई समर्थन गर्ने भन्ने विषयमा डा. शेखर कोइराला खुलिसकेका छैनन् । तर, प्रदेशसभा र सरकारमा समेत दह्रो उपस्थिति जनाएका कार्कीप्रति उनी ‘नेगेटिभ’ रहेको भन्ने प्रचार अफवाह मात्र भएको स्वयम् कार्की बताउँछन् ।
यस्तो छ दलको अंकगणित