‘विकासे कार्यकर्ता’का नाताले समुदायका विभिन्न व्यक्ति तथा परिवार, स्थानीय संघसंस्था अगुवाहरू, दलका नेता तथा कार्यकर्तालगायतसँग भेटघाट तथा अन्तक्र्रिया गर्ने मौका पाइन्छ । मानिसका भावना, चाहना, दृष्टिकोण, मूल्य, मान्यतासँग परिचित हुन पाइन्छ । तिनले सोच्ने तरिका, गर्ने व्यवहार (प्रकट तथा अप्रकट) र तिनका परिवारका सदस्यहरुसँग र बीचमा हुने क्रिया अन्तक्र्रियाले समाज कता उन्मुख हुँदैछ भन्ने थाहा हुन्छ । यी सबै विषयलाई सकेसम्म एक आपसमा जोड्दै, स्थानीय तवर र सन्दर्भमै व्याख्या गरेर हेरियो भने व्यक्तिहरुको सोचको, जीवन पद्धतिको र भविष्यले लिनसक्ने संभावित बाटोको पनि यौटा चित्र बन्न पुग्छ ।
शताब्दीयौंदेखि दबाइएका, तल्लो व्यवहार गरिएका र मान्छेको जुनीमा जन्मे पनि मान्छे हुन नसकेका भनी हेपिएका र बाँच्न पनि ’सके आफैं गर नसके मर’ भने झैँ मूल्यहीन बनाइएका मानिसले बिस्तारै आफूलाई त्यसरी नै हेर्न थाल्छन् र आफैंँलाई पनि विश्वास गर्न छोड्छन् । चमत्कारी वा दैवी शक्ति उनीहरुको बाँच्ने आधार हुन्छ । सोच र अभ्यास गुजाराभन्दा माथि उठ्न सक्तैन र पुस्तौँ त्यसैमा रुमल्लिई रहन्छ । जीवन मूल्य शून्य प्रायः हुन्छ, भावना, चेत, दया माया, विश्वास, आफ्नोपन र मूलतः भविष्य केही रहँदैन । रहन्छ त, जसोतसो गुजारा चलाएर बाँचेको भ्रममात्र ।
तराईका अधिकांश जिल्लामा युगौंदेखि बसोवास गरिरहेका मुसहर समुदायसँग काम गर्ने मौका विगत केही समयदेखि जुरिरहेको छ । यो समुदाय माथि भनिएजस्ता सबै प्रकारका शोषण, उत्पीडन तथा विभेदको उदाहरण हो । क्रषिदेव वा सदा थरले चिनिने यिनीहरु प्रायः उन्मुक्त जीवन यापन गर्न चाहने जाति मानिन्छन् । तर, प्रकृतिमाथि मान्छेको दोहन र अधिपत्य कायम भएपछि यिनको स्वतन्त्रता निरीहतामा बदलिएको छ र यिनीहरु अहिले ’दास’को जीवन बिताउन बाध्य भएका छन् ।
मुसा मारेर तथा बाली भित्र्याउने बेलामा मुसाको दूलोमा जम्मा गरिएको अन्न संकलन गरेर अनि माटो खन्ने काम गरेर आय आर्जन गर्ने मुसहरहरु अधिकांश सुकुमवासी छन् । बाटाका छेउछाउमा झुप्रा बनाएर बस्ने यिनीहरुमध्ये अधिकांशको जन्म दर्ता, विवाहदर्ता, नागरिकता प्रमाणपत्रजस्ता आधारभूत अनिवार्य कागजातसमेत हुँदैनन् । यस्ता अत्यावश्यक कागजात नभएकासँग घरजग्गा त हुने कुरै भएन । यस्तो अवस्थामा बाँच्ने समूह/वर्गलाई हाम्रोजस्तो सामन्ती समाजले कसरी हेर्छ भन्ने भनिरहनै पर्दैन ।
मुसहरलाई खिस्याएर सुनसरीतिर भनिने “परेवा धन र मुसहर जन” उक्तिले नै समाजले यिनलाई हेर्ने दृष्टिकोण स्पष्ट हुन्छ ।
यहीँको माटोमा जन्मेका वंशज नागरिक भए पनि अनागरिकसरह बाँच्न विवश यस समुदायप्रति लक्षित विभिन्न कार्यक्रम सञ्चालन भइरहे पनि मूल विषयभन्दा सबैको धयान
छेउछाउका कुरामा गएको देखिन्छ । शिक्षा, स्वास्थ, आयमूलक कार्यक्रममा सहयोग गरिए पनि यिनीहरुमा जरोगाडेर बसेको हीनताबोध नहटाई तथा नागरिक अधिकार स्थापित गरेर स्थायी बसोवासको व्यवस्था नगरेसम्म अन्य प्रयास खासैै सार्थक नहुने अहिलेसम्मको अनुभवले देखाइसकेको छ ।
संयोगले सरकारले उच्च महत्वाकांक्षाका साथ सुरु गरेको ’जनता आवास कार्यक्रम’मा म संलग्न भएको कार्यक्षेत्रका ३० घरपरिवार मुसहरसमेत समावेश हुने जानकारी पाएपछि हामीले गरिरहेको कामसँग यसलाई जोड्न पाए प्रतिफल प्रभावकारी हुने विश्वासका साथ सम्बन्धित घरपरिवार, सहरी विकास कार्यालय र लक्षितवर्ग छनोट समितिका संयोजकसँग विभिन्न चरणमा छलफल भयो ।
यीमध्ये १८ परिवार एकीकृत बस्तीमा गएर बस्न अगाडि सरे । सकारात्मक ढङ्गले यो प्रक्रिया अघि बढेपछि मुसहरहरुलाई पायक पर्ने ठाँउमा जग्गा खोजी गरेर सहकारी संस्थामार्फत् न्यून ब्याजदरमा उनीहरुकै नाममा जग्गा पास गरी जग्गा धनी प्रमाणपत्र तयार भयो । जीवनमा पहिलोपटक आप्mनो हकको जग्गाको लालपुर्जा हातमा पर्दा उनीहरुको अनुहारमा बेग्लै चमक देखिएको थियो । अझ यीमध्ये केहीले त जग्गा पत्नीका नाममा पास गरे । त्यो उनीहरुमो बढ्दो चेतनाको प्रमाण हो ।
उनीहरूकै नामको जमिनमा सहरी विकास मन्त्रालयबाट पाएको किस्ताबन्दी रकमसमेत लगाएर गरिएको १८ वटा घरको निर्माण अहिले अन्तिम अवस्थामा पुगेको छ ।
यसै प्रसङ्गमा मन्त्रालयले पनि जनता आवास कार्यक्रममा यसरी सामूहिक बस्तीको रुपमा घरहरु पहिलो पटक निर्माणहुने भएपछि मुसहरुका देवता दीनाभद्रीको मन्दिर तथा सामुदायिक सभाकक्षको निर्माण तथा बस्तीमा मोटर चल्ने बाटोको निर्माणसमेत गरिदिने भएको छ । यसबाट स्थानीय संस्कृति तथा परम्परालाई जीवित राख्न र मुसहर समुदायको मनोबल उकास्न महत्वपूर्ण सहयोग हुनेछ ।
आश्चर्य, यति भइसक्ता पनि लाभान्वित समुदायमा जुन प्रकारको उत्साह तथा जीवनप्रति विश्वास देखिनुपर्ने हो त्यसो भएजस्तो मलाई लागेकोे छैन । भविष्यका प्रति विश्वस्त र आशावादी हुन यस समाजका सदस्यलाई थप केही समय लाग्नु स्वाभाविक पनि होला । किनभने अहिलेसम्म पनि उनीहरुभित्र जरा गाडेर बसेको हीनताबोध र सन्देह बलियो छ ।
तिनमा हामी कोहीभन्दा कम हैनौ भन्ने आत्मविश्वास जगाएर समाजका अरू समुदायले जस्तै सोच्ने र तदनुकूल व्यवहार गर्ने तथा उपलब्ध अवसर छोप्ने, सही वा गलत खुट्टयाएर सही छान्न सक्ने कौशल विकास हुन पक्कै पनि सफलताका थप प्रमाण आवश्यक हुन्छन् । यसमा हामी विकासे कार्यकर्ता वा विज्ञले गरिदिएको नभनी यो म आफैंलाई परेको भए यसरी गर्थें भन्ने सोचेर उनीहरुसँगै बसी तिनको सोच बदल्न प्रमाणसहित काम गर्नुपर्ने हुन्छ । एक दुईपल्ट उठी सकेपछि मात्रै फेरि नलड्ने विश्वास जगाउन सकिन्छ ।
अहिलेको उनीहरुको यो प्रयास विश्वास जगाउने कारक हो । हामी सबैले यसमा बल दिए उनीहरु उठ्न र संसारको बदलिदोँं रीतसँग भिज्न समय लाग्नेछैन । मान्छेले बाँच्न र अझ उन्नत जीवन यापन गर्न गरेको संघर्षको इतिहासले यसै भन्छ ।