site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संविधानको मर्ममै प्रहार 

चुनाव सकियो । अपेक्षा होइन अनुमान गरेजस्तै भयो निर्वाचन परिणाम । प्रतिनिधि सभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल त भयो तर सरकार बनाउन गठबन्धनका सबै दल मिलाउँदा पनि नपुग्ने गरेर । नेकपा (एमाले)ले समानुपातिक मत सबैभन्दा धेरै त पायो तर सरकार बनाउन भने झन् धेरै दलको सहयोग चाहिनेगरी । यसैले नयाँ निर्वाचनपछि पनि समस्या जस्ताको तस्तै रहेको छ ।

कांग्रेसभित्र संसदीय दलको नेतामा चुनाव होलाजस्तै छ । सभापति शेरबहादुर देउवालाई जोतिसीको भविष्यवाणी चरितार्थ गर्नका लागि पनि फेरि प्रधानमन्त्री बन्नु छ । महामन्त्री गगनकुमार थापालाई निर्वाचनमा अभिव्यक्त जनमतको सम्मान गर्नैका लागि पनि संसदीय दलको चुनावमा उठ्नै पर्ने हुन्छ । 

गगनले जित्ने सम्भावना भने निकै झिनो देखिन्छ । गोप्य मतदान हुने भएकाले पार्टी र देशको भविष्यको चिन्ता गर्नेहरूले गुटको घेरा तोडेर गगनलाई सहयोग गर्लान् कि भन्ने अपेक्षा कांग्रेसका शुभचिन्तकको मात्र होइन जनसाधारणकाे पनि छ । 

दाबी त रामचन्द्र पौडेल र डा. शेखर कोइरालाको पनि सुनिएको छ । यद्यपि, शेखर उति मुखर भएका छैनन् । डा. शशाङ्क कोइरालाले देउवालाई नै सघाउने समाचार सार्वजनिक भएको छ । पौडेल वा शेखर संसदीय दलमा चुनाव लड्न भने तयार नहोलान् । यसैले जनताले दिएको ‘परिवर्तनको’चर्को र स्पष्ट सन्देश कांग्रेसले नसुन्ने लक्षण देखिइसक्यो ।

अर्को ठूलो दल एमालेमा त अध्यक्ष खड्गप्रसाद ओलीलाई कसैले चुनौती नै दिएका छैनन् । चुनौती दिन खोज्नेहरूलाई उनले चुनावभन्दा पहिले नै पन्छाइसकेका छन् । लाग्छ, आफैँले नछाडेसम्म ओली र एमाले पर्याय भएका छन् । 

अरू खुद्रा दलहरूले त कांग्रेस वा एमालेकाे काँधमा चड्न पाए न सरकारको नेतृत्व गर्ने हो । कांग्रेस र एमालेबाहेकका अरू सबै मिले पनि बहुमत पुग्दैन । यी दुवै दलकाे नेतृत्व भने ‘विक्रमादित्यको काँधमा बसेको बेताल’जस्तो छ ।

यसैले भो नदेखौँ परिवर्तनको सपना । देउवा वा ओली नै हुने हुन् अब पनि  । हदै भए पुष्पकमल दाहाल वा माधवकुमार नेपाल अघि सर्लान् । यसैले अर्को पाँच वर्ष पनि खेर जाने डर नै धेरै छ । नियतिले नै नेपालीलाई ठगेपछि के लाग्यो ? 

समानुपातिकमा परिचरको प्रभुत्व 

समानुपातिक प्रतिनिधित्वको चयनमा पनि राजनीतिक दलका कथित शीर्ष नेताले संविधानकाे मर्ममै प्रहार गरेका छन् । लाग्छ, यिनीहरू संविधानका सबै प्रगतिशील र उदार प्रावधानहरूले उपहास गर्न कम्मर कसेर र सबै मिलेर लागेका हुन् । जेजस्ता नाम निर्वाचनमा बुझाइयो भनेर समाचारमा आएकाे छ त्यसले समानुपातिकजस्तो न्यायपूर्ण पद्धतिलाई पनि यसरी विकृत बनाउन सकिँदो रहेछ भन्ने आश्चर्य नै हुन्छ ।

संसद् जनताको प्रतिनिधि संस्था हो । यसैले संसद्को आदर्श संरचना जनसङ्ख्याको आकारजस्तै हुनुपर्छ । यसमा कम्तीमा जाति, उमेर, लिङ्ग र अवस्थाको सङ्ख्याअनुसारको प्रतिनिधित्व हुनुपर्छ । यसका साथै नेपालकाे संविधानले समावेशी प्रतिनिधित्वको पनि परिकल्पना गरेको छ । समाजको सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गराउन समानुपातिक निर्वाचनको व्यवस्था भएको हो । दुर्भाग्य, यसलाई दलका लोभीपापी नेताहरूले परिजन पोस्ने उपाय बनाइदिए । 

प्रतिनिधि सभामा कुनै चेपाङ, राउटे वा कुसुन्डाको प्रतिनिधित्व गराउने जमर्को कुनै दलले गरेनन् र चुनाव हार्ने डरले समानुपातिकबाट संसद् जान खोज्नेहरूकै बिगबिगी भयो । नेता पत्नीहरूको त बथानै छ क्या रे सबै पुराना पार्टीबाट ! नयाँ पार्टीहरू पनि यही परिवार र परिजनको रोगबाट मुक्त रहेनन् । पुरानाले जे गरे यिनले पनि त्यही गरे । पुरानैको सिको गर्ने हो भने जनताले नयाँलाई भोट दिनु पनि खेरै फालेसरह भयो । 

नेताहरू यसरी संविधानको मर्ममा प्रहार गर्ने अनि दोष संविधानलाई दिने ! धत् ! नकच्चराहरू । 

राष्ट्रपति कस्तो छान्ने : भनेको मान्ने कि दुनियाँले मान्ने ?

भरोसालाग्दो प्रधानमन्त्री पाइने सपना नियतिले नै हस्तक्षेप गरेबाहेक तुहिएजस्तो छ । अब कम्तीमा देशको राष्ट्रपति चाहिँ जनताले श्रद्धा गर्न सक्ने चुने हुन्थ्यो । (सम्भावना भने अत्यन्त कम छ । राष्ट्रपति पदलाई पनि सत्ताको भागबन्डामा हिस्सा बनाउने गरिएको छ ।) थपनाकै (आलङ्कारिक) भए पनि राष्ट्रपति त देशकै सर्वोच्च पदाधिकारी हो नि । 

गणतन्त्रपछि जनताले दुई जना राष्ट्रपति देखे । समुदाय र लिङ्गका दृष्टिले बाहेक तिनमा गर्व गर्नुपर्ने वा गर्न सकिने केही देखिएन । कांग्रेसका महामन्त्री र एमालेकी उपाध्यक्ष राष्ट्रपति बनाइए । तिनीहरूमध्ये पनि बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीले बढी नै निराश बनाइन् जनतालाई । पदको सान देखाउन मन पर्ने तर मान राख्न नसक्ने राष्ट्रपतिमा उनको गणना हुनेछ । उनको पनि पदावधि सकिन लाग्यो । यसैले थप केही नभनौ ।    

प्रधानमन्त्री पनि देशले सम्मान र गर्व गर्न सक्ने उच्च नैतिक मनोबल भएको व्यक्ति भए हुन्थ्यो । तर, त्यसको सम्भावना अत्यन्त कम छ । यसैले अब पदको मर्यादा धान्न सक्नेलाई राष्ट्रपति बनाउनुपर्छ । 

देशको राष्ट्रपति लामो सार्वजनिक जीवन भएको तर विवादमा नमुछिएकाे व्यक्ति हुनुपर्छ । सबै वर्ग र समूहले अभिभावक ठान्न सक्ने र कसैले पनि शत्रु नदेख्ने व्यक्तिलाई बनाउनुपर्छ राष्ट्राध्यक्ष । सकेसम्म कुनै राजनीतिक दलमा संलग्न नभएको तर लोकतान्त्रिक प्रतिबद्धता, देशभक्ति र इमानमा कुनै शङ्का गर्न नपर्ने व्यक्ति होउन् न राष्ट्रपति त !

दलका नेताले अह्राएको मान्ने होइन जनताले ‘मान्ने’ व्यक्ति हुनुपर्छ राष्ट्रपति । नेताहरूलगायत सबैले अदब मान्ने, राष्ट्रिय जीवनमा ख्यातिप्राप्त निष्ठा र नियत कहिल्यै नडगमगाएको व्यक्ति छानेर सकेसम्म निर्विरोध राष्ट्रपति बनाउन सके गणतन्त्र साँच्चै गर्वको विषय बन्नेछ ।   

कसैको अतृप्त सत्ताकांक्षा पूरा गर्न, कसैलाई अपराधबाट उन्मुक्ति दिन वा  सत्ताको ‘बार्गेनिङ टुल्स’ बनाउन कोही राष्ट्रपति नबोस् न बनाइयोस् । दुर्भाग्य, नेपाली कांग्रेस र नेकपा (एमाले)का शीर्ष नेताहरूबाट यस्तो अपेक्षा राख्नु नै मूर्खता हुन्छ । तर, यी दुवै दलमा र केही अरू दलमा पनि  देशको माया र भविष्यको चिन्ता भएका सांसदहरू त होलान् नि । 

विशेषगरी जनताले अलि पत्याएका कांग्रेस र एमालेका विवेक भएका नेता कार्यकर्ताले विकेक देखाऊन् । फेरि पनि अहिलेकै प्रवृत्ति दोहोरियो भने कलङ्कका तिनीहरूमाथि पनि लाग्नेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  ११:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro