
लाहोर । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले मुलुकको राजनीतिक अस्थिरता अन्त्यका लागि यथासंभव छिटो चुनाव गराउन तिथि तय गर्ने उद्देश्यले वार्ताको आयोजना गर्न सरकारलाई शुक्रबार आग्रह गरेका छन् ।
गत अप्रिलमा क्रिक्रेटरबाट राजनीतिज्ञ बनेका खानलाई अविश्वासको प्रस्ताव राखेर प्रधानमन्त्री पदबाट हटाइए यता पाकिस्तानको राजनीतिक अवस्था अनिश्चित र अस्थिर रहँदै आएको छ ।
संयुक्त विपक्षी समूहको संसदमा भएको मतदानबाट सत्ताबाट बाहिरिन बाध्य भएयता ७० वर्षीय खानले तत्कालै आम निर्वाचनको माग गर्दै मुलुकभरि र्याली गर्दै आएका हुन् ।
तर, प्रधानमन्त्री शेहेवाज सरिफले मद्यावधि चुनावका लागि खानले गरेको माग अस्वीकार गर्दै आएका छन् । सरिफले आम निर्वाचन निर्धारित समय अर्थात् आगामी वर्ष मात्र सम्पन्न गराइने बताइरहेका छन् ।
फलस्वरूप हालै मात्र खानले आफ्नो पार्टी र गठबन्धन साझेदारहरूले शासन चलाउँदै आएका दुईवटा प्रान्तका संसद भङ्ग गर्ने चेतावनी दिएका थिए ।
टेलिभिजनमार्फत आफ्ना पार्टी सदस्यहरूलाई सम्बोधन गर्दै खानले भनेका थिए, “सरकारले आगामी चुनाव आयोजनाका लागि तुरुन्तै हामीसँग आएर वार्तामा बस्नुप¥यो, नत्रभने हामीले प्रान्तीय सभाहरू विघटन गरिदिन्छौँ ।”
केही समयअघि मात्र एउटा विरोध ¥यालीमा सहभागी हुने क्रममा खानमाथि गोली प्रहार भएको थियो । तर, गोली खुट्टामा लागेकाले उनको ज्यान जोगिएको थियो ।
खानको पार्टीले सन् २०१८ को चुनावमा सफलता पाएका थियो । तर, विपक्षीहरूले सेनाको सहयोगमा खानले धाँधली गरेर चुनाव जितेको आरोप लगाएका थिए । सो आरोप खान र पाकिस्तानी सेनाले अस्वीकार गरेका थिए । पाकिस्तानी राजनितिमा सेनाको ठूलो प्रभाव पर्ने गरेको छ । त्यहाँ पटकपटक सेनाले पनि सत्ताको नेतृत्व गरिसकेको छ । बीबीसीबाट