site stats
बाह्रखरी :: Baahrakhari
विदेश
दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसाविरुद्ध महाभियोगको खतरा 

जोहान्नेसवर्ग । दक्षिण अफ्रिकाका राष्ट्रपति साइरिल रामाफोसामाथि ‘फार्मगेट’ काण्डलाई लिएर महाभियोग लाग्न सक्ने खतरा देखिएको छ । उनीविरुद्ध सन् २०२० मा उनको फार्मबाट चालिस लाख अमेरिकी डलर बराबरको सामान चोरी घटनालाई ढाकछोप गरेको र चोरहरुलाई अपहरण गरेर चुपचाप घुस ख्वाएको अभियोग लगाइएको छ । 

एउटा स्वतन्त्र आयोगले तयार पारेको तीन अध्यायको प्रतिवेदनमा रामाफोसाले आफ्नो पदीय शक्ति दुरुपयोग गरेको र भ्रष्टाचारविरुद्धको कानुन पनि तोडेको हुनसक्ने पत्ता लागेको उल्लेख गरिएको छ ।
 
तर, उनले आफूले कुनै पनि गलत काम नगरेको अडान लिँदै राँगा र भैँसी बेचेर आएको पाँच लाख ८० हजार डलर मात्र चोरी भएको बताएका बीबीसीले लेखेको छ । 

आयोगले पत्ता लगाएका निष्कर्ष संसद्मा बुझाइएको छ । विधायकहरुले त्यसलाई परीक्षण गरी आगामी साता राष्ट्रपतिविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउने वा नबढाउने भन्नेबारे निर्णय गर्ने भएका छन् । 

रामाफोसाले सन् २०२४ मा आफ्नो पार्टी अफ्रिकन नेसनल कंग्रेस (एएनसी)बाट दोश्रो कार्यकालका लागि चुनाव लड्न सक्छन् कि सक्तैनन् भनेर सम्मलेनले निर्णय गर्ने समय एक महिनाभन्दा कम मात्रै बाँकी रहेको छ । यसअघि, भ्रष्टाचार विरोधी टिकटबाट चुनाव उठेका रामाफोसाको छविमा यो घटनाले आँच पु¥याउन सक्छ ।
 
एएनसीको एक उच्च निकायको बिहीबार बस्ने बैठकमा आयोगको प्रतिवेदनमाथि छलफल हुने अनुमान छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  २३:११