काठमाडौँ । तियानमेन स्क्वायरमा भएको विरोध प्रदर्शनपछि सत्तामा आएका चीनका पूर्वनेता च्याङ चमिङको ९६ वर्षको उमेरमा बुधबार निधन भयो । क्यान्सर र शरीरका विभिन्न अंगले काम गर्न छोडेपछि निधन भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
च्याङको नेतृत्वमा चीनले खुला अर्थतन्त्र र तीव्र गतिको प्रगति गरेको थियो । चीनका लागि नेपालका पूर्वराजदूत राजेश्वर आचार्यका अनुसार उनले सन् १९९६ मा नेपालको भ्रमण गरेका थिए । पूर्वराष्ट्रपति च्याङ नेपालको एक हितैषी मित्र रहेको र उनको निधनले अपूरणीय क्षति पुगेको आचार्यले बताउँछन् ।
पूर्वराजदूत आचार्य भन्छन्, “बडा दुखद खबर सुनेँ मैले । उहाँ नेपालको असल मित्र हुनुहुन्थ्यो । नेपालको विकासको चाहना, सुरक्षा र राजनीतिक स्थायित्वको लागि परिआएको आर्थिक र प्राविधिक सहयोगका बाबजुद चीनबाट जहिले पनि सहयोग पायौँ । उहाँको देहावसान नेपालको लागि ठूलो क्षति हो ।”
१९९८ अक्टोबर २६ मा तत्कालीन राष्ट्रपति च्याङसामु उनले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका थिए । उनले त्यस बेला अध्यक्ष माओ त्सेतुङ र तङसिओपेङका बारेमा नेपालीलाई जानकारी भएको बताएका थिए । सो क्रममा राष्ट्रपति च्याङसँग उनको सहज र स्पष्ट संवाद भएको उनी अझै सम्झिन्छन् ।
“माओ महान् नेता भए पनि उहाँको कार्यकालमा गरेका निर्णय ७० प्रतिशत सही र ३० प्रतिशत गलत थियो,” च्याङको भनाइ उद्धृत गर्दै आचार्यले सुनाए । च्याङले चिनियाँ भाषामा बोलेका थिए । अनुवादकले आचार्यका लागि अंग्रेजीमा उल्था गरिदिएका थिए ।
“आत्मालोचना गर्ने संस्कार त्यहाँ रहेछ र सो कुरा पार्टीले पनि निर्णय गरेको रहेछ,” उनले थपे ।
‘ग्रेट्ली फर्भर’, पछि सांस्कृतिक क्रान्ति, भोकमरी र राजनीतिक प्रतिशोधका कारण चीनमा धेरै मानिसको ज्यान गयो । धेरैले दुःख पाए । त्यसपछि माओको नेतृत्वमा स्थिति सहज बनेको थियो । सोही कारण माओलाई चिनियाँले महान् नेता मान्ने गरेको आचार्यको भनाइ छ ।
“तर, उहाँबाट केही गल्ती पनि भयो । त्यो एहसास नेतृत्वमा रहेछ । त्यति ठूलो कुरा मलाई राष्ट्रपति च्याङले बताउनुभयो,” उनले भने, “त्यो भेटमा च्याङले भनेको अर्को महत्त्वपूर्ण कुरा थियो, विदेशीहरूले मानवअधिकारको कुरा गर्छन्, तर हामीले १.३ बिलियन मानिसलाई खुवायाँै, कोही भोकमरीले मर्नु परेन । सबैलाई खाद्यान्न र लत्ताकपडा पुगेको छ भने त्यो मानवअधिकार हो कि होइन ?”
स्थानीयस्तरमा चीनमा प्रजातान्त्रिक अभ्यास छ । नेपालमा जस्तै वडाहरूमा प्रत्यक्ष निर्वाचन हुने गर्छ । अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरले कार्टर फाउन्डेसनबाट निर्वाचनमा अनुगमन गर्न प्रतिनिधि खटाएको र आफैँ समेत प्रतिनिधि भएर गएको आचार्य सम्झिन्छन् ।
राष्ट्रपति च्याङकै पालामा चीनसँग महत्त्वपूर्ण सम्झौताहरू भएका थिए । तत्कालीन राजदूत आचार्यकै पहलमा स्याप्रुबेँसी–केरुङको बाटो बनाउने निर्णय, नेपाललाई चीनको बाह्य गन्तव्य मुलुक बनाउन र पर्यटन विकासका लागि सम्झौता, बानेश्वरमा सिभिल अस्पताल निर्माणलगायत धेरै परियोजनाहरू अघि बढेका थिए ।
च्याङको पालामा चीनले नेपालसँगको सम्बन्धलाई महत्त्वपूर्ण स्थान दिएको थियो । त्यस बेला भएका दुई राजाको भ्रमण त्यसको एक उदाहरण हो । स्व. राजा वीरेन्द्र शाहको चीन भ्रमण र उनको वंश विनाशपछि बनेका राजा ज्ञानेन्द्रको चीन भ्रमणको बेला पनि राजदूत आचार्य साथमै थिए । ती भ्रमणहरू याद गर्दै आचार्य भन्छन्, “उहाँको कुराकानीबाट हेर्दा नेपालप्रति ज्यादै सद्भावना राख्ने, माया गर्ने राष्ट्रपति र नेताको रूपमा मैले पाएँ ।”
सन् २००१ मा एसियामा बोआओ फोरम गठन हुँदै थियो । त्यसमा चीनकै कारण राजा वीरेन्द्र पुगेको र फोरमलाई सम्बोधन पनि गरेका उनी बताउँछन् । उनी भन्छन्, “त्यस बेला राजा वीरेन्द्रले उहाँसँग तीनपटक भेट्नुभयो । २००१ को फेब्रुअरीमा बिहान राजा र राष्ट्रपति च्याङबीचमा करिब २० मिनेट वार्तालाप भएको थियो ।”
त्यही दिन अर्थात् फेब्रुअरी २७ मा बोआओ फोरमको उद्घाटनका क्रममा हाइकोमा पनि राजा वीरेन्द्र, राष्ट्रपति च्याङ र मलेसियाको पूर्वप्रधानमन्त्री डा. महाथिर मोहमद एउटै टेबलमा बसेका थिए ।
यस्तै, मार्च २००१ मा बेइजिङमा राजा वीरेन्द्र र राष्ट्रपति च्याङबीच वार्तालाप भएको थियो ।
आचार्यका अनुसार राजा वीरेन्द्रको चीन भ्रमणको बेला रात्रिभोजमा च्याङले अंग्रेजी गीत समेत गाएका थिए । त्यो स्वस्फूर्त रूपमा गाएको गीतले माहोल नै छुट्टै भएको आचार्य सम्झिन्छन् ।
२००२ जुलाईमा तत्कालीन राजा ज्ञानेन्द्रले चीनको भ्रमण गरेका थिए । त्यति बेला पनि च्याङले आत्मीयताका साथ राजा वीरेन्द्रसँग भएका कुरा र सहकार्यबारे ज्ञानेन्द्रलाई सुनाएको आचार्य स्मरण गर्छन् । “चिनियाँ नेताहरूमा नेपालका राजाहरूलाई लिएर विशेष आकर्षण थियो,” उनी भन्छन्, “राजालाई वा दरबारमा कुनै समस्या परेर अवगत गरायो भने त्यो समस्या समाधान हुन्छ भन्ने उहाँहरूमा विश्वास थियो ।”
आचार्यकै पहलमा च्याङको पालामा नेपालले सांघाईमा अवैतनिक दूतावास स्थापना गरेको थियो । अवैतनिक दूतावास सन् २००३ जनवरी १६ मा स्थापना गरिएको थियो । त्यसअघि, बेइजिङमा राजदूतावास र हङकङ तथा ल्हासामा महावाणिज्य दूतावास मात्र थिए ।
त्यस बेला तत्कालीन आरएनएसीका हवाईजहाजहरू काठमाडौं, सांघाई हुँदै जापानको ओसाका उड्ने गर्थे । सोही कारण चिनियाँ पर्यटक र व्यापार बढाउन सजिलो होस् भनेर सांघाईबाटै भिसा लिन मिल्ने गरी सो अवैतनिक दूतावासको परिकल्पना गरिएको थियो ।
भारतसँग जस्तै आचार्य चीनसँग पारवहन सन्धि गर्न चाहन्थे । चीनसँग वाणिज्य र यातायात सन्धि गरिएको थियो । तर, पारवहन सन्धि, सम्झौता भएको थिएन । चीनसँग पारवहन सन्धि हुँदा चीनको भूभाग भएर नेपाली सामान तेस्रो मुलुक जाने र चीनको समुद्री बन्दरगाह भएर पनि विश्वमा व्यापार, व्यवसाय गर्न नेपाललाई वैकल्पिक बाटो खुल्थ्यो । उनका अनुसार त्यही सोचले आचार्यले चीन सरकारसमक्ष मस्यौदा पठाएका थिए । उताबाट मस्यौदामा केही कुरा थप गरेर पठाइएको थियो । च्याङ पारवहन सन्धि गर्न सकारात्मक थिए । तर, नेपालकै पक्षबाट उचित कदम चालिएन ।
पूर्वराजदूत मदनकुमार भट्टराई पनि च्याङलाई नेपालप्रति सदाशयता राख्ने र आधुनिक चीनको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने व्यक्तित्वका रूपमा सम्झिन्छन् । अघिल्लो नेतृत्व ‘फेल’ भएपछि तङसिओपेङले दुईपटक मात्र नेतृत्व गर्न पाउने प्रणाली बसालेका थिए । उनी आधुनिक चीनका लागि सर्वोच्च नेता थिए । च्याङ त्यो प्रणालीको पहिलो नेता भएको भट्टराई बताउँछन् ।
उनी भन्छन्, “उहाँका दुवै कार्यकाल सफलतापूर्वक सम्पन्न भयो । उहाँको पालामा नेपालबाट धेरै भ्रमण भए । प्रधानमन्त्रीदेखि राजाहरूले भ्रमण गरेका थिए । ट्रली बसहरू पठाउनुका साथै बीपी कोइराला क्यान्सर अस्पताल स्थापना भएको थियो ।”
माओ त्सेतुङले सन् १९४९ मा चिनियाँ कम्प्युनिस्ट पार्टी स्थापना गरेका थिए । उनी पार्टी प्रमुख मात्र बने, राष्ट्रपति बनेनन् । विश्वमा उनीप्रति आस्था अर्कै ढंगको छ । तङसिओपेङले चीनमा खुला अर्थतन्त्रको सुरुआत गरे । उनको योगदानलाई चिनियाँहरूले सम्मानका साथ सम्झिन्छन् । च्याङले त्यो आधुनिकीकरणको प्रक्रियालाई अगाडि बढाएकाले उनको योगदान सम्झने गरिएको परराष्ट्रविद्हरू बताउँछन् । तङसिओपेङको सिद्धान्तलाई मजबुत रूपमा अघि बढाउनुमा च्याङको योगदान रहेको आचार्यको भनाइ छ ।
उनीपछि राष्ट्रपति हु जिन ताओले त्यसलाई अगाडि बढाएका थिए । च्याङ र ताओले चीनको राज्यव्यवस्था र पार्टीका नीति–नियमहरूमा सामूहिक नेतृत्व प्रणालीको सुरुआत गरेका थिए । वर्तमान राष्ट्रपति सी चिनफिङले माओको जस्तै एकल नेतृत्व गरेका छन् ।
एक उत्कृष्ट नेता र लामो समय परीक्षित कम्युनिस्ट लडाकुका रूपमा च्याङलाई चिनिन्छ ।
को थिए च्याङ चमिङ ?
बेइजिङको तियानमेन स्क्वायर र वरपर प्रदर्शनकारीहरूमाथि सन् १९८९ को रक्तपातपूर्ण घटनापछि उनी सत्तामा पुगेका थिए । उक्त घटनाले कम्युनिस्ट पार्टीको शीर्षमा कट्टरपन्थी प्रतिक्रियावादी र सुधारवादीहरूबीचको तितो शक्तिसंघर्षलाई जन्म दियो । यसले च्याङलाई उच्च पदमा पुर्यायो, जसलाई सुरुमा नोकरशाहका रूपमा हेरिएको थियो । कट्टरपन्थी र थप उदारवादी तत्त्वहरूलाई एकताबद्ध गर्ने आशामा उनलाई सम्झौतावादी नेताका रूपमा चयन गरिएको बीबीसीको टिप्पणी छ ।
उनको नेतृत्वमा एक शक्तिशाली अर्थव्यवस्था निर्माण भयो । कम्युनिस्टहरूले सत्तामा आफ्नो पकड बलियो बनाए । चीनले विश्व शक्तिहरूको शीर्ष तालिकामा आफ्नो स्थान बनाउन सफल भयो ।
उनले सन् १९९७ मा बेलायतको उपनिवेश रहेको हङकङको शान्तिपूर्ण हस्तान्तरण र सन् २००१ मा विश्व व्यापार संगठनमा चीनको प्रवेश हेर्ने मौका पाए । जसले चीन विश्व अर्थतन्त्रसँग गाँसिएको थियो ।
तर, राजनीतिक सुधारलाई एकातिर राख्दै, ताइवान मामिलामा कट्टरपन्थी अडान लिँदै आन्तरिक असहमतिलाई उनले कुल्चिएको उनका आलोचकहरू बताउँछन् । सन् १९९९ मा धार्मिक सम्प्रदाय फालुन गोङमाथि कडा कारबाहीका लागि उनको आलोचना हुने गरेको छ । जसलाई कम्युनिस्ट पार्टीका लागि खतराको रूपमा हेरिएको थियो ।
उनी कम्युनिस्ट पार्टीभित्र आफ्नो स्थान सुरक्षित छ भनी सुनिश्चित गर्न पनि उत्सुक थिए । पार्टीलाई आधुनिकीकरण गर्ने प्रयासमा आफ्नै राजनीतिक विचारधारा – तीन प्रतिनिधि सिद्धान्त कार्यान्वयन गरे । सत्तामा रहँदा च्याङले अमेरिकासँग सम्बन्ध सुदृढ गर्न खोजेका थिए । धेरैपटक अमेरिका भ्रमण गरे । उनले ९÷११ को आक्रमणपछि वासिङगटनको आतंकवादविरुद्धको लडाइँमा तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुशलाई सहयोगको प्रस्ताव गरेका थिए ।
उनी आफ्ना उत्तराधिकारीहरूभन्दा बढी सौखिन व्यक्तित्व थिए । विश्वव्यापी शिखर सम्मेलनमा एल्विस प्रेस्लीलाई याद गर्दै उनले उनी गीत गुनगुनाएका थिए । हवाईको समुद्रमा पौडी खेल्न गएका थिए ।
उनी सरकारबाट बाहिरिएपछि सार्वजनिक रूपमा विरलै देखिन्थे । तर, उनी अनलाइन ‘भाइरल’ इन्टरनेट ‘मिम’को एक असम्भव विषय बनिरहे ।