site stats
बाह्रखरी :: Baahrakhari
खेल
ब्राजिलको जितमा नेइमारको आँसु

काठमाडौं । ब्राजिलले बिहीबार कतार विश्वकपमा सर्बियाविरुद्ध २–० को विजय हासिल गर्दा बेन्चमा रहेका नेइमार रोइरहेका थिए । नेइमारको आँसु हर्षको थिएन, त्यो पीडाको थियो ।

नेइमार खुट्टामा लागेको चोटका कारण ७९औँ मिनेटमा मैदानबाट बाहिर आएका थिए । नेइमारको कुर्कुच्चामा लागेको चोट कति गम्भीर छ भन्ने आज मात्र थाहा हुने बताइएको छ । जसका कारण नेइमारले विश्वकपका बाँकी खेल खेल्न सक्छन् कि सक्दैनन् भन्नेमा शंका उत्पन्न भएको छ ।

‘‘हामीलाई विश्वास छ, नेइमारले विश्वकपका बाँकी खेल खेल्नेछन्,’’ ब्राजिलका प्रशिक्षक टिटेले भने ।

सर्बियाका निकोला मिलेन्कोभिकसँग ठोक्किँदा नेइमारको दायाँ कुर्कुच्चामा चोट लागेको हो । चोट लागेपछि पनि ११ मिनेटसम्म नेइमारले खेल्ने प्रयास गरेका थिए । त्यसपछि उनले खेल्न सकेनन् र मैदान छाडे । उनको स्थानमा एन्टोनी मैदान छिरेका थिए ।

“नेयमारको दाहिने घुँडामा चोट लागेको छ,’’ ब्राजिल टिमका डक्टर रोड्रिगो लास्मारले भने, ‘‘हामीले तुरुन्तै उनको उपचार सुरु गर्‍यौँ । उनले फिजियोथेरापीबाट पनि उपचार जारी राखेका छन् । एमआरआईमार्फत चोटको प्रकृतिबारे राम्रोसँग बुझ्नको लागि २४ देखि ४८ घण्टा चाहिन्छ । शुक्रबार मात्र हामीले उनको अवस्थाबारे थाहा पाउनेछौँ । अहिले यस विषयमा कुनै टिप्पणी गर्न सक्दैनौँ ।’’

skysports-neymar-brazil_59774541669344891.jpeg

ब्राजिलले ६२औँ मिनेटमा रिचार्लिसनको गोलबाट अग्रता लिएको थियो । ७३औँ मिनेटमा रिचार्लिसनले नै ब्राजिलको अग्रता दोब्बर बनाएका थिए ।

जितसँगै तीन अंक जोडेको ब्राजिल समूह ‘जी’को शीर्ष स्थानमा छ । यो समूहमा समान तीन अंक जोडेको स्वीट्जरल्यान्ड दोस्रो स्थानमा छ । सर्बिया र क्यमारुन अंकविहीन छन् । बिहीबारै सम्पन्न खेलमा स्वीट्जरल्यान्डले क्यामरुनलाई १–० ले हराएको थियो ।

ब्राजिलले अब दोस्रो खेल स्वीट्जरल्यान्डविरुद्ध खेल्नेछ । सर्बियाले क्यामरुनविरुद्ध खेल्नेछ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०८:३६