प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना भइरहेको छ । संविधानतः लोकतान्त्रिक गणतन्त्र भएपछि दोस्रोपटक भएको चुनावको नतिजा आउने क्रम पनि जारी छ । यही मंसीर ४ मा सम्पन्न सबै चुनावी परिणाम अबका साता दिनभित्र सार्वजनिक हुने अपेक्षा छ ।
मत परिणाम जति आउँदै छ त्यसलाई हेरेर विभिन्न कोणबाट समीक्षा हुनु स्वाभाविकै हो । अहिले मतले व्यक्त गरेको सन्देश के, कस्तो हो ? र यसले भावी राजनीतिसमेत सरकार बन्ने, बनाउने सबालमा कस्तो अवस्था होला ? यी र यस्तै अडकलबाजीमा गरिने विश्लेषण केही दिन जारी रहनेछन् ।
चुनावी गठजोड बनाएर प्रतिस्पर्धामा रहेका स्थापित दलहरुलाई आजसम्म घोषित परिणामले सन्तोष दिएजस्तो लाग्दैन । नेपाली कांग्रेस नेतृत्वको र नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेतृत्वमा बनाइएका दुई भिन्दाभिन्दै गठजोडले निकालेको परिणामले कसलाई कति लाभ र राजनीतिलाई के सन्देश दियो त ?
सिद्धान्तलाई थाती राखेर गरिएको चुनावी गठजोड अन्ततः सामान्यभन्दा उत्पादक नभएको ठहर गरिने नै छ । विगत सम्झदा अनि एकअर्कोमा हिलो छ्यापाछ्याप हुनेछ । नतिजाले दिएको सन्देश चाहिँ सिद्धान्त, नैतिक, नीति र न्याय समर्थित जनमुखी मार्गमा आआफ्नै पहिचानसहित राजनीतिक प्रतिस्पर्धा गर भन्ने नै हो । परिणाम कहिले माथि, कहिले तल हुनु स्वाभाविक हो । नेता मिलेर बनाइएको सत्ता केन्द्रित गठजोड जनमतमा त्यति स्वीकृत भएन ।
बहुदलीय लोकतन्त्रको आधारस्तम्भ भनिने आवधिक निर्वाचन सम्पन्न हुनु सुखद कुरा भयो । निर्वाचन परिणामले चाहिँ लोकतन्त्रलाई कति सुस्थिर बनायो वा सत्ता राजनीतिलाई कति अस्थिर बनाउनेछ भन्ने प्रश्न पनि नतिजासँगै घोत्लिनुपर्ने देखिएको छ ।
यतिमात्रै होइन, शीर्ष दलहरुको विश्वसनीयता र हैसियतमा कति खिया लागेछ वा चमक थपिएछ भन्ने पनि प्रश्न तेर्सिएको छ । यी दलहरुलाई सुध्रिनुपर्ने अन्तिम चेतावनी समेत आएको हो कि ? भन्ने प्रश्न पनि सँगै छ ।
चुनावी नतिजाले आशा लाग्दो र भरोसा दिने संकेत पनि गरेको छ । खासगरी प्रतिनिधि सभामा केही जुझारु युवा नेताको प्रभावकारी उपस्थिति हुनेछ । यिनले राजनीतिको दशा र दिशा बदल्न वा लोकतान्त्रिक व्यवस्था अनुकूल अवस्था बनाउन योगदान दिनेछन् कि ? युवा उपस्थितिमा कांग्रेसको अग्रता देखिन्छ ।
आवधिक निर्वाचन हुनु र केही युवा प्रतिनिधि देशले पाउनु अतिरिक्त परिणामका अन्य सन्देश त्यति भरपर्दा वा जोखिममुक्त लाग्दैन । नतिजासँगै संघीय र प्रादेशिक सरकार बनाउने सबालले नै बबाल मच्चिने लक्षण देखिएको छ ।
नतिजा सँगसँगै प्रतिनिधि सभामा नेपाली कांग्रेस ठूलो दल हुने सम्भावना देखिँदैछ । एकल नेतृत्वमा सरकार बनाउने हैसियत त कांग्रेसले गठबन्धन गर्दासाथै गुमाइसकेको हो । ठूलो दलको नाताले कांग्रेसले ककसको साथ लिएर सरकार बनाउने ? चुनावी गठबन्धनका साथीहरुलाई जोडेर पनि कांग्रेसले सरकार बनाउनसक्ने सम्भावना अपेक्षाकृत कमजोर देखिएको छ ।
कांग्रेस स्वयंले पाएको नतिजा भरपर्दो छैन भने नेकपा (माओवादी केन्द्र), नेकपा (एस), लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले प्राप्त गरेको परिणाम जोड्दा पनि सरकार बनाउन सहज देखिँदैन । प्रत्यक्ष निर्वाचनमा कांग्रेस पहिलो देखिए पनि समानुपातिक परिणामको प्रारम्भिक चरणमा दोस्रो र माओवादी केन्द्र चौथो छ । यीमध्ये अरुले समानुपातिक प्रणालीमा प्रतिनिधि पाउने लक्षण क्षीण छ । तब कांग्रेसले अरु कोसँग मिलेर सरकार बनाउने ?
राजनीति हो तर अहिले नै कांग्रेस र सम्भवतः संसद्मा दोस्रो दल हुने एमाले सम्मिलित सरकार बन्ला भन्ने नचिताउनु नै पर्ला । असम्भव चाहिँ छैन । हिजोजस्तो “मिलीजुली बसौँ बाँडीचुडी खाऊँ” र तेरोमेरो भन्ने प्रवृत्तिबाट माथि उठौँ, सँगै बसौँ, देश र जनतालाई समुन्नत, खुसी बनाऊँ भन्ने बाटो लागे कांग्रेस र एमाले सम्मिलित सरकार बन्नसक्छ । परिणामले बाध्य हुने अवस्था पनि आउन सक्छ ।
एमाले एक्लैले पनि सरकार बनाउन सक्ने देखिएको छैन । उसले सरकार बनाउने हो भने कोसँग ? ऊसँग गठजोड गरेका परिवार दल र राप्रपा नेपाल शून्यसरी छन् । एमालेले समानुपातिकको पहिलो नम्बरमा राखेकोले परिवार दलका एकनाथ ढकाल संसद्मा छिर्लान् ।
लिङदेनवाला राप्रपा चाहिँ विगतभन्दा बढोत्तरी हैसियतमा छ । समानुपातिकतर्फ एमाले पहिलो देखिए पनि यतिले नै उसलाई सरकार बनाउन पुग्ने देखिँदैन । के एमाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग गठजोठ गर्न पुग्ला ? यी सबै मिल्दा सरकार बन्ने संख्या पुग्छ वा पुग्दैन ? केही दिन पर्खौँ, हेरौँ । कि रास्वपा कांग्रेससँग मिल्न जान्छ ? यो असम्भव नभए पनि सजिलो भने देखिँदैन । एमाले र माओवादी केन्द्रलगायतको गठबन्धन बन्छ कि ? नतिजाले दैलो खुला गरेको छ ।
पात्र फरक भए पनि, कि एमालेको लोकेन्द्रबहादुर चन्द र कांग्रेसको सूर्यबहादुर थापा युगको पुनरावृत्ति हुने हो ? आजसम्मको सार्वजनिक परिणामले प्रतिनिधि सभामा अप्ठ्यारो संरचना र समीकरण बन्ने देखिँदैछ । यद्यपि, दुईतिहाइ परिणाम आउन बाँकी नै छ ।
तस्बिरमा देखिएको विम्ब र मूर्त आकारको भिन्नताजस्तै अवस्थाको चित्रण गर्दैगर्दा पनि आउने यस्तै परिणामको प्रभाव कस्तो होला वा केमा पर्ला ? प्रवृत्ति र सांकेतिक नतिजाले समग्र नेपाली राजनीतिमा दुष्प्रभाव दिने निश्चित छ । जोखिम बढ्नेछ ।
पहिलो त सरकार बनाउनै सकस हुने देखिन्छ । दोस्रो, बनिहाले चार पाँचथरी झुन्डको बोझ सरकार र नेपाली राजनीतिमै पर्नेछ । तेस्रो व्यवस्था अस्थिर र संविधान अप्ठ्यारो महसुस हुन थाल्नेछ । त्यसपछि अर्को अनपेक्षित घटना हुनेछ वा मध्यावधि निर्वाचन दोहोरिने जोखिछ छ । सबैभन्दा बढी जोखिम तब संविधान, व्यवस्था, लोकतन्त्र र गणतन्त्रमाथि पर्नेछ । नेपाली राजनीतिको प्रवृत्ति सुधारोन्मुख देखिँदैन ।
यस्तो परिणाम किन आयो ? कसको दोषले ? संविधान, व्यवस्था वा दल र तिनका नेताको ? दलीय प्रणालीमा दलहरु क्रमशः कमजोर हुनु वा दलहरु स्वयंमा निर्णायक हुन नसक्नुको अन्ततः नतिजा के हुन्छ ? लोकतन्त्रका अन्य स्तम्भहरु यसअघि नै कमजोर र शिथिल पारिएका छन् । कारण, दलहरुले बाटो छोड्दाको भोगाइ हो यो ।
जितेका स्वतन्त्र र नयाँ दलका अनुहारहरुको सैद्धान्तिक पहिचान छैन । तिनका एजेन्डा र लोकतन्त्रलाई कसरी चलाउने वा चल्ने भन्ने खाका, संस्कृति पनि छैन । दलहरुको कमजोरीले बढेको यस्तो आक्रोशजन्य उपस्थिति कतै अराजकतातर्फ एकत्रित नहोस् ।
यो आवधिक निर्वाचनको नतिजा बोझिलो बन्ने सम्भावना बढी छ । सबै समालिएर देश, जनता र लोकतन्त्रलाई सम्बर्धन वा प्रबर्धन गर्न जोडिए भने हामी उँभो लाग्छौँ । अन्यथा, गाली गलौज सिर्जित भद्रगोल, अराजक, गतिहीन र मतिहीन दिशामा रन्थनिएको देशमा सम्बर्धनको चेत दिने सम्बुद्ध कोही देखिँदैन । खोइ ? तै पनि आशा नमारौँ, समयसँग जुझ्नै छ र संघर्ष जारी रहन्छ । प्रार्थना छ –माथि व्यक्त जोखिमयुक्त परिणामको सन्देश सत्य नहोस् ।