
केही वर्षअघि चुनावमा जोगनलाल पार्टीको समानुपातिक कोटामा परेका थिए । जोगनलाल पेसाले एक निर्माण व्यवसायी हुन् । व्यवसायको थालनी र उन्नयनसँगै उनको राजनीतिक पृष्ठभूमि पनि तयार हुँदै गएको थियो ।
पार्टीले आवश्यक ठानेको अवस्थामा उनी अगाडि सर्थे । अप्ठ्यारो परेको बेला सक्दो सहयोग गर्थे । तथापि, व्यवसायमा बढी नै व्यस्त रहनुपरेको कारण पार्टीको कार्यक्रममा जोडिन पाएका थिएनन् ।
नभ्याउँदा नभ्याउँदै पनि आर्थिक समस्याको गाँठो फुकाउन र रकमकलमको समस्या सल्टाउन उनी कहिल्यै पछि परेनन् । उनलाई राजनीतिक यात्राको सवारीमा चक्का र पखेटा हालिदिने काम दलले नै गरिदिएका थिए ।
राजनीतिमा उनको व्यवसायले इन्धनको काम गर्यो । जोगनलाल भन्थे, ‘मलाई राजनीतिमा उति रुचि होइन । पार्टीलाई लगाएको सामान्य गुनको बदलामा यति ठूलो उपहार पाउँला भन्ने मैले कहिल्यै सोचेको थिइनँ ।’
पार्टीले माया गरेर उपहार नै दिएपछि कसले इन्कार गर्छ र ! सुरुमा जोगनलालले आफूले पार्टीबाट संसदीय उमेदवारको टिकट पाएको कुरामा विश्वास गर्नै सकेनन् । जोगनलाललाई अचम्म लाग्यो । उनले मनमनै सोचे, ‘हैन, मैले पार्टीलाई राम्रै सहयोग गरेको पो रहेछु त !’
‘सांसद पदको उमेदवारी प्रस्ताव आएपछि त्यसलाई किन अपमान गर्ने ? त्यही सोचेर नै मैले पार्टीको आग्रहअनुसार समानुपातिकमा उमेदवारी दिएको हुँ । मलाई राजनीतिमा अनुभव र चासो भए म प्रत्यक्षबाटै उठ्ने थिएँ । जनताको सामुन्ने गएर चुनावी प्रतिस्पर्धामा भाग लिन्थेँ ।’ उनी आफ्ना साथीभाइसँग गफिने क्रममा यस्ता अभिव्यक्ति दिइरहन्थे ।
जोगनलाल समावेशी कोटाबाट, अझै समानुपातिकका उमेदवार हुँदा उनको नाम लिस्टको सिरानतिरै थियो । खसेको कुल सदर मतसंख्याको आधारमा समानुपातिकको सिट बाँडफाँटपछि पार्टीले पाएको हिस्साभित्र उनको नाम पनि समेटियो ।
देशभरबाट पार्टीलाई माया गर्ने जनजनको मतसंख्याको केही हिस्साले उनलाई पनि सांसद बनायो । उनीमाथि पार्टी नेतृत्वको बलियो टेवा नभएको भए यो सम्भव हुने थिएन ।
उनी सांसद त जनताको मतबाट भएका हुन्, तर जनताले आफ्नो मतबाट कस्ता सांसद चुन्ने भन्ने कुराको निर्णय लिने अधिकार पाएनन् । अझ भन्ने हो भने जनतामा आफ्नो मतबाट कस्तो उमेदवार सांसद हुँदै छन्, थाहा पाउने हैसियत समेत उनीहरूले गुमाएको अवस्था थियो । खासमा उनीहरूले कुहिरोको कागजस्तै भएर मतदान गरेका थिए ।
पाँच वर्ष बितिसक्दा पनि जोगनलाल संघीय सांसद हुन् भन्ने कुरा उनका गाउँलेहरूले सुइँको समेत पाएनन् । त्यो पाँच वर्षको दौरान उनले एकचोटि पनि गाउँमा कदम राखेनन् ।
उनले गाउँ गएर आफूलाई सांसदका रूपमा चिनाउन पनि उचित ठानेनन् । किनकि, सांसद भएपछि गाउँका लागि सिन्को समेत नभाँचेका उनी कुन अनुहार लिएर गाउँ पसून् ?
पार्टीबाट प्रत्यक्ष उमेदवारमा टिकट पाएका नेताहरू मत माग्न नयाँनयाँ नाराका साथ गाउँ गएका थिए । गाउँलेहरूका पाउमा टाउको टेक्दै लम्पसार परेर गिड्गिडाउँथे ।
तर, चुनाव जितेर संसद्मा छिरेपछि गाउँको बाटो भुल्थे । गाउँले बाआमाहरूले दिएको आशीर्वादको अवमूल्यन गर्थे । यस्तो अवस्थामा नयाँ–पुराना जोसुकै उमेदवारलाई जनताले केका आधारमा विश्वास गरून् ?
जोगनलालसँग भने गाउँलेहरू कसैको कुनै गुनासो रहेन । संसद् भवनमा सितिमिति उनी बोलेको पनि थाहा पाइँदैनथ्यो । बोल्न परेपछि उनका हातखुट्टा काँम्थे । पढ्नै परे अरूले लेखिदिएका भाषण पढ्थे । हातमा लिएर पढ्दै गरेको पानाले उनको शरीरको कम्पनलाई नाप्थ्यो ।
उनले अक्षर राम्रोसँग चिन्न भ्याएका पनि थिएनन् । एउटा वाक्य भनिसक्दा उनी पाँच÷छ ठाउँमा अड्किन्थे । उनी वक्तव्यबाजीमा पनि अभ्यस्त हुन सकेनन् । किनकि, न त उनले कहिल्यै भाषण गर्नुपर्यो न कुनै चुनावी सभालाई सम्बोधन नै गर्नुपर्यो ।
समानुपातिक कोटामा आएको सांसद भए पनि विश्वासपात्र भएका कारण मन्त्रिपरिषद्मा उनको सानदार इन्ट्री भयो । मन्त्री भएपछि भने उनलाई राजनीतिको भरपुर रसस्वादन गर्र्ने मौका मिल्यो ।
लागुऔषधले युवालाई नशाको चंगुलमा फसाएझैँ मन्त्री बनेपछि यिनी कुर्सी मोहमा चुर्लुम्मै डुबे । राजनीतिपछि व्यक्तिगत स्वार्थको जालले यिनलाई नराम्ररी पासोमा पार्यो ।
सुन्दा सामान्य एउटा भोट लाग्न सक्छ । व्यवस्था र अवस्था बदल्नका लागि एक भोट नै काफी हुन्छ । आफ्नो भोट दुरुपयोग नहोस् भन्ने जो कोहीको चाहना हो । त्यसमा जो पनि सजग रहनुपर्छ ।
तर, सजग हुँदाहुँदै पनि सही दिशामा हिँड्न नसकेको देशको कुनै एक निर्वाचन प्रणालीका कारण भोट कुनै न कुनै रूपमा दुरुपयोग हुन सक्ने प्रवल सम्भावना रहन्छ ।
समावेशी समानुपातिक निर्वाचन प्रणाली लोकतान्त्रिक परिपाटीका लागि आफैँमा एउटा बलियो स्तम्भ हो । यसले देशको मूल प्रवाहीकरणमा सामेल हुनबाट वञ्चित रहेका पिछडिएको क्षेत्र, जात र वर्गलाई सम्बोधन गर्ने काम गर्छ ।
जुन उद्देश्यका लागि यो निर्वाचन प्रणाली अभ्यासमा आएको थियो, त्यो उद्देश्यले सार्थकता पाउन सकेको भने देखिएन । लक्षित वर्गमा यो पुग्न नसकेको तितो यथार्थ सबैले महसुस गरिरहेका थिए ।
नेताले चुनावताका जनतालाई देखाएको सपना चन्द्रमाको बस्तीमा खसेर बिलायो । रेलको लिकमुनि चेपिएर पानी पनि भन्न पाएन । टाइटानिक बनेर सबै यात्रुलाई महासागरबीचमा लगेर ङ्याँक्यो !
उता, नेताले आफू र आफ्नो परिवारका लागि देखेको चन्द्रमाभन्दा परको सपना भने नेताकै काखमा आएर लडीबुडी खेल्दै थियो ! असम्भव भन्ने शब्द मुर्खको डायरीमा मात्र हुन्छ भन्थे नेताहरू । तर, सम्भव शब्दलाई नेताहरूले आफ्नो डायरीबाट बाहिर ल्याउन सकेनन् ।
गाउँका बुढापाका बाआमाले अकालमै खेर गएका आफ्ना सन्तानलाई सम्झेर त्यति पछुताउँदैनन् होलान्, तर त्यसभन्दा कैयौँ गुना बढी खेर गएको आफ्नो सदर मत सम्झेर पछुताउँछन् ।
जोगनलालले प्रत्यक्षबाट टिकट पाएका छन् । उनी चुनाव प्रचारको दौरानमा गाउँमै छन् । हाम्रै छिमेकमा एकजना बेसहारा बुढीआमा हुनुहुन्छ । मसँग भेट भयो कि उहाँले देशको अवस्थाबारे चिन्ता पोख्नुुहुन्छ ।
तिनै बुढीआमाको घरमा पसेर जोगनलाल भोट माग्दै छन् ।
धमिलो पर्दा लागिसकेको बुढीआमाको आँखाले आफ्नै अगाडिको दृश्यलाई छिचोल्न सक्दैनन् । चुनाव आएको बुढीआमालाई थाहा छ । ‘कुन मुख लिएर भोट माग्न आउँदा रछन्, म पनि हेरूँला नि !’ बुढीआमाका मुखबाट बारम्बार यस्तै कुरा सुनिन्थ्यो ।
आफ्नो खुट्टाअगाडि लम्पसार परेको जोगनलालका दुवै पाखुरामा समातेर उनलाई उठ्न सहयोग गर्दै बुढीआमाले भनिन्, ‘बाबु, पाँच वर्षमा एकपटक आउँछौ । केटाकेटीले खेलौनाका लागि जिद्दी गरेजस्तो भोटका लागि भुईँमा लडीबुडी खेल्छौ । त्यसपछि त नाकमुख पनि देख्न पाइँदैन । हामीलाई कम्ता ठूला विपत्तिहरूले घेरेनन् । त्यो बेलामा ढाडस दिनसम्म कोही पनि आएनन् । गाउँमा ठूलो बाढी आयो । अधिकांश गाउँलेका घरबार उजाडिए । मेरै दुई जिया नातिनी बुहारी र चिचिलो पनातिलाई बाढीले निल्यो । त्यति बेला तिमी कहाँ थियौ ?’
‘सर, हेर्नुस् त शर्टमा माटो लागेछ ।’ टक्टकाइदिन लागेको सहयोगीको हातलाई झड्कारेर जोगनलालले आमासँगको भलाकुसारीलाई कायम राख्दै भने, ‘यो माटो होइन, यो मेरो मुटु हो । यो हिलो होइन, यो विधाताको मसी हो । यही मसीले मेरो निधारमा भाग्यरेखा कोरेको छ ।’
जोगनलाल आँगननजिकैको हिलाम्य खाल्डोमा गए र एक चुट्की माटो औँलामा लिँदै निधारमा ठाडो तिलक लगाए ।
उनका सहयोगीको दिमागमा पहिलेको एउटा घटना सिनेमाको रिल घुमेझैँ घुम्यो । एकपटक जोगनलाल मन्त्री भएकै बेलामा कुनै गाउँमा वृक्षरोपणका लागि गएका थिए । खुट्टामा महँगो जुत्ता थियो । जुत्तामा हिलो लाग्ला भन्ने डरले उनले पचासौँ मिटर परसम्म कार्पेट ओछ्याउन लगाएका थिए ।
अचम्म ! पहिले माटोसँग त्यति सारो घिनाउने तिनै नेता अहिले माटोलाई सम्मान दिँदै थिए ।
‘आमा, यो मेरो अन्तिम लडाइँ हो । यसपछि राजनीतिबाट सन्न्यास लिँदै छु । अब युवालाई अगाडि सारेर हामीले आराम लिनुपर्छ । यसपटकको भोट जसरी पनि मलाई है आमा !’ जोगनलाल बोले ।
बुढीआमाले केही नबोली उनको अनुहारमा हेरिन् । ऊ जम्ल्याहा हात लगाउँदै त्यहाँबाट अलप भयो ।
तर, गाउँको परिवेश अर्कै भइसकेको थियो । झुटा आश्वासन र सपनाले अमन भएका गाउँले नयाँ स्वाद खोजिरहेका थिए ।
गाउँलेबाट ढुक्क आफ्नै पक्षमा मत खस्ने आसमा उमेदवारहरू नतिजा पर्खिरहेका थिए । जोगनलाल पनि तीमध्येमा एक थिए । नतिजा आफ्नै पक्षमा आउने कुरामा उनी शतप्रतिशत विश्वस्त थिए ।
नतिजा उनले सोचेभन्दा विपरीत भइदियो । जोगनलालले चुनाव जितेनन् । तर, जनता धेरै सचेत भइसकेका छन् भन्ने उनले बुझ्न सकेनन् ।