
संविधानसभा सदस्यसमेत रहेकी कल्पना धमला नेकपा (माओवादी केन्द्र)की नेतृ हुन् । २०६४ सालमा धादिङबाट चुनाव लडेकी धमला डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा मन्त्रीसमेत बनिन् ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा धमला काठमाडौं क्षेत्र नम्बर ९ बाट चुनाव लड्दैछिन् । गठबन्धनको तर्फबाट साझा उमेदवार बनेकी उनी यतिबेला घरदैलोमा व्यस्त छिन् । प्रस्तुत छ, उनै धमलासँग बाह्रखरीले गरेको चुनावकेन्द्रित संवादको सम्पादित अंश :-
चुनावी अभियानमा हुनुहुन्छ, मतदाताबाट कस्तो प्रतिक्रिया आइरहेको छ ?
पुराना सांसदहरुले आफूले गरेका प्रतिबद्धताहरु पूरा नगरेको विषयमा मलाई मतदाताहरु प्रश्न गर्नुहुन्छ । मैले यसलाई सकरात्मक रुपमा हेरेको छु । म ढाँट्ने छैन, छल्ने छैन र भ्रष्टचार गर्ने छैन । यस क्षेत्रमा शिक्षा, स्वस्थ र पर्यटनको क्षेत्रमा उल्लेखनीय काम गर्नेछु । नयाँ नमूना देखाउनेगरी अगाडि बढ्नेछु । मैले मेरो तहबाट जे गर्न सक्छु, त्यही मात्र बोलिरहेको छु । म इमान्दार भएर यस चुनावमा अगाडि बढेको छु ।
धादिङबाट काठमाडौं सरेर उमेदवारी दिनुभएको छ, जनताले यस विषयमा के भनिरहेका छन् ?
धेरै मतदाताले यस विषयलाई वास्ता गरेका छैनन् । यदाकदा बाहिरको मान्छे भनेर सोच्नु भएको छ । मेरो जन्म धादिङमा भएको भए पनि, विवाह पश्चात् काठमाडौको चन्द्रागिरिमा बस्दै आएको छु । ६४ मा धादिङबाट जितेर मन्त्रीसमेत भएँ । म बाहिरको मान्छे होइन, सबै नेपाली नेपालभरिका नै हौँ ।
काठमाडौंको चुनावी माहोल कस्तो पाउनुभएको छ ?
जहाँ गए पनि चुनावी माहोल त्यस्तै हो । काठमाडौंमा यति छोटो समयमा चुनावी प्रचार गर्न, घरदैलो गर्न भने अलि समय नपुग्ने नै रहेछ ।
यस क्षेत्रको आवश्यक्ता के रहेछन् ? तपाईँको चुनावी एजेण्डा के हुन् ?
पानीको ठूलो समस्या रहेको छ । ढल, फोहोर व्यवस्थापनमै अझै चुनौती रहेको देख्न सकिन्छ । सडक निर्माणका कुराहरु मतदाताहरुले गर्नुभएको छ । रोजगारी सृजना गर्नुपर्ने आवश्यक्ता रहेको छ । नागढुंगा–कलङ्की सडकमा एउटा ट्रमा सेन्टरयुक्त अस्पतालको आवश्यका देखेको छु । यातायात व्यवस्थापनका लागि पनि योजनाहरु ल्याउन जरुरी छ । शिक्षाको क्षेत्रमा पनि काम गर्नुपर्ने देखेको छु ।
यस क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुलाई प्रवद्र्धन गरेर पर्यटकीय माध्यमबाट रोजगारीको सिर्जना गर्ने मेरो प्रतिबद्धता रहेको छ । यस क्षेत्रमा रहेको वाग्मती, विष्णुमति नदीहरुलाई संसदीय पहलबाट स्वच्छ बनाउने मेरो योजना रहेको छ ।
सत्ता गठब्धनलाई मतदाताहरुले कसरी लिइरहेको पाउनुभयो ?
यस क्षेत्रलाई हेर्ने हो भने यहाँ गठबन्धन निकै मजबुत छ । यो गठबन्धन निकै शक्तिशाली रहेको छ । यही गठबन्धनलाई लिएर हामी मतदाताको माझ पुगेका छौँ । हामी विकासका एजेण्डा बोकेर गइरहेका छौँ । ६० वर्ष पुगेपछि चुनाव लड्दिनँ भनेर मैले भनिसकेकी पनि छु ।
तपाईँले ६० वर्षको उमेर-सीमा तोक्नुको कारण ?
मैले ६० वर्षपछि राजनीतिको कार्यकारी पदमा रहन्नँ भनेर संकल्प लिइरहेको छु । यो कुनै चुनावी स्टन्ट होइन । निर्वाचनमा सेन्टिमेन्ट क्याच गर्न होइन ।