जनकपुरधाम । कुनै बेला रामस्वरूप रामसागर बहुमुखी (राराब) क्याम्पसको ठूलो सान थियो । त्यहाँबाट पढेका विद्यार्थीहरू गर्वसाथ आफ्नाे परिचय दिन्थे । क्याम्पसको नतिजा राम्रो हुन्थ्यो । यहाँबाट पास भएका विद्यार्थीहरूको जागिर पक्काजस्तै हुन्थ्यो ।
त्यतिबेला क्याम्पसले दक्ष विद्यार्थी मात्रै उत्पादन गरेन, थुप्रै नेताहरू पनि उत्पादन गर्याे । प्रथम राष्ट्रपति डा. रामवरण यादवदेखि निर्वतमान नगरप्रमुख लालकिसोर साह पनि यही क्याम्पसका उत्पादन हुन् ।
आसन्न निर्वाचनमा पनि यही क्याम्पसबाट उत्पादन भएका एक दर्जनभन्दा बढी नेताहरू चुनावी मैदानमा छन् । तर, उनीहरूको चुनावी एजेन्डामा राराब क्याम्पस सुधारको योजना परेको देखिँदैन ।
अहिले राराब क्याम्पसको पठनपाठन एकदमै खस्किएको छ । क्याम्पसमा करिब ६ हजार विद्यार्थी भर्ना भएपनि एक हजार विद्यार्थी मात्रै नियमित पढ्न आउने गरेको राजनीतिशास्त्रका प्राध्यापक रामु साह बताउँछन् । यसले पनि क्याम्पसकाे शैक्षिक अवस्था झल्काउँछ ।
मधेस आन्दोलनपछि विद्यार्थीहरू शतप्रतिशत चोरीमा आश्रित भएको प्राध्यापक साहको विश्लेषण छ । “विद्यार्थीहरू पूर्णतः चिटमा आश्रित भएका छन् । जुन दिनको परीक्षामा अनुगमन भयो वा टाइट गरियाे भने विद्यार्थी फेल नै हुन्छन्,” उनले भने, “विद्यार्थीहरू नियमित पढ्न आउने गरेका छैनन् ।”
यहाँको भवन पनि जीर्ण भएको छ । पुस्तकालय प्रयोगविहीन छ । शौचालय र खानेपानीको समस्या त वर्षौँदेखिको छ । अहिले पनि परम्परागत शैलीमै कालो पाटीमा पढाइ हुन्छ । कक्षाकोठाको डेस्क बेञ्चमा माकुराले जालो लगाएका छन् । कक्षाकोठाको भित्ताहरूमा अनावश्यक शब्दहरू लेखिएको छ । दुई दशकदेखि पठनपाठन हुने भवन रंगिएका छैनन् । विज्ञान संकाय भवनको बीचमा रहेको चौर पनि भद्रगोल अवस्थामा छ । त्यहाँ कतै रुख ढलेको छ त कतै फोहर जलाइएको छ । पानी ट्यांकीबाट चुहिएको पानी पनि अव्यवस्थित छ ।
ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) चौथो वर्षमा अध्ययनरत श्रुति साह व्यवस्थापनकै कमजोरीले क्याम्पस भद्रगोल अवस्थामा पुगेको बताउँछिन् । क्याम्पस प्रमुखसँग पटक–पटक खानेपानी, शौचालय र पठनपाठन समग्रीको समस्या सुनाएपनि बेवास्ता गरिएको उनको आरोप छ । “शौचालय अभाव छ । हामीलाई अर्को भवनमा जानुपर्छ,” उनले भनिन्, “खानेपानीको व्यवस्था छैन् ।”
प्रयोगात्मक अभ्यासका लागि विद्यार्थीहरूले प्रस्ताव गर्दा क्याम्पस प्रमुख प्रदीप साहले बेवास्ता गरेको उनले बताइन् । छात्रा विद्यार्थीहरूको लागि प्याडको व्यवस्था गरिएको छैन । महिनावारीको समयमा विद्यार्थीहरू अनुपस्थित हुने गरेको श्रुतिले बताइन् ।
क्याम्पस प्रमुख साह भने क्याम्पसकाे यस्ताे हालत हुनुमा राजनीतिक उपेक्षालाई कारण मान्छन् । उनी नेताहरूमा किताबी ज्ञानको अभावमा राराब उपेक्षामा परेको बताउँछन् ।
“अहिलेका नेताहरूले राजनीतिलाई सेवा नभइ व्यवसाय बनाए । सेवाको भाव नदेखाएर मनमा स्वार्थ पाले,” उनले भने, “अहिलेको नेताहरूमा किताबी ज्ञानको पनि अभाव देखिएको छ । उनीहरू ज्ञानको आधारमा नेता बनेको होइनन्, ढुङ्गा फालेर र टायर बालेर नेता बनेका छन् ।”
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता परमेश्वर साह पनि यही क्याम्पसबाट अध्ययन गरेका छन् । साह अहिले याे क्याम्पस पर्ने धनुषा निर्वाचन क्षेत्र ३ को “क” बाट प्रदेशसभा सदस्य पदका लागि उमेदवार छन् । उनी यसयघि पनि एकपटक प्रदेश सांसद भइसकेका छन् ।
तर, उनले शिक्षासम्बन्धी अधिकार प्रदेश सरकार मातहत नहुँदा सुधार गर्न नसकिएको बताए । उनका अनुसार नेपालको संविधानमा प्लस टूसम्मको अधिकार स्थानीय तहलाई र सो भन्दा माथिको अधिकार केन्द्रमै राखिएकाे छ ।
“प्रदेश सरकारले आफ्नो विश्वविद्यालय ल्याउन सक्छ, बनाउँछ । तर, पहिलेदेखि सञ्चालनमा रहेका शैक्षिक संस्थामा भौतिक संरचना निर्माण बाहेकको कुनै अधिकार प्रदेशमा दिइएको छैन,” उनले भने, “कर्मचारी वा शिक्षक सरुवा/बढुवाको अधिकार प्रदेशमा नआउँदा पनि सुधार गर्न कठिनाइ देखिएको छ ।”