एकातिर उपभोक्ताको क्रयशक्ति घट्दा उपभोग्य वस्तुको माग घटेर बजार मन्द भएको छ भने अर्कातिर बैंकहरूको चर्को ब्याजले व्यवसायीलाई थला पारेको गुनासो छ । यस्तो अवस्थामा पनि उद्यमी व्यवसायी निराश हुनेगरी नेपाल राष्ट्र बैंक भने अर्थतन्त्र खुम्च्याउन उपायमा अडिएको देखिन्छ ।
परिवर्त्य वैदेशिक मुद्राको सञ्चिति बढ्नु अर्थतन्त्रका लागि सकारात्मक संकेत त हो तर निजी क्षेत्रलाई थला पार्ने हो भने त्यो ‘सुन्निएर मोटाए’को साबित हुनेछ । बैंकमा लगानी योग्य पुँजी नहुने र उद्योग व्यापारमा लगानी नहुने हो भने वैदेशिक मुद्रा सञ्चय पनि प्रयोजनहीन हुनेछ ।
उद्यमी व्यवसायीले बैंकबाट ऋण नपाउँदा लगानीमा योजना थाती राख्नुपरेको गुनासो गरेका छन् । उद्योग कारोबारमा लगानी थाती रह्यो भने त्यसबाट अर्थतन्त्रमा दीर्घकालीन प्रतिकूल प्रभाव पर्छ । लगानीका योजना थाती रहँदा पक्कै पनि देशको हित हुँदैन ।
उद्यमी व्यवसायीको मनोबल कमजोर बनाएर अर्थतन्त्र बलियो हुँदैन । नेपालले अपनाएको अर्थतन्त्रमा निजी क्षेत्र सबैभन्दा बलियो र महत्त्वपूर्ण खम्बा हो । निजी क्षेत्रका उद्यमी व्यवसायी टाक्सिए भने देशको अर्थतन्त्र पनि पक्कै पस्टाउँदैन ।
उद्यमी व्यवसायीको समस्यालाई बेवास्ता गर्दा बैंकहरूका प्रत्युत्पादक हुनसक्छ । चर्को ब्याज दर घटाउन माग गर्दै सडकमा पुगेका व्यवसायीलाई ‘सडक आन्दोलनबाट ब्याज दर नघट्ने’ भन्दै दिइएको ‘ओँठे जबाफ’ले बैंकको पनि हित गर्दैन ।
देशमा लामो समयसम्म प्रतिकूल अवस्था रह्यो भने सक्ने उद्यमी व्यवसायीले विदेशमा लगानी गर्नेछन् । विदेशमा लगानी गर्न नसक्नेहरू निस्क्रिय हुनेछन् । यस्तो अवस्थामा जति नै कडा नियम बनाए पनि पुँजी पलायन रोक्न सम्भव हुनेछैन ।
पुँजीको प्रकृति पनि पानीको जस्तै हो । जता अनुकूल हुन्छ त्यतै बग्छ । प्रकृतिको नियमविपरीत कृत्रिम उपाय अपनाउन खोज्दा खतीमात्र हुन्छ । यसै कारणले राज्यले देशमा उद्योग धन्दा फस्टाउने प्रोत्साहनका उपाय अपाउने हो ।
यसैले अर्थतन्त्र जोगाउने हो भने सरकारले निजी क्षेत्रका उद्यमी व्यवसायी, नेपाल राष्ट्र बैंक र वाणिज्य बैंकहरूबीच छलफल गराई अहिलेको समस्या समाधानका उपाय तत्काल खोज्नुपर्छ । निजी क्षेत्र निराश भए देशको अर्थतन्त्र यसै थला पर्छ भन्ने नबिर्सौँ ।