site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजधानीमै छाएन चुनावी उत्साह, ठूला दलका उमेदवार मन नपरे राम्रा छान्ने मौका
SkywellSkywell

काठमाडौं । ललितपुर महानगरभित्र पाटन सहरको पुरानो बस्ती हो– च्यासल । 

वामपन्थी राजनीतिलाई हुर्काउन सबैभन्दा बढी योगदान गरेको यो परम्परागत बस्तीलाई चुनावी सरगर्मीले छोएको देखिँदैन । 

साँझपख पनि यहाँको गुठीघर, क्लबमा राजनीतिक चहलपहल छैन । 

KFC Island Ad
NIC Asia

अधिकांश ज्यापू समुदायको बसोबास रहेको यो ठाउँमा ९० प्रतिशत जति वामपन्थी मतदाता रहेको स्थानीय जीवन अवालेले बताए । 

“पहिला त अलि धेरै नै थिए कम्युनिष्ट । बहुदल आएपछि अलि साहूहरू कांग्रेस बने,” पञ्चायतकालमा मनमोहन अधिकारीसँग पार्टीका चिठीपत्र आदानप्रदान गरिदिएका अवालेले भने, “अहिले पनि कम्युनिष्ट नै छन् । स्थानीय चुनावमा एमालेले कार्यालय राखेको ठाउँमै यो चुनावमा पहिले नै कांग्रेसले कार्यालय खोलेको मात्र हो ।”

Royal Enfield Island Ad

ललितपुरको क्षेत्र नम्बर २ मा पर्छ च्यासल । यहाँ यसपटक संघीय संसद्मा प्रत्यक्षतर्फ नेकपा (एमाले) र एमालेबाट एक वर्षअघि फुटेको नेकपा (एकीकृत–समाजवादी) बीच प्रतिस्पर्धा हुँदैछ । 

एमालेले गुइटोलका प्रेमबहादुर महर्जनलाई उठाएको छ । 

कांग्रेस–माओवादीसहितको गठबन्धनबाट यसअघिका संघीय सांसद कृष्णलाल महर्जन उठेका छन्, जसको पुर्ख्यौली च्यासल नै भए पनि उनी बालकुमारीमा सरेका छन् ।

यस हिसाबले वामपन्थीको गढ च्यासलमा चुनावी चहलपहल अलि बढी नै हुनुपर्ने हो तर त्यहाँ पुग्दा चुनाव आएको कुनै छनक देखिँदैन । 

बहुदलपछिको पहिलो निर्वाचन– ०४८ सालको चुनावमा सिद्धिलाल सिंह एमालेका उमेदवार थिए– ललितपुरको क्षेत्र नम्बर २ मा । 

ch31668058503.jpg

उमेदवारको पोस्टर टाँस्न पाइने त्यसबेला च्यासलका सबै घरमा आफू–आफूले नै लगेर पोस्टर टाँसेका थिए । 

“त्यो बेलाजस्तो उत्साह त अहिले छैन । पार्टी फुटेकाले अहिले नजोगाए एमाले सकिन्छ भनेर निस्कृय बसेकाहरू पनि चुनावमा लागेका छन्,” ६८ वर्षीय अवालेले सुनाए, “सिद्धिलाल दाइ त निकै बुढो हुनुभयो, डबल जङ्को भइसक्यो । कार्यक्रम हुँदा कान्छो छोराले डोर्‍याएर ल्याउँछ । म पनि बिहान–बिहान घरदैलोमा जान्छु । टोलकै साथी हो । ऊसँग पैसा धेरै छैन, हामीले पनि खर्चमा सघाउनुपर्छ ।”

गत स्थानीय चुनावमा कांग्रेसका मेयर उमेदवार चिरीबाबु महर्जनलाई सघाएको बताउने अवालेसँग कांग्रेसका समानुपातिकतर्फका उमेदवार रामकृष्ण चित्रकारले भेटेरै दुईपटक समानुपातिक भोट मागिसकेका छन् ।

“कांग्रेसबाट रामकृष्ण उठेको भए जित्थ्यो होला, नेकपा (एस) बाट उठेको कृष्णलाल त भन्न सक्दिनँ म । कांग्रेसको सबै भोट पाए त जित्ला,” उनले भने, “कांग्रेसको भोट अलिकति तान्न सक्यो भने एमालेको प्रेमबहादुरको पनि चान्स छ । केटाहरूको भोट त क्रस हुन्छ । नयाँ उमेदवार हो नि त प्रेमबहादुर ! कृष्णलालले पहिलोपल्ट ०५६ सालमा जितेको थियो । यसअघि पनि उही थियो ।”

च्यासलमा अहिले कांग्रेसको झण्डा फहराइरहेका दुईवटा चुनाव–प्रचार कार्यालय छन् ।  एकै समुदायका दुई महर्जनबीच प्रतिस्पर्धा रहेको च्यासलका स्थानीयमा चुनावको उत्साह देखिँदैन । 

सामूहिकताको आदर्श राजनीतिले लिक छाड्दा च्यासलबाट पनि पुरानो उत्साह हराएको छ । 

“सबै निजी कुरो गर्छन् अहिले । पहिलेजस्तो कहाँ छ र !,” अवालेले भने । 

2mm1668062401.jpg

ज्यापू समुदायको यो परम्परागत बस्ती त्यही ठाउँ हो, जहाँ पञ्चायतकालमा कम्युनिष्ट नेताहरू भूमिगत बस्थे । 

यो त्यही बस्ती हो, जहाँका किसान कुटो, कोदालो, ठल्लेठोजस्ता हतियार बोकेर सडकमा उत्रिएर ०४६ साल चैत २४ गते पाटनलाई ‘मुक्त क्षेत्र’ घोषणा गरेका थिए ।

पञ्चायतकालमा मनमोहन अधिकारी, मदन भण्डारी, झलनाथ खनालजस्ता धेरै नेताहरूले भूमिगत राजनीति गरेको ठाउँ हो च्यासल । 

पार्टी नेताहरूलाई भूमिगत राख्ने र बैठक गराउने व्यक्तिहरू अहिले पनि भेटिन्छन् यहाँ । 

०१६ सालमा नेपाल कम्युनिष्ट पार्टीले देशभरिमा जम्मा ४ सिट जित्दा पाटनबाट तुलसीलाल अमात्यले जितेका थिए, जबकि पुष्पलाल स्वयम् काठमाडौंबाट पराजित भएका थिए ।  

अधिकांश ज्यापु समुदायको बसोबास थलो हो– च्यासल । ०४८ सालको चुनावमा २०५ मध्ये ६९ सिट जितेको एमालेका सबै सांसदलाई बोलाएर च्यासलले सगुन खुवाएर स्वागत गरेको थियो । 

त्यहाँ फूलमालाले अभिनन्दन गरी ‘सांसद परिचय कार्यक्रम’ राखेको थियो ।  पञ्चायती व्यवस्था अन्त्य भएको साढे तीनदशक हुनै लाग्दा च्यासल फेरिएको छ । 

मध्यकालीन किसान बस्ती च्यासलले सहरीकरणसँगै स्वरुप बदलेको छ ।  विगत वर्षहरूमा यो सिजनमा धान बताइरहेको, सुकाइरहेको देखिने च्यासलमा मंगलबार त्यो दृश्य देखिएन । 

chyasal21668058522.jpg

यहाँको चोक सफा र खुला छ । 

“अब त खेत नै छैन, सबै घडेरी भइसक्यो”, जीवन अवालेले बाह्रखरीसँग भने, “धान फल्ने खेतमा त इञ्जिनीयरिङ कलेजहरू, घरैघर फलेको देख्नुभएन ।” 

वाम–राजनीतिको सबैभन्दा पुरानो र प्रभाव क्षेत्रमा चुनावी चहल–पहल छैन ।  कम्युनिष्ट फुटेको आक्रोश पोख्न कांग्रेसको उमेदवार पनि छैन । 

कांग्रेस नेता–कार्यकर्ता समानुपातिकतर्फ पार्टीलाई भोट माग्दै छन् । 

एमाले र नेकपा (एस) बीच मुख्य प्रतिस्पर्धा देखिएको यस क्षेत्रमा आकर्षक नारा दिएको स्वतन्त्र उमेदवार पनि देखिएन । चुनावले आम जनतामा खासै उत्साह ल्याएको देखिँदैन । 

उता काठमाडौँको पूर्वोत्तरमा पर्ने कागेश्वरी–मनोहरा नगरपालिका, भद्रबासका पुराना राजनीतिक कार्यकर्ता हुन्– श्रीराम सापकोटा । 

उनी अहिले पनि राजनीति बुझ्न चाख राख्छन् । उनलाई चुनावले पटक्कै छोएको छैन । ०४८ सालमा तत्कालीन एमाले महासचिव मदन भण्डारी काठमाडौं–१ बाट चुनाव लड्दा सापकोटा सो पार्टीका जिल्लास्तरीय नेता थिए । 

उनी बुधबार बिहान खेतमा गहुँ छर्ने चटारोमा थिए । अहिले भद्रवास काठमाडौंको संघीय निर्वाचन क्षेत्र नम्बर ३ मा पर्छ । 

सापकोटाले राजनीतिक दलले जनताको विश्वास गुमाएका कारण चुनावप्रति नागरिकको चासो घटेको बताए । 

“देश र जनताका लागि केही गर्ने भए पो चुनावप्रति चासो राख्नु, जिते पनि आफ्नैलागि गर्ने हुन् भन्ने थाहा छ । आशलाग्दो मान्छे कोही पनि उठेको छैन”, सापकोटाले भने, “पहिलाजस्तो जनताको घरदैलोमा लाग्दैन चुनाव । अहिले त भट्टी र रेष्टुरेन्टमा मात्र लाग्छ चुनाव । भोट विचार र नीतिले होइन, पैसाले लैजान सके लान्छन् ।”

भद्रवास क्याम्पसनजिकै व्यावसायिक ढंगले कृषि कार्यमा संलग्न युवक उमेश पुडासैनीले आफूलाई यहाँको चुनावले छुन नसक्ने बताए । “ठेकेदार मात्र हिँड्छन् राजनीतिमा,” उनले भने । 

पुडासैनी पर्यटन प्रवर्द्धनकोे क्षेत्रमा काम गर्ने उत्साहित युवक हुन् ।  उनी आफ्नो ठाउँ भद्रवासबाहेक क्षेत्र नम्बर २ मा पर्ने आदिवासी बस्तीहरू पनि घुमेका छन् । 

“साँखुक्षेत्रका आदिवासी बस्ती पनि घुमेँ । त्यहाँका छोराछोरी बीए पढ्ने भएका छन्, जनजीविकाको समस्या छ । भएको जग्गा बेचेर गुजारा चलाउनुपर्ने अवस्था छ,” उनले बाह्रखरीसँग भने, “जग्गा दर्ता भएको छैन, प्लटिङ्वाला दलालमार्फत् आउँछ । मान्छे डिप्रेसनमा जान थालिसक्यो । समस्या छ ।”

गागलफेदीको आदिवासी वस्तीको समस्या सुनाए, “पढेलेखेका छोराछोरी रक्सी पार्नुहुन्न भन्छन् । बाबुआमासँग गुजाराको अर्को उपाय छैन ।”

राजनीतिक दलका नेता–कार्यकर्ताले गरिबीलाई भोट लिने माध्यम बनाएकोप्रति दुःख व्यक्त गर्दै उनले भने, “गरिबी धेरै छ । त्यही कमजोरीलाई प्रयोग गरेर उनीहरूको भोट हत्याउने प्रयास गर्छन् । यो गलत हो ।” 

उनले आफूलाई कुनै पनि उमेदवारले आकर्षित गर्न नसकेको उनले बताए । 

काठमाडौँको पश्चिमी भेगमा पर्ने चन्द्रागिरी नगरपालिकाका एक जना नागरिक–अगुवा राममणि गौतमलाई पनि चुनावले आकर्षित गरेको छैन । 

ch31668058503.jpg

काठमाडौं स्कुल अफ लमा प्राध्यापन गर्ने उनी राजनीतिक दल व्यवहारमा जनतासँग नजोडिएकाले गाउँ–टोलसम्म चुनावको रौनक नआएको उनको मूल्याङ्कन छ । 

“काँठक्षेत्र भए पनि सचेत नागरिकको बसोबास छ, परम्परागत राजनीतिक दलले आफूलाई जनतासँग जोडिने गरी अद्यावधिक गरेनन्,” सेलर्ड भन्ने सामाजिक संस्थाका निर्देशक बताउने उनले भने, “उमेदवार दोहोरिएका छन् तर जनतालाई महसुस हुने गरी काम पनि देखाउन सकेका छैनन् । राष्ट्रिय राजनीतिमा पनि एमालेको दुईतिहाइ बहुमतको सरकार र त्यसपछि बनेको गठबन्धन सरकारको डेढ वर्षको पर्फर्मेन्सले गर्दा पनि यहाँका मतदातामा उत्साह छैन ।”

आफ्नो क्षेत्रबाट एमालेका कृष्णगोपाल श्रेष्ठ र गठबन्धनबाट माओवादी केन्द्रकी कल्पना धमला उमेदवार बनेको बताउँदै गौतमले भने, “मलाई पनि भोट हाल्नका लागि उपयुक्त उमेदवार छैन ।” 

“कांग्रेसको प्रभाव क्षेत्रबाट माओवादीलाई टिकट दियो । कांग्रेसहरू खुलेर मत माग्न लाग्नै सकेका छैनन्,” गौतमले चुनावी रौनक नदेखिनुको कारण सुनाए, “एमालेले आफ्नो विगतको मतमात्र जोगाउन सक्यो भनेमात्र पनि यो क्षेत्रमा जित्न सक्छ ।”

काठमाडौंको क्षेत्र नम्बर ४, जयबागेश्वरी क्षेत्रको घरदैलोमा सहभागी भइरहेका पूर्वमहान्यायाधिवक्ता रमेश बडाल निर्वाचन आयोगले जारी गरेको अव्यावहारिक आचारसंहिताका कारण पनि चुनावी माहौल नदेखिएको बताए । 

“पर्चा पोस्टरिङ, तुल–व्यानर केही पनि छैन । घरदैलो कार्यक्रममा बाजा बजाउन पनि आयोगको आचारसंहिताले रोकेको छ,” उनले भने, “निर्वाचन आचारसंहिताका कारण पनि गाउँटोलसम्म चुनाव आएजस्तो नदेखिएको हो ।”

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनालले पनि मत दिइहालौँजस्तो उमेदवार पाएका छैनन् । 

क्षेत्र नम्बर १० मा पर्ने कीर्तिपुरका स्थायी बासिन्दा उनी भन्छन्, “चुनावसँग मतदाताको भावनात्मक अनुभूति छैन । त्यसैले चुनावप्रति आम नागरिक को उत्साह छैन । तर पनि चुनाव अनिवार्य छ ।”

राजनीतिक दलहरू पुराना भएका र त्यसको नेतृत्व अद्यावधिक हुन नसक्दा चुनावी एजेन्डाले जनतालाई आकर्षित नगरेको खनालको ठम्याइ छ । 

“संसारका लोकतान्त्रिक मुलुकहरूमा पनि १००–२०० वर्ष पुराना पार्टीहरू छन्, त्यसलाई ताजापन नेतृत्वले दिन्छ”, प्राध्यापक खनालले बाह्रखरीसँग भने, “पुराना पार्टीहरू अद्यावधिक भएनन्, अनि नयाँ एजेन्डा लिएर नयाँ पार्टी पनि आएनन् । कुनै एउटा क्षेत्रमा कोही उमेदवारले मतदाताको मन छोएको हुनसक्छ तर त्यसले समग्र देश अघि बढाउन सक्दैन ।”

रवि लामिछाने नेतृत्वको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ बाट काठमाडौं २ मा उमेदवार बनेकी सोविता गौतम र ललितपुर–३ की उमेदवार डा. तोसिमा कार्कीको प्रस्तुति आफूलाई निर्भिक र मौलिक लागेको प्राध्यापक खनालले बताए । 

उनले भने, “प्रमुख राजनीतिक दलहरूले त्यस्ता उमेदवारलाई ग्रहण गर्न सक्नुपर्छ । अनि मात्र पुरानो पार्र्टीलाई नयाँपन दिन सकिन्छ ।”

निर्वाचन आयोगले जारी गरेको अव्यावहारिक आचारसंहिताले गर्दा पनि चुनावमा जनताको पक्षमा वकालत हुन नसकेको बताउँदै प्रा. खनालले भने, “चुनावमा लोभलालच पो दिन हुँदैन तर शिक्षक, प्राध्यापक कोही पनि बोल्न हुन्न भन्ने छ । शिक्षक, प्राध्यापक नबोले को बोल्ने त ?”

लोकतान्त्रिक राजनीतिक प्रणालीको विकल्प नरहेको बताउँदै प्राध्यापक खनालले भने, “मेरो क्षेत्रमा त उपयुक्त उमेदवार पाएको छैन तर उही पुरानो अनुहार भनेर मतदाताले गनगन गरेर बस्नु जरुरी छैन । घोषणापत्रका विकासका मुद्दा सबैका राम्रा छन्, त्यसलाई ‘ड्राइभ’ गर्नसक्ने नेतृत्व छान्नुपर्छ । उमेदवार चित्त बुझेको छैन भने बदल्ने मौका यही हो । दल मन परेको छैन भने पनि दण्डित गर्ने अवसर यही हो । सक्षम, नयाँ र सिर्जनशील नेतृत्व छान्ने अवसर पनि हो यो ।”
 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  ११:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro