काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेललाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भनेको एउटा भनाइले अहिले पछ्याइरहेको छ, “तपाईंको जनमत छैन, चुनाव हार्नुहुन्छ ।”
माओवादी अध्यक्ष प्रचण्ड आफ्नो नयाँ निर्वाचन क्षेत्र गोरखा–२ को चुनावी अभियानमा छन् । हरिबोल भने काठमाडौंमा आफूले केन्द्रीय कार्यालयमा दर्ता गरेको असहमतिपत्रबारेको छलफल कुरेर बसेका छन् ।
माओवादीका नेताहरू आ–आफ्नो क्षेत्रमा चुनाव प्रचारमा व्यस्त छन् । त्यसैले चुनावअघि बैठक बसेर गजुरेलको असहमतिपत्रबारे छलफल हुने सम्भावना छैन । नेता गजुरेल पनि यसअघि उनले जितेको क्षेत्रका माओवादी उमेदवार लेखनाथ दाहालका लागि भोट माग्न जाने सम्भावना देखिँदैन ।
०७० सालको दोस्रो संविधानसभा र ०७४ सालको संसदीय चुनावमा सिन्धुलीको उक्त क्षेत्रबाट गजुरेल विजयी भएका थिए । यसपटक त झन् पाँच दलीय गठबन्धन छ ।
त्यसैले उनको जितको सम्भावना झन् बलियो थियो तर पनि अध्यक्षले किन ‘तपाईंको जनमत छैन’ भन्ने गम्भीर र कठोर वाणी सुनाएर टिकट खोसे ?
गजुरेल भने सिन्धुलीबाट चुनाव लड्ने तयारीमा थिए । अध्यक्ष प्रचण्डले गजुरेललाई टिकट नदिई दाहाललाई दिने तयारी गरेपछि गजुरेल अध्यक्षलाई भेट्न खुमलटार गएका थिए– सायद टिकट पाउने आशामा ।
गजुरेललाई अध्यक्ष दाहालले जवाफ दिएका थिए, “तपाईंको जनमत छैन । तपाईं चुनाव हार्नुहुन्छ । त्यसैले तपाईंलाई टिकट नदिएको हो ।”
सिन्धुलीमा हरिबोलको जनमत छैन भन्ने अध्यक्षको मूल्याङ्कन उनलाई अलि बढी नै दुःखदायी लागेको छ ।
उनले आफूनिकटलाई भन्ने गरेका छन्, “मलाई त्यस्तो हो भन्ने पटक्कै लाग्दैन ।” तथापि उनले पार्टीमा दर्ता गराएको असहमतिपत्रको व्यहोरा सार्वजनिक गर्न पनि चाहँदैनन् ।
“पार्टीभित्र छलफलका लागि दर्ता गरिएको असहमतिपत्र मिडियामा ल्याएर प्रचार गर्नु हुँदैन, यो पार्टी पद्धतिको विपरीत हुन्छ,” पत्र माग्नेलाई गजुरेलको जवाफ यस्तो हुन्छ ।
चितवनबाट चुनाव लड्ने घोषणा गरी भरतपुरमा नयाँ घर बनाएर सरेका तर हठात् गोरखा– २ बाट उमेदवारी दर्ता गरेका प्रचण्डको आरोपले गजुरेल घायल भएका छन् ।
प्रचण्डले यसअघि डा. बाबुराम भट्टराईले चुनाव जित्दै आएको क्षेत्र आफ्ना लागि खाली गराउन भट्टराईकी छोरी मानुषी यमी भट्टराईलाई काठमाडौं–७ बाट चुनाव लडाउन गठबन्धनमा सिटको व्यवस्था गरे ।
अनि आफ्नालागि सुरक्षित सिटको व्यवस्था गरे । ‘जोखिमपूर्ण’ क्षेत्र चितवन–३ बाट त्यागेर अध्यक्ष गोरखा गएको पनि खेलोफड्को पनि गजुरेलले देखेका छन् ।
टिकट नपाएपछि एमाले त्यागेका नेता घनश्याम भुसाललाई प्रचण्डले माओवादीको भागमा परेको एक सिटमा स्वतन्त्र उमेदवार बन्ने गरी क्षेत्र उपलब्ध गराएको पनि गजुरेलले हेरेका छन् तर सशस्त्र द्वन्द्वकालमा माओवादीभित्र ‘पूर्वको रोल्पा’ भनिने सिन्धुलीमा नै ‘जनमत नभएको’ भन्ने प्रचण्डको शब्दले गजुरेललाई चिमोटेको छ ।
त्यसैको जवाफ खोज्न उनले असहमति दर्ता गरेका छन् । अध्यक्षले आरोप पुष्टि नगरेसम्म चुनावमा नजाने अडान राखेर काठमाडौंमै बसेका छन् ।
यसपटक चुनाव नउठ्न परिवारबाटै पनि दबाब थियो गजुरेललाई ।
उनी स्वयम् पनि आमूल परिवर्तनको बाटो छाडेर परम्परागत संसदीय व्यवस्थाको जस्तै ‘चुनावदेखि चुनावसम्म’ को राजनीतिप्रति असन्तुष्ट थिए । गत असोज २ गते म्याद सकिएको संघीय संसद्मा गत पाँचवर्षमा एक पटकमात्र बोले । गजुरेलको आश थियो– अध्यक्ष र पार्टीका सिनियर नेताहरूले तपाईं किन संसद्मा नबोलेको भनेर सोध्लान् भन्ने ।
पार्टीभित्र त ‘सुधारिएको संसदीय व्यवस्था हो, परम्परागत संसदीय व्यवस्थामा माओवादी झरेको होइन’ भनिएको थियो ।
चुनावदेखि चुनाव र सरकारदेखि सरकारसम्मको राजनीतिमा आफ्नै पार्टी माओवादी फसेको गजुरेलले देखेका छन् ।
‘संसदीय भास’ मा फसेको महसुस राम्ररी गरेका छन् । यसैप्रतिको असन्तोष व्यक्त गर्दा र ‘र्याडिकल रिफर्म’ को चाहना राख्दा उनी किनारामा पारिएको महसुस माओवादीवृत्तमा पनि छ ।
हरिबोल गजुरेल माओवादी केन्द्रका एकजना पुराना र सरल नेता हुन् । उनमा छलकपट र ‘खुराफात’ पनि देखिँदैन ।
०४७ सालमा मसालबाट छुट्टिएर प्रचण्ड महामन्त्री रहेको एकताकेन्द्रमा समाहित हुने समूहका मुख्य नेता थिए हरिबोल । त्यसबेला उनको समूहका एक सदस्य थिए– डा. बाबुराम भट्टराई । तर, एमाले र माओवादी केन्द्र एकीकृत भई ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)’ गठन हुँदा उनी सचिवालयमा पनि परेनन् ।
करिब तीन महिनाअघि माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठकमा हरिबोल गजुरेलले आफ्नोबारेमा बताएका थिए ।
उनले आफू सशस्त्र द्वन्द्वका बेला माओवादीले गरेको फौजी कारवाहीको नेतृत्व गर्दा र शान्तिप्रक्रियामा आइसकेपछिको शान्तिपूर्ण राजनीतिमा पनि सफल नेता रहेको तर आफैँले पदको दाबी नगरेका कारण पछि पारिएको बताएका थिए ।
फौजी कारवाहीमा पनि आफू सफल रहेको उनले यसरी बताएका थिए ।
“मेरो नेतृत्वमा २०६२ चैत २३ गते सर्लाहीको सदरमुकाम मलंगवामा हमला गर्यौँ । त्यो तराई–मधेशको ठूलो माओवादी फौजी कारवाही थियो । सदरमुकाम कब्जा गर्दा हेलिकप्टरसम्म खस्यो,” हरिबोल गजुरेलले भनेका थिए, “भोलिपल्ट चैत २४देखि राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध सुरु हुने लोकतान्त्रिक जनआन्दोलनलाई यसले ठूलो बल दिन्छ भनेर महिनौँ चुरेको जंगलमै बसी यसको तयारी गरिएको थियो । जुन कारवाहीमा माओवादीले सफलता पाएको थियो ।”
शान्तिपूर्ण राजनीतिमा आएपछि संविधानसभाको पहिलो निर्वाचनमा आफूलाई पार्टीको ‘कोचिला राज्य’ (झापा, मोरङ, सुनसरी) को इञ्चार्ज बनाएर पठाएको बेला सफल काम गरेको उनले दाबी गरेका थिए ।
“पहिलो संविधानसभा चुनावमा कोचिला क्षेत्रमा केपी ओलीजी, कृष्ण सिटौलाजी, भरतमोहन अधिकारीजी र भीम आचार्यजीलाई हराउन ‘टार्गेट’ गरियो । जसमध्ये ओली, सिटौला र अधिकारीलाई हराइयो । मेरै सेक्रेटरी रिसाएर सुतिदिएकाले उनको जिम्मामा रहेको क्षेत्रमा भीम आचार्यले मात्र जितेका थिए,” उनी भन्छन् ।
पहिलो संविधानसभा चुनावपछि नारायणकाजी श्रेष्ठले नेतृत्व गरेको एकताकेन्द्रसँग माओवादीको एकीकरण भयो तर एकीकृत पार्टीमा अरू सबै पार्टीको केन्द्रीय सचिवालयमा अटाए तर हरिबोल गजुरेल परेनन् ।
त्यसबेला पनि उनले नेतृत्व छनौटको तरिका काम हो कि अरु नै केही हो भनेर प्रश्न गरेनन् ।
अहिले उनलाई लाग्न थालेको छ । आफूनिकटसँगको कुराकानीमा स्वमूल्याङ्कन गर्छन्, “खास बेलामा कुरा नउठाउनु आफ्नो पनि कमजोरी हो, पद नदिने प्रचण्डको मात्र होइन ।”
शान्ति प्रक्रियामा माओवादी आएपछि गजुरेल मन्त्री पनि भए तर कहिल्यै भ्रष्टाचारमा नाम आएको पनि छैन । उनको जीवनशैलीमाथि कसैले प्रश्न गरेको पनि छैन ।
चिन्तन बिग्रिएको भन्ने आरोप पनि व्यहोर्नुपरेको छैन । न उनीमाथि अध्यक्षलाई जस्तो समयमा काम नगर्ने ठेकेदारको आलिसान घरमा बसेको आरोप छ न त पार्टीभित्र परिवारवाद लागू गरेको नै आरोप छ । आफू त टिकटबाट बञ्चित हुनुपर्नेले भाइ, बुहारी वा पत्नीलाई पद दिलाउन सक्ने कुरा पनि भएन ।
चुनाव उठ्ने–नउठ्ने, टिकट पाउने–नपाउने विषय सामान्य हो । त्यो असन्तुष्टि त देशभरि छ ।
त्यसमाथि पार्टीले गठन गरेको संगठन विभागको कार्यदल प्रमुख छँदा हरिबोल गजुरेल स्वयम्ले दुई कार्यकालभन्दा बढी एउटै पदमा एकै व्यक्ति नदोहोरिने प्रस्ताव गरेका थिए ।
त्यही मापदण्ड लागू गरिदिएको भए हरिबोल हट्थे, अरु पनि हट्थे । जो–जो पर्थे पर्थे तर उही पार्टीमा कोही ०६३ सालको पुनस्र्थापित प्रतिनिधिसभामा माओवादीका ८२ जना मनोनीत हुँदादेखि अहिले पाँचौँ पटक सांसद् हुनका लागि चुनाव लड्दै छन् तर गजुरेलचाहिँ तेस्रो पटक नै टिकट नदिन अध्यक्षले किन मिथ्या आरोप लगाए छ ? उनको प्रश्न यत्ति हो ।
०७४ को चुनावका लागि एमालेसँग गठबन्धन हुनुअघि हरिबोलले नै प्रचण्डलाई सिन्धुलीबाट चुनाव लड्न सुझाव दिएका थिए ।
हरेकपटक सुरक्षित निर्वाचन क्षेत्र खोज्दै फेर्ने गरेका प्रचण्डलाई उनले भनेका थिए, “यसपटक तपाईं सिन्धुलीबाट चुनाव लड्दा राम्रो हुन्छ । तपाईं रोल्पा पनि जानुभो, पूर्वको रोल्पा भन्छन् सिन्धुलीलाई । तपाईं पूर्व जाँदा प्रतिकात्मक रूपमा पनि राम्रो हुन्छ ।”
तर, प्रचण्डले गृहजिल्ला चितवनबाटै उठ्ने बताएका थिए ।
यसपटक पनि प्रचण्डले सुरुदेखि नै चितवनबाटै उठ्छु भनेर भनेका थिए । त्यसको पूर्वतयारीस्वरुप नयाँ घर बनाए । कार्यक्रम नै आयोजना गरी घर पनि सरे ।
पहिला किन चितवनमा उठ्छु भनेको, अहिले किन गोरखा गएको ? माओवादी पंक्तिमा यस्तो प्रश्नले पनि घर गरेको छ ।
“गोर्खा जाने हो भने चितवनबाट लड्छु भनेर बोल्नुहुन्नथ्यो । प्रचण्ड डराए कि क्याहो भन्ने परेको छ,” माओवादीका एक पदाधिकारीले बाह्रखरीसँग भने ।
अघिल्लो निर्वाचनपछि वाम गठबन्धनको सरकार बन्यो । त्यसको वर्षदिन नपुग्दै पार्टी नै एकीकरण भयो, ०७५ जेठ ३ मा नेकपा गठन भयो ।
नेकपा एक्लैको बलियो बहुमत भयो संघीय संसद्मा । सात मध्ये छ वटा प्रदेश सरकार पनि नेकपाकै भए ।
पाँच वर्षका लागि स्थायी सरकार बन्यो भन्ने उत्साह थियो । तर, नेकपाका पहिलो अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट फेर्न कुर्नुपर्ने न्यूनतम अवधि– दुई वर्ष पुगेकै दिनदेखि नेकपाभित्रबाट सरकार ढाल्ने प्रयास सुरु भयो ।
उक्त विवादमा हरिबोल गजुरेलले सरकार नढलोस् भनेर निकै प्रयास पनि गरे । उनले ओली पाँचवर्ष प्रधानमन्त्री हुने र त्यसअवधिमा अर्का अध्यक्ष प्रचण्डले पार्टी हाक्ने प्रस्ताव लगे तर प्रचण्डले मानेनन् ।
उल्टै उनीमाथि पनि ओलीको पक्षपोषण गरेको आशंका हुन थाल्यो । उनले त्यसैको बदलामा टिकट नपाएको अनुमान पनि माओवादीभित्र गरिँदैछ ।
नेकपा कालमा पनि गजुरेलले अध्यक्ष प्रचण्डको जीवनशैली सुधार्न सुझाव दिइरहे ।
बिहानैदेखि उनलाई भेट्न धाउने स्वार्थी मान्छेलाई प्राथमिकता नदिन, जिल्ला जाँदा घेरा लाग्न आउने व्यक्तिमात्र नभेटी आफूले भेट्न चाहेका निश्वार्थ व्यक्तिसँग भेटेर यथार्थ बुझ्न सुभाव दिएका थिए ।
बरु बिहानैदेखि घरमा धाउनेलाई भेट्ने समयको साटो लेखपढ गर्न र दिउँसोका कामको योजना बनाउन उनले सुझाव दिएका थिए ।
प्रचण्डले यसलाई उल्टै आफूमाथि आक्षेप लगाएको रूपमा बुझेका थिए । त्यसले पनि प्रचण्डलाई ‘इरिटेट’ गरेको अनुमान छ ।
अहिलेको चुनावमा रोल्पाका माओवादीहरूले पहिलोपटक कांग्रेसका उमेदवार अमरसिंह पुनलाई भोट हाल्दै छन् ।
संसदीय व्यवस्था र कांग्रेस पार्टीलाई लक्षित गर्दै १० वर्ष सशस्त्र संघर्ष गरेको माओवादीले ‘जनयुद्ध’ उद्गम रोल्पामै कांग्रेसलाई भोट हाल्ने गरी माओवादीको रूपान्तरण भएको छ ।
त्यस्तै, माओवादी पोलिट्ब्युरो सदस्यबाट राजीनामा गरी हेमराज भण्डारी धनकुटाबाट स्वतन्त्र उमेदवार बनेका छन् ।
उनले पनि माओवादी पार्टीको नीतिसँग नेताहरूको चिन्तन र जीवनशैली मेल नखाएकोबारे प्रश्न उठाउँदै राजीनामा गरेका छन् ।
आधा उमेर हुउञ्जेल ‘हँसिया–हथौडा’ को रातो झण्डा बोकेका उनी अहिले राष्ट्रिय झण्डा ओढेर इमान्दार राजनीतिको खोजीका लागि भोट माग्दै छन् ।
कुनै बेला प्रचण्डमाथि प्रश्न गर्नु नै क्रान्तिको विरोध सम्झने त्यस बेलाका युवक भण्डारी पहिलो संविधानसभामा माओवादीका ‘सेलिब्रिटी’ मानिन्थे ।
माओवादीमा देशभरि बागी उमेदवार छन् । कांग्रेसजनले देउवामाथि वा एमाले कार्यकर्ताले ओलीमाथि प्रश्न उठाएजस्तै माओवादी कार्यकर्ताले प्रचण्डलाई चुनौती दिन थालेका छन् । यो उदारवादी लोकतन्त्रलाई माओवादीले पनि ग्रहण गर्दै गएको प्रमाण हो ।
बालकृष्ण ढुङ्गेलको गत महिना निधन हुँदा उनी एमाले पोलिट्ब्युरो सदस्य थिए । रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्टजस्ता नेताहरूले एमाले रोजेका छन् ।
माओवादीहरूलाई ‘रुख’ मा भोट हाल्न प्रचण्डले दिनदिनै निर्देशन दिइरहेका छन् ।
सबै पार्टी उस्तै हुँदै गएका छन् । एक पार्टीका नेता–कार्यकर्ता दिनदिनै अर्को पार्टी प्रवेश गरिरहेका छन्, पार्टी फेर्ने लहरै चलेको छ ।
पार्टीका सिद्धान्त र विचार दस्तावेजहरूमा अलग–अलग लेखिए पनि व्यवहार समान भएको प्रमाण हो यो ।
राजनीतिमा लागेपछिका सुरुका दिनमा गान्धीवादी थिए– हरिबोल गजुरेल । पछि पुस्तक पढेर कम्युनिष्ट भएका हुन् उनी ।
उनले भने, “जुन कम्युनिष्ट राजनीति अपनाइयो, त्यसमा अन्तिमसम्म निष्ठापूर्वक लागिरहने भन्ने मात्र मेरो कुरा हो ।”